प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिम हवाई अड्डाको उद्घाटन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, September 24, 2018

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिम हवाई अड्डाको उद्घाटन

गफसफ.com, २४ सितम्बर।
प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमको पाकिमस्थित हवाई अड्डाको उद्घाटन गरिएको छ। हिमाली राज्य सिक्किमलाई हवाई मार्गसँग जोड्नका निम्ति तत्कालीन उपराष्ट्रपति स्व. कृषण कान्तद्वारा ६ अप्रेल २००२ का दिन शिलान्यास गरिएको पाकिम हवाईअड्डा आज १६ वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेर राष्ट्रलाई समर्पित गरेका छन्।

हिमाली राज्य सिक्किमको पहिलो हवाई अड्डा उद्घाटन सँगै देशमा हवाई अड्डाहरूको सङ्ख्या एकसय पुगेको छ। प्रधानमन्त्री मोदीले पाकिममा अवस्थित ग्रीनफिल्ड हवाई अड्डाको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमका साथै भारतको निम्ति यो ऐतिहासिक अनि महत्त्वपूर्ण दिन रहेको बताए।

पाकिम हवाई अड्डाको शुभारम्भसँगै भारतले हवाई अड्डाहरूको शतक पूरा गरेको बताए। यस अवसरमा प्रधानमन्त्रीले सिक्किमका क्रिकेट खेलाडी निलेश लामिछानेको पनि उल्लेख गरे, जसले विजय हजारे ट्रफीमा सिक्किमको निम्ति खेल्दै राज्यको निम्ति प्रथमपटक शतकीय पारी खेले।
पाकिम हवाई अड्डाले राज्यको सम्पर्क सुविधालाई अरू धेरै सुगम बनाउने कुरा पनि प्रधानमन्त्रीले बताए। यस हवाई अड्डालाई जनसाधारणको निम्ति उपयोगी बनाउन उडान योजनाअन्तर्गत सामेल गरिएको पनि उल्लेख गरे।
पूर्वोत्तर राज्यहरूमा पूर्वाधारका साथै भावनात्मक सम्पर्क सम्बन्ध द्रूत गतिमा प्रवाहित गर्ने दिशामा सरकारले विशेष बल दिइरहेको पनि बताए। विकास कार्यहरूको समीक्षा गर्न आफू स्वयंले पूर्वोत्तरका राज्यहरूको कैयौंपटक दौडाहा गरिसकेको जानकारी उनले दिए। यसका अतिरिक्त, केन्द्रिय मन्त्रीहरूले क्षेत्रको नियमित रूपमा दौडाहा गरिरहेको बताए। यसका परिणामहरू स्पष्ट देखिन शुरु भएको बताउँदै हवाई अनि रेलका साथै सडक अनि पुलहरू आदिको उल्लेख गरे।
देशको कूल १०० वटा हवाई अड्डामध्ये, ३५ वटा विगत चार वर्षको अवधिमा परिचालन गरिएको पनि उनले बताए।
सिक्किमले जैविक खेतीको क्षेत्रमा धेरै प्रगति गरेको बताउँदै केन्द्र सरकारले पूर्वोत्तर क्षेत्रको निम्ति जैविक मूल्य शृङ्‌खला विकास अभियान शुरु गरेको पनि जानकारी दिए।
यस अवसरमा सिक्किमका राज्यपाल गङ्गाप्रसाद, राज्य विधानसभा अध्यक्ष केएन राई, मुख्यमन्त्री पवन चामलिङ, केन्द्रिय नागरिक उड्डयन तथा वाणिज्य मन्त्री सुरेश प्रभु, केन्द्रिय पूर्वोत्तर क्षेत्र विकास मन्त्री डा. जितेन्द्र सिंह, ईलेक्ट्रनिक्स तथा सूचना प्रविधि राज्य मन्त्री एसएस आहलुवालिया तथा सिक्किमका परिवहन मन्त्री डीटी लेप्चा पनि उपस्थित थिए।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री पवन चामलिङले देशलाई शक्तिशाली साथै दूरदर्शी नेतृत्त्व प्रदान गर्दै विश्‍वमै देशको मर्यादा र सम्मान बढाएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे। विकास प्रक्रियामा प्रत्येक नागरिकलाई लाभान्वित बनाउनका लागि राज्यसित सम्बन्धित केही थॉंतीमा रहेका मुद्दालाई सम्बोधित गर्न पनि प्रधानमन्त्रीसमक्ष उनले अनुरोध पेश गरे।
यसै गरी केन्द्रिय नागरिक उड्डयन तथा वाणिज्य मन्त्री सुरेश प्रभुले नयॉं हवाई अड्डा सिक्किमको निम्ति प्रधानमन्त्रीको सौगात रहेको र यसले पर्यटन अनि जैविक खेतीसहित, विशेष गरी फूलखेतीलाई टेवा प्रदान गर्दै रोजगार अवसरहरूको सिर्जनाका साथै कृषकहरूको आमदानी बढाउँदै अरू व्यापक विकासलाई दिशा प्रदान गर्ने आशय व्यक्त गरे।

No comments:

Post a Comment

Post Bottom Ad