संसदको शीतकालिन सत्र सुरु; 11 जातगोष्ठीलाई जनजाति बनाउने बील भाजपा सरकारको आधिकारीक सूचीमा छैन – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 11, 2018

संसदको शीतकालिन सत्र सुरु; 11 जातगोष्ठीलाई जनजाति बनाउने बील भाजपा सरकारको आधिकारीक सूचीमा छैन – विनय तामाङ

गफसफ.com, दार्जीलिङ 11 दिसम्बर।
संसदको शीतकालिन सत्रमा 11 जातगोष्ठीलाई जनजाति बनाउने सरकारी बील नहुने भएको विनय तामाङले दाबी गरेका छन्। आजदेखि सुरु भएको संसदको शीतकालिन सत्रमा सरकारको पक्षबाट 63 वटा सरकारी बीलहरू पेश गरिने आधिकारिक सूची सार्वजनिक भएको अनि उक्त सूचीमा 11 जातगोष्ठीलाई जनजाति बनाउने बील उल्लेख नरहेको गोजमुमो पार्टी अध्यक्ष जीटीए बोर्ड अध्यक्ष विनय तामाङले दाबी गरेका छन्।
‘दुई साताअघिसम्ममात्रै विमलपन्थीहरूको पक्षबाट केन्द्र सरकारका सम्बन्धित विभागका मन्त्री तथा सासंद आहलुवालिया समेतलाई 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा प्रदान गरिनुपर्ने मागमा ज्ञापनहरू बुझाउने काम भएको थियो। सोही क्रममा यस शीतकालीन सत्रमा जनजातिको बील संसदमा पेश गरिने सांसद एस.एस आहलुवालिया लगायत केन्द्रिय मन्त्रीहरूले आश्वासन दिएका थिए। तर दुखको कुरा, प्रधानमन्त्री नरेन्द्र मोदीसमेतले घोषणा गरिसकेको 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिने मुद्दा यो शीतकालीन सत्रमा संसदमा चर्चा गरिने 63 वटा बीलहरूको सूचिमा कतै उल्लेख नै रहेको छैन। अर्थात् यस मुद्दामा पनि भाजपाले गोर्खाहरूलाई धोका दिएको स्पष्ट प्रमाणित भएको छ’ विनय तामाङले भने।
उनले आगामी 8 जनवरी 2019 सम्म हुने शीतकालीन संसद सत्रमा गोर्खा अथवा दार्जीलिङवासीको हितमा कुनै पनि मुद्दा भाजपाको तर्फबाट उठान नहुने तय भइसकेको बीलहरूको सूचीले स्पष्ट बनिसकेको बताएका छन्। ‘आधिकारीक तौरमा सार्वजनिक गरिएको सरकारी बीलहरू कूल 63 वटा रहेको छ तर ती बीलहरूमा गोर्खा अनि दार्जीलिङवासी पक्षमा एउटै बील पनि रहेको छैन’ तामाङले भने।
यसैक्रममा उनले जीटीए सम्झौता हुँदा जीटीएको एमओयु (Memorandum of Understanding) को एनेक्सर 2 मा दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालय स्थापना गरिने कुरा स्पष्ट उल्लेख गरिएको बताउँदै आजदेखि चलिरहेको संसद सत्रमा भाजपा सरकारले केन्द्रिय विश्वविद्यालयको बील समेत पेश नगर्ने भएको बताएका छन्। ‘आन्द्रप्रदेशको निम्ति केन्द्रिय विश्वविद्यालय स्थापना गरिने प्रस्ताव संसदमा ल्याइने भएको छ तर, जीटीएको एमओयुमा उल्लेख गरिएको तथा भाजपाले वचन दिइसकेको दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालय स्थापना गरिने कुराको केही उल्लेख गरिएको छैन’ विनय तामाङले अझ भने –‘भाजपाले आफ्नो कार्यकालको अन्तिम संसदीय सत्रमा राख्न गइरहेको 63 वटा बीलहरूको सूचिमा गोर्खा अनि दार्जीलिङ पहाड़को नामसमेत उच्चारण गरेका छैनन्। यो भन्दा ठूलो विश्वासघात अरू के हुन सक्छ। भाजपाले 10 वर्षसम्म गोर्खाहरूलाई केवल भोटिङ मशिनमात्रै सोचिरहेको प्रमाणित भएको छ।’
तामाङले यसैक्रममा विमल गुरुङहरूप्रति पनि निशाना साधेका छन्। ‘विमल गुरूङलगायत उनका सहयोगी नेतृत्वहरू जसले आजसम्म जनतालाई भाजपाको पक्षमा विश्वास गर्न बाध्य बनाइरहेका थिए उनीहरूले अब भाजपाको विश्वासघातको निम्ति जनतालाई के जवाब दिने? भाजपाको उक्त विश्वासघातको जवाब विमल गुरूङलगायत उनका सहयोगी नेताहरूले कसरी दिने?’ विनय तामाङले प्रश्न गरेका छन्।
उनले आज पाँचवटा राज्यहरूमा घोषित चुनाव परिणाम अनि भाजपाले झेल्नुपरिरहेको पराजय भारतभित्र छरिएका गोर्खाहरूलाई गरेको विश्वासघातको पाप लागेको बताएका छन् भने उक्त विश्वासघातको जवाब गोर्खाहरूले आगामी चुनाउहरूमा पनि दिने बताएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad