पहाड अनि तराई-डुवर्सका चिया श्रमिकहरूले चाँडै खुशीको खबर पाउनेछन् – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 11, 2018

पहाड अनि तराई-डुवर्सका चिया श्रमिकहरूले चाँडै खुशीको खबर पाउनेछन् – विनय तामाङ

गफसफ.com, दार्जीलिङ, 11 अगस्त।
‘दार्जीलिङ पहाड़ अनि तराई- डुवर्सका चियाश्रमिकहरूले मिनिमम् वेजेस एक्टसम्बन्धि चाड़ै अति महत्वपूर्ण अनि खुशीको खबर सुन्न पाउनेछन्’ उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवम् जीटीए बोर्ड अध्यक्ष विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्। उनले चिया श्रमिकवर्गको समस्यालाई लिएर आफुले दैनिक सरकाराँग कुराकानी गरिरहेको दाबी गर्दै श्रमिकवर्गले चाँडै यसको उपलब्धि पाउने बताएका छन्।

Binoy Tamang (File Photo)

‘चियाश्रमिकहरूको समस्याको समाधानको निम्ति म हरेक दिन नै सरकारसित वार्ता गरिरहेको छु। राज्यका श्रममन्त्री मलय घटकजीसित पनि म दैनिकरूपमा नै कुराकानी गरिरहेको छु’ विनय तामाङले अझ भनेका छन् –‘गोजमुमोको श्रमिक संगठनले पनि लगातार मुद्दालाई अघि बड़ाइरहेको छ। जसको प्रतिफल अब चाड़ै चियाश्रमिकहरूले पाइरहेका छन्’।
तामाङले चिया श्रमिकवर्गको हितमा आफुहरूले गरिरहेको कार्यको प्रतिफल पाउने थाह पाएर नै अन्य राजनैतिक दलका श्रमिक सङ्गठनहरूले जोइन्ट फोरम गठन गरेर श्रेय लिनका निम्ति कमान बन्द गर्ने कार्य गरिरहेको आरोप लगाएका छन्। यद्यपी जोइन्ट फोरमको उक्त उद्देश्यलाई दार्जीलिङ पहाडका चिया श्रमिकहरूले विफल बनाएको भन्दै उनले चिया श्रमिकवर्गलाई धन्यवाद पनि दिएका छन्।
‘दार्जीलिङ पहाड़मा जोइन्ट फोरमको नाममा राजनैतिक दलहरूले गरिरहेको कमान बन्द अनि असहयोग आन्दोलनले सफलता हात लाग्दैन भन्ने कुरा विगतको आन्दोलनहरूले नै स्पष्ट भइसकेको छ। हरेक कुराको समाधान टेबलमा तर्क-वितर्क अनि बौद्धिक रणनीतिमार्फत नै हुन्छ भन्ने कुरा हामीले विगतका विफलताहरूबाट सिकेका छौं’ विनय तामाङले अझ भनेका छन् -‘हरेक प्रकारले अध्ययन मनन गरेर तर्क अनि वार्तामार्फत नै यसको समाधान गर्ने दिशामा हामी लागिपरेका छौं र यसैको फलस्वरूप अब चाड़ै चियाश्रमिकहरूले ठूलो उपलब्धि हासिल गर्नेछन्। यसको निम्ति म अग्रिम शुभकामना पनि चियाश्रमिकहरूलाई दिन चाहन्छु।’
नयाँ सोच अनि विचार लिएर गोर्खल्याण्ड क्षेत्रीय प्रशासनको पदभार ग्रहण गर्नेसाथ आफुहरूले सबैभन्दा पहिला चियाकमानको पर्जापट्टा र मिनिमम् वेजेस एक्ट लागु गर्नुपर्ने मुद्दा नै सरकारसमक्ष उठाएको पनि तामाङले विज्ञप्तिमा दाबी गरेका छन्। जसको कारण दुवैवटा मुद्दा सरकारको टेबलमा पुगेको उनले बताएका छन्। ‘जतिबेला हामीले चियाश्रमिकहरूको निम्ति यी दुईवटा मुद्दा उठान गरेका थियौं त्यतिबेला अन्य राजनैतिक दलका नेतृत्त्वहरू सिलगढ़ीमा बसेर दार्जीलिङ पहाड़को स्थितिको तमाशा हेरिरहेका थिए। अहिले ठूल्ठूला कुरा हाँक्ने कतिपय श्रमिक संगठनका कतिपय तथाकथित नेताहरूले त उक्त पार्टीमा समेत सामेल भएका थिएनन्’ विनय तामाङले अन्य राजनैतिक दलका नेताहरूप्रति टिप्पणी गर्दै भनेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा चियाकमानहरू जहिल्यै पनि राजनीति गर्ने अखाड़ामात्रै हुने गरेको आरोप लगाउँदै चिया श्रमिकहरूको मुद्दा केवल भोटको समयमा मात्र उठ्ने गरेको पनि आरोप लगाएका छन्। यद्यपी नेताहरूले सत्तामा पुगेपछि चियाश्रमिकहरूको समस्याको कुरासमेत गर्ने नगरेको आरोप लगाउँदै गोजमुमोले भने उक्त परम्परा भत्काएर देखाउँने दाबी पनि गरेका छन्। ‘गोर्खा जनमुक्ति मोर्चा यसपालि चियाकमानहरूको समस्या लिएर होइन तर समाधानको कोशेली लिएर चियाबगान पस्नेछ। यो हाम्रो आश्वासन होइन प्रतिवद्धता हो’ विनय तामाङले भनेका छन्।
उनले चियाकमानको समस्याको समाधान टेबलमा नै हुनेछ भन्दै कमान बन्द गरेर होइन तर कमानको समस्याहरू खुल्लारूपमा देखाएर समस्याको समाधान हुनेछ भनि बताएका छन्।
‘विपक्षी राजनैतिक दलका सिजनल नेताहरूले आगामी चुनाउ हेरेर चियाश्रमिकहरू समक्ष आन्दोलनको विज्ञापनमात्रै देखाए। हामीले सरकारलाई श्रमिकहरूको समस्या देखाइदियौं। तर्क-वार्तामार्फत सरकारलाई श्रमिकहरूको समस्या बुझाउन सफल बन्यौं। हाम्रो सफलताको फल अब पाकिसकेको छ। चियाश्रमिकहरूको आङमा अब चाड़ै न्यानो घाम लाग्नेछ’ विनय तामाङले प्रेस विज्ञप्तिमा भनेका छन्। यसक्रममा उनले पहाडका चिया श्रमिकहरूलाई जोइन्ट फोरमको 3 दिने बन्दको आन्दोलन विफल तुल्याइदिएको भन्दै धन्यवाद पनि दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad