डुवर्स नेपाली साहित्य विकास समिति अनि गोर्खा जन पुस्तकाल खर्साङको सौजन्य-संवाद कार्यक्रम सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 22, 2020

डुवर्स नेपाली साहित्य विकास समिति अनि गोर्खा जन पुस्तकाल खर्साङको सौजन्य-संवाद कार्यक्रम सम्पन्न

गफसफ.com, 22  दिसम्बर 2020बाग्राकोट ।

पश्चिम डुवर्सको बाग्राकोटस्थित भीमसेन भवनमा डुवर्स नेपाली साहित्य विकास समिति र खरसाङ गोर्खा जन पुस्तकालयका पदाधिकारीमाझ आइतवार सौजन्य-संवाद कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता विकास समितिका अध्यक्ष सितम मोक्तानले गरेका थिए भने मुख्य अतिथिका रूपमा खरसाङ सालिक निर्माण समितिका संयोजक तिलक शर्मा उपस्थित थिए। पहाड र डुवर्समाझ साहित्यिक सान्निध्यसितै बौद्धिक एवं सांस्कृतिक समन्वय बढाउन विकास समितिले यो सौजन्यमूलक भेटको आयोजन गरेको थियो।


सौजन्य-संवादको औचित्य खुलाउँदै मुख्य अतिथि तिलक शर्माले मातृभाषाको प्रवर्द्धन र विकास गर्नुपर्नेमा जोड दिए। बहुभाषिक समाजमा बसेर जातीय उत्थानमा डुवर्सले दिएको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनले त्यसको मुग्ध कण्ठले प्रशंसा गरे। डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले उद्बोधनी वक्तव्य राख्दै डुवर्समा साहित्य र मातृभाषाको स्थितिबारे अवगत गराए। डुवर्सेवी गोर्खा समाजका समस्याहरूलाई सम्बोधन गर्नमा जीटीए क्षेत्रका अग्रणी संस्थाहरू चुकेको जिकिर गर्दै उनले भने, 'पहाडका अग्रणी संस्थाहरूले सही रूपमा अभिभावकीय भूमिका निभाउन आवश्यक छ।'


बीज वक्तव्य राख्दै समालोचक रूपेश शर्माले डुवर्सको दुखाइ र उठाइका स्थितिहरूमाथि प्रकाश पारे। संघर्षबाट पलायनका कारण जातीय उत्थानका अनेकौं आयाम आत्मनिर्भरताको सट्टा परनिर्भरमुखी हुँदै गएको उनले बताए। बुद्धिजीवी तथा सचेत व्यक्तिहरूले अब आफ्नो भूमिका तय गर्नुपर्ने शर्माले आह्वान गरे। कार्यक्रममा गोजपु-खरसाङका मूल सचिव एवं साहित्य अकादमी नेपाली परामर्श समिति सदस्य तथा कवि विनोद रसाइलीले डुवर्सले विभिन्न कठिनाइ भोग्दाभोग्दै पनि भाषा र साहित्यको उल्लेखनीय ढंगले प्रबर्द्धन गर्दै आइरहेकोमा त्यसको सराहना गरे। साथसाथै १०८ वर्षदेखि अस्तित्ववान गोर्खा जन पुस्तकालयका महत्वपूर्ण योजनाहरूबारे जानकारी गराउँदै त्यसमा डुवर्सलाई सम्मिलित गर्ने वचन दिए।

वक्तव्यक्रममा भागोप अध्यक्ष सुखमन मोक्तानले गोजुप अनि विकास समितिको यस पहललाई सही र समयको माग बताउँदै भाषा, साहित्य र संस्कृतिको उत्थानमा यसप्रकारको परस्पर सम्मिलन फलदायी हुने ठहर गरे।

यस कार्यक्रममा युवा कवि नारायण काफ्ले, पूजा राई र खरसाङका बालकृष्ण थामीले कविता वाचन गरेका थिए भने डुवर्स नेपाली साहित्य विकास समितिद्वारा खरसाङबाट आमन्त्रित आठजना पदाधिकारीलाई स्मृति-चिन्ह र पुस्तकहरू डुवर्सको चिनोस्वरूप प्रदान गरियो। हालै सिक्किम सरकारद्वारा वाई.एन.भण्डारी स्मृति पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत वरिष्ठ पत्रकार किशोर मोक्तानलाई पनि यस अवसरमा डुर्वसको पक्षबाट संवर्धित गरियो। कार्यक्रममा लाली गुराँस समूहका प्रमुख सदस्य समीक चक्रवर्तीले हालै प्रकाशित 'टोकलश', 'जातको उन्मूलन' (नेपालीमा अनूदित) र 'आज रमिता' (बंगलामा अनूदित) पुस्तक गोजपुलाई भेंटस्वरूप प्रदान गरे। आफ्नो अध्यक्षीय सम्बोधनमा सितम मोक्तानले भारतवर्षमा गोर्खाहरू अल्पसंख्यक रहेकोले जातीय सुरक्षाका खातिर संगठित भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। संगठनको स्थापनाभन्दा क्रियाशीलता प्रमुख कुरा रहेको उनको भनाइ थियो।

कार्यक्रमका अन्य अतिथिगणमा भागोप अध्यक्ष सुखमन मोक्तान, गोजपुका मूलसचिव विनोद रसाइली, वरिष्ठ साहित्यकार गोपालसिंह विश्व, गोजपुका उपाध्यक्षद्वय प्रकाश प्रधान र ऋषि राई आदि मञ्चासीन थिए भने खरसाङबाट गोजपुका सदस्यगण कथाकार निरंकर थापा, कवि बालकृष्ण थामी, साहित्यकार कृष्ण पाण्डे र सन्तोषराज छेत्री पनि अतिथिका रूपमा उपस्थित थिए। सम्पूर्ण कार्यक्रमलाई निबन्धकार अजय खड्काले सञ्चालन गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad