दिलिप घोषको बयानको विरोधमा होइन बचाऊमा उत्रे सांसद राजु विष्ट; भने ‘मिडियाका केही सदस्यहरू अनि विपक्षीहरूको कारणले यस्तो भएको हो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 16, 2020

दिलिप घोषको बयानको विरोधमा होइन बचाऊमा उत्रे सांसद राजु विष्ट; भने ‘मिडियाका केही सदस्यहरू अनि विपक्षीहरूको कारणले यस्तो भएको हो’

गफसफ.com, १६ जनवरी २०२०, कालेबुङ । 
भाजपा सांसद राजु विष्टले भाजपा पश्चिम बङ्गाल राज्य अध्यक्ष दिलिप घोषको बचाउ गरेका छन्। उनले ‘यदी कसैले गोर्खालाई गलत ढंगमा दुष्प्रचार गरे अथवा हाम्रो दुखमा हामीलाई अझै अवमुल्यन गरे त्यस्ता घटनाले मलाई सबैभन्दा पहिले चोट पुर्‍याएको हुन्छ अनि मैले प्रतिक्रिया जनाएको हुनेछु’ भनेपनि दिलिप घोषको वयानको भने विरोध गर्नको साटो उल्टै उनको बचाउ गरेका छन्। यतिमात्र होइन भाजपा सांसद राजु विष्टले दिलिप घोषले दिएको बयानलाई लिएर वृथाको चर्चा जन्माइएको भन्दै मिडियाका प्रति पनि कटाक्ष गरेका छन्।

‘ठूला ओहदामा भएका मेरै पार्टीका मेरा वरिष्ठले यस प्रकारको वक्तव्य आसामका सांसद मणि कुमार सुब्बा विरुद्ध दिँदा मैले विरोध जनाएकै थिएँ। जब पनि गोर्खा भावना अनि दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताको भावनालाई चोट पुरयाउने कार्य कसैद्वारा पनि हुन्छ, म पटक पटक विरोध गर्नेछु, गरेको हुनेछु’ भाजपा सांसद राजु विष्टले गोर्खा हितको कुरा गर्दै पुराना कुराको स्मरण दिलाउँदै भनेका छन्। तर उनले विगतमा विरोध गरेको उदाहरण प्रस्तुत गरेपनि उनले भाजपा प.ब. राज्य अध्यक्ष दिलिप घोषले दिएको बयानको भने विरोध गरेका छैनन्।
‘अहिले दिलिप घोषज्युले बोलेको कुरालाई लिएर वृथाको चर्चा जन्माइएको छ। वक्तव्यको सम्वद्धताको अभावमा मिडियाका केही सदस्यहरू अनि विपक्षीहरूको कारणले यस्तो भएको हो। मेरो निम्ति भने यो अनुवाद गरिँदा गल्ती भएको एउटा अनुपम उदाहरण मात्र हो’ राजु विष्टले भनेका छन्।
यसक्रममा उनले दिलिप घोषले दिएको बयानको विरोध गर्नको साटो उनको बयानलाई व्याख्या गरेर उल्टै ठिकै भनेको हो भन्ने आशय प्रकट गरेका छन्।  ‘मैले के बुझें भने, ममता ब्यानर्जी सरकारले ११ जना गोर्खालाई २०१७ को आन्दोलनमा मारेर आफ्नो बचावको निम्ति जनसम्पत्तिको नोक्सान पुर्‍याएको आरोप लगाएको दिलिप घोषज्युले बताएका थिए। उनले दार्जीलिङबारेमा मिडियाको मौनता अनि आजको बङ्गालको उपद्रवलाई तुलना गरेर हेरिनुपर्ने कुरामा पत्रकारहरूलाई सम्बोधन गरेका थिए। नागरिकता कानुनको पक्षमा भर्खरै २४ दिसम्बरको दिन सिलगडीमा गरिएको र्‍यालीमा पनि दिलिप दाले यही कुरा बङ्गलामा बोलेका थिए। उनको यस भावनासँग अपरिचितहरूले आज उनको दुष्प्रचार गर्दैछन’ दिलिप घोषको बयानको व्याख्या गर्दै राजु विष्टले भनेका छन्।
यसक्रममा उनले आफुलाई आफ्नो निजी अनि राजनैतिक फाइदाको निम्ति जातिलाई दाउमा लगाउने व्यक्ति होइन भन्दै आफुले जहिले पनि आफ्नो देश अनि जनताको निम्ति प्रतिनिधित्व गरेको हुनेछु भनि प्रतिवद्धता जाहेर गरेका छन्। ‘कसैले हाम्रो मान्छेको भावनामा चोट पुर्‍याउँछ भने मैले विरोध गरेको हुनेछु, चाहे त्यो चोट पुरयाउने वक्तव्य जुनसुकै व्यक्तिको किन नहोस्। देशको सबै नागरिकलाई थाहा छ कि गोर्खाहरू देशप्रति समर्पित जाति हुन्। हामीलाई होच्याउने साहस कसैले गर्न सक्दैन’ विष्टले भनेका छन्।
सांसद विष्टले यसक्रममा जनतालाई उत्तेजित नहुने अपिल पनि गरेका छन्। ‘म जनतामा अपील गर्न चाहन्छु कि हामी अचाहिँदो कुरामा उत्तेजित हुनु हुँदैन। कुनै भिडियोलाई गलत अभिप्रायले सम्पादन गरेर प्रचारित गरिनु निन्दनीय कुरा हो। म तपाईंहरूलाई प्रतिनिधित्व गर्छु। कृपया ममाथि विश्वास राख्नुहोस्। म कहिल्यै तपाईंहरूलाई निराश बनाउने छुइनँ’ विष्टले भनेका छन्।
स्मरण रहोस्, सीएएको विरोध गर्नेहरूलाई कुकुरलाई जस्तै गोलि ठोकि मार्नुपर्छ भन्ने विवादित वयान दिएका भाजपा राज्य अध्यक्ष दिलिप घोषले सन् 2017 को गोर्खाल्याण्ड आन्दोलनमा दार्जीलिङ पहाडमा 11 जना प्राण गुमाउनेहरूलाई सरकारी सम्पत्ती नष्ट गरेको कारण पुलिसले गोलि ठोकेको भनि विवादित बयान दिएका छन्। उक्त विवादित बयानबारे एनडीटीभीले पुन: दिलिप घोषसँग सम्पर्क गरेर स्पष्टिकरण लिनेक्रममा पनि उनले सोहि कुरा दोहोर्‍याएका छन्। उक्त विवादित बयानको चौतर्फी विरोध भइरहेको अवस्थामा यता भाजपाकै दार्जीलिङका सांसद राजु विष्टले भने दिलिप घोषकै बचाउ गरेका छन्। उनले घोषको बयानलाई मिडियाले गलत तरिकाले प्रचार गरेको भन्दै उल्टै आफ्नो पार्टीका नेता दिलिप घोषको बयानको विरोध नगरेर बचाऊ गरेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad