सीएए, एनआरसी, हामी र संविधान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 25, 2019

सीएए, एनआरसी, हामी र संविधान

  विचार/राजनीति ________________________________ सुवास सोताङ, कालेबुङ।  

अहिले देशभरि सीएए र एनआरसी -को बहस छेडिएको छ । समर्थन र विरोधको पौठेजोरी चल्दैछ । यता हाम्रा पहाडेहरू पनि यसबाट अछुत छैनन् । प्रेस र सामाजिक सञ्जालहरूमा धेरैले आ-आफ्ना समर्थन वा विरोध जताइरहेका छन् । समर्थन जनाउनेहरूको ठूलो संख्यामा छन् भाजपालाई सघाउने गोजमुमो एक, त्यसवरिपरिका दल र व्यक्तिविशेषहरू । उनीहरूले समर्थनलाई जुनै तर्क दिएपनि मूलरूपमा यो उनीहरूको बाध्यता र विवशता हो । किनभने गोजमुमो एक भनेको अहिलेलाई भाजपाले पिञ्जरामा राखेको सुगा हो । उसलाई जे सिकाइन्छ, त्यही बोल्नुपर्छ । टोन लगभग सुगाकै भएपनि कुरा उसले सिकाइएकै बोल्नुपर्छ । स्वतन्त्र सुगा भए पो उसले आफ्नो कुरा बोल्थ्यो । धेरै वर्षसम्म भाजपाको कुरा बोलेबापत् पछि उसलाई छोडिदिने शर्त छ । सायद आफ्नो बोली बिर्सेर उसको बोलीमा अभ्यस्त भएपछि मात्र सुगालाई छोडिदिने हो कि भन्ने सन्देह पनि छ । यदि त्यसो भए त्यो मुक्ति चै स्वाधीनताको कि पराधीनताको ? सोच्नेलाई सोच्ने स्पेस छ ।
अब यता आउँ, सीएए र एनआरसीको पहाड़मा जोड़दार विरोध गर्ने दल भनेको गोजमुमो दुई हो । यिनीहरूलाई अहिले खुब गोर्खाको सुर्ता लागेको छ । उनीहरूलाई थाहै छ, उनीहरू भनेको जीटीए टु-को डोरीले बाँधिएका मदारी ममताका रामदास र चम्पाकालीहरू हुन् । उनीहरूको आफ्नो गीत र गति दुवै हुँदैन, छैन । ममताको इशारामा जहाँ-जसरी भन्यो त्यसरी नाच्नुपर्छ । बन्धक छ जीवन । यस्ताहरूलाई गोर्खाहरूको स्वाभिमानको सुर्ता लाग्छ भने पहिला आफूलाई बाँधिएको डोरी फुकालून् । आफ्नै गीत र गति फेरि सिकून् । अन्यथा उनीहरूले गरेका हरेक प्रयास मान्छे हँसाउने हर्कत मात्र बन्दछ । पराधीन मान्छे र पराधीन मानसिकताको पछि लागेर स्वाधीनताको लक्ष्यभेदन गर्न सकिन्न । पहाडेहरूले पनि यतिकुरा बुझून् । इशारामै सही सीएए र एनआरसी -को विरोधमा २९ तारिख बन्द राखेछन्, लौ ठीक छ । तर गोर्खाको सुर्ता गर्छौं भने लु अर्को तारिख गोर्खाल्याण्ड राज्य गठनको मागमा फेरि एउटा बन्द बोलाऊ । सक्छौ ?
वास्तवमा समयले एउटै गुँड़, एउटै विचारकाहरूलाई दुई फ्याक पारेर एउटालाई ममता र अर्कोलाई मोदीको शरणमा फ्याँकिदिएकोले गर्दा एक हुद्दा सीएए र एनआरसीको समर्थनमा र अर्को हुद्दा यसको विरोधमा उत्रिएका मात्र हुन् । यस्तो अवस्था नहुनु हो भने यिनीहरूको एउटै अडान हुन्थ्यो । त्यो के हुथ्यो सम्झनु लायक छ । दुवै शिविरले वास्तवमा सिकाइएको कुरा बोल्दैछन् । आफ्नो देशहित, जातीय स्वार्थ, विवेक र चेतना को लेप कहीँ कतै देखिँदैन । समयले यिनीहरूलाई दुई राजनैतिक दलको ध्रुवमा उभ्याएपनि चेतना र ब्योहोरा यिनीहरूको एउटै छ । यही सिकाइएको परिधिभित्र सीएए र एनआरसीको त कुरा छोडौँ, एउटा खेमाले बङ्गालभित्र भएको पुलिस अत्याचारको चै घोर विरोध गर्छ तर दिल्ली र युपीमा भएको पुलिस बर्बरताको चै समर्थन गर्छ भने अर्को खेमाले एकातिर दिल्ली र युपीमा भएको पुलिस अत्याचारको चै घोर निन्दा गर्छ तर अर्कोतिर बङ्गाल पुलिसले गरेको बर्बरताको सहयोग लिएर आफ्नो सस्तो सत्ता टिकाइराख्ने कोशिश गर्छ । यही चेतनाहीनताको कारण एक हुद्दाकाहरूले गोर्खाल्याण्ड माग्ने योद्धाहरूलाई जङ्गल खेदेर बङ्गालको भोजमा रमाइरहेका छन् भने अर्को हुद्दाकाहरूले गोर्खाल्याण्ड माग्नेहरूलाई देश निकाला गर्नुपर्छभन्ने काँडेतारका डाम भएकाहरूलाई स्वागत गर्ने कानूनलाई सलामी गर्दै आफ्नै डेमोग्राफीको मलामी जाने मन बनाइरहेका छन् ।
सीएए र एनआरसीको समर्थन गर्ने अर्को एक हुद्दा उग्रहिन्दूवादी व्यक्तिविशेषहरू छन्, जसलाई देश, संविधान, जाति, माटो आदि केहीसँग मतलब छैन । उनीहरूको अन्धोसाम्प्रदायिक टाउकोले बुझेको कुरा भनेको भारत भनेको हिन्दूहरूको देश हो अनि मुसलमानहरू भनेको देशद्रोही हुन् । त्यसैले सीएएले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएका हिन्दूहरूलाई नागरिकता दिन्छ अनि एनआरसीले ठूलो संख्यामा मुसलमानहरूलाई घुसपैठ भनेर खेद्छ भन्दा उनीहरूलाई साह्रै मज्जा लागिरहेछ । यसैले भाजपाले गोर्खाल्याण्ड दिओस् कि नदिओस्, भाजपाले जनहितको काम गरोस् कि नगरोस् उनीहरूलाई मतलब छैन । बस् , उनीहरूलाई भाजपा भइदियोस्, भैगो । यस्तो नहोस् पनि किन र जबकि एउटा विशेष उग्रहिन्दूवादी संस्थाले मानिसहरूमा यो अन्धोसाम्प्रादायिक भावनाको बीज रोप्न थालेको झन्डै सय वर्ष पुग्न लागेको छ ।
बीचमा गोर्खाहरूको हित सोचेर आ-आफ्नै विवेक सामर्थ्यअनुसार सीएए र एनआरसीको विरोध वा समर्थन गर्नेहरू पनि छन् । एक पक्षले सोच्छन् यस कानूनले हामीलाई खाँट्टी भारतीय साबित हुने अवसर प्रदान गर्दछ । अर्को पक्षले सोच्छन् यस कानूनले हामीलाई प्रवासी साबित गरिदिन्छन् । शंकाको पिङ मच्चिरहेकै छ । मलाई के लाग्छ भने एनआरसीले हामीलाई कति बिगार्छ-सपार्छ भन्दा पनि हिजोअस्ति बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान-बाट आउने हिन्दूहरूलाई सीएएले स्वत: भारतीय नागरिक बनाउँछ भने आधुनिक भारतका कारीगढ़ हामी गोर्खाहरूले भने हामी भारतीय हौँ कि होइनौँ भन्ने प्रमाण गर्नलाई एनआरसीको लामो लाइनमा उभ्नुपर्छ । पास हौँला, फेल हौँला भिन्दै कुरा हो, तर बाहिरबाट आएकाहरूले स्वत: प्रवेश पाउँदा हामीले चै आफ्नै घरमा पस्नलाई आफ्नै परिचय पत्र दिइरहनुपर्ने, यो कस्तो विडम्बना हो !
तर कुरा मेरो निम्ति यति मात्र होइन । कुरा गोर्खाहरूको सङ्कटको मात्र पनि होइन । यदि आजभोलि नै सरकारले एनआरसीबाट गोर्खाहरूलाई छुट दिने घोषणा गरेपनि जातीय हित सम्झेर निसन्देह म खुसी हुँला, तर सीएए र एनआरसी लागु गर्ने भाजपा सरकारको प्रक्रिया र नियतप्रति मेरो नैतिक विरोध कायम रहिरहनेछ । एकातिर गैरमुसलिम अनुप्रवेशकारीहरूलाई सीएएअन्तर्गत स्वत: भारतीय नागरिक बनाउने अनि एनआरसीमार्फत ठिक कागजात बुझाउन नसक्ने मुसलमानहरूलाई गैरभारतीय बनाउने वर्तमान सरकारको नियत बिल्कुलै संविधानको मर्मविरोधी छ । विश्वकै सबैभन्दा विशाल गणतान्त्रिक देश मानिएको भारतको सबैभन्दा ठूलो शक्ति भनेकै यस देशको महान् संविधान हो । संविधानले भारतलाई धर्मनिरपेक्ष देश घोषणा गरेको छ । धर्मको आधारमा यहाँ कसैलाई कुनै प्रकारको भेदभाव हुनेछैन भन्ने कुरा संविधानले बताएको छ । यस्तो देशमा धर्मको आधारमा कुनै समुदायलाई काखा र कुनै समुदायलाई पाखा गर्ने संविधानविरोधी काम सरकारले कसरी गर्न सक्छ ? कसैलाई भारतीय नागरिक बनाइँदा मेरो आपत्ति होइन, तर भारतीय नागरिक हुने-नहुने मापदण्ड धर्म हुने कुरा पटक्कै संविधानसम्मत छैन । संविधानको सपथ लिएर चौकीको स्वाद लिनेहरूले त्यही संविधानको भावनासँग खेलबाड गर्नु हुँदैन ।
वास्तवमा भाजपा सरकार भारतलाई हिन्दू राष्ट्र बनाउने नियत लिएर अघि बढिरहेछ । एकातिर बाहिरबाट आएका शरणार्थीहरूलाई धर्मको आधारमा नागरिकता दिने तर अर्कोतिर आवश्यक कागजात बुझाउन नसके भारतमै बस्दै आएकाहरूलाई पनि शरणार्थी बनाउन तयार रहेको भाजपा सरकारले कुन मुखले मानवताको कुरा गरिरहेको छ ? अहिले अरूलाई देखाउन मुसलिमबाहेक इसाई, बौद्ध आदि धर्मलाई यसले सीएएमा समेटेको छ तर यो भाजपाको चाल मात्र हो । अलिक बलियो मुसलिमलाई तइनमा लगाएपछि यसको आक्रमण बिस्तारै ईसाई र अरू अल्पसंख्यक समुदायतिर बढ्नेछ भन्ने कुरा छर्लङ्गै बुझ्न सकिन्छ । यदि भारत सरकारले यस्तो भेदभाव र साम्प्रादायिक नियत बोक्छ भने भारत र पाकिस्तानमा के फरक रह्यो ? अझै भन्नु हो भने पाकिस्तानको संविधानले पाकिस्तान सरकारलाई साम्प्रदायिक हुने अनुमति देला तर हाम्रो देशको संविधानले त्यसो गर्नु कदापि दिँदैन । भारत धर्मनिरपेक्ष विशाल देश हो । यसको सुन्दरता र महानता यसैमा छ । भारतको संविधानको महानतालाई नष्ट गर्न चाहनेहरू कसैगरी पनि राष्ट्रप्रेमी हुनसक्दैनन् ।
भाजपा हिन्दूराष्ट्रको एजेन्डा बोकेर होइन, जनताको वास्तविक एजेन्डा लिएर जनतातिर फर्कोस् । गोर्खाहरूलाई दिएको वचन सम्झोस् । चाह्यो भने सीएएजस्तो विवादास्पद बिल त लोकसभा र राज्यसभामा सुटुसुटु पास गराउन सक्ने भाजपा सरकारले गोर्खाल्याण्डको बिल नल्याउन कुन आइतबार बारिरहेको छ ? गोर्खा जन-जातिको मुद्दालाई कहाँ खाँदिएको छ ? गोर्खाको सपना र गोर्खाहरूको स्थायी राजनैतिक समाधानको मागलाई कहाँ थन्काइएको छ ? गोर्खाल्याण्डको निम्ति तीन-तीनपल्टसम्म भाजपालाई जिताउने गोर्खाहरूले अहिलेसम्म गोर्खाल्याण्डबासीको सौभाग्य प्राप्त गरिसक्नुपर्ने हो तर विडम्बना अहिले उनीहरू आफूलाई कसरी भारतबासी प्रमाण गर्नुपर्ने भन्ने संसयसँग उभ्नु परिरहेको छ ।
देशमा आर्थिक वृद्धिदर घट्दोछ । महंगाइले आकाश छोएको छ । किसानहरू आत्महत्या गर्दैछन् । बेरोजगारी बढ्दो छ । सरकार चारैतिर साम्प्रदायिक आगो झोस्दै जनताको ध्यान वास्तविक मुद्दादेखि मोड्ने प्रयासमा छ । सरकार प्रश्नकर्ताहरूलाई देशद्रोही, आतंककारी आदिको तक्मा भिराउँदै आइसोलेट गर्ने ताकमा छ ।
यस्तो अवस्थामा एकै मुठी भएपनि सचेतहरूको जमातले सरकारअघि सवाल उठाउने आँट गर्नैपर्छ । सवाल उठाउने अधिकार पनि संविधानले दिएको छ । देशलाई झुण्ड, दल, नश्ल र धर्मको चस्माले होइन तर धर्मनिरपक्ष संविधानको नजरले हेर्नु आवश्यक छ । यस विषयमा पहाडका अन्य दलहरूले पनि आफ्नो मौनता तोडून् । हो, बङ्गाल प्रसाशनद्वारा प्रताडित गोजमुमो एक-का हाम्रा केही साथीहरू बाध्यतामा छन् । उनीहरू भाजपाको शरणमा छन् । उनीहरूलाई सम्झिँदा माया र समवेदनाले मन भरिएर आउँछ । तर यसैलाई कमजोरी बनाएर असक्तबाट फाइदा लुटिरहने भाजपा सरकारको साम्प्रदायिक र गैरसंवैधानिक नीतिलाई आँखा चिम्लेर समर्थन गर्न भने पटक्क सकिँदैन ।
चाहे त्यो राज्य सरकार होस् अथवा केन्द्र सरकार होस्, जुनै सरकारले पनि यदि जनहितविरोधी कार्य गर्दछ भने त्यसको आलोचना गर्ने हिम्मत राखौँ । आफ्नो अभिव्यक्तिको स्वतन्त्रतालाई मर्न नदिऔँ । हाम्रा हजारौँ शहिदहरूले जीवन बलिदान गरेर अर्जेको स्वतन्त्रता र संविधानलाई सम्मान गरौँ ।
जय हिन्द !

No comments:

Post a Comment

Post Bottom Ad