भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष सुखमन मोक्तान पञ्चतत्वमा विलीन ; मानिसहरूले दिए भावपूर्ण श्रद्धाञ्जली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 12, 2021

भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष सुखमन मोक्तान पञ्चतत्वमा विलीन ; मानिसहरूले दिए भावपूर्ण श्रद्धाञ्जली

गफसफ.com, 12 मई 2021, बाग्राकोट

भारतीय गोर्खा परिसंघ (भागोप) का राष्ट्रिय अध्यक्ष सुखमन मोक्तान पञ्चतत्वमा विलीन भएका छन्। आज बौद्ध धर्म परम्पराअनुसार बाग्राकोटमा उनको अन्तिम संस्कार गरियो। शवयात्रा निकाल्नअघि भारतीय गोर्खा परिसंघका वरिष्ठ पदाधिकारीहरूले उनको शवमा सङ्गठनको मोनोग्रामअंकित ध्वज ओढाए अनि आफ्ना अध्यक्षलाई अन्तिम श्रद्धाञ्जली चढाए। शवयात्रा स्थानीय बरगाछस्थित गुम्बा-पथ तथा केही माथि रहेको आश्रम-पथ परिक्रमा गराउँदै श्मशानघाट पुगेको थियो। लामाहरूले बौद्ध परम्परा र मान्यताअनुसार मन्त्रपाठ तथा विधि सम्पन्न गरेपछि उनको पार्थिव शरीरलाई दुई छोरा साजन मोक्तान र सघन मोक्तानले अग्नि दिएका थिए।



मोक्तानको अन्तिम संस्कार गर्नअघि एउटा श्रद्धाञ्जली सभा आयोजन गरिएको थियो, जसको सञ्चालन बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले गरेका थिए। भारतीय गोर्खा समाजमा मोक्तानका योगदानहरूको उल्लेख गर्दै शर्माले उनी एक अथक जातीय योद्धा भएको अवगत गराए। एक मिनटको मौनधारण गरी श्रद्धाञ्जली-सभा शुरु गरियो।



आफ्ना अध्यक्षप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिसंघका मूलसचिव निर्मल पुनले सुखमन मोक्तानले बाचुञ्जेल जातिको निम्ति काम गरेको बताए। यसैगरी, परिसंघसा संयुक्त सचिव अभय खालिङले मोक्तानलाई गोर्खाहरूका राष्ट्रिय गौरव पुरुष बताए। आफूले 2006 देखि परिसंघमा उनीसँग जोडिएर काम गर्दा धेरै कुरा सिक्न पाएको अवगत गराउँदै उनको निधनले भारतीय गोर्खा समाजलाई अपूरणीय क्षति भएको खालिङले बताए। उनी कहिल्यै कसैसँग नझुक्ने र नबिक्ने एक आदर्श व्यक्ति रहेको भागोपका संयुक्त सचिवले मन्तव्य गरे। परिसंघले उनका सपना र योजनाहरूलाई अघि बढाएर लाने पनि उनले दृढता जताए। यसरी नै डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले अहिले डुवर्सका प्रतिभावान युवाहरू सुखमन मोक्तानको मार्गदर्शनबाट प्रेरित भएको टिप्पणी गरे। खवासले भने,"उनी भारतीय गोर्खा समाजका धुकधुकी थिए। यतिबेला हामीलाई उनको 'एउटा घर बनाउने रहर' कविता याद आइरहेको छ, जुन 'घर' गोर्खाहरूको छुट्टै राज्य थियो।" नेपाली भाषा आन्दोलन, विकास समितिको निर्माण लगायतका जातीय संघर्षका विभिन्न अभियानमा उनले दिएको योगदानको खवासले स्मरण गरे। उनको शवयात्रामा सहभागी हुन कोलकाताबाट आजै बाग्राकोट आइपुगेका चिया बगान संग्राम समितिका संयोजक समिक चक्रवर्तीले आफूले एकजना अभिभावक र सहयोद्धा गुमाएको बताए। उल्लेखनीय छ, मोक्तान 2015 मा गठित चिया बगान संग्राम समितिका अध्यक्ष पनि थिए। "समयभन्दा अघि नै हरेक कार्यक्रममा आउने व्यक्ति आज समयभन्दा अघि नै गए। हामीले गोर्खा अस्मितासँग जोडिएका संगठक मात्र होइन, चिया मजदुरहरूका हक-हितमा पनि प्राक्टिकलमै केही गर्नुपर्छ भनी हुटहुटी लगाइरहने योद्धा गुमाएका छौं। उनको संगठन गर्ने कौशल अद्वितीय थियो।"



चार दशकभन्दा लामो समयदेखि मोक्तानसँगै थुप्रै मोर्चाहरूमा साथ रहेर काम गरेका उनका अन्यतम मित्र जेबी छेत्रीले मोक्तानले बोक्ने जातीय अस्मिताको झोला बोकेर अब दैनिक रूपमा यसरी कसले खट्ला भन्ने चिन्ता जताए। भारतमा गोर्खाहरूको विकास यात्राको श्रेय सुखमन मोक्तानलाई पनि जाने उनले बताए। गोर्खाल्याण्ड आन्दोलन, भाषा संग्राम, डुवर्समा नेपाली शिक्षक नियुक्तिको संघर्षलगायतका मोर्चाहरूमा उनीसँगै खटेका दिनहरूको पनि छेत्रीले स्मरण गरे। वरिष्ठ कवि तथा मोक्तानका प्रिय सामाजिक शिष्यहरूमध्ये एक वेगवसन्त थापाले उनलाई 'गोर्खाहरूका फा-हियान'-को संज्ञा दिए। उनले सुखमन मोक्तानप्रति समर्पित 'एउटा अर्को फाहियानलाई भनेर' कविता पनि सुनाए, जसमा सुखमन मोक्तानको समर्पित व्यक्तित्वलाई विम्बित गरिएको छ।


शवयात्रामा दार्जीलिङ, कालेबुङ, खरसाङ, तराई, डुवर्सका विभिन्न क्षेत्रका प्रतिष्ठित संघ-संस्थाका प्रतिनिधि, साहित्यकार, बुद्धिजीवी, शुभचिन्तक तथा स्थानीय मानिसहरूले सहभागिता जनाएका थिए। कोरोना महामारीका कारण धेरै संख्यामा मानिसहरू शवयात्रामा सहभागी हुन पाएनन्। अन्तिम संस्कारमा मोक्तानप्रति देखाएको अपार माया, शवयात्रामा सहभागिता, फोन, सामाजिक सञ्जाल र पत्र-पत्रिकाहरूमारयर्फत प्रकट गरिएका शोक र सहानुभूति अनि दु:खको घडीमा परिवारसँग साथ रहेकोमा मोक्तानका छोरा सघन मोक्तानले परिवारको तर्फबाट सबैप्रति आभार प्रकट गरेका छन्। 

सुखमान मोक्तान के चाहन्थे हेर्नुहोस् भिडियोमा ... 


No comments:

Post a Comment

Post Bottom Ad