भाजपालाई चुनौति दिँदै दिल्लीमा जुलुस निकाल्नेछौँ, पक्राउ गर्छ भने जेल जान पनि तयार छु – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 7, 2018

भाजपालाई चुनौति दिँदै दिल्लीमा जुलुस निकाल्नेछौँ, पक्राउ गर्छ भने जेल जान पनि तयार छु – विनय तामाङ

गफसफ .com, दार्जीलिङ 7 अक्टोबर।
देशको राजधानी दिल्लीमा गोर्खा जनमुक्ति मोर्चाले 11 औँ स्थापना दिवस पालन गर्न नपाएको भन्दै विनय तामाङले भारतीय जनता पार्टीप्रति विरोध जनाएका छन्। केन्द्रको भाजपा सरकार अनि दार्जीलिङ पहाडका सांसद एस.एस आहलुवालीयाले पार्टीको स्थापना दिवस पालन गर्न नदिएको उनको आरोप रहेको छ। जसको विरोध गर्दै उनले आगमी दिनमा दिल्लीमा नै जुलुस निकाल्ने भाजपालाई चुनौति दिएका छन्।


‘हाम्रो कार्यक्रम रोक्नका निम्ति असफल बनेपछि सांसद एस.एस आहलुवालीयाले एनयुसीआई भवनका प्रबन्धकलाई फोन मार्फत् केन्द्र सरकारको विरुद्धमा कुनै पनि भाषण दिन पाउनेछैन अनि यदि भाषण दिएको खण्डमा उचित कार्वाही गर्ने चेतावनी दिएका थिए। त्यसपछि पुन: एउटा अर्डर नै मिनिस्ट्रीबाट जारी गरिएको थियो’ विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्।
‘भारतीय जनता पार्टीका नेताहरूले बारम्बार बङ्गालमा अथवा सिलगडी वा दार्जीलिङ पहाडमा गणतन्त्र छैन भन्ने गर्छ तर आजको घट्नाले बङ्गाल अथवा पहाडमा होइन तर भारतको राजधानी दिल्लीमा नै गणतन्त्र छैन भन्ने प्रमाणित भएको छ’ विनय तामाङले अझ भनेका छन् –‘हामी दिल्लीमा पार्टीको स्थापना दिवस पालन गर्न आएका हौँ कुनै अगणतान्त्रिक क्रियाकला गर्न आएका होइनौँ। तर केन्द्र सरकारले दिल्लीमा गणतन्त्रको हत्यासँगै वाक स्वतन्त्रताको समेत हनन् गरेको छ। भारतीय नागरीकलाई संविधानले दिएको वाक स्वतन्त्रता जस्तो मौलिक अधिकारको हनन् गर्ने केन्द्रको सरकारको यस्तो कार्यको हामी घोर विरोध गर्छौँ।’  
तामाङले दिल्लीमा पार्टीको स्थापना दिवस पालन गर्न नदिनलाई भाजपा अनि केन्द्र सरकारले दिल्ली पुलिसलाई प्रयोग गरेको पनि आरोप लगाएका छन। जसको विरोध गर्दै आगामी दिनमा उनले दिल्लीमा बिराट जुलुस निकाल्ने चेतावनी दिएका छन्।
‘भारतीय जनता पार्टीलाई यो चेतावनी दिँदछौँ कि आगमी दिनमा हामी दिल्लीमा वृहत र्‍याली निकाल्नेछौँ। जुन र्‍य़ाली आयोजना गर्न केन्द्र सरकार अथवा दिल्ली पुलिसले यदि अनुमति दिँदैन भने पनि हामी गर्नेछौँ अनि त्यसबेला जेल जान परे पनि तयार रहनेछु’ विनय तामाङले भनेका छन्।
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा भारतीय जनता पार्टीलाई दुईचोटि पहाडबाट जिताएर पठाएपनि भाजपा भने इमान्दार नरहेको भन्दै स्थापना दिवस समेत पालन गर्न नदिएको घट्नाले भाजपाको वास्तविक चरित्र उदाङ्गो भएको उनले दाबी गरेका छन्। जसको कारण उनले आगमी 2019 को लोकसभा चुनावमा भाजपाली उत्तर बङ्गालमा नै रोक्ने घोषणा समेत गरेका छन्। ‘आगमी 2019 को लोकसभा चुनावमा भाजपालाई दार्जीलिङ पहाड मात्र होइन तर उत्तर बङ्गालमा नै रोक्न कम्मर कस्नेछु’ विनय तामाङले भनेका छन्।  
उनले गोर्खाल्याण्डको मुद्दामा भाजपा इमान्दार बनेको छैन भन्दै 11 जातगोष्टिलाई जनजातिको मान्यता समेत दिन नसकेको बताएका छन्। यस्तो अवस्थामा उनले केन्द्र सरकारलाई सेडुल एरिया घोषित गर्नुपर्ने माग गरेका छन्।
‘केन्द्र सरकारले गोर्खाल्याण्ड दिँदैन भने अनि 11 जनजातिको मुद्दालाई पनि पार लगाउँदै भने दार्जीलिङ पहाड सँगै उत्तर बङ्गाल अनि जीटीए क्षेत्रलाई संविधानको धार 264 (1) अनुसार सेडुल एरिया घोषित गर्नुपर्छ’ विनय तामाङले माग गरेका छन्।
उनले दिल्ली जाने घोषणा गरेपछि दिल्लीमा हलचल मच्चिएको भन्दै त्यसैको परिणाम लोबसाङ लामलाई कार्यकारी अध्यक्ष चयनित गर्नु र गृहसचिवसँग़ वैठक बस्नु रहेको पनि दाबी गरेका छन्।  यसक्रममा उनले उक्त वैठक आधिकारिक नभएको दाबी गर्दै उक्त कार्य केवल गोर्खाहरूको आँखामा धुलो हाल्ने कार्य रहेको दाबी तामाङले गरेका छन्।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा भूमिगत नेता विमल गुरुङको सम्बन्ध नेपालका माओवादीहरूसँग रहेको भन्दै उनलाई भाजपाले शरण दिएर दोहोरो चरित्र देखाएको पनि आरोप लगाएका छन्। विमल गुरुङ जसलाई युएपीए कानुन लागेको छ, रोशन गिरी जसलाई सङ्गीन आरोप लागेको छ भने उनीहरूसँग नेपालको माओवादीहरूको लिङ्क छ। भारतको श्रीनगरमा आतङ्वादलाई निमिटन्न पार्न सरकार अघि बडीरहेको छ भने यता भारतको आन्तरिक सुरक्षालाई मध्यनजर राखेर विमल गुरुङको माओवादीसँग सम्बन्ध हुँदा हुँदै भारत सरकारले कसरी सुरक्षा दिएर राखेको छ?’ विनय तामाङले प्रश्न गरेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad