पत्रकारहरू माथी कुटपिटको घट्ना अत्यन्त्यै निन्दनीय; प्रशासनले झट्टै अपराधीहरूलाई कानुनी कार्वाही गर्नुपर्छ – कालेबुङ प्रेस क्लब - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 10, 2023

पत्रकारहरू माथी कुटपिटको घट्ना अत्यन्त्यै निन्दनीय; प्रशासनले झट्टै अपराधीहरूलाई कानुनी कार्वाही गर्नुपर्छ – कालेबुङ प्रेस क्लब

गफसफ, कालेबुङ 10 अक्टोबर।

कालेबुङ प्रेस क्लबले एक प्रेस बिज्ञप्ती जारी गरेर पत्रकारद्वय मनोज बोगटी र उमेश दर्जीलाई गरेको कुटपिटको घट्नाबारे घोर भर्त्सना जनाएको छ। “समाचार सङ्कलन गर्न जाने क्रममा खबर म्यागजिनका सम्पादक मनोज बोगटी अनि कालेबुङ टेलिभिजनका पत्रकार उमेश परियारमाथी भएको प्राणघातक आक्रमणको कालेबुङ प्रेस क्लब घोर भर्त्सना जनाउँदछ। पत्रकारहरू माथी आक्रमण गर्नु गणतन्त्रको हत्या हो। यसकारण यस्ता घट्नाको कालेबुङ प्रेस क्लब सधै नै घोर भर्त्सना गर्दछ।“ प्रेस क्लबले जारी गरेको बिज्ञप्तीमा भनेको छ। 



क्लबका अध्यक्ष अरुण कुमार राई अनि सचिव प्रज्ज्वल छेत्रीद्वारा जारी गरिएको उक्त प्रेस विज्ञप्तीमा सभ्य समाजमा पत्रकारहरूको संरक्षण र सम्वर्द्धन हुनपर्छ भन्दै पत्रकारहरूको संरक्षणले नै गणतन्त्रको संरक्षण हुने कुरा बताएको छ। “आज राष्ट्रिय राजमार्ग 10 अन्तर्गत गेलखोला नजिक पत्रकारद्वय मनोज बोगटी र उमेश परियार माथी जुन प्रकारको आक्रमण भयो त्यो अत्यन्त्यै निन्दनीय हो। पत्रकारद्वय मनोज बोगटी र उमेश परियारमाथी प्राणघातक आक्रमण गर्ने यस्ता असामाजिक तत्वहरू विरुद्ध प्रशासनले झट्ट कार्वाही गर्दै पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने पनि माग गर्दछौँ” बिज्ञप्तीमा भनिएको छ।


प्रजातन्त्रको चौथो स्तम्भ मानिने पत्रकारिता माथीको आक्रमण समाजको निम्ति अत्यन्त्यै घातक रहेको पनि प्रेस क्लबले बताएको छ। सोहीकारण पनि पत्रकारहरूलाई आक्रमण गर्ने असामाजिक तत्वहरूलाई कसैले प्रश्रय दिनुहुँदैन भन्ने कुरा पनि प्रेस क्लबले बताएको छ। “राष्ट्रिय र अन्य सुरक्षा र गोप्य जानकारी  बाहेक अन्य सूचना प्राप्त गर्न पाउनु राष्ट्रले नै दिएको सार्वजनिक अधिकार हो,त्यही जानकारी प्रश्न गरेर सर्वसाधारणलाई पस्किनु पत्रकारिताको धर्म हो यसकारण कुनै पनि पत्रकारले प्रश्न गर्दैमा त्यस पत्रकारलाई शत्रुलाई जस्तो व्यवहार गर्नु कुनै पनि राजनैतिक पार्टीका कार्यकर्ताहरूलाई शोभा दिँदैन” बिज्ञप्तीमा लेखिएको छ।  

सबै पत्रकार सबैको प्यारो पनि हुँदैनन्। कुनै पत्रकारको कार्य गर्नेशैली कसैलाई मन नपर्न पनि सक्छ। तर, मन नपरेको भन्दै पत्रकारलाई प्राणघातक आक्रमण गर्नु सभ्य समाजको निम्ति एकदमै घातक र कायरता पनि हो भन्दै उक्त घट्नाको कालेबुङ प्रेस क्लब कठोर शब्दमा भर्त्सना गरेको छ। यसका साथै उक्त घट्नामा संलग्न रहेका दोषीहरूलाई प्रशासनले झट्त पक्राऊ गर्नुपर्ने पनि माग राखेको छ।

“समाजमा आतङ्क सिर्जना गर्न खोज्ने यस्ता असामाजिक तत्वहरूलाई कार्वाही गर्दै पुलिस प्रशासन र क्षेत्रीय प्रशासनले समेत श्रमजीवि पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दछ। आगामी दिनहरूमा यस्ता घट्नाहरू पुन: नदोहोरियोस् भन्ने माग गर्दै पुलिस प्रशासन र क्षेत्रीय प्रशासनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग कालेबुङ प्रेस क्लब दोहोर्‍याउँदछ” प्रेस क्लबले भनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad