लोकसभा चुनाव अघि गोजमुमोको खर्साङमा शक्ति प्रदर्शन; अनित थापाले भने – ‘चुनाव चिन्ह जेसुकै होस तर भोट गोर्खालाई नै दिनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 27, 2019

लोकसभा चुनाव अघि गोजमुमोको खर्साङमा शक्ति प्रदर्शन; अनित थापाले भने – ‘चुनाव चिन्ह जेसुकै होस तर भोट गोर्खालाई नै दिनुपर्छ’

गफसफ.com, खर्साङ  27 जनवरी।
गोर्खा जनमुक्ति मोर्चाले लोकसभा चुनाव घोषणा हुन ठिक अघि नै राजनैतिक शक्ति प्रदर्शन गरेको छ। आगामी लोकसभा चुनावलाई केन्द्रमा राखेर गोजमुमो खर्साङ महकुमा समितिले आज खर्साङ मोटर स्ट्याण्डमा एक जनसभा आयोजना गरेर शक्ति प्रदर्शन गरेको हो। यस अवसरमा खर्साङ क्षेत्रका विभिन्न ठाउँहरूबाट पार्टी समर्थकहरू धेरै सङ्ख्यामा भेला भएका थिए।

गोजमुमो खर्साङ महकुमा समितिको सभापति किशोर थापाको अध्यक्षतामा सम्पन्न जनसभामा मुख्य वक्ताको रुपमा जीटीए बीओए उपाध्यक्ष एंव गोजमुमो केन्द्रीय महासचिव अनित थापा उपस्थित थिए। यसक्रममा उनले आगामी लोकसभा चुनावलाई लिएर चाँढै प्रार्थीको नाउँ सार्वजनिक गर्ने पनि बताएका छन्।
जनसभामा प्रमुख वक्ताको रूपमा बोल्दै गोजमुमो महासचिव अनित थापाले यसपालिको लोकसभा चुनाउमा चिन्ह्र जेसुकै भए पनि भोट चाहिँ गोर्खालाई दिनुपर्ने आह्वान गरेका छन्। यसक्रममा आफुहरू पनि आगामी लोकसभा चुनावमा भुमिपुत्र प्रार्थीकै पक्षमा रहेको स्पष्ट सङ्केत दिएका छन्। तथापि प्रार्थीको नामको खुलासा भने केही दिनपछिमात्र गर्ने थापाले बताए।
‘आजको जनसभा गर्नुको मुख्य कारण राज्यकी मुख्यमन्त्रीले दार्जीलिङ आएर गोर्खाहरूको राष्ट्रिय चिन्हारीको स्थायी समाधानको लागि काम गरिदिने भएकोले हामी सम्पूर्ण गोर्खाहरूका पक्षमा धन्यबाद दिन राखिएको हो। बङ्गालको कुनै पनि मुख्यमन्त्रीले यसरी पहिलोपल्ट भनेको कारण यो हाम्रो लागि ऐतिहासिक जीत हो’’ अनित थापाले जनसभालाई सम्बोधन गर्दै भने।
उनले जनतालाई सम्बोधन गर्नेक्रममा डेढ़ वर्ष अघि खर्साङमा गरेको संघर्षका कुराहरू सम्झना गर्दै आफुहरूले जातिको लागि ठूलो जोखिम उठाएको अनि यो अहिले सफल हुँदै गएको बताए। ‘गोजमुमोको नेतृत्वमा आन्दोलन भयो। जलाउने र तोड़फोड़ भयो अनि लामो समयसम्म बन्द पनि भयो। तर नेताहरूको छोरा छोरीहरू सुरक्षित र बन्दोबस्तमा थिए। जातिलाई खाड़लमा जानु नदिनुलाई बिनय दाजु र मैले त्यसबेला ठूलो रिस्क उठाएको हौँ’ थापाले भने।
‘सुवास घिसिङले 1986 मा आन्दोलन गरेर दागोपापको चौकीमा बसे। विमल गुरूङले आन्दोलन गरेर जीटीएको चौकीमा बसे । मैले गोर्खाल्याण्ड माग्ने तरिका भएन भन्दा विभिन्न प्रकारको आरोप लगाइयो। धम्की दिने काम भयो। तर पनि मैले धेरै संघर्ष गरेर गोर्खाल्याण्ड माग्ने तरिका जनतालाई बुझाए’ अनित थापाले भने। यसैक्रममा उनले दिल्लीमा गोर्खाल्याण्डको लागि वार्ता गर्न जाँदा पहिले कलकत्तालाई बुझाएर आउनु तब कुरा हुन्छ भनेर केन्द्र सरकारले भनेपछि नै आफूहरू राज्यसित मिलेको पनि दावी गरेका छन्।
यसैक्रममा थापाले खर्साङ महकुमा अस्पताललाई सुव्यवस्थित गर्ने, खर्साङको पार्किङ समस्याको समाधान गर्ने पनि आजको जनसभाबाट घोषणा गरेका छन्। आफू चौकीमा बसेपछि 365 दिनमा 30 दिन पनि घरमा नबसेको अनि दिनरात कमान बस्ती र गाउँ- गाउँ गएर विकासको कार्य गरिरहेको पनि उनले दावी गरेका छन्। यसक्रममा उनले चिया श्रमिक र सिन्कोना बगानको समस्याहरू समाधान गर्न मुख्यमन्त्रीसित कुरा गरेको पनि बताउँदै आगामी दिनमा पनि घर-घरमा गएर विकास गर्ने पनि वाचा गरे।
गोजमुमो खर्साङ टाउन कमिटीको सांगठनिक सचिव बलराम छेत्रीले सञ्चालन गरेको जनसभामा स्वागत वक्तव्य महकुमा समितिको सचिव अनोश थापाले राखेका थिए। जनसभालाई डीटीडीपीएलयु केन्द्रीय सभापति करूणा गुरूङ, नारीमोर्चा केन्द्रीय अध्यक्षा छिरिङ दाहाल, खर्साङ नगरपालिकाको वार्ड पार्षद सुवास प्रधानले पनि वक्तव्य दिएका थिए। जनसभामा खर्साङका विधायक डा रोहित शर्मा, खर्साङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बु, उपाध्यक्ष ब्रिगेन गुरूङ, जीटीए बीओए सदस्याहरू अनु प्रधान र जैतुन निशा, पूर्व सभासदहरू रतन थापा , योगेन्द्र राई, प्रभा छेत्री, केन्द्रीय सदस्यहरू लगायत खर्साङ महकुमा अन्तर्गत 10 वटै समष्टीको पार्टी पदाधिकारीवर्ग र कार्यकर्ताहरू उपस्थित थिए।

No comments:

Post a Comment

Post Bottom Ad