गोजमुमोको कालेबुङमा जनसभा; विनय तामाङले भने – ‘46 वटा आसनमा नै चुनाव जित्नेछु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 9, 2018

गोजमुमोको कालेबुङमा जनसभा; विनय तामाङले भने – ‘46 वटा आसनमा नै चुनाव जित्नेछु’

गफसफ.com, कालेबुङ 9 जुलाई।

जीटीएको चुनाव अहिलेनै नहुने विनय तामाङले स्पष्ट पारेका छन्। तामाङले आज कालेबुङमा जनसभा पछि पत्रकारहरूले सोधेको एक प्रश्नको जवाब दिनेक्रममा यसो भनेका हुन्। यसैक्रममा उनले आगमी 2019 मा सम्पन्न हुने लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई सहयोग नगर्ने पनि स्पष्ट पारेका छन्। आफुले अघिबाटै आगमी लोकसभा चुनावमा भाजलाई सहयोग नगर्ने बताइसकेको भन्दै पुन: उक्त कुरा दोहोर्‍याएका छन्।



46 सिटमा चुनाव जित्नेछौँ

45 वटा आसन भएको जीटीएमा विनय तामाङले 46 वटा आसनमा जित्ने घोषणा गरेका छन्। आफुलाई चुनावसँग कुनै डर नरहेको भन्दै 45 वटा आसन भएको जीटीएमा 46 वटा आसनमा जित्ने तामाङले घोषणा गरेका छन्। ‘मलाई चुनावमा जान डर छैन। चुनाव भए 45 वटा सिट नै जित्नेछु। तर, यसपल्ट चुनावमा 46 वटा सिट जित्नका निम्ति पर्खेर बसेको छु’ तामाङले भने।

कालेबुङको मेला ग्राउण्डमा आयोजित जनसभालाई सम्बोधन गर्दै तामाङले जीटीएको मोठ 45 वटा आसन भए पनि 46 वटा आसन भने कसरी हुनेछ भन्ने मानिसहरूमा जिज्ञासा जाग्नसक्ने भए पनि यसबारे अहिलेनै स्पष्ट नपार्ने बताएका छन्।

जीटीएको रिपोर्ट कार्ड

विनय तामाङले आज कालेबुङको जनसभामा जीटीएले गरेको विकास कार्यको रिपोर्ट कार्ड प्रस्तुत गरेका छन्। 18 दिसम्बर 2017 देखि 3 जुलाई 2018 सम्म जीटीएले गरेको विकास कार्यहरूको सम्पूर्ण रिपोर्ट तामाङले प्रस्तुत गरेका हुन्। यसक्रममा उनले विमल गुरुङले 2 वर्षको अवधी जीटीएले गरेको कार्यहरूको विवरण समेत प्रस्तुत गरे।

‘2 वर्षमा विमल गुरुङले स्टेट प्लान मार्फत् 133 वटा प्लान पास गरेका थिए। हामीले केवल 6 महिनामा 855 वटा स्टेट प्लानबाट कार्यहरू पारित गरेका छौँ। जसको लागत खर्च 411 करोड छ। आरआईडीएफबाट 32 वटा बाटो अनि पीएमजीएसवाईबाट 32 वटा बाटो पारित गरेका छौँ। जसको 274 करोड 78 हजार 2 सय लागत खर्च छ’ तामाङले जीटीएको रिपोर्ट कार्ड प[रस्तुत गर्दै भने। यसक्रममा उनले 160 करोड 86 लाख 30 हजार रूपियाँ लागतको नयाँ प्लान बनाएर सरकारलाई अनुमोदनको निम्ति पठाएको पनि जानकारी गराए। उनले विभिन्न जीटीए क्षेत्रमा नयाँ 31 वटा पूल निर्माण गर्ने अनि सिक्किम सरकारले दार्जीलिङ कालेबुङ जोड्ने 4 वटा पूल निर्माण गर्ने पनि जानकारी गराए।

पर्जा पट्टाको मुद्दा

विनय तामाङले अहिलेघरी चलिरहेको पर्जा पट्टाको मुद्दाबारे पनि जानकारी गराएका छन्। यसक्रममा उनले पर्जा पट्टालाई लिएर चलिरहेको राजनीतिबारे गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, हिमालयन फरेस्ट भिजेलर्सव अर्गनाइजेसन सँगै विमल गुरुङप्रति कटाक्ष गर्न पछि परेनन्। यसका साथै स्व. सुवास घिसिङको कारण बनबासीले पर्जा पट्टा नपाएको पनि आरोप लगाए। उनले निजो गृह निजो भुमी योजना, बनबस्ती अनि कमानबासीले पाउने पट्टा विभन्न भिन्नै प्रकारको रहेको पनि तामाङले स्पष्टिकरण दिएका छन्।


‘बनबासीहरूले अहिलेसम्म पर्जा पट्टा प्राप्त नहुनुमा स्व. सुवास घिसिङको गल्तिको कारण हो। सन् 2005 मा सुवास घिसिङले पञ्चायत चुनाव नगरेको कारण बनबासीहरूले पर्जा पट्टा नपाएका हुन्। यसबारे अब गोरामुमो पार्टीले जनतालाई जवाब दिनुपर्छ’ विनय तामाङले अझ भने –‘बन अधिकार कानुन 2006 भित्र ग्राम सभाको प्रावधान छ। जुन ग्रामसभा सुवास घिसिङले पञ्चायत चुनाव नगरेको कारण बनिन नसकेको हो।’ उनले पछिबाट जीटीए गठनपछि बनबासीलाई पट्टा दिलाउनका निम्ति प्रारम्भिक कार्यको थालनी गरिए पनि तत्कालिन गोजमुमो अध्यक्ष विमल गुरुङले पट्टा दिने सरकारसँग सम्बन्ध विगारेको कारण उनीहरूले आफ्नो जमिनको मालिकाना हक पाउननसकेको दाबी गरेका छन्।

लिला गुरुङले पैसा माग्दैछ

तामाङले पर्जा पट्टाको मुद्दालाई लिएर भाषाण दिने क्रममा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका अध्यक्ष लिला कुमार गुरुङलाई पनि कटाक्ष गर्न पछि परेनन्। यसक्रममा लिलाबहादुर गुरुङले बनबासीहरूलाई पट्टा दिलाउने बहनामा पैसा उठाएर खाने कार्य गरेको आरोप समेत लगाए। गुरुङले आफुलाई नै 15 लाख रूपियाँ समेत मागेको आरोप लगाउँदै बनबस्तीका मानिसहरूबाट समेत 5 हजार गरेर पैसा उठाएर भ्रष्टचार गरेको आरोप लगाएका छन्।

विमल गुरुङले 30 करोड मागेको आरोप

विमल गुरुङले सेभेक रम्फु रेल परियोजनाका निम्ति 30 करोड मागेको आरोप विनय तामाङले लगाएका छन्। ‘विमल गुरुङले सेभोक रम्फु रेल परियोजनाका निम्ति एनओसी दिनभन्दा अघि 30 करोड पैसा मागेको थियो। त्यो पैसा नपाएकै कारण उनले जीटीएबाट एनओसी नदिएका हुन्’ विनय तामाङले भने। आफुले एनओसी दिनभन्दा अघि रेल्वे विभागलाई जनहितका निम्ति 4 वटा मागहरू राखेको अनि उक्त मागहरू रेल्वेले स्वीकृत गरेकै कारण एनओसी दिएको पनि स्पष्टिकरण पनि दिएका छन्।

भाजपा इमान्दार छैन

भारतीय जनता पार्टीले गोर्खाहरूलाई बारम्बार धोक दिएको भन्दै भाजपा कहिल्यै इमान्दार छैन भनि विनय तामाङले दाबी गरेका छन्। ‘11 वटा जनजातिको मुद्दा पारित हुनका निम्ति उनीहरूको टेबलमा छ। टेबलमा पिगेकै मुद्दालाई समेत उनीहरूले पास गर्दैन। यहीँबाट पनि भाजपा इमान्दार छैन भन्ने प्रमाणित हुन्छ’ विनय तामाङले भने। यसक्रममा उनले 2019 मा भाजपाले दार्जीलिङ लोकसभा आसनमा आँखा नगाड्नु भनि सुझाव समेत दिएका छन्।

विमल गुरुङ डर छेरुवा

विनय तामाङले विमल गुरुङलाई डरछेरुवा समेत भनेका छन्। उनले गतवर्षको आन्दोलनमा जनता सडकमा सहिद बनिरहेको समयमा आफु भने पातलेबाँसबाट सिंहमारीमा समेत आउन नसकेको अनि पछिबाट भागेको भन्दै डरछेरुवा हो भनेका छन्। उनले गुरुङलाई अब अडियो र भिडियो पठाउन भन्द आँट भए बाहिर आउने चुनौति समेत दिएका छन्। ‘विमल गुरुङले आफैले आफैलाई गोर्खाको गान्धी नसम्झनु। गान्धीजीले भारत स्वाधिन पार्न जेल परेका थिए, अन्शनमा बसेका थिए, पुलिसको लठ्ठी खाएका थिए। विमल गुरुङले अहिलेसम यस्तो केही गर्न सकेका छैनन्’ तामाङले भने।

शिर दिन तयार छु

विनय तामाङले जनतालाई सम्बोधन गर्ने क्रममा विमल गुरुङले आफैलाई आँटी नेता ठान्छन् गाँधीजीले जस्तै कष्ट भोगेर देखाउने चुनौति दिएका छन्। ‘आँट छ भने दार्जीलिङ फर्क, आन्दोलन गर , गाँधीजीले जस्तै सम्पूर्ण कष्टहरू भोगेर देखाउ त्यसबेला मेरो शीर पनि तिम्रो अघि राखिदिएको हुनेछु’ विनय तामाङले भने।

म गधा हो, म चौकिदार हो

विनय तामाङलाई अन्य नेताहरूले गधा र चौकिदार हो भनि आरोप लगाएको भन्दै उनले आफुलाई ‘गधा र चौकिदार’ हो भनि स्वीकार गरेका छन्। ‘सुवास घिसिङदेखि विमल गुरुङसम्मले छोडेको समस्याको भारी बोग्ने म गधा हो। सरकारबाट करोडौँ पैसा ल्याएर जनताको विकास कार्य गर्ने म गधा हो’ विनय तामाङले आरोप लगाउनेहरूलाई जवाब दिँदै अझ भने –‘मलाई जीटीएको चौकिदा भन्यो। हो म चौकिदार हो। किन भने यहाँ चोरै चोर थियो त्यसैबाट बचाउन अनि जनताको काम गर्नेम चौकिदार हो।’

आफ्नो दुई घण्टा भन्दा अधिक लामो भाषणमा उनले आफ्नो आलोचना गर्ने सम्पूर्ण नेताहरूलाई क्रमवद्ध जवाब दिएका थिए। यसक्रममा गुरुङले अडियो जारी गरेर साझा मञ्च गठनको प्रस्तावबारे पनि उनले कटाक्ष गर्दै विगतमा विमल गुरुङले नै बनिएको साझा मञ्चहरूलाई भत्काउने कार्य गरेको स्मरण दिएलाएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad