क्रामाकपाले घोषणा गर्‍यो लोकसभा चुनावमा अफ्नो प्रार्थीको नाउँ; दार्जीलिङ लोकसभा आसनबाट आर.बी राई लड्ने भए चुनाव - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 10, 2019

क्रामाकपाले घोषणा गर्‍यो लोकसभा चुनावमा अफ्नो प्रार्थीको नाउँ; दार्जीलिङ लोकसभा आसनबाट आर.बी राई लड्ने भए चुनाव

गफसफ.com , दार्जीलिङ, 10 मार्च।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-ले पूर्व सांसद आरबी राईलाई यसपालीको लोकसभा चुनाउको उम्मेद्वार घोषणा गरेको छ। दार्जीलिङ लोकसभा आसनबाट पार्टीले आज आर.बी राईलाई प्रार्थीको औपचारिक घोषणा गरेको हो। क्रामाकपा केन्द्रिय महापरिषदको सभा पछि यसपालिको लोकसभा चुनावमा पूर्व सांसद आर.बी राईलाई पार्टीले लोकसभा प्रार्थीको घोषणा गरेको हो।

पार्टीको सभापछि पार्टीका प्रवक्ता गोविन्द छेत्रीले दार्जीलिङ लोकसभा आसनबाट साझा प्रार्थी खडा गर्नका निम्ति सबै राजनैतिक दलहरूसँग वैठक गरेपनि आजसम्म वैठकले ठोक निष्कर्ष निकाल्न नसक्दा क्रामाकपाले आफ्नै प्रार्थी घोषणा गरेको बताएका छन्। ‘क्रामाकपाले यसपालीको लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट साझा उम्मेद्वार होस् भन्ने चाहेको थियो अनि चाहेको छ। यसको लागि पहाडका विभिन्न पार्टीहरूसित कैयौं चरणका बैठकहरू भइसके, तरै पनि अहिलेसम्म साझा उम्मेद्वारको लागि सहमति नभएको कारण नै हामीले पार्टी अध्यक्ष आरबी राईलाई उम्मेद्वार बनाउने निर्णय लिएका हौं’ गोविन छेत्रीले भने। यसक्रममा उनले साझा उम्मेद्वारको पहल अझै जारी रहको पनि बताएका छन्।
‘चुनाउको लागि मनोनयन पत्र फिर्ता लिने अन्तिम दिनसम्म पनि यदि कुनै दक्ष, जातिप्रति इमान्दार, जातिको मुद्दालाई अघि बढाउने अनि गणतान्त्रिक परिवेश फर्काउऩको लागि संघर्ष गर्ने उम्मेद्वार अघि आउँछ भने क्रामाकपा उनलाई नै समर्थन जनाउन पनि तयार छ’ गोविन छेत्रीले साझा उम्मेद्वारको बाटो खुल्ला राख्दै भने। यसक्रममा उनले एक प्रश्नको जवाब दिँदै गोर्खा जातिको परिचय बोक्नसक्ने संवैधानिक मान्यताप्राप्त व्यवस्था नै पार्टीको मूल मुद्दा हुने पनि बताएका छन्।
‘पार्टीले भाजपा र तृणमूल कङ्ग्रेसबाहेक सबै पार्टीसित कुराकानी जारी राख्नेछ, यसैले आज पनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले बाघडुग्रामा आयोजना गरेको सर्वदलीय बैठकमा पार्टीका प्रतिनिधिहरूले भाग लिएका छन्। तर पार्टीले तृणमूल कङ्ग्रेस र भाजपासित कुरा पनि गर्नेछैन अनि यी दुइवटा पार्टीलाई क्रामाकपाको दैलोमा छिर्न पनि दिनेछैन’ गोविन छेत्रीले अझ भने –‘विगतमा यी दुइ पार्टीले देखाएको नीति र गरेको करतुतलाई हेरेर नै क्रामाकपाले यी दुइ पार्टीसित कुरा पनि नगर्ने निर्णय लिएको हो। वर्ष 2017-को गोर्खाल्यान्ड आन्दोलनकालमा दार्जीलिङ पहाडका गोर्खा जातिमाथि भएको अन्याय र अत्याचारको समय एक शब्द नबोल्ने भारतीय जनता पार्टी अनि यस जातिमाथि अत्याचार गर्ने तृणमूल कङ्ग्रेसलाई पहाडका जनताले कुनै पनि स्थितिमा समर्थन जनाउने  छैनन्।’
यसभन्दा अघि सन् 1989-मा राज्यसभा सांसद बनेका आर.बी राई सन् 1990 मा दोस्रोपल्ट राज्यसभा सांसद मनोनित भएका थिए। त्यसपछि राज्यसभा सांसदको कार्यकाल पूर्ण हुनसाथ उनी फेरि लोकसभाको लागि निर्वाचित बनेका थिए। तर यसैबीच आरबी राईले अलग राज्य गोर्खाल्यान्डको माग गर्दै क्रामाकपाको गठन गरेपछि 1 वर्षपछि अर्थात 1997-मा लोकसभा सांसद पदबाट पनि राजीनामा दिएका थिए।
राज्यसभा र लोकसभा सांसदका रूपमा असल अनुभवी क्रामाकपा अध्यक्ष राईलाई पुनः पार्टीले यसपालीको चुनाउमा पनि उम्मेद्वार घोषणा गरेपछि पहाडको राजनैतिक माहौल एकाएक तात्तिन थालेको छ। आरबी राई सांसद रहेको समय नै नेपाली भाषाले पनि संवैधानिक मान्यता पाएको थियो।
‘यदि संसदमा राम्रोसित खेल्न सके अनि सांसदहरूलाआ विश्‍वासमा ल्याउऩ सके, कठीनभन्दा कठीन समस्या पनि समाधान हुन्छ, यो नेपाली भाषाले मान्यता पाएको समयले नै स्पष्ट पारेको छ’- आर.बी राईले भने। 

No comments:

Post a Comment

Post Bottom Ad