गफसफ.com, मुम्बई 21 जुलाई।
सानो पर्दाको लोकप्रिय च्यानल एन्ड टिभीमा प्रत्येक शनिबार
अनि आइतबार राती 9 बजी प्रसारण हुने नाच प्रतियोगिता हाई फिभरमा उधुम मच्चाइरहेका
यी कलाकारहरूले सबैलाई उछिनेर अब फाइनल चक्रमा प्रवेश पाएका छन्। तर फाइनल चक्रमा
विजेता बन्नका लागि दर्शक र आफ्ना शुभचिन्तकहरूको माया, ममता मात्रै होइन भोटको आवश्यकता परिरहेको छ।
भारतका विभिन्न लोकप्रिय मनोरञ्जनात्मक टिभी च्यानलहरूका
रियलिटी शोहरूमा नेपालीभाषी गोर्खा कलाकारहरूले कलाकारिताको दुनियाँमा आफुहरू पनि
कम नरहेको प्रमाण दिइरहेका छन्। यस्तैमा प्रख्यात इन्टरटेन्टमेन्ट च्यानल एन्ड
टिभी-को रियलिटी शो हाई फिभरको फाइनल चक्रमा निशा रसाइली अनि तारा ढकालको जोड़ी
एकातिरबाट पुगेको छ भने अर्कोतिरबाट देहरादुनका युवा अंशुल प्रधान पुगेका छन्।
अंशुललाई जोड़ीका रुपमा सहयोग पुऱ्याइरहेका छन् मराठी
नृत्यकार तेजस वर्माले। यी कलाकारहरूले प्रदर्शन गरिरहेको नाचकलाको चमत्कारबाट
दर्शकहरू मात्रै होइन तर देशका प्रख्यात अभिनेता र नृत्य निर्देशकहरू पनि अवाक्
बनिरहेका छन्।

गान्तोकको आरिथाङ निवासी निशा रसाइलीलाई दिल्लीका तारा
ढकालले जोड़ी बनेर सहयोग पुऱ्याइरहेका छन्। दिल्लीमा सानोतिनो व्यापार गरेर जीवन
धानिरहेका मातापिताको पुत्र तारा ढकाल अनि निशा रसाइलीको जोड़ीले जति ख्याति
पाइरहेको छ त्यति नै लोकप्रियता प्राप्त गरिरहेका छन् देहरादुनका युवा कलाकार
अंशुल प्रधानले।
राजमिस्त्रीको काम गरेर आफ्नो परिवारका एकमात्र छोरो अंशुललाई
नाचको दुनियाँमा लिएर आएका उनका पिता महेश प्रधान अनि माता रेखा प्रधानले
भारतभरिका नेपालीभाषी गोर्खाहरूलाई भोटको माध्यमद्वारा सहयोग पुऱ्याइदिने अपिल
गरेका छन्।
माता रेखा प्रधानले बताएअनुसार, अंशुलले यसपालि दसौँ श्रेणीको परीक्षामा भाग लिनुपर्ने भए
तापनि नृत्यप्रतिको उसको मोहको कारण पढ़ाइलाई बिचैमा त्यागेर मुम्बई आइपुगेको हो।
देशभरिबाट भाग लिइरहेका हजारौँ नर्तकहरूलाई उछिनेर यसरी फाइनल राउन्डमा पुग्न सफल
बनेका अंशुलले तर उचित प्रचार-प्रसारको अभावमा आवश्यक भोट पाउन नसक्ने आशङ्का
रहेको उनी बताउँछिन्।
आइतबार राति 9 बजीसम्म मिस् कल गरेर निशुल्क भोटिङ
गर्नसकिने हुनाले उनले आफ्नो छोराको लागि मात्रै होइन तर सम्पूर्ण नेपालीभाषी
गोर्खाहरूको प्रतिभाका लागि भोट गरिदिने सबैमा अपिल पनि गरेकी छिन्।
गत वर्षको मार्च महिनामा पहिलो अडिसन चक्र सम्पन्न हुँदा देशभरिबाट
हजारौँको सङ्ख्यामा प्रतियोगीहरूले भाग लिएका थिए। त्यसमध्ये 40-50 जनाको जोड़ी
मात्रै छानिएका थिए जसमध्ये 19 -जनाको जोड़ी मेगा अडिसनमा पुगेका थिए। मेगा
अडिसनबाट पनि छानिएर यी कलाकारहरूको जोड़ी टप एघारमा पुग्न सक्षम बनेको थियो भने
हालमा सफलतापूर्वक आफ्नो नाचकलाको नमुना प्रस्तुत गर्दै यी दुइ जोड़ी फाइनल चक्रमा
पुगेको छ।
उक्त गोर्खे कलाकारलाई फाइनल जिताउनका लागि नाचप्रेमी
दर्शकहरूले भरपुर भोट गर्नुपर्ने अवस्था देखा परेको छ। यसका लागि आइतबार राती 9
बजीसम्म भोट गर्नसकिनेछ। दर्शकहरूले एउटा सिम कार्डबाट 100 पल्टसम्म मिस्डकल गरेर
भोटिङ गर्नसक्ने सुविधा समेत उपलब्ध रहेको छ। जसको निम्ति कुनै पनि शुल्क
तिर्नुपर्ने छैन।
तारा-निशालाई भोट
गर्नका निम्ति 07240466682 - मा मिस् कल गर्नुपर्नेछ भने अंशुलको जोड़ीलाई भोट
गर्न 07240466686 - मा मिस् कल गर्नुपर्नेछ। अर्कोतिर एसएमएस-को माध्यमद्वारा पनि
भोटिङ गर्नसकिनेछ। तारा-निशालाई एसएमएस गर्नलाई अङ्ग्रेजीको ठुलो अक्षरमा TNN लेखेर 57575 मा पठाउनुपर्नेछ भने अंशुलको
जोड़ीलाई एसएमएस गर्नलाई अङ्ग्रेजीको ठुलो अक्षरमा TNA लेखेर
57575-मा पठाउनुपर्नेछ। एउटा सिम कार्डबाट 100 वटासम्म एसएमएस गर्नसकिनेछ। अर्कोतर्फ
अनलाइन प्रक्रियामार्फत् भोटिङ गर्न चाहनेहरूका निम्ति पनि सुविधा उपलब्ध रहेको छ।
No comments:
Post a Comment