विचार / प्रतिक्रिया __________________________ बी.पी.
बजगाईँ
(गोजमुमो (विमल गुट) अनि गोरामुमो पार्टीको विवाद अहिले
दिनोदिन बड्दै गइरहेको छ। दुवै दलका नेताहरू एकार्कलाई आरोप प्रत्यारोप लगाउने
क्रम जारी छ। वितेको लोकसभा चुनावदेखि आएको राजनैतिक मित्रता सर्वदलिय वैठकमा ‘स्टेरिङ
कमिटि’ गठनको प्रस्ताव ग्रहण पछि एकाएक बिग्रन थालेको हो। गोरामुमो पार्टीका
प्रवक्ता अनि भाजपाका विधायक निरज जिम्बाहरूले छैटौँ अनुसूचीको मुद्दालाई अघि
बडाउँदै 'गोर्खाहरूलाई एनआरसी, सीएए र एनपीआरबाट केवल छैटौँ अनुसूचीले बचाउन सक्छ’ भन्न
थालेपछि गोरामुमो र गोजमुमो (विमल गुट) को राजनैतिक मित्रता तोडिने सङ्घारमा
पुगेको छ। एकार्कमा राजनैतिक हिलो छ्याप्ने क्रममा विधायक निराज जिम्बाले गरेका
टिप्पणीहरूको बीपी बजगाईँले लिखित जवाब दिएका छन्। यस टिप्पणीले पनि उनीहरूको
राजनैतिक मित्रता तोडिने सङ्घारमा पुगेको स्पष्ट छ। उनै बजगाईँद्वारा लिखित
टिप्पणी यहाँ गफसफ.com -का
पाठकवर्गका निम्ति जस्ताको त्यस्तै प्रकाशित गरिएको छ – सम्पादक।)
मेरो यो पोस्ट राजनैतिक विवाद होइन, एउटा व्यक्तिगत मन्तव्य हो। यसलाई गोर्खा राजनीतिसँग जोडेर कसैले पनि नहेरिदिउन भन्ने
मेरो अनुरोध छ।
मैले आज नीरज जिम्बाज्युको नयाँ भिडियो अन्तर्वार्ता हेरें, सुनें। म जति जति जिम्बा ज्युको अन्तर्वार्ताहरू हेर्छु त्यति नै
उनको असाध्यै माया लाग्न थाल्यो। उनको अहम, उनको दम्भ उनकै निम्ति कति घातक हुनसक्छ भन्ने चेत समेत
स्वयंले नराख्नु भनेको एउटा मायालाग्दो स्थिति हो। उहाँले आफ्नो अन्तर्वार्तामा मैले सिक्किमका भूतपूर्व
मुख्यमन्त्री नरबहादुर भण्डारी ज्युसँग अनि वर्तमान मुख्यमन्त्री पी.एस गोलेसँग
काम गरेको प्रसङ्ग झिक्दै उहाँहरूद्वयलाई सुवास घिसिङको साहित्यिक कलमसँग तुलना
गर्दै भण्डारीको जातिप्रति कलम चलेको त्यस्तो कुनै कविता पाइनँ, पीएस गोलेको पनि कुनै जातिप्रति केहि लेखेको पाइन भनेर
हियाएर बोल्नु भएको रहेछ।
पहिलो कुरा वर्तमानमा चलेको छैटौं अनुसूचीको राजनैतिक
द्वन्दमा श्रद्धेय भण्डारी अनि आदरणीय गोलेज्युको प्रसङ्ग झिक्ने कुनै आवश्यकता
थिएन। सिक्किमको
राजनेताहरूलाई हाम्रो राजनीतिमा मुछेर किन व्यंग कस्नु? त्यो नन् इश्युलाई इश्यु बनाउने प्रयास हो।
रह्यो भण्डारी ज्युको साहित्यमा जातिप्रति योगदानको कुरा।
सन् १९६३ मा हाम्रो पुकारदेखि अर्चना, सिक्किम बोल्छ, टुहुराका विचारहरू, मेरो कथा-व्यथा-सम्झना, सिसाको घरमा बसेर अर्काको घरमा ढुँगा नहान, त्रिसुल, धुँवा, मुनाप्रती, बुढ़ो गोरूप्रती, भारतले सिक्किम खाएको डायरी जस्ता कृतिहरूमा जिम्बाज्युले
कुन चाहींमा जातिय चिन्तन पाउनुभएन?
भण्डारी ज्युले भाषा आन्दोलनमा दिएको अतुलनीय योगदानमा
जातिय योगदान नदेख्ने जिम्बाज्यु घमण्डको रोगले ग्रस्त गम्भीर रोगी हुन्।
भण्डारीज्यु माथि गोपाल गाउँले लिखित पुस्तक ‘एक व्यक्ति अनेक व्यक्तित्व’ –मा पुस्तकबारे स्वयम् सुवास घिसिङले यस्तो लेखेका छन् –“सिक्किमको माटो र जनताको हीतको प्रश्नमा श्री नरबहादुर
भण्डारी बाहेक कसैले नेतृत्व दिन सक्दैन। श्री भण्डारीज्युको विकल्प अरू नेता जन्मिएको छैन।”
घिसिङज्युको यस मन्तव्यलाई आफ्नै आँखाले जिम्बाले देखुन
भनेर मैले त्यसको फोटो पनि यहाँ समावेश गरेको छु। उहाँले आफ्नै गुरुको यस बयानलाई कतिको सम्मान गर्ने हुन्, सन्देह छ।
भण्डारी ज्युले तीव्र आन्दोलनकालमा सिक्किमको ‘पवन हंस’ हेलिकप्टरलाई आर्मीलाई अनुरोध गरेर लेबुंग ग्राउण्डमा
उतारेर त्यहाँबाट पटनासम्म घिसिङज्युलाई नउडाएको भए आज आप्पाको नाममा राजनीति
गर्नेहरू जन्मिने थिएनन्। यो एउटा ईतिहास हो। त्यो घटना किन र कतिबेला जन्मिएको थियो, जिम्बाहरुले अध्ययन गरून। जिम्बाहरूले भण्डारीलाई नराम्रो ठान्दैमा इतिहास मेटिदैन। ’८६ को आन्दोलनकालमा भण्डारी सरकारले कसरी सहयोग गरेको छ
भन्ने कुरा राशनदेखि ज्याकेटसम्म जान्नेहरू अद्यापि जिउँदै छन्।
जिम्बाको अल्प विद्या भयङ्करीलाई मेरो गुडबाई छ।
जिम्बा ज्युले सिक्किमका वर्तमान मुख्यमन्त्री पी एस गोलेले
लेख्नुभएको ‘मनमा
बिझेका,
मुटुमा भिजेका, सबै होइन केही रोजेका कुराहरू, पड्ने आग्रह गर्दछु। ‘पीएस गोलेको राजनैतिक दिशा’ पनि पड्ने आग्रह गर्दछु। यी पुस्तकहरूमा भएको राजनैतिक उत्तरदायित्व, दिशा अनि सिद्धान्तको केवल १० प्रतिशतमात्रै पनि जिम्बाले
ग्रहण गरे उनको राजनीति सफल हुनेछ भन्ने मेरो किटान छ। हो! बिमल ज्युको भने कुनै त्यस्तो पुस्तक छैन, तर माटो र जातिप्रति अगाध माया अनि समर्पण छ, जुन कुरा छैटौंको गीत गाउनेहरूसँग छैन।
जिम्बा ज्युको एकजनाको निम्ति नगण्य होलान, तर भारतीय नेपालीभाषी जनताको निम्ति भण्डारी पुजनीय हुन्।
एउटा जिम्बाले नकार्दा केहि फरक पर्दैन।
नसुनेको र नजानेको कुरामा बोल्नु हुँदैन।
आज हामि एकताको कुरा गर्दैछौं। घिसिङज्युले राजनैतिक एकताबारेमा हामीलाई दिएको शिक्षा
निम्न अन्तर्वार्ता पड्दा प्रष्ट हुन्छ। ८ जुन १९८६ मा जनपथ समाचारमा प्रकाशित एउटा अन्तर्वार्तामा
अरु राजनैतिक दलहरूले समर्थन गर्न चाहेको बारेमा प्रश्न गर्दा त्यसको उत्तर दिदै
सुवास घिसिङ भन्नुहुन्छ –“प्रान्त परिषद मे अधिक से अधिक दो लोग होंगे। दावा नर्बुला की भी जरूरत इस आन्दोलन में नहीं है।
गोर्खा लीग के लाइफ लांग प्रेसिडेन्ट सेक्रेटरी के अतिरिक्त
उनके पास और क्या है? मेरी पार्टी, मेरे आन्दोलनकारी उनके बिना ही अब तक चल रहे थे और चल सकेंगे।”
राजेन्द्र बैद सम्पादित पुस्तक “गोर्खालैंड – सङ्घर्ष” – को पृष्ठ ५१ मा यो कुरा पड्न पाइन्छ। हामीले त्यस्तो राजनीति गरेका छैनौं, गर्न चाहेका पनि छैनौं। यो विवाद होइन, मैले सम्मान गर्ने व्यक्तित्वहरूलाई अकारण हिलो छ्याप्दा
मैले लेख्नै पर्ने भएर व्यक्तिगत पोस्ट लेखेको हो। अन्तर्वार्तामा भएका अरू बुँदाहरू सम्बन्धमा भने मौनता नै
राख्दछु,
किनभने मेरा अघिल्ला प्रश्नहरूका जवाब आएकै छैन।
आउँदैन पनि...
No comments:
Post a Comment