भाजपामा
रेसिप्रोकल पोलिटिक्सप्रति ठ्याम्मै उदारता छैन। यो कुरा यसले उप-चुनाउमा प्रमाणित
गर्यो। भाजपाबाट कुनै ठूलो उपलब्धी हासिल हुन्छ भनेर 18
अप्रेलसम्म साथ हिंड़्ने क्षेत्रीय पार्टीहरूको अस्तित्वलाई यसले सोझै नकारेको छ।
दार्जीलिङ विधानसभा उप-चुनाउमा आफ्नै उम्मेदवार दिएर आफ्नो हेजिमोनिक पोलिटिक्स
पनि सिद्ध गर्यो। यसले पहाड़लाई केही दिने होइन। केवल पहाड़बाट लिने हो यसले।
भाजपाप्रति
हामीले दश वर्षदेखि उदारता देखाउँदै आएका हौं। बङ्गालमा यसले पहाड़ भएर सङ्गठन
विस्तार गऱ्यो। यसपालि भाजपा दार्जीलिङलाई बङ्गाल कब्जा गर्ने लञ्चिङ प्याडको
रूपमा उपयोग गर्न चाहन्छ। उप-चुनाउबाट यो रणनीति शुरु गरेको छ।
दार्जीलिङ
विधानसभा उप-चुनाउमा गोरामुमो नेता निरज जिम्बालाई भाजपाकै उम्मेदवारको रूपमा
मात्र स्वीकार गर्नुले पनि यो क्षेत्रीय पार्टीहरूप्रति यसको उदारता स्वत:
प्रमाणित भएको छ। भविष्यमा जीटीए चुनाउमा पनि य़सले आफ्नै उम्मेद्वार उतार्ने हो।
मरितरी भाजपाको सङ्गठन चलाइरहेका पहाड़का आफ्नै कार्यकर्ता र नेतृत्वमाथि यसको
फुट्टी कौड़ी विश्वास छैन। मनोज देवानहरूलाई अवहेलना गरेर जिम्बालाई उताऱ्यो।
भविष्यमा पञ्चायत चुनाउ पनि सम्पन्न हुनसकेको खण्डमा भाजपाले त्यहाँ पनि आफ्नै
उम्मेदवार नै दिनेछ। भाजपाले पञ्चायत वार्डहरूमा समेत पहाड़का पार्टीलाई छोड़्ने
छैन अब। भाजपा
पहाड़को क्षेत्रीय पार्टीहरूलाई जरासितै चाहन्छ। किनभने क्षेत्रीय पार्टीहरू रहेन
भने क्षेत्रीय मुद्दा रहँदैन भन्ने यसले ठान्छ।
वर्षौंदेखि
जातीय हितको नाममा सोझो राजनीति गरिरहेको क्रामाकपाको सोझोपनको फाइदा लोकसभामा
विमलपन्थी गोजमुमो र गोरामुमोले मज्जाले उठायो। उप-चुनाउमा भने यी दुवै पार्टी र
भाजपाले क्रामाकपा र यससित वैचारिक रुपमा जोड़िएकाहरूमाथि धारिलो प्रहार गऱ्यो।
वास्तवमै क्रामाकपा अहिले जातीय एकता र हितको मनोविज्ञानको रक्षाको नाममा आफै
सकिने फितलो राजनीतिको शिकार हुनथालेको छ। भाजपा, विमलपन्थी गोजमुमो र
गोरामुमोले आरबी राईजस्ता ज्य़ेष्ठ नेतृत्वलाई मान्दैन। गोविन्द छेत्री र किशोर
प्रधानहरू गन्दैगन्दैनन्। त्यो हेरी त आफ्नो राजनीतिमा जोखिम लिएर अघि बढ्ने काममा
जाप नै पो बरु अघि देखिन्छ। यसले आफ्नो पार्टीको राजनीतिलाई कमसेकम अघि त
बढ़ाइरहेको छ। भोलि विमलपन्थी गोजमुमो, भाजपा वा गोरामुमोको
बोलबाला पहाड़को सत्तामा भयो भने गणतन्त्र रक्षाको लागि आन्दोलन गर्नुपर्ने
बाध्यता क्रामाकपा समक्ष पनि आइपर्ने नै छ। तर यसले यसरी भाजपा, गोरामुमो
र विमलपन्थी गोजमुमो परस्त भएर आफ्नो अस्तित्व जोगाइराख्न सक्ने छैन।
क्रामाकपा
जतिखेर खतरा मोल्नपर्ने त्यतिखेरै डराउँछ। त्यही डरको मनोविज्ञानको बुइ चढ़ेरै
विमलपन्थी गोजमुमो र गोरामुमोले उसलाई शोषण/दोहन गरेको छ। हिजो लोकसभामा जातीय
एकताको नाममा आरबी राईले आफ्नो उम्मेद्वारिता फिर्ता लिए। अनि, खुरूक्क
राजु विष्टलाई सघाए। भाजपाको स्पोन्सरमा जातीय एकताको नाममा यस्तो वातावरण निर्माण
गरेर सांसद हुँदा नेपाली भाषाको मान्यताको लागि राष्ट्रिय लबी निर्माणमा आरबी
राईले खेलेको ऐतिहासिक भूमिकालाई नकार्न सकिन्न। तर, उनको त्यो अनुभव र
क्षमतालाई लुकाइयो। दार्जीलिङ र गोर्खाहरूका समस्याको इतिहासदेखि वर्तमानसम्मका
घटनाक्रमबारे जानकारी नभएका विष्टलाई हिरो बनाइयो। लहड़ले एकातिर पहाड़मा
व्यावहारिक राजनीतिको जग बसाउनेहरू समक्ष चुनौती खड़ा गरिदियो भने अर्कातिर आरबी
राईजस्ता गुणिला व्यक्तिलाई पाखा लाउन गरिएको सामूहिक रणनीति हाबी देखियो।
गोरामुमोमा
जनताको हितमा फिट्टो त्याग छैन। यो कुरा जिम्बा आफै आफ्नो लागि दिल्लीमा लबी बनाउन
तम्सिएबाटै थाहा भइसकेको छ। उप-चुनाउमा क्रामाकपालाई पहिल्यै अस्वीकार्ने
गोरामुमोनै हो। आफूलाई स्वाकारै नगर्ने गोरामुमोका नेतालाई भने क्रामाकपाले
नस्वीकार्ने बयान सार्वजनिक त गरिसकेको छ। तर, क्रामाकपाले जातीय एकताको
नाममा आफ्नो सामर्थ्य नजाँची लोकसभाको लागि जसरी भाजपा शिविरमा गयो त्यसरीनै
उप-चुनाउमा पनि अन्त्यमा आएर गयो भने पहाड़का जनताप्रति क्रामाकपाको जवाफदेहिता के
हुने हो त्यो हेर्न पर्खन पर्नेछ।
केन्द्रको
ठूलो शक्ति र बङगालको ठूलो शक्तिबीचको अन्तरद्वन्द्व र विरोधाभास छ। यसैबाट केही
फाइदा पाइन्छ कि भन्ने झिनो आशाकै कारण पहाड़वासीले लोकसभामा राजु विष्टलाई पूर्णत
अस्वीकार गरेनन्। तर, विधानसभाको मामला भने अलग्गै हो। 2021 सम्म
बङ्गाल विधानसभामा बीजेपीको केही चल्दैन। जनताका लागि अब बाँचेको दुई वर्ष निकै
महत्वपूर्ण अवधि हो। दुई वर्षे अवसर सामूहिक हितका लागि उपयोग गरिनपर्छ। स्थानीय
मुद्दा र राज्यको मातहतमा रहेका पहाड़का अधिकांश समस्या राज्यसँग मिलेर नै समाधान
हुने हो। त्यसको लागि दिल्लीवाला पार्टी होइन, दार्जीलिङकै क्षेत्रीय
पार्टीका प्रतिनिधिनै कलकत्ता पठाउन पर्नेछ। त्यसमा पनि राज्यसित कुन क्षेत्रीय
पार्टीको सुमधुर सम्बन्ध छ, त्यसलाई दार्जीलिङ विधानसभा समष्टिवासीले
महत्त्व दिन पर्नेछ। राज्यसित समधुर सम्बन्ध भएको क्षेत्रीय पार्टीबाटै खड़ा भएका
उम्मेद्वारलाई प्रतिनिधि बनाउन पर्ने कुराप्रति बढ़ी गम्भीरता देखाउन पर्नेछ।
No comments:
Post a Comment