गोर्खाल्याण्ड भनेको चौकी नै हो कि ! - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 16, 2018

गोर्खाल्याण्ड भनेको चौकी नै हो कि !

म जाति र आफ्नो मुद्दाप्रति पूर्णरूपले प्रतिबद्ध छु – विनय तामाङ

(विमल गुरुङलाई पछिल्लो गोर्खाल्याण्ड आन्दोलनको क्रममा एकाएक बिना चुनाव सत्ताच्युत पारेर अहिलेघरी विनय तामाङ जीटीएको चौकिमा आसिन बनेका छन्। गफसफ.com-का पाठकहरूमा निम्ति प्रस्तुत छ जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसका अध्यक्ष विनय तामाङ’- सँग पत्रकार डी.के वाइबा’-को अन्तरवार्ता।

उत्तरदिने क्रममा विनय तामाङ 

प्रश्न - पहाडका मानिसहरूले अहिलेको राजनैतिक स्थितिलाई हेरेर एकाधिक अड्कलबाजी गरिरहेका छन्। गोर्खाल्याण्ड आन्दोलन त्यसपछि जीटीए अनि अहिले जीटीए-2 जस्ता व्यवस्थाहरूमा अल्झेका जनताले सम्भावनाहरूको अडकलबाजी गर्दै छन्। वास्तवमा पहाडको राजनीति अहिले कतातिर जाँदैछ भन्ने लाग्छ तपाईँलाई?
उत्तर -  हेर्नुहोस्, 2017 को घटना हाम्रोमा आलै छ। यो घटना त्यति बेला भयो जतिबेला बङ्गला भाषालाई जब्बरजस्ति प्रयोग गर्ने पहल भयो। बङ्गला भाषालाई बलजफ्ति प्रयोगको प्रयास हुँदा त्यसको विरोध हुन थाल्यो अनि त्यहीँ विरोधको स्वर गोर्खाल्याण्ड आन्दोलनतर्फ मोडिएर गयो। त्यस बेला सुरु भएको गोर्खाल्याण्ड आन्दोलन बिस्तारै गणतान्त्रिक हुनको साटो अगणतान्त्रिक हुनथालेपछि अनित थापाज्यु र मैले जनताले दुख पाउन थाल्यो, हाम्रा मानिसहरू मारिन थाले अनि यो स्थिति अझ भयानक भएर जानेछ भन्ने हेतुले दार्जीलिङ पहाड, तराई र डुवर्स अनि हाम्रा सम्पूर्ण सन्तानलाई आगोबाट बाहिर निकाल्न कम्मर कसेका हौँ।
अहिलेघरी हामीलाई जतिपनि मानिसहरूले गाली गर्दै छन् उनीहरू कसैलाई पनि त्यो जलन थाह छैन। किन भने त्यस बेला हामी फिल्डमा थियौँ अनि अहिले गाली गर्नेहरू सबै बाहिर थिए। त्यस बेला जतिपनि जनता-जनार्दन यहाँ थिए उनीहरूलाई त्यो पिँडा थाह छ।


प्रश्न -  अँ तपाईँले गोर्खाल्याण्डको आन्दोलनलाई आगो भन्नु भयो। हो यो आगोनै हो। अझ यो त भुसको आगो हो सल्किरहने। तर, राजनीतिमा यो गोर्खाल्याण्डको आगो कहीँ कतै सत्तामा पुग्ने मुद्दा मात्र होइन?
विनय तामाङलाई प्रश्न गर्दै डी.के वाइबा 
उत्तर हेर्नुहोस् तपाईँको यस प्रश्नमा मेरो सय प्रतिशत सहमति पनि छैन अनि सय प्रतिशत असहमति पनि छैन। कतिजना विज्ञ राजनीतिज्ञहरूले यसलाई चुनावी मुद्दा बनाए अनि बनाएर लगिरहेका पनि छन्। तर, म यसलाई चुनावी मुद्दा बनाएर लैजान चाहन्न।
गोर्खाल्याण्ड प्रत्येक पहाड, तराई र डुवर्सवासी लगायत सम्पूर्ण गोर्खाहरूका एउटा सपना हो अनि कोर आइडियोलजी पनि हो। जबसम्म हामी भारतमा मात्र होइन तर विश्वभरि गोर्खाहरू छौँ त्यतिबेलासम्म गोर्खाहरूको नसा-नशामा बग्ने रगतहरूसँगै यो गोर्खाल्याण्ड रहिरहनेछ।
तपाईँको प्रश्नमा सयप्रतिशत सहमत पनि छुइन अनि असहमत पनि छुइन भन्नुको तात्पर्य चाहिँ जबसम्म हामीले भावानात्मक कुरालाई लजिकलसँग प्रस्तुत गर्दैनौँ तबसम्म सफलताको चुचुरोमा पुग्दैनौँ।

प्रश्न तपाईँको भनाइअनुसार हो भने गोर्खाल्याण्डको मुद्दालाई अहिलेसम्म लजिकल्ली पेश गरिएको छैन ?
उत्तर हामीले जसले सफलता पायो उनीहरूबाट शिक्षा लिनुपर्छ। जस्तै तीनवटा राज्यहरू बाजपेयी सरकारमा गठन भयो। युपीए-2 को समयमा सम्पूर्ण राजनैतिक दलहरूको परामर्श अनुसार तेलेङ्गना गठन भयो। यी जम्मै चारवटा राज्य बनिन्दा उनीहरूले कस्तो कसारत गरे? कस्ता लजिकल पदक्षेपहरू ग्रहण गरे त्यसबारे हामीले जानकारी लिनु आवश्यक छ।

प्रश्न त्यसो भए के गर्नु त गोर्खाल्याण्डको निम्ति ?
उत्तर यो सामूहिक मुद्दा हो। सबै मिलेर एउटा मञ्चमा आएर उठाउने मुद्दा हो। एक्लो व्यक्तिले उठाउने कुरा होइन। यसकारण हामी सामूहिक विचारमा, सामूहिक सोंचमा, सामूहिक कार्याप्रणालिमा एक भएर एउटा प्लेटफार्ममा एकवद्ध बनेर आउन सके सायद अर्को सय वर्ष लाग्दैनहोला। तर, हाम्रो यहीँ व्यवहार, यहीँ प्रवृत्ति, यहीँ सोंच र यहीँ विचार राखे सायद अर्को दुईसयवर्षमा पनि सम्भव छैन।



प्रश्न
स्व. सुवास घिसिङले गोर्खाल्याण्ड भने अनि दागोपापको चौकीमा बसे। विमल गुरुङले सुवास घिसिङलाई सत्ताच्युत पारेर गोर्खाल्याण्डको मुद्दा उठाए अनि जीटीएको चौकीमा बसे। तपाईँले विमल गुरुङलाई सत्ताच्युत पार्नुभयो अनि जीटीएकै चौकीमा बस्नुभयो। अर्थात् यो गोर्खाल्याण्ड भनेको आखिरमा सत्ता नै हो?
उत्तर हेर्नुहोस्, यसलाई तपाईँहरूले फरक तरिकाले हेर्नुपर्छ। मैले गोर्खाल्याण्डको नाउँमा चौकी लिएको होइन। मलाई चौकी दिएको हो। त्यो चौकी कसरी दियो भन्ने पनि मलाई थाह छैन। तर, मलाई अहिले पनि चौकीको लोभ छैन। यदि आज मभन्दा ओजस्वी व्यक्ति अथवा मभन्दा अझ राम्रो, जसले चलाउन सक्छ उनी आएर तपाईँको अध्यक्षपद लिन चाहन्छु भन्छन् भने म यो चौकी दिनलाई तयार छु। किन भने मैले पनि तृणमूल स्तरदेखि गोर्खाल्याण्डको आन्दोलन गर्दै राजनीतिमा प्रवेश गरेको हुँ। आजसम्मको लगभग 31-32 वर्षको राजनैतिक अनुभवमा मैले चौकी चाहिँ ताकेको थिइन।
तर, अहिले वाध्यतावस तपाईँहरू जनतालाई सुरक्षा प्रदान गर्नका निम्ति, सबैलाई सम्वृद्ध बनाउनका निम्ति अनि आगोमा परिरहेका सबैलाई बाहिर निकाल्नका निम्ति जिम्मेवारी लिएको हुँ। त्यसभन्दा उता केही छैन।

प्रश्न - जीटीएलाई स्वायत्त शासन भनिन्छ। वास्तवमा जीटीए स्वायत्त छ? स्वायत्तले काम गर्ने मौका पाउनुहुँदैछ?
उत्तर हेर्नुहोस्, यो आफ्नो इच्छाशक्तिमा निर्भर पर्छ। जो व्यक्तिलाई जिम्मेवारी दिएको छ उसको इच्छशक्तिमा निर्भर पर्छ। अनि अर्को राजनैतिक इच्छाशक्ति पनि हो। आफ्नै इच्छाशक्ति पनि हुन्छ। यी सबै इच्छाशक्तिमा निर्भर पर्ने कुरा हुन्।
जीटीए ,जतिबेला हामी निर्वाचित सदस्यहरूले चलाउने कार्य गर्यौँस अनि जतिबेला विमल गुरुङ प्रमुख थिए त्यस बेला सटिक ढङ्गले चलाउन नसक्दा फेल्युर पनि भयो। तर अहिले धेरै परिवर्तन भएको देख्नुहुनेछ। यो मेरो मौखिक बयान होइन फिल्डमा हेर्नुभयो भने रिजल्ट पाउनुहुनेछ। हो हामीसँग अहिले सीमित क्षमता छन्। तर, सीमित क्षमतालाई पनि सही प्रयोग गर्यौँु भने जनताको इच्छा आकाङ्क्षालाई केही हदसम्म पुरा गर्ने सक्छौँ भन्ने लागेको छ। यो काम गर्ने व्यक्तिको इच्छाशक्तिमा निर्भर हुने विषय हो।

प्रश्न अहिले पहाडमा जीटीए र हिल एरिया डेभलभमेन्ट कमिटी समानान्तर रूपमा चलिरहेको छ। दुईवटा व्यवस्था एकैसाथ सञ्चालन हुँदा तपाईँको जीटीएको स्वायात्त भनिएको जीटीएको क्षमता आघात पुग्दैन?
उत्तर तपाईँहरूले केवल दुईवटा व्यवस्था मात्रै देख्नुहुँदैछ। म त थुप्रै देख्दै छु। हेर्नुहोस् जिल्लापालबाट काम चल्दैछ, 15 वटा विकास बोर्ड चल्दैछ। उत्तरबङ्गाल विकास बोर्डले पनि काम गर्दैछ। गोरामुमोले एचएडीसी पाएका छन् अनि काम गर्दै छन्। यसको निम्ति मलाई कुनै आपत्ति छैन। जसले पनि काम गर्दैछ त्यो पहाडका जनताको हितमा काम भइरहेको छ। यसकारण यहाँ काम रामले गरोस् अथवा लक्ष्मणले गरोस् त्यसमा मेरो आपत्ति छैन।

प्रश्न भारतका प्रधानमन्त्रीले गोर्खाको सपना मेरो सपना भने। त्यो सपना अहिलेसम्म सपनामानै सीमित भएको छ। गोर्खाल्याण्डको कुनै कुरै छैन। के भन्नुहुन्छ यसबारे?
उत्तर गोर्खाल्याण्डको कुरा त छोडिदिनुहोस् 11 वटा जातिलाई जनजातिको मान्यता दिने विषयमा पनि भाजपा सरकारले कै गरेको छैन। 11 जात गोष्ठिलाई जनजातिको मान्यता प्रदान गर्नलाई पश्चिम बङ्गाल सरकारले एसेम्ब्लीमा पास गरेर केन्द्र सरकारलाई पठाइसकेको छ। त्यसबारे पनि केन्द्रले केही गरेको छैन।
भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले विधानसभा चुनावको समय बिरपाडा अनि बागडोग्रामा आउँदा 11 वटा जात गोष्टिको नाउँ लिएरनै जनजातिको मान्यता दिलाउनेछौँ भने। तर, विधानसभा चुनाव सकेको यतिञ्जेल सम्म केही गरेको छैन। त्यसकारण भाजपा पहाड, तराई-डुवर्स र गोर्खा जातिको समस्यालाई लिएर चिन्तित छ जस्तो लागेको छैन। सायद उहाँहरूले 11 वटा जातिको मुद्दालाई आगामी 2019को लोकसभा चुनावको ठिक तीन-चार महिना अघि दिएर हामीलाई फेरि लट्टाउने जस्तो छ। यसबारे मैले उनीहरूलाई 20092014 को जस्तो भावानात्मक मुद्दा बोकेर लट्टाउने प्रयास गर्नका निम्ति नआउनु भनि खबर पठाइदिएको छु। किन भने अहिलेका जनता त्यसबेलाको भन्दा परिवर्तन भइसकेका छन्। अब जनताले भावानामा भोट हाल्दैनन्। अब हामी निश्चित उपलब्धिमा मात्र भोट हाल्नेछौँ।



प्रश्न - तपाईँहरूले पनि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनको चौकीमा बसेर 2019 कै लोकसभा चुनावको निम्ति राजनैतिक गोटी त चालिरहनु भएको छैन?
उत्तर अहिलेघरी म 2019 को चुनावलाई लिएर चिन्तित छुइन। समय आएपछि हामी पार्टीमा बसेर निर्णय लिनेछौँ। तर, अहिले 2019 लाई लिएर भारतीय मानचित्रमा जे जस्ता राजनैतिक घट्नाक्रमहरू भइरहेका छन् त्यसलाई हेर्न आवश्यक छ। साथै रिजनल राजनीतिलाई पनि हेर्न आवश्यक छ। त्यसपछि अझ अर्कोपट्टी हाम्रो आफ्नै मुद्दा छ। यो सबैलाई एउटै ठाउँमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछौँ। यसबारे अहिलेनै केही टिप्पणी गरिहाल्नु अपरिपक्व हुनेछ। हामी हतारमा निर्णय गरेर पछि पछुतो मान्ने पक्षमा छैनौँ।

प्रश्न तपाईँले ठाउँ-ठाउँमा जनतालाई धोका दिनेछुइन। जे ल्याउनेछु संवैधानिक व्यवस्था ल्याउनेछु भनिरहनु भएको छ। संवैधानिक व्यवस्था के ल्याउने पक्षमा हुनुहुन्छ?
उत्तर यसबारे मैले 21 जनवरीका दिन सर्वप्रथम सुकुनाको जनसभाबाट घोषणा गरेको हुँ। तर, अहिलेनै मैले यसबारे खुलस्त पार्नु मूर्खता हुनेछ। किनभने विगतका धेरै तितो अनुभव छ। सबै रणनीति उजागर गर्नु राम्रो हुनेछ। म जे ल्याउँछु एकदमै रामो संवैधानिक व्यवस्था ल्याउनेछु। जुनदिन आउनेछ त्यसै दिन जनताले त्यसको स्वाद पनि थाह पाउनेछन्। अहिलेनै खुलस्त भने पार्न सकिन्दैन। 

प्रश्न भन्नुको तात्पर्य त्यो संवैधानिक व्यवस्था भित्राउनका निम्ति काम गरिरहनु भएको छ?
उत्तर हेर्नुहोस्, समुन्द्र माथिबाट देख्दा बगेको देख्दैन एकदमै शान्त देख्छ। तर, भित्री करेन्ट भने खत्रनाक हुन्छ। त्यसकारण यो विषयमा पनि देख्दा शान्त नै देखे पनि भित्री करेन्ट भने धेरै छ।

प्रश्न तपाईँले त गोर्खाल्याण्डको निम्ति आमरण अन्शन नै बस्छु भनेर घोषणा गर्नु भएको थियो। अहिले जीटीएको चौकीमा बसेपछि यसबारे के सोंचिहनुभएको छ?
उत्तर समयले जतिबेला जे माग्छ त्यो गर्नलाई म तयार छु। सन् 1986 को आन्दोलनमा पनि जेल बसेकै हो। त्यसपछि 2007 देखि सुरु भएको आन्दोलनमा पनि दुईचोटी भोकहडताल बसेकै हो। जीएमसीसी गठन भएको समयमा पनि आमरण अन्शन बस्नुपर्छ भनेकै थिएँ। मैले त त्यस बेला आफ्नो नाउँ पनि दिइसकेको थिए।
म जाति र आफ्नो मुद्दाप्रति पूर्णरूपले प्रतिबद्ध छु। भोलिको दिनमा यदि भोक हडतालनै बस्न पर्छ भने पनि तयार छु।  


(नोट : यस अन्तरवार्ता हाम्रो प्रजाशक्ति नेपाली दैनैक समाचार पत्रमा प्रकाशित भएको छ। पत्रकार डी.के वाइबा हाम्रो प्रजाशक्तिका संवाददाता हुन् भने ‘कञ्चनजङ्घा पोस्ट’ मासिक पत्रिकाका सम्पादक पनि हुन्। उनी दैनन्दिनी समाचार, खबर म्यागजिन (अनलाइन न्युज पोर्तेल), प्रतिबिम्ब.com, कालिम्पोङ न्युज (अनलाइन) आदिसँग पनि आवद्ध रहेका छन्। गफसफ.com-का पाठकहरूका निम्ति यहाँ साभार गरेर प्रस्तुत गरिएको हो।)  

No comments:

Post a Comment

Post Bottom Ad