गफसफ.com, हीरा छेत्री, एन्टप हिल, मुम्बई, १९ जनवरी २०१९ ।
भर्खरै अथवा गत 9 जनवरी पोङ्गलको उत्सवदेखि बलिउडमा एउटा फिल्म खुबै चर्चित भएर चलिरहेको छ - दरबार। सुपरस्टार रजनीकान्त अभिनित उक्त एक्सन फिल्मको सबैभन्दा अन्तिम दृश्यमा दर्शकहरूलाई एकजना सानो बालकको दर्शन गर्ने मौका मिल्छ। पुलिस जीवनमाथि आधार गरेर निर्माण गरिएको लिका प्रोडक्सनको यस फिल्मले सो अन्तिम दृश्यमा उक्त बालकमार्फत् कानुन अनि व्यवस्थाका लागि खटिरहेका जवानहरूलाई एक सन्देश दिन चाहेको छ। फिल्मको सबैभन्दा छोटो दृश्यमा पुलिसको उर्दी पहिरिएर नायकलाई सलाम ठोक्ने बाल कलाकार हुन् – वेदान्त छेत्री।
उनको पुरा नाउँ हो वेदान्त सुरज छेत्री। केवल पाँच वर्षको कलिलो उमेरमा यसरी बलिउडको पर्दामा देखा परेर उनले आफ्नो प्रतिभाको प्रदर्शन गरी जसरी परिचय स्थापित गर्ने प्रयास गरेका छन् त्यसबाट आकर्षित भई दर्शकहरूले उनलाई बग्रेल्तै शुभकामना सन्देशहरू लगालग पठाइरहेको कुरा सामाजिक सञ्जालहरू खोतल्दा थाहा पाइन्छ। मुम्बईको डोम्बिभेली पूर्वमा रहेर आइरहेका कुमारीकाटा, तमलपुर जिल्ला, आसामनिवासी सुरज छेत्री उनका पिता हुन्। सुरज छेत्री मुम्बईको सामाजिक क्षेत्रमा एक खुबै परिचित नाउँ हो।
14 अक्टुबर, 2014 -मा जन्म ग्रहण गरेका बालक वेदान्त छेत्रीकी माताको नाउँ साईज्योति हो अनि उनी दार्जीलिङकी हुन् भने पिता मुम्बईकै एक प्रसिद्ध डिजिटल कम्पनीमा मिडिया अपरेसन मेनेजरको पदमा सेवारत् छन्। डोम्बिभेलीकै होली एन्जेल स्कुलमा जुनियर केजीमा भर्खरै पाइला टेक्ने वेदान्त छेत्रीको यति कलिलो उमेरमै फिल्मी दुनियाँमा पदार्पण कसरी भयो त भन्ने विषयमा सबैको जिज्ञासा रहनु स्वाभाविकै हो। तर वेदान्तले काम गरेको यो पहिलो फिल्म होइन। यसअघि नै उनले केवल 3 वर्षको शिशु अवस्थामा मदर एन्जेल प्रोडक्सनको छोटो फिल्म फीका सिंदूर नामक फिल्ममा पनि आफ्नो अभिनय प्रतिभाको प्रदर्शन गरिसकेका हुन्।
सुन्दर अनि कलिलो मुहार, शिशुसुलभ अनभिज्ञता झल्किने व्यवहार, खेलाऊँ-खेलाऊँ लाग्ने जिउडाल अनि सबैभन्दा मन जित्ने उनको बोली। यति नै हुन् नानी वेदान्तका आकर्षण। त्यसमाथि उनको अभिनयकलामा झुकाउ। उसै पनि बलिउड अभिनयकै दुनियाँ हो। मायानगरी मुम्बईमा लाखौँ यस्ता बाल कलाकारका मातापिता आफ्ना छोराछोरीले फिल्ममा ब्रेक पाउने आशा लिएर दिन पर्खिरहेका हुन्छन्। मुम्बई वा बलिउडमा यसरी फिल्मी जगतसित जोड़िन चाहने कलाकारहरूलाई कास्टिङ एजेंसीहरूले निर्माण कम्पनीसित सम्पर्क गाँसिदिने गर्दछन्। यस्तै कपिल ललवानी कास्टिङ अनि एसएस इन्टरटेनमेन्ट कास्टिङ्स नामक कास्टिङ एजेंसीमा केही समयअघि वेदान्तको नाउँ पनि उनका अभिभावकले पञ्जीकृत गरिदिएका थिए। एकातिर स्कुलको पढ़ाइ अर्कोतिर फिल्मी दुनियाँमा पाइला टेक्ने अभिरुची। यस्तै स्थितिमा स्कुललाई पनि अभिभावकले अगावै सूचित गरेर वेदान्तलाई कुनै समय अभिनयका लागि निमन्त्रणा भएको खण्डमा सहयोग गरिदिने अनुरोध गरेका थिए। यस्तै भयो, एक दिन अचानक कास्टिङ एजेंसीबाट फोन आयो अनि अडिसनका लागि वेदान्तलाई लिएर आउने आदेश भयो। अडिसनका लागि जब उनीहरू स्टुडियो पुगे त्यहाँ लगभग 150 -जना ससाना कलाकारहरू अगावै लाइनमा उभिसकेका थिए। अन्त्यमा पुगेका वेदान्तलाई देख्नेबित्तिकै आफुले खोजिरहेको रत्न भेटेझैँ फिल्मका सहायक निर्देशकले चुनिहाले अनि कुनै अडिसन र सोधखोजबिनै उनलाई सुटिङमा आउने निर्देश दिएर अन्य बाल उम्मेद्वारहरूलाई घर फर्किने आदेश दिए। वेदान्तको यसरी छनौट हुँदा मातापिता खुबै हर्षित भएको बताउँछन् सुरज छेत्री अनि उनी धन्यबाद दिन्छन् कास्टिङ एजेंसीहरूलाई जसले यसरी वेदान्तलाई अडिसनको निम्तो दिए।
त्यसपछि फिल्मको सुटिङ मुम्बईको प्रसिद्ध दादा साहेब फाल्के चित्रपटनगरी अथवा गोरेगाउँ स्थित फिल्म सिटीमा सुरू भयो। यो सबै हो गत वर्ष अक्टुबरको घटना।
केही दिनअघि मुम्बईको चेम्बुरस्थित हाम्रो छहारी -को आश्रममा आफ्ना सुपुत्र वेदान्तसित आइपुगेका गौरवशाली पिता सुरज छेत्रीले यी कुराहरू जनाउँदै सुटिङको अवधिमा पनि सबैले वेदान्तलाई खुबै प्यारो गरेको बताए। सुटिङ युनिटमा रहेका ठुलासाना कलाकार र तकनिकी सहायकहरूले वेदान्तसित घरिघरि फोटो लिए। महानायक रजनीकान्तलाई सर भनेर सम्बोधन गर्ने वेदान्तलाई फिल्मका निर्देशक ए. आर. मुरुगादोसले पनि खुबै माया गरेको कुरा सुरज स्मरण गर्छन्। निर्देशकलगायत रजनीकान्त, सुनील शेट्टी आदिजस्ता सुपरस्टारहरूले वेदान्तलाई आफ्नो काखमा खेलाएर खिचेका फोटोहरूले नै प्रमाण गर्छन् यी साना बालकले सुटिङको अवधिमा कसरी सबैको मन जितेका थिए। रजनीकान्तले त वेदान्तलाई विश्रामको समय आफ्नो भेनिटी भ्यानमा हालेर घरिघरि घुमाउन लैजाने गरेको कुरा बाल कलाकार स्वयमले बताए। दुइ साताभन्दा धेर समयसम्म चलेको सुटिङपछि वेदान्तबाट मोहित बनेपछि फिल्मका निर्माता-निर्देशकहरूले सुरजको नम्बर लिएर भविष्यमा फेरि सम्पर्क गर्ने आश्वासन दिएका छन्। फिल्मी दुनियाँ, अभिनयकला आदिबारे धेरै नबुझ्ने अबोध शिशु वेदान्त तर भविष्यमा डाक्टर बन्ने रहर गर्छन्।
अभिनयकलासित पनि साथसाथ जोड़िएर डाक्टरी सेवा गर्ने मनसाय राख्ने बाल कलाकारका पिता सुरज छेत्रीले आफ्ना सुपुत्रलाई पूर्ण रुपले जातीय संस्कारमा हुर्काउने प्रयास गरिरहेका छन्। मुम्बईमा रहेर आफ्नो परिचय नेपालीभाषी वा गोर्खा भनेर दिन हिच्किचाउनेहरूका लागि वेदान्त अनि उनको परिवार एउटा उदाहरण हुन्। आफ्नो गाउँघर र समाज अनि जातीय वातावरणदेखि टाढ़ा जन्मेर हुर्कँदै गरेका वेदान्तले जुन प्रकारले नेपाली भाषामा बातचित गर्छन् त्यो सुनेपछि जैसा देश वैसा भेष भन्ने बहानाबाजहरूलाई लाज लाग्नेछ। वेदान्तले नेपाली नबोल्दा त्यो अक्षम्य हुँदैन। पाँच सालको बालकले अनेपाली परिवेशमा हुर्केर नेपाली नबोल्नु स्वाभाविक मान्नसकिन्छ। तर भनूँ भने ठिकसित बोली पनि नफुटेका नानीले जुन रुपले लट्टे पड़केजस्तो नेपाली बोल्छन् त्यो सुनेपछि मुम्बईमा रहेर आफुलाई नेपाली-गोर्खा भन्नबाट लाज मान्दै आफ्नै घरपरिवारभित्र पनि अन्य भाषामा बातचित गर्नेहरूलाई साँच्चै आत्मग्लानी हुनेछ। यो सबै सम्भव भएको हो जाति अनि समाजप्रेमी उनका पिता सुरज छेत्रीको मार्गनिर्देशनको कारण। सामाजिक कार्यहरूमा सदैव तत्पर, जातीय भावनाले ओतप्रोत अनि खेलकुद र फिटनेसको दुनियाँमा आफुलाई हरदम दुरुस्त र तन्दुरुस्त राख्ने सुरज छेत्रीको आफ्नै प्रतिभा छ यसबारे कुनै समय छुट्टै चर्चा गर्नेछौँ।
No comments:
Post a Comment