सत्ताको लोभ र यक्तिगत सुरक्षाको निम्ति विमल गुरुङ-रोशन गिरीहरूले वार्ताको प्रस्ताव दिँदै मुख्यमन्त्रीलाई पत्र लेखेका हुन् – छिरिङ दाहाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 2, 2019

सत्ताको लोभ र यक्तिगत सुरक्षाको निम्ति विमल गुरुङ-रोशन गिरीहरूले वार्ताको प्रस्ताव दिँदै मुख्यमन्त्रीलाई पत्र लेखेका हुन् – छिरिङ दाहाल

गफसफ.com, दार्जीलिङ, 2 फरवरी।
‘अगस्त 2017 मा हामीले पहाड़वासीको हितमा जुन राजनैतिक निर्णय लिएका थियौं त्यो निर्णय सही अनि समय सापेक्ष थियो भनेर आज रोशन गिरी, विमल गुरूङहरू आफैले प्रमाणित गरिदिएका छन्। हिजोमात्र रोशन गिरीको नाममा विमल गुरूङहरूले पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई वार्ता बस्ने अपील गर्दै पत्राचार गरेको खुलासा भएको छ। गोर्खाहरूको राष्ट्रिय समस्याको समाधान संवैधानिक अनि गणतान्त्रिक पद्धतिमार्फतमात्रै हुनसक्छ भनेर हामीले अगस्त 2017 सालमै बुझेको कुरा उनीहरूले भर्खरैमात्र बुझिरहेका छन्’ उक्त कुरा गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्ष छिरिङ दाहालले भनेकी हुन्।

