गोर्खाल्याण्ड आन्दोलनमा गोलिबारीको एक वर्ष : सहिदहरूलाई बत्तिबालेर दिए मानिसहरूले श्रद्धाञ्जली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 16, 2018

गोर्खाल्याण्ड आन्दोलनमा गोलिबारीको एक वर्ष : सहिदहरूलाई बत्तिबालेर दिए मानिसहरूले श्रद्धाञ्जली

गफसफ.com, कालेबुङ 17 जुन।

छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै 17 जुन 2017 का दिन जुलुसमा निस्केको समय पुलिसी गोलि लागेर सहिद बनेकाहरूलाई सम्झना गर्दै आज कालेबुङमा छिमी बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ। कालेबुङका केही नारीहरूले एकैसाथ भेला भएर वौद्ध धर्म अनुसार पूजा गरेर सहिदहरूको नाउँमा आज एकसाथ 108 बत्ति बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो। यस अवधी उनीहरूले कुनै राजनैतिक दल विशेषको झण्डा बोक्ने कर्य भने गरेको थिएन।

गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङले सहिदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न आजको दिन घर घरमा दियो बाल्ने अपिल गरेपछि सबैको ध्यान आजको दिनमा केन्द्रित बनेको थियो। मानिसहरूले सडकमा निस्केर कहीँ कतै दिलो बाल्ने कार्यक्रम गर्छन् कि भने प्रशासन अघिबाटै सर्तक बनेको छ। यस्तो अवस्थामा कालेबुङका नारीहरूले सहिदको नाउँमा श्रद्धाञ्जली अर्पण गर्दै आज बिहानै ठुङ्गसार गुम्बामा बौद्ध धर्म परम्परानुसार पूर्जा गर्दै 108 वटा बत्ति बालेको हो। त्यसपछि उनीहरूले पुन: मदरमेरी चर्चमा पुगेर सहिदको नाउँमा श्रद्धाञ्जली अर्पण गर्दै क्याण्डल बालेका थिए।

‘सहिद हाम्रा निम्ति बनेका हुन्। सहिदको कुनै जात अथवा धर्म हुँदैनन्। हाम्रा निम्ति गोर्खाल्याण्ड माग्दा सहिद हुनेहरूलाई आज यसरी श्रद्धाञ्जली अर्पण गरेका हौँ। यो हाम्रो सहिदप्रतिको श्रद्धा हो, सहिदलाई लिएर राजनीति गर्न हुँदैन’ बन्दना योञ्जनले भनिन्। उनले उक्त बत्ति जलाउने कार्य कुनै राजनैतिक उद्देश्यप्रेरित नभएको भन्दै गोर्खाल्याण्डका निम्ति सहिद हुनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्नु सबैको कर्तब्य हो भनेका छन्। ‘कालेबुङका नारी शक्तिले आज सहिदलाई श्रद्धा गरेर आफ्नो कर्तव्य निभाएको छ। यो गोर्खाल्याण्ड चाहने नारीहरूले श्रद्धाञ्जली दिएका हुन्’ बन्दना योञ्जनले भनिन्।


स्मरण रहोस्, गत वर्ष पश्चिम बङ्गाल सरकारले बङ्गला भाषा अनिवार्य हुनपर्ने घोषणा गरेपछि पहाडमा यसको विशेष रूपले विरोध सुरु भएको हो। बङ्गाला भाषा लागु हुनुहुँदैन भन्दै सुरु भएको विरोध विस्तारै गोर्खाल्याण्ड आन्दोलनमा परिणत भएको हो। त्यहीँ अवस्थामा कथित भाषा अतिक्रमणको विरोधमा निस्कने जुलुसलाई पुलिसले रोक्ने क्रममा बिस्तारै तनाव सिर्जना हुन सुरु भएको हो अनि पुलिसले पनि गोजमुमो मुख्यालय पातलेबाँसमा छापामारी अभियान तेज गरेपछि 15 जुनका दिनदेखि अनिश्चितकालिन पहाड बन्दको घोषणा भएको हो।

गतवर्ष 15 जुनका दिनदेखि अनिश्चितकालिन पहाड बन्द भएको दुईदिनपछि दार्जीलिङ शहरमा निस्केको जुलुस पुलिसँग भीडन्त हुँदा 17 जुन 2017 का दिन गोक निवासी बिमल शासंकर, कैजले निवासी सुनिर राईको सिंहमारीमा भएको पुलिसी फाइरिङमा मृत्यु भएको थियो भने घुममा भएको गोलिकाण्डमा महेश गुरुङको मृत्यु भएको हो। त्यसपछि भने पहाडमा गोर्खाल्याण्डको आगो उग्र बनेको हो भने सोही आन्दोलनमा मृत्यु हुनेहरूको संख्या पछिबाट वृद्धि भएर 13 जना पुगेको हो।

गतवर्ष गोर्खाल्याण्ड आन्दोलनमा सहिद हुनेहरूको स्मरणमा आजकै दिन सबैले घर-घरमा दियो बालेर श्रद्धाञ्जली दिनुपर्ने बिमल गुरुङको प्रेस बिज्ञप्ति अनि पछिबाट भोइस रेकर्ड सार्वजनिक भएपछि यसवर्ष पनि राजनैतिक मौसम तातिएको हो। यस्तो अवस्थामा वर्तमान जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङले सहिदलाई श्रद्धाञ्जली दिने दिन 27 जुलाई हो भन्दै वाट्सअपमा पठाएको मेसेज सोसियल मिडियामा सार्वजनिक बनेपछि झनै राजनैतिक वातावरण गर्मिएको हो।

जसको कारण आज बिहानैदेखि मानिसहरूले दियो बालेर श्रद्धाञ्जली दिने हो कि होइनन् भन्ने विषयमा ध्यान केन्द्रित बनेको अवस्थामा पहिलोपल्ट कालेबुङमा केही नारीहरूले खुल्ला रूपले बत्तिबालेर श्रद्धाञ्जली दिएका छन्। यसका साथै सहिद बरुण भुजेलको घरमा पनि उनका परिवार पक्षले दियो बालेर सहिदहरूलाई श्रद्धाञ्जली दिने कार्य गरेका छन् भने कालेबुङको चन्द्रलोकमा अवस्थित सहिद बेदीमा पनि मानिसहरूले बत्ति बालेर श्रद्धाञ्जली दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad