लङ्गटर्म पोलिटिकल माइलेजको लागि यसचोटि दार्जीलिङ
समष्टिबाट भाजपालाई पराजित गराउन अनिवार्य छ। जातीय संवेदनाको राजनीतिको
एपिसेण्टरनै मानिँदै आएको दार्जीलिङ पहाड़बाट भाजपा हारे मात्र यस पार्टीले
जनतालाई घरिघरी ढाँट्न नहुने रहेछ भन्ने रियलाइज गर्नेछ। जबसम्म जनतानै
सर्वशक्तिमान हुन् भन्ने कुरा भाजपालाई रियलाइज गराइँदैन, तबसम्म एकतन्त्री राजनीतिको धरातलमा उभिएको यसको बलमिचाइपूर्ण
सोचमा परिवर्तन आउँदैन। चुनावी पराजय यसलाई फर्स्ट रियलाइजेशन हुनेछ।
दार्जीलिङ आसन बङ्गालमै संवेदनशील मानिन्छ। दिल्लीको लागि
झनै प्रतिष्ठाको आसन हो यो। भाजपाको प्रोपोगाण्डामा परेपछि भने यस समष्टिवासीका
ताकतलाई दिल्लीले कम आँक्न थालेको हो। यस्तोमा जनाकाङ्क्षा कुल्चिनेलाई कसरी
किनारा लगाउन सक्छौं भनेर सामर्थ्य देखाउनु पर्नेछ पहाड़ले यसचोटि। पहाड़वासीलाई
जसरी प्रयोग गर्दा पनि हुन्छ भन्ने सोंच्दै आएको भाजपालाई हराउँदा मात्रै यसले
आफ्नो नीतिमा परिवर्तन ल्याउन बाध्य हुनेछ। यदि यसचोटि पनि पहाड़लाई ह्याकुलाले
मिच्न पायो भने फेरि उही भावनात्मक शोषण भाजपाको लागि ठगीको स्थायी हतियार
बन्नसक्छ। यस्तोमा यसलाई पराजित गराउन अनिवार्य छ।
घोषणा पत्र : बाध्यतामूलक कबुलनामा
भाजपाले यसचोटि बाध्यतामा जनजाति र समस्या समाधान उल्लेख
गरेको छ। त्यसैले यसको घोषणा पत्रलाई बाध्यात्मक कबुलनामाबाहेक अरू केही मान्न
सकिन्न। यसमा उल्लेख एघाह्र जातिलाई जनजाति र तराई-डुवर्स-दार्जीलिङको समस्याको
स्थायी समाधानको कुरालाई अघि राखेर अहिले
विमलपन्थी गोजमुमो, गोरामुमो र भाजपाले जनतालाई कन्फ्युज गर्दैछन्।
भाजपाको जितसित गोर्खाको जातीय अस्मितालाई समेत दाँजेर
दुष्प्रचार गरिँदैछ। के साँच्चैनै यस्तो हो त? साँच्चै भाजपा गोर्खाको राष्ट्रिय चिन्हारीको मुद्दाप्रति
इमानदार छ? दश
वर्षमा भाजपाले यो मुद्दामा कुनै इमानदारिता देखायो? यो प्रश्न अहिले प्रमुख भएको छ। जनआकांक्षा विपरीत काम
गर्ने अनि व्यवहारमा केही नदिने पार्टी र नेताहरूलाई कसरी इमानदार मान्नु? प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर अमित शाह र भाजपाका
सबै नेताहरूनै तथ्य उलटफेर गर्नमा एक नम्बरी छन्। झूटो प्रोपोगाण्डा र
दुष्प्रचारमा माहिर छन्।
अमित शाहले कालेबुङमा आएर असममा भाजपा सरकारले चिया
श्रमिकहरुलाई धेरै सुविधा र राम्रो तलब दिएको छ भनेर ढाँटिछाड़े। ममताको खोइरो
खन्नुबाहेक शाहले गोर्खाहरूका राष्ट्रिय चिन्हारीको मुद्दामाथि नयाँ केही बोलेनन्।
भनेकै कुरा नगर्नेहरूले भनेनन् भनेर गुनासो गर्नुको कुनै अर्थ नरहला। चिया
कमानवासी ठूलो संख्यामा भोटर भएकोले उनीहरूका बारेमा लोकल लिडरहरूले लेखेर दिएका
कुरा भन्नुबाहेक शाहको भाषण सामान्य चर्चाको लायक पनि छैन।
भाजपाका लागि अब विमल गुरूङ होइन, गोरामुमो र जिम्बाहरु विकल्प भइसकेका छन् भन्ने कुराचाहिँ कालेबुङको जनसभाले स्पष्ट बुझायो। भाजपाको मूल नीतिनै युज एण्ड थ्रो हो। विमल गुरूङलाई यूज एण्ड थ्रो गऱ्यो। डल्लै पहाड़लाई भोट ब्याङ्कको रूपमा यूज गर्ने भाजपाको लक्ष्य छ। अहिले क्यारेक्टरहरू चेञ्ज गरेर पहाड़लाई यूज एण्ड थ्रो गर्ने ताकमा छ भाजपा।
व्यवहारिकतामा फेल भाजपा
भाजपाले आफूमाथि पहाड़वासीले विश्वास गर्ने कुनै ग्याप
छोड़ेको छैन। एघाह्र जात-गोष्ठीलाई जनजाति दिन्छ भन्ने ग्यारेण्टी छैन। किनभने यस विषयमा भाजपाको नियत
र ढाँट उदाङ्गो भइसकेको छ। दश वर्षमा यसले के गर्यो? त्यो सबैलाई थाहा छ। भाजपाले गोर्खाल्याण्ड भन्दैभन्दैन।
गोर्खाल्याण्ड मान्दैमान्दैन। तब भाजपासँग केको आशा भरोसा लिएर बस्नु? दार्जीलिङका गोर्खाहरुबाट एकजना उम्मेदवार स्वीकार गर्न
नसक्ने पार्टीप्रति आशे हुनु जस्तो बिडम्बना अरू के हुन सक्छ?
आफ्नै राजनैतिक सिन्दुर लागेको उम्मेदवार बाहेक अरू जनप्रतिनिधि मान्य नहुने
भाजपाको हेजिमोनी पोलिटिक्स अब पहाड़ले बुझिसकेको छ। स्वार्थ पूरा भएपछि हेभीवेट
जसवन्त र अहलुवालियाले पहाड़लाई फर्किएर हेरेनन्। सधैं टुरिस्ट एमपी पठाउने अनि
गोर्खाहरूबाट चाहिँ भोट मात्रै तान्ने भाजपाको मूल नीति उदाङ्गो भइसकेको छ। यति
थाहा भएर पनि उसैको हायर उम्मेद्वारको पछिपछि लाग्नु अर्को ऐतिहासिक भुल हुनेछ।
भाजपा : दोहोरो चरित्र
अहिले अमरसिंह राईको पक्षमा चुनाउ प्रचार गर्दा ममता
ब्यानर्जीले जुन घोषणा र आँट देखाइन् त्यसलाई जातीय आवेगकै भरमा पन्छाउनु पहाड़को
हितमा छैन। दार्जीलिङलाई
भाजपाले भन्दा ब्यानर्जीले नै केही दिने उदारता देखाएकी छन्। दार्जीलिङ र
कोलकाताबीच विरोधाभास अनि आपसी स्वार्थनै किन नहोस्, हक-अधिकारको चीज पाउँदै जानु उपलब्धी नै मान्नुपर्छ।
ब्यानर्जीको कुरा स्ट्रेटफरवर्ड देखिन्छ। भाजपाले आफ्नो दोहोरो चरित्र पटक-पटक
देखाइसकेको छ। भाजपा अधिकार दिने कुरा आउँदा फेडरल स्ट्रक्चरको दुहाइ दिन्छ।
पहाड़मा भोट माग्दाचाहिँ सेन्ट्रलको कुरो गर्छ। जीटीएको सत्तामा जो आए पनि आखिर
राज्यसँगै मिलेर काम गर्नुपर्ने बाध्यता छ। उसो भए कसैलाई सत्तामा पुऱ्याउनु अनि
कसैलाई सत्ताबाट झार्ने खेलचाहिँ कसरी जातीय हित हुन्छ? यस्तो राजनीति सामान्य मानिसले पनि बुझ्छन्।
पर्जापट्टा र अरू उपलब्धी
चिया कमान, सिन्कोना र बनवासीले पर्जापट्टा पाउनु भूमिहीन गोर्खाहरुका
हकमा महत्त्वपूर्ण उपलब्धी हुनेछ। यसको विरोध कसले गर्न सक्छ? तर यही उपलब्धी ममता ब्यानर्जी, विनय तामाङ वा अमरसिंह राईमार्फत हासिल हुँदा किन विरोध
गर्नैपर्ने? अनि, त्यही आफूमार्फत हासिल भएचाहिँ जयगान गर्नुपर्ने? अधिकार पाउनु जनताको अधिकार हो। अधिकार प्राप्तिको मार्गमा
पनि जनतालाई भ्रमित पार्ने राजनीतिले कसको भविष्य चम्किलो हुन्छ? स्पष्टै छ।
गोर्खाको राष्ट्रिय चिन्हारीको मुद्दा भाजपाले सोझै भन्न
सकेन। यसको समाधानको कुरा ममताले भन्ने साहस गरिन्। भलै ब्यानर्जीको समाधानमा
गोर्खाल्याण्ड नहोस्, आखिर त्यो नदिनेमा त भाजपा पनि क्लियर छ त। त्यसर्थ गोर्खाल्याण्डको आश देखाउने तर लक्ष्य चाहिँ
जीटीएको राख्ने पोलिटिकल ट्रेण्डले भविष्यमा जनतामा डरलाग्दो मनोवैज्ञानिक विकृति
ल्याउनसक्छ। यस्तो वितृष्णा जाग्नसक्छ कि जनतालाई यो शब्द भावनात्मक शोषण र दोहणको
पर्यायवाची बाहेक अरू केही नलाग्ला।
त्यसकारण अहिले प्राप्त हुनसक्ने उपलब्धीहरुलाई स्वीकार
गर्नु बुद्धिमानी काम हो। अहिले पाउन नसकिने कुराको लागि पाउँदै गरेको उपलब्धी
त्याग्नु कदापि ठीक होइन। भविष्यको लागि भौतिक र मानसिक तयारी दुवै
अत्यावश्यक छ। दीर्घमियादी विकास यात्रा र आवश्यक पूर्वाधार
पहाड़ विकासका लागि नभइ नहुने कुरा हुन्। यो आवश्यकतालाई भावनाले कदापि भरपाई गर्न
सक्दैन। आवेगको राजनीतिले कस्तो परिणाम ल्याएको छ, त्यो हाम्रो अघि छ।
गेश्चर पोलिटिक्स
रेसिप्रोकल वा गेश्चर पोलिटिक्सबाट पनि कुन पार्टी कति लोयल
छ भन्ने बुझिन्छ। यस सन्दर्भमा गोजमुमो समर्थित तृणमूल उम्मेदवारलाई लोकसभामा
जिताउन ब्यानर्जीले पहाड़वासीलाई अपील मात्र गरेकी छैनन्। विधानसभा चुनाउमा
पहाड़बाट तीनैजना गोजमुमो उम्मेदवारलाई तृणमूलले जिताउने वाचा समेत गरेकी छन्।
भाजपामा यसप्रकारको रेसिप्रोकल वा गेष्चर पोलिटिक्स गर्ने उदारता कहाँ छ? आफ्नै सिन्दुर लागेको मान्छेबाहेक अरूसँग त्यो पार्टीलाई
ठ्याम्मै विश्वास छैन।
पहाड़का आफ्नै क्याडर र नेतृत्वलाई पनि यसले बाइपास गरेको
छ। उता समतलको भोट, गोजमुमोमा चुनाउ चिन्हको समस्या जस्ता कमजोरी हुँदाहुँदै पनि ममताले अमरसिंह
राईजस्ता गोजमुमोबाट विधायक बनेका अनुभवी, इमानदार र बौद्धिक नेतालाई लोकसभाको टिकट दिइन्। राईको
योग्यता र अनुभवलाई पहाड़को समग्र विकासमा प्रयोग गर्न सक्नु पहाड़वासीको
विवेकपूर्ण क्षमता हुनेछ। भाजपाका टुरिस्ट एमपीहरू त फेरि पनि पाँच वर्ष हराउनेनै
हुन्। लोकल सेन्टिमेन्ट, जनभावना, गोर्खाका
आकाङ्क्षालाई भोट हत्याउने माध्यमबाहेक अरू केही नठान्ने भाजपाका लागि गोर्खा
अनुहार नै ल्याउनपर्ने बाध्यता किन आइपऱ्यो? पहाड़ले बुझिसकेको छ।
घुमीफिरी फेरि टुरिस्ट एमपीकै पछि कुद्नु पर्ने हो वा आफ्नै
स्थानीय,
सहज, सुलभ,
इमानदार, राज्यसँग राम्रो सम्बन्ध भएका र काम निकाल्न सक्ने अनि काम
अराउन पनि सजिलो हुने व्यक्तिलाई सांसद बनाउने? पहाड़को जनताको भाग्य जनताकै हातमा छ।
भाजपालाई हराएर लङ्ग टर्म पोलिटिकल माइलेज तय गर्ने कि
यसैको प्रोपोगाण्डामा अल्झिरहने त्यो पनि आफैंले तय गर्नु छ।
No comments:
Post a Comment