गोर्खा जनमुक्ति मोर्चा (विमल गुट) का भूमिगत नेता रोशन गिरीले राज्यकी मुख्यमन्त्रीलाई धन्यवाद दिँदै वार्ता बस्ने ईच्छा जाहेर गरेर पत्रचार गरेपछि विभिन्न प्रकारका प्रतिक्रियाहरू अघि आइरहेको छ। यसैक्रममा गोजमुमो (विनय गुट) की नारी मोर्चा अध्य्क्ष छिरिङ दहालले एक प्रेस विज्ञप्ती जारी गरेर रोशन गिरीले पत्रचार गरेको सन्दर्भमा प्रतिक्रिया दिएकी हुन्।
‘विमल गुरूङको आह्वानमा 105 दिनको हिँसात्मक गोर्खाल्याण्ड आन्दोलनको क्रममा पहाड़को स्थिति जस्तो भयानक अनि सोचनीय बनेको थियो। एकातिर विमल गुरूङहरू जङ्गलमा रहेको हल्ला पिट्दै सरकारी गेस्ट हाउसहरूतिर सुरक्षित मासुभात खादै हिँसात्मक आन्दोलन गर्न जनतालाई उक्साइरहेका थिए भने अर्कोतिर पहाड़का साधारण जनताको अवस्था अति नै सोचनीय बन्दै गइरहेको थियो’ छिरिङ दहालले भनेकी छन्।
उनले लगातार बन्दको समय विमल गुरूङहरू सरकारी गेस्ट हाउसहरूमा आराम फर्माइरहेको समय गाउँका मानिसहरू भोकले मर्नुपर्ने स्थिति बनिसकेको थियो भनेकी छन्। जसको कारण स्थिति दिन दिनै विकराल बन्दै गएको अवस्थामा पहाडमा विकराल स्थितिलाई साम्य बनाउनुको साथसाथै पहाड़को राजनैतिक मुद्दा अनि पहाड़वासी दुवैको सुरक्षा गर्नुपर्ने आवश्यक्ता थियो भनेकी छन्।
‘तर यो अनुभव विमल गुरूङ अनि रोशन गिरीलाई त्यतिबेला थाहै थिएन, किनभने आन्दोलनको त्यस्तो विकराल परिस्थितिमा रोशन गिरी दिल्लीमा सुरक्षित बसेका थिए भने विमल गुरूङ जङ्गलको नाम गरेर सरकारी गेस्ट हाउसहरूतिर भोज- भत्तेर खाइरहेका थिए। हामी त्यस समय जनतासित सड़कमा थियौं, त्यसैले हामीले नै जनताको सुरक्षा अनि पहाड़वासीको हितमा उक्त निर्णय लिनुपरयो जो त्यस समयको माग पनि थियो’ दहालले भनिन्।
यसक्रममा उनले सही सुझबूझ, रणनीति अनि डिप्लोमेसी लिएर आफुहरूले पहिलो वार्तामै नवान्नबाट पहाड़ अनि पहाड़वासीको सुरक्षाको ग्यारेण्टी सँगै गोर्खाल्याण्डको मुद्दासमेत उठान गर्न सक्षम बनेको दाबी गरेकी छन्। जसको कारण मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले गोर्खाल्याण्डको मुद्दा संवैधानिक रहेको अनि उक्त मुद्दा राज्यको नभएर केन्द्र सरकारको रहेको स्वीकार गरेकी पनि स्मरण दिलाएकी छन्।
‘आवश्यकताको समय हामीले वार्ताको ढोका खोल्दा हामीलाई गद्धार भन्ने रोशन गिरी अनि विमल गुरूङहरूले नै हामीले वार्तामार्फत पहाडको राजनैतिक स्थिति साम्य बनाएर विकाय व्यवस्थापनको गति तेज भइसकेको लगभग २ वर्षपछि अहिले आएर  राज्य सरकारसित वार्ताको निम्ति अपील गरिरहेका छन्। हामीले वार्ताको ढोका खोल्दा हामीलाई पहाड़ चड़्नसमेत नदिने चेतावनी दिने विमल गुरूङ, रोशन गिरीहरूले आज आएर किन वार्ताको निम्ति गुहार लगाइरहेका छन्?’ छिरिङ दाहालले प्रश्न तेर्साएकी छन्।
वार्तामार्फत कसैलाई शहीद नबनाई पोलिटिकल डिप्लोमेसीमार्फत समाधानको सूत्र खोजी निकाल्नुको साटो भाजपाको भक्तिमा चुर्लुम्म डुबेर पहाड़मा हिँसाको आगो बाल्ने विमल गुरूङ अनि रोशन गिरीहरूले अब आन्दोलनको समय उनीहरूको निर्देशमा शहीद हुने 11 जना हाम्रा गोर्खे सन्ततिहरूको परिवारसित माफ माग्नुपर्ने पनि दाहालले माग गरेकी छन्। यसका साथै अहिले आएर राज्य सरकारसित वार्तामार्फत नै समस्याको समाधान खोज्ने हो भने वार्ताको ढोका खोल्ने विनय तामाङ अनि अनित थापालाई किन गद्धारको संज्ञा दिइयो त्यसको स्पष्टीकरण दिनुपर्ने पनि उनले माग गरेकी छन्। 
‘विमल गुरूङ अनि रोशन गिरीहरूले वास्तवमा अहिले आएर राज्य सरकारसित वार्ताको निम्ति गुहार माग्नुको पछिल्तिरको मुख्य कारण नै भाजपाको विश्वासघात हो। गोर्खाल्याण्डको मुद्दासितै, 11 जातगोष्ठीको मुद्दा, केन्द्रिय विश्वविद्यालयको मुद्दा सबैमा विश्वासघात गर्ने भाजपाको नियत विमल गुरूङहरूले भर्खरै बुझ्न थालेका छन्’ दाहालले अझ भनेकी छन् –‘शीतकालीन सत्रमा 11 जातगोष्ठीको मुद्दा पारित गर्ने वचन दिने भाजपाले बजट सेशनमा उक्त मुद्दा पूरा गर्ने आश्वासन दिएको हो। हालमा बजट सेशन शुरू भइसकेको छ तर 11 जातगोष्ठीको मुद्दामाथि केन्द्रले कुनै पदक्षेप लिने छाँटकाँट देखिएको छैन।’
यसैक्रममा उनले रोशन गिरीले पत्र लेखेर वार्ताको प्रस्ताव दिनुको पछि गोर्खाहरूको हितमा होइन तर आफ्नो सुरक्षाको निम्ति यिनीहरूले राज्य सरकारसित हात मिलाउन खोजिरहेका पनि आरोप लगाएकी छन्। ‘आन्दोलनको समयमा पनि जनताको भन्दा धेर आफ्नो सुरक्षामा ध्यान दिने रोशन गिरी अनि विमल गुरूङहरू यसचोटि पनि आफ्नो व्यक्तिगत सुरक्षाको निम्ति राज्य सरकारसित वार्ताको निम्ति अपील गरिरहेका छन्’ दाहालले स्पष्ट भनेकी छन्।
यसक्रममा उनले विमल गुरूङ अनि रोशन गिरीहरूको मानसिकतामा गुण्डागिरी, हिँसात्मक आन्दोलन अनि सत्ता प्रलोभनबाहेक अरू केही छैन भन्ने गम्भीर आरोप पनि लगाएकी छन्। जुन कुरा पहाड़को जनताले पूर्णरूपले बुझिसकेको दाबी गर्दै पहाड़को राजनीतिमा फर्केर फेरि पहाड़को जनतालाई भड़्खालोमा हाल्ने, तानाशाही शासन चलाउने सपना पाल्नु भनेको विमल गुरूङ अनि रोशन गिरीहरूको दिवास्वप्नमात्रै रहेको पनि दाहालले दाबी गरेकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad