नवौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार मूर्धन्य साहित्यकार सुख नमलाई प्रदान गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 17, 2019

नवौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार मूर्धन्य साहित्यकार सुख नमलाई प्रदान गरिने

गफसफ.com, बाग्राकोट,17 दिसम्बर। यस वर्षको नवौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार मूर्धन्य साहित्यकार श्री सुख नमलाई अर्पण गरिने भएको छ। बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा आइतवार बाग्राकोटमा बसेको बैठकमा गहन छलफल र मतैक्यपश्चात् साहित्यकार सुख नमको नामलाई अन्तिम मोहर लगाइएको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। 

पुरस्कारमा प्रशस्ति-पत्र, अंगवस्त्र र नगद राशि सम्मिलित रहनेछन्। आगामी 19 जनवरी, 2020 मा बाग्राकोटमा भव्य रूपमा आयोजन हुने बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा साहित्यकार सुख नमलाई नवौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिने जानकारी दिइएको छ।

साहित्यमा बद्रीनारायण प्रधानका समकालीन सुख नमको वास्तविक नाम सुख छिरिङ नाम्फोक लेप्चा हो। सन् 1930 मा सिक्किमको च्याखुङमा जन्मिएका सुख नमले पचासको दशकदेखि नै अनुवाद, कथा, इतिहास, संस्कृति, बालसाहित्य आदि क्षेत्रमा गहनतासँग कलम चलाउँदै आएका छन्। ‘बाइबल’-का अमर कथा, वाणी र प्रसिद्ध पुरुषहरूसम्बन्धी उनका थुप्रै अनुवादहरू प्रकाशित छन्। 

उनका प्रकाशित कृतिहरूमा ‘साधु सन्त सिंहको जीवनी’ (अनुवाद, 1956), ‘ईसाइ सन्तहरूको जीवनी’ (अनुवाद, 1960), ‘सुख नमका कथाहरू’ (कथा सङ्ग्रह, 2000), ‘परिकथाहरू’ (कथा सङ्ग्रह, 2013), ‘लेप्चा जातिको इतिहास सँगाल्दा’ (2019), ‘सन्त कलम्बो चर्चको इतिहास’ (2019) आदि प्रमुख छन्। अनुवाद, इतिहास, जीवनीलेखनमा समानान्तर कलम चलाउने सुख नम थोरै कथा लेखेर आफ्नो छुट्टै परिचय स्थापित गराउने कथाकारहरूमध्ये एक हुन्। उनका कथाहरूमा लोकसमाज, लोकजीवन तथा लोकविश्वास जस्ता पक्षहरूले प्राथमिकता पाएका छन्। उनका अनुवादमा विदेशी भाषाको प्रभाव र प्रविष्टि नभएर ठेट र झर्रा नेपाली शब्द, उखान र तुक्काहरूको भरमार पाइन्छ। 50 को दशकदेखि नै विभिन्न पत्र-पत्रिकामा उनका कथाहरू प्रकाशित हुँदै आएका छन्।

बद्रीनारायण प्रधान स्मृति पुरस्कारको चयन प्रक्रियामाथि प्रकाश पार्दै जुरी संयोजक डा.मोहन पी. दाहालले भने,“नेपाली साहित्यमा लामो समयदेखि साधनारत् साधक, समर्पित लेखक, उच्चकोटिका सर्जक, ओझेल परेका व्यक्तित्व अनि कैयौं दशकदेखि निरन्तर लेखिरहे पनि किनारीकरणमा परेका स्रष्टाहरूलाई प्रतिष्ठानद्वारा गठित चयन समितिले पुरस्कारका लागि छनौट गर्दै आएको छ। साहित्यकार सुख नम उपयुक्त स्रष्टा हुन्।” बद्रीनारायण प्रधानसँग सुख नमका मेल खाने केही कुराबारे पनि उनले अवगत गराए। “बद्रीनारायण प्रधानले पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’ (वर्ष 4, संख्या 3, 1952)-मा सम्पादकलाई लेखेको चिट्ठी प्रकाशित छ। त्यसमा नेपाली भाषामा प्रकाशित ‘बाइबल’-को भाषा शुद्ध गर्नुपर्छ भन्ने प्रधानको सुझाउ थियो। सुख नम पनि बद्रीसरका समर्थक थिए। शुद्ध नेपालीमा बाइबल हुनुपर्छ भन्ने विचार उनले पनि त्यसबेलै राखेका थिए”,दाहालले भने। 

प्रतिष्ठानका अध्यक्ष सुखमन मोक्तानले पनि चयन समितिको निर्णयप्रति हर्ष प्रकट गरे। “समाजले गौरव गर्नुपर्ने तर सम्मान गर्न नसकिरहेका साहित्यसाधकहरूलाई प्रतिष्ठानले विभूषित गर्दै आएको छ। सात दशकभन्दा लामो समयदेखि नेपाली साहित्यको अनवरत् सेवा गर्दै आएका हस्तीलाई सम्मान जनाउन पाउँदा हामी आफै सम्मानित भएको बोध गर्दछौं”,प्रतिष्ठानका अध्यक्षले भने। उल्लेखनीय छ, जनवरी महिनामा डुवर्सको बाग्राकोट बद्रीनारायण प्रधानमय बन्छ। 14 जनवरी बद्रीनारायण प्रधानको जन्म जयन्ती पर्ने भए तापनि माघे संक्रान्तिको चटारोले गर्दा प्रतिष्ठानले त्यसउताको पहिलो आइतवार भव्य रूपले बद्रीनारायण प्रधान जयन्ती पालन गर्ने परम्परा बसाएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad