कवि
अगमसिंग गिरीले ‘नचिनिने भएछौ’ भनिराखेर गएको निकै बितीसकेछ समय । नारा, जुलुसको
खोला बगेको निकै भएछ । ज्ञात-अज्ञात आन्दोलनका तिता-मिठा यात्रा धेरै हिँडिएछ ।
दमन, हत्या, रगत, बीच पनि जहिले लढ्दै-उठदै सकी नसकी शीर उठाई बस्ने ‘स्वाभिमान’-ले कति चोटी जवाब दिइसक्यो- ‘ई मेरो अनुहार त यस्तो
पो हो त चिन्यौ?’- हारमा पनि हार नमान्ने एउटा सङ्घर्षशील
जातिको आदर्श स्वाभिमान जम्मै त नचिनीने भएको छैन रहेछ । बेला-बखत बरालिने सत्ता
राजनीति पो रहेछ त, आस्था र आदर्श त होइन रहेछ ।
सिमेन्ट-बालुवाको विशाल पर्खाल नै उठाईदिँदा पनि नछोपिने पो रहेछ स्वाभिमान त ।
एउटा
सङ्घर्षशील जातिको जीवन अनि सङ्घर्षका नजिक गएर अथवा तीनका इतिहास छोएर कवि
राजेन्द्र भण्डारीले पाठकअघि ल्याईदिएका छन् ‘इतिहासको
बाडुली’ । जय-पराजय, सङ्घर्ष चेत,
कहीँ आशा कहीँ निराशा, सबै थरीका भाव व्यक्त
छन् कृतिमा । सङ्ग्रहीत कविताहरू सन् 1988 देखि वर्तमानसम्म कै छन् । ‘जातीय मुक्ति चेतना’ केन्द्रमा रहेको यस कृतिका
कविताको बुनोट केही पारम्परिक लाग्न सक्छन् । तर कवि भण्डारीको यस कृतिको
विशिष्ठता कृतिमा निहित चेतना र विचार तत्वमा प्राप्त गर्नु सकिन्छ ।
कृति
पढ्दै जाँदा, कहीँ सन् 1986 को आन्दोलन, कहीँ सन् 2007-को आशा, कहीँ सन् 2013 साले आक्रोश वा
कहीँ 2017 सालको भाषिक अतिक्रमण र सङ्घर्षका नक्सा धमिलो-धमिलो हुँदै मनमा फोका
उठदछ । कतिपय कविताहरूमा कवि स्पष्ट आफ्ना मनका कुराहरू बोलेका छन् । तर कविताले
कहाँ भाषण दिनु सक्छ र?.. कविताले कसैको चेतनामा कहाँ विचार
रोप्न पनि सक्छ त?.. न कविताले ज्ञानी नै पार्नसक्छ । कविता
त नबोली धेरै बोलिरहने हुँदो रहेछ । पाठकका मनमा विभिन्न हलचल, प्रश्न, अनुभूतिको तरङ्ग जन्माउने हुँदो रहेछ ।
राजेन्द्र भण्डारी पनि भन्नु मन परेको कुरो भन्नलाई मात्र कविता लेखेका छैनन् ।
पाठकको चेतना खेल्ने, मन पौडिने खुल्ला दह छोडिदिएका छन्
कविताहरूमा ।
कृतिको
आधा हिस्सामा राखिएको छ एक संक्षिप्त राजनैतिक इतिहास ।
‘वासभूमिको अन्तर्कथा’ शिर्षकमा लेखिएको यो इतिहासमा
भारतवर्षमा गोर्खा, तिनको योगदान अनि राजनैतिक सङ्घर्षको
कथालाई निफन्ने कोशिष गरेका छन् । इतिहास श्रोतका निम्ति धेरै खटेर तैयार गरेको यो
सानो लेख आफ्नो अनुहार चिन्ने अनि खोज्ने हुटहुटीको परिणाम होला । यसले केवल
हाम्रो इतिहास देखाउने मात्र होइन, आफुलाई आफ्नो जाति र
सङ्घर्षलाई बुझ्न इतिहासदृष्टिको अनिवार्यतालाई पनि मोहर लगाएको छ । हामी, हाम्रो सङ्घर्ष, हाम्रो अधिकार मात्र होइन तर हामी
अनि हाम्रो सङ्घर्षको अनुहारप्रतिको सचेतता पनि जरूरी रहेछ । हामी के रहेछौँ,
हामी के थिएछौँ अनि के हुँदैछौँ अथवा कहाँ जाँदैछौँ? यो प्रश्नप्रतिको सचेतताले नै हामीले कहाँ जानूपर्छलाई निर्धारित गर्छ
सायद ।
इतिहासप्रति
रुचि राख्ने अनि जातिलाई माया गर्छु, जातिको
मुक्ति चाहन्छु भन्नेहरूका निम्ति ‘बासभूमिको अन्तर्कथा’
एउटा रोचक पाठसामग्री हुनेछ । कवि राजेन्द्र भण्डारीको यो कृति यस
वर्ष प्रकाशित कृतिहरूमध्ये पठनीय एक कृति हो ।
पुस्तकको
नाम: ‘इतिहासको बाडुली’
कृतिकार:
राजेन्द्र भण्डारी
विधा:
कविता/राजनैतिक इतिहास
प्रकाशक:उपमा
पब्लिकेशन, कालेबुङ
मूल्य:
रु 250/-
पृष्ठ
संख्या:136
No comments:
Post a Comment