आठौँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार उपन्यासकार पुष्प राईलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 26, 2018

आठौँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार उपन्यासकार पुष्प राईलाई

गफसफ.com, बाग्राकोट/डुवर्स, 24 दिसम्बर।
बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार उपन्यासकार पुष्प राईलाई प्रदान गर्ने घोषणा गरेको छ। प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले एक प्रेस बिज्ञप्ती जारी गरेर उक्त कुराको जानकारी गराएका छन्।
‘एक सशक्त उपन्यासकारका रूपमा स्थापित दार्जीलिङकी साहित्यकार पुष्प राईलाई आठौं बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गरिने निर्णय भएको छ। 25 दिसम्बर, 2018 को दिन बाग्राकोटमा बसेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान र पुरस्कार चयन समितिको संयुक्त बैठकले विभिन्न नामहरूका छलफलको क्रममा उपन्यासकार राईको नामलाई सर्वसम्मतिले अनुमोदन गरेको हो’ प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले भनेका छन्।
यसका साथै प्रत्येक वर्ष झैँ आगामी 20 जनवरी, 2019 का दिन बाग्राकोटस्थित भानु मैदानमा एक भव्य समारोह आयोजन गरी उहाँलाई पुरस्कार अर्पण गरिने उनले बताएका छन्।
डुवर्सका सुपरिचित साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा गठित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष जनवरी महिनामा विशिष्ट साहित्य साधकलाई यो पुरस्कार अर्पण गर्दै आएको छ। 2012 मा स्थापित बद्रीनारायण प्रधान स्मृति पुरस्कार यसअघि क्रमैले साहित्यकार राजनारायण प्रधान, हाइमनदास राई किरात, नरबहादुर दाहाल, भीम योञ्जन, वीरेन्द्र, डा. गोकुल सिन्हा र भविलाल लामिछाने जस्ता विशिष्ट साहित्यसेवीहरूलाई प्राप्त भइसकेको छ।
नेपाली साहित्यमा मूलतः नारीवादी लेखनलाई दह्रो नेतृत्व गर्नुहुने पुष्प राईका दुईवटा उपन्यास भोलिको प्रतीक्षा’ (1990) मध्यान्तर’ (2007) प्रकाशित छन्। सन् 1970-को शुरुआती वर्षहरूदेखि नै लेख्न कार्य थाल्ने पुष्प राई एक सशक्त उपन्यासकारका अतिरिक्त उत्तिकै दक्ष कथाकार र गीतकार पनि रहेका छन्।
सार्वजनिक समारोहतिर जान त्यति रुचि नराख्ने उहाँ तर निरन्तर नेपाली साहित्यमा गम्भीर र चिन्तनशील लेखनमार्फत सक्रिय रहिआएकी छन्। यसका साथै उत्तर बङ्गाल विश्वविद्यालयमा उहाँका उपन्यासमाथि पीएचडी भइरहेको अनि आइतवार मात्र दार्जीलिङमा साहित्यकार रेमिका थापाले राईका उपन्यास पठन फरक बाटोकृतिका रूपमा पाठकसमक्ष ल्याएकी छन्।
‘पुष्प राईलाई भारतीय नेपाली साहित्यमा प्रथम नारीवादी उपन्यासकार मानिन्छ। नेपाली साहित्यकी एक चिन्तनशील साधकलाई पुरस्कृत गर्न पाउँदा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान गौरव महसुस गर्दछ अनि, उहाँको सुस्वास्थ्य र लेखनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछ’ रूपेश शर्माले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad