भाषा मान्यता विशेष____________सुवास सोताङ
साठीको दशकतिर :
“एकैपल्ट हाँसिदेउन धरतीमा नेपाली
सङ्घर्ष यो लड़िदेउन भाषा संगाली ।”
भाषाको सङ्घर्ष लड़िदिने आह्वान गर्दै ६० को दशकको प्रारम्भतिरै उपर्युक्त गीत दार्जिलिङको जीडीएनएस हलमा गएको सम्झना गर्छन् जनवादी गायक अशोक राई ।
१९५१ को जनगणनाको आधारमा दार्जिलिङमा नेपालीहरूको जनसङ्ख्या २० प्रतिशत मात्र देखाएर नेपालीहरूविरुद्ध षड्यन्त्र गर्ने बङ्गाल सरकारले सन् १९६१ देखि समग्र बङ्गालभरि बङ्गाली भाषालाई मात्र राज्यको प्रशासनिक भाषा तुल्याउने कोसिस गरेपछि दार्जिलिङले नेपाली भाषालाई दार्जिलिङ जिल्लाको सरकारी भाषाको मान्यता दिलाउने आन्दोलन गर्नुपरेको थियो । यही उद्देश्यलाई अघि राखेर ३१ मार्च १९६१ का दिन श्री गणेशलाल सुब्बा र श्री इन्द्रबहादुर राईको नेतृत्वमा गठित ‘दार्जिलिङ डिस्ट्रिक हिल पिपल लेंगवेज इम्प्लिमेंटेसन कमिटि’- ले आन्दोलनलाई अघि बढ़ाइरहेको हुन्छ । यसैबेला दार्जिलिङमा ‘गोर्खा दु:ख निवारक सम्मेलन’-ले सङ्गीत प्रतियोगिताको आयोजन गर्छ । उक्त प्रतियोगितामा चन्द्रमित लक्समद्वारा रचित उपर्युक्त गीत आफ्नै स्वर-सङ्गीतमा गाएर प्रथम बनेका थिए अशोक राई । भाषा आन्दोलनलाई ऊर्जा दिने उद्देश्यमा निर्माण गरिएको उक्त गीत त्यसताक दार्जिलिङमा धेरैपल्ट गाएको बताउँछन् उनी ।
सत्तरको दशकतिर :
“गौँथली चिरबिर गर्दैन भने त्यो होइन गौँथली
कोयली कुहु भन्दैन भने त्यो होइन कोयली”
सत्तरको दशकको उत्तरार्द्धतिर उपर्युक्त गीत दार्जिलिङ पहाड़भरि खूब गुञ्जिएको स्मरण गर्छन् यस गीतका सङ्गीतकार कर्म योञ्जन । गौँथली र कोइलीजस्ता पक्षीहरूले पनि आफ्नै बोली बोल्छन् भने हामी नेपालीले पनि आफ्नै भाषा नेपाली बोल्नु पाउनुपर्छ, आफ्नो भाषालाई बिर्सनु हुँदैन भन्ने आह्वान गरिएको उक्त गीतका रचनाकार थिए प्रसिद्ध गीतकार गोपाल योञ्जन अनि गायक थिए प्रसिद्ध गायक कुमार सुब्बा । सन् १९७२ मा दार्जिलिङमा अखिल भारतीय नेपाली भाषा समिति गठन भएर नेपाली भाषाको आन्दोलनलाई तीव्र रूपले अघि बढ़ाउँदा भाषाको खोजमा भारतभरिका सम्पूर्ण नेपालीहरू लागेका थिए भने यसबाट कदापि विछिन्न थिएनन् यहाँका कलाकारहरू पनि । भाषा आन्दोलनलाई आफ्नो कलामार्फत अझ प्रभावी बनाउन विभिन्न मञ्च र मैदानहरूमा उत्रे उनीहरू पनि । यसै अवसरमा उपर्युक्त गीतसितै अन्य जातीय गीतहरू गाउँदै दार्जिलिङको गोर्खा दु:ख निवारक हल, गीताङ्गे डाँड़ादेखि खरसाङ हुँदै देशको राजधानी दिल्लीसम्म साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरेको बताउँछन् सङ्गीतकार कर्म योन्जन ।
सङ्गीतको शक्तिलाई राम्रैसँगले बुझेका भाषा समितिका नेतृत्वले आफ्ना विविध कार्यक्रमहरूमा विविध साङ्गीतिक प्रस्तुतिहरूलाई सामेल गर्ने गर्थे भने सन् १९७८ को ८,९ र १० दिसम्बरका दिन भाषा समितिले भाषा सङ्ग्राम आर्थिक कोष निर्माणको निम्ति दार्जिलिङको गोदुनिस रङ्गशालामा“अभिव्यक्तिहरू” नामक सङ्गीत,नाटक र नृत्यको सङ्गम कार्यक्रम आयोजन गरेको थाहा पाइन्छ । उक्त तीन दिने कार्यक्रममा सङगीतकार कर्म योञ्जन, गायक कुमार सुब्बा,दिव्य खालिङ, गौतम लेप्चा, बद्री खरेल, दुर्गा खरेल, पेमा लामा,वाङ्गेल लामा, मान मोक्तान, रमेश सिंह, जीवन गजमेर, विक्रम सुब्बा,विजय ठकुरी, शिशिर छेत्री, देवदत्त ठटाल, दावा ग्याल्मो, विमला सिन्चुरी,अमृता सिन्चुरी, शान्त गुरुङ, सोफिया गुरुङ, सरला गुरुङ, शोभना खालिङ,विपना खालिङ, परिणीता लामा,कुमारी रोशनी आदि कलाकारहरूको प्रस्तुति रहेको थियो । यसरी नै उक्त कार्यक्रमको विशेष आकर्षणको रूपमा मोहन विष्ट र पुकार गुरुङद्वारा लिखित, निर्देशित र अभिनित नाटक “हाम्रो कथा” पनि प्रस्तुत गरिएको थियो । उक्त नाटकका प्रमुख कलाकारहरूमा सावित्री घिमिराज, कुमारी उर्मिला सिंह, कुमारी शान्ता, देवराज सेर्पा,हेमन्त छेत्री, उमेश गुरुङ, दिलप्रकाश महत, प्रताप राई र दिलचन्द्र छेत्री रहेका थिए । उक्त कार्यक्रमबारे ‘हाम्रो भाषा’- मा लेखक मत्स्येन्द्र प्रधानद्वारा लिखित “अभिव्यक्तिहरू”- एक अभिव्यक्ति” नामक समीक्षात्मक लेखअनुसार उक्त कार्यक्रमको प्रारम्भमा नै प्रसिद्ध गीतकार-सङ्गीतकार दिव्य खालिङ स्वयम् आफ्नो साङ्गीतिक टोलीसँग मञ्चमा आउँदछन् । “मेरो हिमाललाई देखेजति सलाम / मेरो पहाडलाई भेटेजति प्रणाम”, “पहाड़ तेरो ज्यान मलाई दे / हिमाल तेरो सान मलाई दे”, “हामी त हजुर यही पहाड़को छोरो / नामै छ काले रूपै छ गोरो”आदि बोल भएका उनका हृदयस्पर्शी गीतहरू विभिन्न कलाकारहरूले प्रस्तुत गर्दछन् ।
अस्सीको दशकतिर :
“हारेको छैन तिम्रो माइती
देशले बिरानो भने पनि
फर्की आउने होइन भागेर
धावा कहीँ परे पनि ।”
कालेबुङका गीतकार अमर रसाइलीको शब्द, कमल उपासकको सङ्गीत र मिङमा भोटियाको स्वरमा निर्मित उपर्युक्त गीत १९८० सालको भानुजयन्तीमा प्रथमपल्ट प्रस्तुत गरिएको थियो । विशेषगरी दार्जिलिङ घुम्न आएका तत्कालीन भारतका प्रधानमन्त्री मोरारजी देसाईले २९ सितम्बर १९७९ का दिन दार्जिलिङका विभिन्न राजनैतिक दल र संस्थाहरूसमक्ष दोस्रोपल्ट ‘नेपाली भाषा विदेशी हो’ भनेपछि भारतभरिका नेपाली भाषीहरू उनीसित अतिनै क्रोधित बनेका थिए । देश रक्षाको निम्ति सिमाना-सिमानामा ज्यानको पर्खाल थाप्ने आफूहरूप्रति देशका प्रधानमन्त्रीको यस्तो व्यवहार देखेर भारतीय नेपालीहरू बेस्सरी दुखे, रिसाए, छट्पटिए अनि भाषा प्राप्तिको निम्ति अझ जोड़ले अग्रसरित भए । यसै सन्दर्भमा ‘देशले बिरानो भनेपनि हामी हारेका छैनौँ’भन्ने अभिव्यक्तिको साथमा प्रस्तुत गरिएको थियो उक्त गीत कालेबुङको पुरानो टाउन हलमा । यसपछि कालेबुङमा आयोजित धेरैवटा कार्यक्रमहरू उक्त गीत प्रस्तुत गरिएको अनि पछिबाट उक्त गीत नवीन लकान्द्रीको स्वरमा ‘चारकुने आँगन’ नामक क्यासेटमा रिकर्ड पनि भएको थाहा पाइन्छ ।
यसै बेला दार्जिलिङमा “सुन हे साथी ! सुन हे भाइ ! यो हिमाल हाम्रै हो / नेपाली भाषा हुर्केको पाखा यो पहाड़ हाम्रै हो” भन्ने गीत गायक कुमार सुब्बाको स्वर, कर्म योञ्जनको सङ्गीत र एम. बी. राईको शब्दमा निर्मित भएर चर्चामा आउँछ । यसै दशकभित्र सन् १९८३ को १८ फरवरीका दिन औपचारिक रूपमा पहिलोचोटि अखिल भारतीय नेपाली भाषा समितिको ‘सांस्कृतिक उप-समिति’-को गठन हुन्छ दार्जीलिड़मा । उक्त समितिका पदाधिकारीहरूमा सभापति - गगन गुरुङ, उपसभापति-कर्म योञ्जन, कुमार सुब्बा र चन्द्रमित वाइबा, सचिव- बी. बी. राई,संयुक्तसचिव-वसन्त छेत्री, मोहन विष्ट र मणिकमल छेत्री चुनिन्छन् ।
नब्बेको दशकतिर
“संसारैभरि परिचय एउटा नेपाली जाति हौँ
संस्कृति खासा नेपाली भाषा भारतकै सन्तान हौँ ।”
नब्बेको दशकको प्रारम्भिक काललाई नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलनको अन्तिम तथा निर्णायक काल मानिन्छ भने यही कालमा नै‘गोर्खा/नेपाली’ भाषा विवादले चरमोत्कर्ष पक्रेको थियो । एकातिर भानेरापको उपस्थिति र अगुवाइले नेपाली भाषा आन्दोलनले नयाँ ऊर्जा पाएको थियो भने अर्कोतिर गोरामुमो नेता सुवास घिसिङको ‘नेपाली’भाषानामको सट्टा ‘गोर्खा’भाषानामको चरम दाबीले ठुलो भाषा विवाद खड़ा गरिदिएको थियो । यस्तै परिस्थितिबीच पश्चिम बङ्गालको वामपन्थी दलहरूद्वारा नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलनको पक्षमा जनशक्ति निर्माण गर्ने र भारत सरकारसामू चाप सिर्जना गर्ने उद्देश्यमा ६ जनवरी १९९१ को दिन खरसाङमा एक विराट खुल्ला जनसमावेशको आयोजन हुन्छ । सम्भवत: यही कार्यक्रममा आरोही साङ्गीतिक टोलीको पक्षबाट जनवादी गायक अशोक राईले तुलसी भट्टराईद्वारा रचित उक्त ‘नेपाली जाति हौँ’ भन्ने गीत प्रस्तुत गरेका थिए ।
यसभन्दा ६ महिनाअघि नै अनेक प्रसिद्ध कवि, गीतकार, गायक र सङ्गीतकारहरूको सहभागितामा दार्जिलिङको जीडीएनएस रङ्गमञ्चमा विराट साङ्गीतिक-काव्यिक भेलाको आयोजन गरिएको थाहा पाइन्छ । २१ जुलाई १९९० का दिन भानुजयन्तीलाई ‘नेपाली भाषा माग दिवस’-को नाम दिई ‘संयुक्त भानुजयन्ती समारोह समिति’-द्वारा आयोजन गरिएको उक्त कार्यक्रममा अरुणा लामा, कुमार सुब्बा, पेमा लामा, डेजी बराइली, बद्री-दुर्गा खरेल,पारस गजमेर, मणिकमल छेत्री,रिमला मोक्तान, चन्दन लोम्जेल,मनबहादुर राई, कुन्दनराज सुब्बा,किरण मोक्तान, अन्जना बराइली,रमेश बर्देवा, राधा दुतराज, अनिल ठटाल, शङ्कर रयाइघ्याई, स्मृति तामाङ आदि कलाकारहरूले आ-आफ्ना प्रस्तुति दिएका थिए । बी. बी. गुरुङको संयोजकत्व, इन्द्रबहादुर राईको अध्यक्षता अनि चन्द्रमित लक्सम र मणिकमल छेत्रीको सञ्चालनमा सम्पन्न भएको उक्त संयुक्त कार्यक्रमको आयोजना अखिल भारतीय भाषा समिति,नेपाली साहित्य सम्मेलन, गोर्खा दु:ख निवारक सम्मेलन, दार्जिलिङ कलाकार सङ्घ, युगपरिबोध,जीएनएलएफ बचाऊ समिति र युवा साहित्यिक मञ्चले संयुक्तरूपले गरेका थिए ।
यसरी ६० को दशकको प्रारम्भदेखि ९० को दशकको प्रारम्भसम्मको भाषा आन्दोलनका विशेष घटनाचक्रलाई बुझाउनको निम्ति उदाहरणस्वरूप एक-एकवटा गीत र तिनका गायक,सङ्गीतकार र गीतकारहरूको नामसहित केही प्रमुख कार्यक्रमहरूको उल्लेख मैले माथि गरेँ । तर नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलनमा सहभागी बन्ने कलाकारहरू यति मात्र होइनन् । भारतीय नेपाली भाषीहरूको निम्ति एउटा जनान्दोलन नै बनेको यस दीर्घकालीन सङ्घर्षमा भारतभरिका अनेकन गायकहरू, सङ्गीतकारहरू,गीतकारहरू, नाट्यकर्मीहरूको प्रत्यक्ष-परोक्ष सहभागिता रहेको थियो ।
अखिल भारतीय नेपाली भाषा समितिको आयोजनमा दार्जिलिङ,डुवर्सदेखि लिएर असम, भाग्सु,देहरादून, दिल्ली, कलकत्ता र भारतका विभिन्न ठाउँहरूमा सांस्कृतिक-साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो भने ती कतिपय कार्यक्रमहरूमा अरुणा लामा, कुमार सुब्बा, कर्म योन्जन, गोपाल योन्जन,पेमा लामा, दावा ग्याल्मो, दिलमाया खाती, बद्री-दुर्गा खरेल, मणिकमल छेत्री, हिरा रसाइली, हिरादेवी वाइबा,डी.बी घिसिङ (डुवर्स), ललित न्यासुर (डुवर्स), शान्ति ठटाल (सिक्किम),अशोक राई (सिलगढ़ी), चन्द्रकला नेवार, महेन्द्र गुरुङ (असम), डेजी बराइली, मधुसुदन लामा, शान्ति ठटाल, प्रकाशमान गुरुङलगायत अनेक कलाकारहरूले आफ्ना प्रस्तुति दिएका थिए । नेपाली भाषा मान्यता आन्दोलनकै क्रममा नाटककार पी. अर्जुनद्वारा लिखित नाटक ‘जिब्रो’पनि दार्जिलिङको जीडीएनएस रङ्गमञ्चमा प्रदर्शित गरिएको थाहा पाइन्छ । उक्त नाटकका सङ्गीत निर्देशक दिव्य खालिङ थिए भने गायकको रूपमा पेमा लामा रहेका थिए । त्यसरी नै नाट्यभूषण सी. के. श्रेष्ठको लेखन-निर्देशनमा ‘भद्रेको टोली’-द्वारा सन् १९७७ को १३ जुलाईका दिन नै कालेबुङको टाउन हलमा आयोजित भानुजयन्तीमा“अनि भालेमुंग्रो रुन्छ” नामक नाटक प्रदर्शित गरिएको थाहा पाइन्छ । यता भाषा सङ्ग्रामी शिशिरकुमार गुरुङअनुसार मार्टिन लुथर किङको‘We shall over come’ भन्ने गीतलाई महेन्द्र गुरुङको रचना र सङ्गीतमा “दियालो बल्नेछ, सफलता हाँस्नेछ” भन्ने शब्दहरूमा तयार गरी असमका विभिन्न ठाउँहरूमा प्रस्तुत गरिएको थियो ।
(सुवास सोताङकृत भाषा आन्दोलन : इतिहास र उपलब्धि”-पुस्तकबाट एकांश)
No comments:
Post a Comment