राजनीति________________________________________________
दिपक भारती, मङ्पू।
संसारमा धेरैपल्ट आन्दोलनहरू भए। प्रत्येक आन्दोलनले राजतन्त्र र तानाशाही
व्यवस्था हटाएर गणतान्त्रिक र समाजवादी व्यवस्था स्थापित गरेको छ। अपवादस्वरूप कतै
भने एकल पार्टी नियन्त्रित सरकार स्थापित भएको छ।
आन्दोलन समाप्त भएपछि यदि तानाशाही र एउटामात्र गुटको शासनतन्त्र
स्थापित हुन्छ भने त्यो हलचललाई आन्दोलनको नाम दिनुहुँदैन, त्यो गण्डागोल हो आन्दोलन होइन। हामीले पनि २०१७ भन्दा पहिले दुई चरणको आन्दोलन गरेको कुरा
गर्दैछौं,
जसलाई हामी परिचयको वा चिनारीको आन्दोलन भन्यौँ। यदि त्यो
परिचय वा चिनारीको आन्दोलन थियो भने हामीले काम भने उल्टो गर्यौँ ।
हाम्रो माझमा जाति र भूभागको नाममा पन्ध्र-बीसवटा दलहरू देखा परे। मुद्दा
समाधानका कतिपय मार्गहरू पनि आपस्तमा मिल्दैनन्। जनता पनि अलमल्ल परे। मुद्दाका
कार्यक्रम भनेको पनि बन्द, अनशन,
नारा र सरकारको विरोध मात्र बुझियो। मलाई यति बेला चार्ल्स
डिकन्सको ‘अ टेल
अफ टू सिटीज’-को एक
जना कैदीपात्रको सम्झना भइरहेकोछ।
ब्यास्तिल दुर्गाको एउटा अँध्यारो कोठामा धेरै वर्षदेखि कैदमा रहेको त्यो
पात्रलाई कैदी जीवनदेखि मुक्त हुने आशा थिएन। भाग्यवश एक दिन उसले मुक्ति पाउँछ। उ
बाहिर निस्किन्छ तर उसले बाहिरको उज्यालोको सामना गर्नसक्दैन। उ फर्केर त्यही
अँध्यारो कालकोठरीमा पुग्छ जहाँ जिउनु उ अभ्यस्त भइसकेको हुन्छ। हाम्रा आन्दोलन
गर्नेहरूले पनि पुरानै कार्यक्रमहरू दोहोर्याउँछन् तर नयाँ बाटोतिर बढ्न
सक्तैनन्। मैले धेरैअघि एउटा लेखमा प्रणाली परिवर्तन (Kuhn
को Paradigm Shift) को कुरा उल्लेख गरिसकेको छु। घरीघरी एउटै प्रयोग गरिए
एकैप्रकारको परिणाम पाइन्छ। परिणाम परिवर्तन गर्न परे प्रयोगमा पनि परिवर्तन गर्न
पर्छ।
मैले आजसमम्म कुनै दलमा पनि कार्यशाला पद्धति र सांगठनिक
संरचनाको शिल्प जस्ता आवश्यकीय पद्धति प्रयोगमा रहेको थाहा पाएको छुइन। यसो
नभएकैले सङ्गठनभित्र जिउमा मजुरको प्वाँखहरू सिउरेर मजुरको हुलमा हिँडेन कागहरू, सर्वज्ञानी र हिटलरहरूको प्रादुर्भाव भइरहन्छ, जो क्षतिकर हुन्छ।
कार्यशाला र सांगठनिक संरचनाको शिल्प व्यवहारमा छ भने समाजका प्रत्येक वर्गका
मानवसंसाधनलाई यो मुद्दा लगायत अन्य समस्या समाधानमा सहभागी बनाउन सकिन्छ। यस्तो
व्यवस्थामा आफुले पक्कै जानेका विषयमा मात्र बोल्ने तर नजानीकन जानेको जस्तो अभिनय
गर्न पाइन्दैन।
एउटा कुरा - यी दुई पद्धतिहरूको आजसम्म प्रयोग नभएकोले म कुनै नेता
कहलाईएकाहरू वा कसैलाई पनि आन्दोलन असफलताको निम्ति दोष दिँदिन। हामी जनता पनि
त्यसको निम्ति बराबरको जिम्मेदार छौँ। जस्ता जनता छन् उस्तै नेता पाइन्छन्। गाली
गरेरै भात पचाउने बेहोरा भएकाहरूले कौडी उत्तानो परे वा घोप्टै परे पनि कौडी
खेल्नेलाई गाली गर्ने नै हुन्। अँ, यी दुई पद्धति लागू भइसकेर पनि कसैले काम बिगार्छन् भने दोष
दिन र गाली गर्न सकिन्छ। यी पद्धतिहरू प्रयोग भएमात्र गद्दार, विरोधी र धूर्तहरू चिन्न सकिन्छ।
राज्य प्राप्तिकै निम्ति हो भने हामीले लिन पर्ने
पदक्षेपबारे बुझाउन एउटा कार्यशालाको आवश्यकता पर्छ जसमा भाग लिने र मेसो पक्रनेले
त्यसमा थैथाप गरेर प्रत्येकले त्यस्तै कार्यशालाको आयोजना गरी अन्यलाई बुझाउन
सक्छन्। यो नयाँ विषय व्यूहरचना जस्तै हो जो पहिले कहिले पनि प्रयोग गरिएको छैन।
म केही जान्दछु अन्यले त्यस्तै गरी जानेको कुरा थप्न सक्छन्। मैले यो विषयलाई
सनसनीखेज बनाउन खोजेको पनि होइन। मरचेन्ट अफ भेनिसमा न्यायिक सुनुवाइको बेला एक
जना पात्र आन्तोनियोमाथि निर्दयी शाइलकले प्रायः बिजय प्राप्त गरिसकेको बेला वकिल
पोर्शियाको न्यायपूर्ण तर्कले दण्डित हुनै आँटेका आन्तोनियोको ज्यान बाँच्छ औ
उल्टो शाइलक दण्डित हुनपुग्छ। यो कथा हाम्रो निम्ति प्रेरक छ।
मैले बुझाउन खोजेको कुरोलाई दलनिर्विशेष सम्पूर्ण जनताको पक्षमा राख्न खोजेको
हुँ। यो संविधान संलग्न विषय हो तर धेरैपल्ट चर्चा भइसकेका ३, २४३, २४४,
३६८ जस्ता संविधानका धाराहरूको चर्चा गर्ने आवश्यकता भने
पर्नेछैन। दशबर्ष अघि नै त्यस्तो कार्यक्रम प्रस्तुत गरिएकै हो तर आफू लाटो सिद्ध
हुने औ आफ्नो प्रभाव घट्छ कि भन्ने डर बोकेका पदधारीहरूले ठूलो बाधा सृष्टि
गरेकाले उद्देश्यमा सफल हुन सकिएन। आजसम्म त्यो घाउ आलै छ। त्यो कार्य सम्पूर्ण
जनताको भलाईको निम्ति गरिएको तर कुनै सरकार, जाति र दलको विरुद्धमा थिएन। लिखितरूपमा प्रकाशित गर्दा
त्यो क्षतिकर हुन्छ। त्यस कार्यमा संविधान, सरकार र कुनै दलको विरोध गर्न पर्दैन।
युवाहरूमा भेलको विरुद्धमा पैडिने साहस र बल हुन्छ। सही दिशा पाए किनार पुग्न र पुर्याउन उनीहरू सक्षम
हुन्छन्। यो कार्यमा बलको आवश्यकता भने
छैन। युवाशक्ति जस्तो मानवसंसाधन खेर नजावस् भन्ने हेतुले नै यो लेख्ने आँट गरेको
छु। यो मुद्दा कुनै पनि दलको पेवा उद्योग र विषय हुँदै होइन। यो कार्यमा कसैले
कुनै पद र दल त्याग्नु पर्ने आवश्यक्तानै छैन। मैले घाम पूर्व दिशामा झुल्कन्छ
भन्नुपर्दा के कुनै दलको समर्थन वा विरोध गर्न पर्छ र?
हामी हाम्रो उद्देश्यमा बारम्बार असफल हुनुमा मुद्दा समर्थकहरूको
मनोवैज्ञानिक कमजोरी र हाम्रो सामाजिक अवस्था जिम्मेदार छ। हामीमा विद्यमान
राजेच्छा, शून्यतावोध, चोरी-ठगीको बेहोरा र अनुहार छोप्ने अभिनयले हाम्रो
अभियानहरूमा सांघातिक प्रहार गरिरहेको छ।
हाम्रो आन्दोलन कतिसम्म परिचयको वा चिनारीको आन्दोलन हो? तपाईँ आफ्नो घरदेखि बाहिर निस्केर वा अन्त कतै गएर अर्कालाई
तपाईँको आफ्नो परिचय माग्नुहोस्। म को हुँ? मेरो नाम के हो? म कसको सन्तान हुँ? म कहाँको बासिन्दा हुँ? म कस्तो मान्छे हुँ? भनेर तपाईँले नचिनेको कसैलाई पनि प्रश्न गर्नुहोस्। जसले
तपाईँलाई चिन्दै चिन्दैन उसले यस्तो प्रश्न सुनेपछि तपाईँलाई के भन्ला वा ठान्ला? तपाईँलाई उसले पागलखानाबाट उम्केर आएको ठान्नेछ अथवा
पागलखानामा लगेर तपाईँको चिकित्सा गराउन आवश्यक रहेको बुझ्नेछ।
कसैले तपाईँको परिचय मागेको खण्डमा तपाईँले आफ्नो परिचय दिनुपर्छ। आफ्नो परिचय
आफैले दिनुपर्छ अर्काले दिँदैन भने आफ्नो जातिको परिचय खोज्नु किन लखर लखर दिल्ली
र कलकत्ता जानु? अस्ति त्यसरी जानेलाई दिल्लीले कलकत्ता र कलकत्ताले दिल्ली
पठाएछ, कसो
राँची पठाएनछ!
