कालेबुङ भित्रिएका मुस्लिमहरूले देखाए आधार कार्ड अनि भने - ‘हामी भारतीय नागरिक हौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 28, 2018

कालेबुङ भित्रिएका मुस्लिमहरूले देखाए आधार कार्ड अनि भने - ‘हामी भारतीय नागरिक हौँ’


गफसफ.com, कालेबुङ 28 अप्रेल।

कालेबुङ भित्रिएका मुस्लिम समुदायका मानिसहरूले भारतीय नागरिक रहेको प्रमाण देखाएका छन्। सोसियल मिडिया फेसबुकमा कालेबुङको थाना डाँडामा बसबाट झर्दै गरेका एकाधिक मुस्लिम मानिसहरू रोहोङ्गिया रहेको हल्ला सँगै भिडियो भाइरल बनेपछि आज उनीहरूले मिडिया समक्ष आफुहरू भारतीय नागरिक हुनुको दाबी पेश गरेका हुन्। 


भिडियोमा देखिएका प्राय: सबै मुस्लिम समुदायका मानिसहरूले आज कालेबुङको मुस्लिम सङ्गठन अञ्जुमान इस्लामियाको सचिव मसुद सुल्तानको उपस्थितिमा पत्रकारहरू अघि आफुहरू भारतीय नागरिक हुनुको प्रमाण पत्र पेश गरे। उनीहरूले मिडिया समक्ष आ-आफ्ना आधार कार्डहरू देखाएर भारतीय नागरिक हुनुको प्रमाण पेश गरेका हुन्। कालेबुङ शहर नजिक ठाकुरबाडी स्थित मस्जिदमा बसेका उक्त मुस्लिम समुदायका मानिसहरूले पत्रकारहरू समक्ष आफुहरू भारतीय हुनुको प्रमाणको पत्र देखाएका हुन्।

जमातमा आएका हौँ – शेख शेहनशाह

भाइरल भिड्योमा देखिएका मुस्लिम समुदायका मानिसहरू मोठ 15 जना रहेका छन्। आज सम्पूर्ण 15 जना नै मिडिया समक्ष देखा परेर आफुहरू भारतका नागरिक हो भनेका छन्। ‘हामी भारतीय हौँ। हामीसँग हाम्रो परिचय पत्रको रूपमा आधार कार्ड छन्। हामी कोलकोताबाट सिलगडी हुँदै यहाँ आएका हौँ। समय सकिएपछि हामी फेरि फर्कन्छौँ’ कालेबुङ आउने टोलिलाई नेतृत्व गर्ने शेख शेहनशाहले भने। आफुलाई एकजना शिक्षक रहेको दाबी गर्दै उनले आफुहरू मोठ 15 जना कालेबुङ आएको पनि स्पष्टिकरण दिएका छन्।

‘हामीलाई यस्तो अफवाह फैलिन्छ भन्ने थाह थिएन। जुन अफवाह फैलियो त्यो अत्यन्तै झुटो हो’ शेख शेहनशाहले पत्रकारहरूलाई भने। उनले आफुहरू कालेबुङ आउँदा रोहोङ्गिया भनि अफवाह फैलिनु नितान्त झुटो खबर हो भन्दै ‘हामी जमातको सिलसिलामा आएको हौँ’ भने। उनले अझ भने -‘हामी जमातको सिलसिलामा एकठाउँदेखि अर्को ठाउँ जाने गर्छौँ। कहिले यो मस्जिद त कहिले अर्को मस्जिद जान्छौँ। भारतका विभिन्न ठाउँहरूमा जान्छौँ। कहिले तीन दिन त कहिले चार दिए यसरी मस्जिदमा बस्छौँ अनि इस्लामिक कल्चरको बिषयमा कुराकानी गर्छौँ। जब आफ्नो समय सकिन्छ तब हामी आफ्ना घर फर्कन्छौँ।’

 पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा उनले आफुलाई गोडिया बनहुगली, सोनापुर थाना, 24 परगनाका बासिन्दा रहेको बताए।  उनले आफु गुडवाल हाई स्कुलबाट उच्चतर माध्यमिक उतिर्ण गरेर, डिनुकन्डु कलेजबाट ग्र्याज्युट गरेको दाबी गर्दै आफ्नो परिचय उक्त स्कुल अनि कलेजमा समेत पाउने बताएका छन्। जमातको निम्ति कालेबुङ आएका मोठ 15 जनाको टोलि जमात सकेपछि पुन कोलकोता फर्किने पनि शेहनशाहले जानकारी दिएका छन्।

अफवाह फैलाउनेलाई कार्वाही गर्नुपर्छ – अञ्जुमान इस्लामिया

सोसियल मिडियामा भाइरल बनेको भिड्योमा रोहोङ्गिया भनिएका मोठ 15 जना मुस्लिम समुदायका मानिसहरूको साथमा पत्रकार सम्मेलन गरेर कालेबुङको मुस्लिम सङ्गठन अञ्जुमान इस्लामियाले अफवाह फैलाउनेलाई कार्वाही गर्नुपर्ने माग गरेको छ। ‘भिडियोमा देखाइएका मानिसहरू रोहिङ्ग्या भनेर दिइएको खबर झुटो हो। उनीहरू रोहिङ्ग्या होइनन्। तर, धार्मिक कार्यलाई लिएर आएका इस्लामिक धर्मावलम्बीहरू हुन्’ अञ्जुमान इस्लामियाका सचिव मसुद सुल्तानले भने। उनले मस्जिदमा इस्लामिक धर्मावलम्बीहरू बाहिरबाट आउने क्रम नौलो होइन भन्दै झुटो खबरलाई फैलाउनेहरू विरुद्ध प्रशासनले जाँच गरेर कार्वाही गर्नुपर्ने माग गरे। ‘सामाजिक सञ्जालमा यस्तो झुटो खबर फैलाउनु एउटा अपराध हो। यस्तो अपराध गर्नेहरूलाई खोजेर प्रशासनले उचित कार्यवाही गर्नुपर्छ’ मसुद सुल्तानले भने।

शान्ति शृङ्खला भङ्ग नहोस् - गोजमुमो

सोसियल मिडियामा रोहोङ्गिया मुस्लिम कालेबुङ भित्रिएको खबरलाई लिएर गोजमुमो पार्टीको प्रतिनिधी टोलिले जिल्ला पुलिस अधिक्षकलाई भेट गरेर कालेबुङको शान्ति शृङ्खला भङ्ग नहोस् भनि माग गरेका छन्। चारैतिर सोसियल मिडियामा रोहोङ्गिया कालेबुङ भित्रिएको खबर फैलिएपछि गोजमुमो कालेबुङ जिल्ला समितिले सत्य पत्तो लगाउँन जाँच समेत गरेको पार्टीको कालेबुङ जिल्ला समिति सचिव गायत्री मुखियाले जानकारी गराएकी छन्। मोर्चा नेता शमशेर अलिको नेतृत्वमा भाइरल खबर पछि कालेबुङको मुस्लिम सङ्गठन अञ्जुमान इस्लामियासँग बसेर आफुहरूले जाँच गरेको मुखियाले जानकारी दिइन्। यसक्रममा उनले पुलिस प्रशासनले जाँच गरेर सत्यता पत्तो लगाउनुपर्ने माग पनि गरेकी छन्। ‘हामीले कालेबुङका जनताको भावनालाई सम्मान गर्दै यसको जाँच हुनपर्ने माग गर्दछौँ। प्रशासनले पनि अहिले धार्मिक कार्यका निम्ति आएका मुस्लिम समुदायका मानिसहरूको तल्लो तहसम्म पुगेर जाँच गरिदियोस्। जसको कारण कालेबुङका जनताको मनमा कुनै आघात् नपुगोस्। हामी शान्ति शृङ्खला भङ्ग नहोस् भन्ने चाहन्छौँ’ गायत्री मुखियाले भनिन्।

जातीय हिंसा फैलाउने षडयन्त्र हुँदैछ – शान्ता छेत्री

रोहोङ्गिया मुस्लिमको नाउँमा भाइरल बनेको भिडियो वास्तवमा शान्त पहाडमा अशान्ति फैलाउने विपक्षी राजनैतिक दलहरूको षडयन्त्र रहेको राज्यससा सांसद एवम् तृणमूल नेत्री शान्ता छेत्रीले आरोप लगाएकी छन्। ‘मैले हिज मात्रै एसपी र आईसीसँग बाद गर्दा उनीहरू यहाँ अध्ययनका निम्ति आएको थाह पाएँ। एकजना त झन् म्याडम ममता ब्यानर्जीको घर नजिकैको रहेछ’ शान्ता छेत्रीले भनिन्। उनले सामाजिक सञ्जालहरू यस्तो भिड्यो भाइरल हुनु वास्तवमा शान्ति सिर्जना गर्ने चाल रहेको बताए। ‘यसरी अफवाह फैलाएर हाम्रो  शान्त पहाडमा एउटा जातिय हिंसा फैलाउने षडयन्त्र विपक्षी दलहरूले गरिरहेका छन्। यसको हामी घोर विरोध गर्दछौँ। यस्ता अफवाह फैलाउने दोषीलाई झट्टै पक्राउ गरेर कार्वाही गर्नुपर्छ। मैले यसबारे कालेबुङका एसपी अनि आईसीसँग कुराकानी गरिसकेको छु’ राज्यसभा सांसद शान्ता छेत्रीले भनिन्।

रोहोङ्गिया ल्याएको हो भने जन आन्दोलन पार्ती जाने सुप्रिम कोर्ट

पहाडमा राज्य सरकारले सुनियोजित तरिकाले रोहोङ्गिया ल्याउने कार्य गरेको हो भने जन आन्दोलन पार्टीले सर्वोच्च न्यायालयको ढोका ढ्क्-ढकाउने चेतावनी दिएको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले रोहिङ्ग्याहरूमाथि राज्य सरकारको सम्वेदना रहेको कुरा अघिबाटै प्रकाशमा आइसकेको दाबी गर्दै यदि पहाडमा उनीहरूलाई भित्राए कानुनी लडाईँ लड्न जाप तयार रहेको बताए। ‘रोहोङ्गिया ल्याएको हो भने हामी सर्वोच्च न्यायालय जानेछौँ। यसबारे प्रेसले पनि छानबिन गरेर सही तथ्य निकाल्ने समय आएको छ। यदि राजनैतिक रूपमा यसो गरेको हो भने हामी कानुनी लडाईँ लड्नेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले केन्द्रले मात्र यस कुरामा निर्णय लिनसक्ने अनि अघिबाटै केन्द्रले रिफ्युजीहरूलाई स्थापित गर्ने कुरामा असहमति जनाइसकेकोले केन्द्रको निर्णय विरूद्ध राज्यले पदक्षेप लिनु गैर कानूनी रहेको बताएका छन्।

वास्तवमा के हो त घट्ना ?

घट्ना गत 26 अप्रेल 2018 बिहिबारको दिन अञ्जान व्यक्तिले कालेबुङको थाना डाँडामा बसबाट एकाधिक मुस्लिम समुदायका मानिसहरू सर-सामान झार्दै गरेको भिडियो खिचेका थिए। जुन भिडियोलाई सामाजिक सञ्जाल फेसबुकमा ‘रोहोङ्गिया मुस्लिमहरू कालेबुङ भित्रियो’ भनि लेखेर पोस्ट गरिदिएको थियो। जसको मानिसहरूले सत्यता जाँच नगरी अझै अनेकौ लेख्दै सेर गरेपछि चारैतिर भिडियो भाइरल बनेको थियो। भिडियो भाइरल बनेपछि अधिवक्ता प्रताप खातीले पुलिसलाई यसबारे जाँचको माग गर्दै ज्ञापन बुझाएका थिए भने गोर्खाल्याण्ड निर्माण मोर्चा अध्यक्ष दावा पाख्रिनले प्रधानमन्त्रीलाई समेत पत्रचार गरेर ध्यान आकर्षण गराए। सोहीक्रममा गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङले समेत प्रेस रिलिज गरेर रोहोङ्गिया मुस्लिमहरू कालेबुङमा भित्रिएको खबर प्राप्त भइरहेको भन्दै प्रधानमन्त्री अनि गृहमन्त्रीलाई ध्यान आकर्ष गराएका थिए।

सक्रिय बन्यो प्रशासन

रोहोङ्गिया मुस्लिम कालेबुङ भित्रिएको भाइरल भिडियोसँगै प्रशासन सक्रिय बनेको छ। चारैतिर भिडियो फेसबुकमा भाइरल बन्न थालेपछि प्रशासनले भिडियो अपलोड कहाँबाट भयो भन्ने समेत पत्तो लगाउने प्रयास गरिरहेको छ। यसका साथै कालेबुङ भित्रिएकाहरू को हुन् भन्ने जाँच गर्न पुलिस प्रशासनका मानिसहरू मस्जिदमा नै पुगेर उनीहरूलाई भेट गरेको थाह लागेको छ। यसका साथै राज्यका खुफिया तन्त्र सँगै केन्द्रिय खुफिया तन्त्रले पनि घट्नामाथि नजर बनाएर राखेको छ भने कालेबुङ भित्रिएकाहरूलाई भेट गरेर उनीहरूको परिचय लिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad