लेप्चा भाषाले संवैधानिक मान्यता पाउनुपर्छ - इल्टा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, July 18, 2018

लेप्चा भाषाले संवैधानिक मान्यता पाउनुपर्छ - इल्टा

गफसफ.com, दार्जीलिङ 18 जुलाई।
लेप्चा भाषाले संवैधानिक मान्यता पाउनुपर्ने इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसनले माग गरेको छ। इल्टा अध्यक्ष दोर्जी टी लेप्चाले लेप्चा भाषाले संवैधानिक मान्यता पाउनका निम्ति पहल गरिरहेको भन्दै अब यसलाई योजनावद्ध रूपमा अघि बडाउने घोषणा गरेका छन्।
लेप्चा भाषाको पहिलो व्याकरण लेख्ने थिकुङ जेनेरेल जीबी मिनवेरिङको 193औ जन्मजयन्तीको अवसरमा प्लुङदुङमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो। यस अवसरमा लेप्चा नेतृत्वहरूले पहाड़मा राजनैतिक हस्तक्षेपको कारण भाषा पढाउन नपाएको मुद्दालाई आफ्नो सम्बोधनमा उठाइरहेका थिए।
‘दार्जीलिङमा लेप्चा भाषाको निम्ति अधिसूचना जारी भएर पनि प्राथमिक तहको पढाइलाई राजनैतिक हस्तक्षेप गरियो। जसको कारण हाम्रा नानीहरू आफ्नो भाषाको पढाईदेखि वञ्चित बन्न परिरहेका छन्। अब हामी लेप्चा भाषालाई आठौं अनुसूचीमा अन्तर्भुक्त गर्नको निम्ति भारतभरिका लेप्चाहरूलाई एक हुने आह्वान गर्छौं’ इल्टा अध्यक्ष दोर्जी टी लेप्चाले भने।  उनले उक्त कार्यको निम्ति आफुहरूले सुरुआत गरिसकेको बताउँदै केन्द्रसरकारलाई लिखित रूपमा अवगत गराइसकेको पनि जानकारी दिएक छन्। यसक्रममा उनले लेप्चा भाषा मान्यताको निम्ति पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जी र सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई पनि सहयोगको अपील गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमएलडीबी अध्यक्ष ल्याङसोङ तामसाङले पनि लेप्चा भाषाको पढाईमा भएको राजनैतिक हस्तक्षेपको निन्दा गर्दै यसलाई सुचारू गरिनुपर्ने माग गरे। उनले संविधानको 350 ए अन्तर्गत कुनै पनि जातिले आफ्नो मातृ भाषा पढन पाउनुपर्ने अधिकार रहेको भन्दै दार्जीलिङ कालेबुङका लेप्चाहरू यसबाट वञ्चित रहेको गुनासो गरे।
‘राज्य सरकार मार्फत  लेप्चा भाषाको हितमा धेरैवटा कार्य भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको पहल सराहनीय छ। जसको कारण लेप्चा भाषाको  भाषाको संरक्षण र विकासमा धेरै कार्य भइरहेको छ। पुस्तकहरू लगातार प्रकाशित भइरहेका छन्। अनुवादको कामहरू हुँदैछ। 150 रात्री पाठशाला बनिसकेको छ’ एल.एस तामसाङले भने। यसक्रममा उनले पहिलो चोटि  लेप्चा भाषाले इन्टरनेशनल कोलकता बुक फेयर 2019 मा समावेश हुने अवसर पाएको जानकारी पनि गराए।
कार्यक्रममा लेप्चा भाषामा लेखिएको  6 वटा पुस्तकको पनि लोकार्पण गरिएको थियो। प्रोफेसर प्रकाशचन्द्र पटनायक, मोडर्न इन्डियन ल्याङवेज एन्ड लिटिरेचर दिल्ली विश्वविद्यालय, एमएलडीबीका सदस्य सचिव जी नाम्चू आइएएस, डा. सतारूपा दत्तामजुन्दर शाह, फादर फिलिक्स डिसोजा, रेन डेनिस लेप्चा, प्रो. बरूण मुखोपाद्याय, डा. डीसी रोय, डा. नन्दनी भट्टचार्य पान्डा, श्यामेल लेप्चा आदिले कार्यक्रममा आफ्नो वक्तव्य राखेका थिए।। इल्टा महासचिव रूमदेन लेप्चाले स्वागत भाषण राखेको उक्त कार्यक्रममा एमएलडीबी सांस्कृतिक विभाग, आथिङ केपी तामसाङ लेप्चा स्कूल र रेन माइकल वे गीतडब्लिङ स्कूलका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।
स्मरण रहो, गोजमुमो पार्टीका भुमिगत नेता विमल गुरूङको नेतृत्वमा पहाड़को सत्ता रहँदा राज्य सरकारले लेप्चा भाषा अध्ययन-अध्यापन हुनपर्ने अधिसूचना जारी गरेपनि पहाडका पाठशालाहरूमा लेप्चा भाषा पठन-पाठन नभएको गुनासो रहेको छ। पहाड़का 46 वटा प्राथमिक पाठशालाहरूमा लेप्चा पारा टिचरको नियुक्ति समेत गुरुङको समयमा रोकिएको आरोप रहेको छ। जसको कारण सय दिन अधि शिक्षकहरू यहाँको त्रिकोण पार्कमा धरनामा समेत बसेका थिए। अहिलेघरी विमल गुरुङ सत्ताच्युत बनेर पुन: यो मुद्दाले प्राथमिकता पाएको छ।

No comments:

Post a Comment

Post Bottom Ad