ज्यानको बाजी लगाएर शत्रुसित लडने गोर्खा सिपाहीले ‘कालको ओखती छैन हूकूमलाई जवाब छैन’ भन्ने भनाई चरितार्थ गर्दा, पानीझरी, भोक, रोग,
पारिवारिक शोक सुर्ता, ठन्डा, गरम र आफ्नो घाइते अवस्थाको पर्वाह नगरी मातृभूमिको रक्षा
गरिरहेकै छन् र सारा देशवासी सञ्चले सुत्छन्। उनीहरूको इमान्दारी, कर्तव्यपरायणता, त्याग र बलिदानले गोर्खा जाति मर्यादित र परिचित भएको हो।
प्रशासनिक क्षेत्रमा पनि उतिकै गुण र दक्षता देखाएर हामीले विश्वसनीयता आर्जन
गर्ने र प्रशासनिक कौशल र सुसंस्कारको परिचय दिने अवसर पाएकै थियौं। प्रशासनिक
क्षेत्रमा आदर्श नमुना देखाएर बाहिरी भूभागकाहरूलाई पनि आकर्षित गरेर हामीसित
मिल्न आउने बनाउन सक्थ्यौँ। अवसर पाएकै थियौँ, गुमायौँ। दागोपाप र जीटीए उल्टै झगडाको गुँड साबित भयो।
सामाजिक र जातीय सम्बन्ध तहसनहस भयो। गोर्खा सिपाहीहरूले हाम्रो जातिलाई दिलाएको
मर्यादापूर्ण परिचय हाम्रो बेहोराले नष्ट पार्यौँ। परचक्रीहरूले अब टेरपुच्छर
लाउनु छोडे। घरभित्र त्यस्तो बेहोरा देखाइसकेपछि औ सरकार त के दुनियाँले थाहा
पाइसकेपछि पनि जनतालाई थाहा नभएको कुन कुरा माग्न दिल्ली कलकत्ता गएका हुन्
कुन्नी!
रसायन विद्या जडित विषयमा रसायनविदहरू हाराहारी बसेर छलफल गर्नु सुहाउँछ।
सत्ताजडित रसायन विषयमा पनि उस्तै विद्ववानहरू बसेर छलफल गर्नसक्छन्। बाम्फोक
चलाउनु जान्यो भन्दैमा दक्ष सर्जनसित शल्यक्रियामा होड गर्नु हुँदैन। अन्तर्राष्ट्रिय
क्षेत्रमा जुन आचार (protocol) व्यवहारमा ल्याइन्छ त्यही आचारनै एउटा भौगोलिक क्षेत्रको
प्रश्न मुछिएको सामुहिक मुद्दा सरकारसामु प्रस्तुत गर्दा पालन गर्नुपर्छ।
बाख्राको पाठा पाल्नु नसक्नेलाई सरकारले के हात्ती पाल्नु दिन्छ? मैले नबुझेको कुरा, अलग राज्य दिएछ भने कुनचैं ग्याङलाई पेवा गर्नु दिन्छ होला? यो परिचयको आन्दोलन हो भने हामीले सबै क्षेत्रमा
बिश्वसनीयता आर्जन गर्नै पर्छ जो कार्यशाला पद्धति र सांगठनिक शिल्पको
अनुपस्थितिमा सम्भव छैन। रासिन दोकानबाट रासिन पाउनुलाई पनि आफ्नो अधिकार साबित
गर्नु थुप्रै कागजपत्र बुझाइ राशिनकार्ड प्राप्त गरेर सोही कार्डद्वारा राशिन दाबी
गर्नसकिन्छ। राशिन मागेर पाइने कुरा होइन हातमा कार्डकै प्रबन्ध नगरी एकैचोटी
घुस्सी बजारेर हुँदैन।
हामी सबैले पढेकै कुरा घाँसीसितको भेटपछि भानुले लेखे – ‘धिक्कार हो मकन बस्नु नराखी कीर्ति। तिनले संसारमा मान्छेको
संख्या कम्ति भएकोले म जन्मेको होइन। म जन्मनुको मूल्य हुनैपर्छ, मैले जीउने जीवनको उद्देश्य हुनैपर्छ भन्ने कुरा बुझे।
उनलाई आफ्ना घरभित्र भएका ‘जो धन
र चीजबिजहरू’ सबै
सारहीन लागे। त्यसरी भानुमा शून्यताबोध जाग्यो। उनमा शिल्प र क्षमता थियो र रामायण तर्जुमा गरे। आफूमा विद्यमान
शिल्प र क्षमताको परिचय दिए। नियाँले उनलाई चिन्यो। यो शून्यताबोधले पण्डितदेखि
मूर्ख र राजादेखि रड्कसम्मलाई पिरोलेको छ। पण्डितमा र राजामा त ज्ञान, शिल्प र क्षमता छ र स्रष्टाका गुण उनीहरूले देखाउन नखोजे
पनि उनीहरूको क्रियाद्वारा असल सृष्टिहरू देखिन्छन् अनि पण्डित र राजा कहलाईन्छन्।
मुश्किल त जबर्जस्ती राजा हुनखोज्ने र पण्डित कहलाईनखोज्ने मूर्खहरूलाई पो छ त!
सानो छँदा सबैले ठूलाबडाबाट ठूलो मान्छे हुनू भनेर आशीष पाएकै छौँ। उमेर बढदै
जाँदा बिभिन्न विधामा सफल हुनेहरूले सामाजिक एवं शैक्षिक मञ्चहरूमा उभेर पुरस्कार, खदामालासंग प्रशंसा र मानसम्मान पाएका देखेकै हौं। कसैको
प्रशंसित कार्यलाई देख्नेहरूमा आफू पनि त्यस्तै बन्ने धुन सवार हुनु सामाजिकता र
सभ्यताको दिशातर्फ बढने कार्यको थालनी हो। परिश्रम, लगन, अवसर र उचित संगतिद्वारा चिताएको लक्ष्य हासिल हुने गर्छ। समय छँदै यस्ता
अवसरदेखि लाभ नउठाउने, परिश्रम नगर्ने र खराब संगतमा परेकाहरू समय बितेपछि शुन्यताबोधले अत्तालिन्छन
र हराएको समयको भरपाई गर्न वा तिनै सम्मानित अनुहार पाउनलाई अभिनय गर्ने र
चोरबाटोको सहारा लिने गर्छन्।
धेरै अघितिर कलकत्ता गएर मेट्रिक परीक्षा दिनु र त्यसमा उत्तीर्ण हुनु कठिन
कार्य थिएछ। परीक्षा उत्तीर्ण हुनेहरूलाई हातले तान्ने रिक्सामा बसाएर नौमति बाजा
बजाउँदै,
अबीरफूल छर्दै जनताको भीड अघिपछि लगाएर बजार परिक्रमा
गराइने चलन थिएछ। एउटा पुरानो पत्रिकामा रिक्सामा बस्ने मान्छेले आफ्नो जुँगामा
ताउ दिइरहेको हाते नक्सा छापिएको देखेको थिएँ।
कुनै पनि कठिन विधामा पारंगतहरूलाई नै खदामाला गर्नु असल संस्कार हो। अहिले
खदामालाको प्रयोग हेरेर उदेक लाग्दैन? के यो सुसंस्कार हो? अँ जनताको पक्षमा सभापतिलाई त सम्मान गर्नैपर्छ। ८६ देखि
यता प्रत्येक विद्वानलाई खदामाला गरेर आएको भए खर्च भइसकेका सयौँ मन खदामालाबाट
कतिजना विद्वानहरू हामीबिच हुनै पर्ने थियो त? यो होलसेलमा खदामाला स्वीकार्नु थुप्रिनु पनि आफुमा भएको
शून्यतावोधले आफै तर्सिएको मात्र हो। कार्यक्रमको धरै समय खादामालालेनै सकिन्छ।
बरु खादा लगाउँदा प्रभावशाली भएजस्तो लाग्नेले घरबाटै लगाएर जाँदा कार्यक्रमको समय
पनि बचत हुनेथियो।
________________________________________________________________क्रमश...
रहल भाग पढ्न यहाँ थिच्नुहोस्
रहल भाग पढ्न यहाँ थिच्नुहोस्
No comments:
Post a Comment