पर्याटन क्षेत्रमा पर्याटकहरूलाई शौचालयको अभाव; पर्याटन अध्यक्ष सोनाम याखाले भने ‘योजना बनाउँदैछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 15, 2018

पर्याटन क्षेत्रमा पर्याटकहरूलाई शौचालयको अभाव; पर्याटन अध्यक्ष सोनाम याखाले भने ‘योजना बनाउँदैछौँ’


गफसफ.com, कालेबुङ 16 जुन।

कालेबुङको मुख्य पर्यटन स्थल डेलो क्षेत्रमा विभिन्न स्थानहरूबाट आएका पर्यटकहरूले अहिलेघरी शौचालयको समस्या भोग्न परिरहेका छन्। पहाडमा अहिलेघरी पर्यटन मौसम समापन हुन लागिरहेको छ। बर्खा याममा सुरु हुन अगावै पर्यटकहरू घुम्नका निम्ति पहाडमा आइरहेका छन्। 

कालेबुङको विशेष गरेर डेलो क्षेत्रमा पर्यटकहरू रमणीय प्राकृतिक सुन्दरताको आनन्द लिनका साथै साहसिक पर्यटनकै रूपमा विकसित भइरहेको प्याराग्लाइडिङ खेल्न समेत आउने गर्छन्। हालमा डेलो नजिकबाट पर्यटकहरू प्याराग्लाइडिङ खेल्नका निम्ति हारालुछ बनिरहेको छ। तर त्यहीँ पर्यटन क्षेत्रमा भने पर्यटकहरूले शौचालयको सुविधा पाउन नसकेको गुनासो गरिरहेका छन्। 

समुद्र तटदेखि 1,704 मिटर उँचाईमा अवस्थित डेलोमा प्रत्येक वर्षमा पर्यटकहरू घुम्नका निम्ति आउने गर्छन्। यसका साथै उक्त क्षेत्रमा विभिन्न ठाउँहरूबाट मानिसहरू बनभोज खेल्नका निम्ति पनि आउने गर्दछन्। टाढा-टाढाबाट आएका मानिसहरूले डेलो क्षेत्रमा प्राकृतिक सुन्दरताको आनन्द उठाउने अवसर पाए पनि शौचालयको सुविधा भने भनेजस्तो नपाएको गुनासो बारम्बार आइरहेको छ। त्यस क्षेत्रमा मानिसहरूका निम्ति केवल डेलो टुरिष्ट लजको मुख्य गेट नजिक रहेको एकमात्र शौचालय रहेको छ। जसको अवस्था समेत सोंचनीय बनेको छ। 

शौचालयको समस्यालाई ध्यान राखेर अहिलेघरी स्थानीय सुनिल रूम्तेल अनि भूपेन छेत्रीले सोही शौचालयलाई व्यवस्थित बनाउने प्रयास गरेका छन्। उनीहरूले आफ्नै प्रयासमा पर्यटकहरूका निम्ति उक्त शौचालयमा प्रयोग गर्ने पानी उपलब्ध गराउने कार्य आरम्भ गरेको जानकारी दिएका छन्। ‘शौचालयमा पानीको अभाव रहेको कारण पर्यटकहरूका निम्ति अहिले आफ्नै प्रयासमा पानी किनेर उपलब्ध गराइरहेका छौँ’ स्थानीय भूपेन छेत्री अनि सुनिल रूम्तेलले भने। यसक्रममा उनीहरूले पर्यटकहरूका निम्ति सुविधायुक्त अझ केही शौचालयहरू निर्माण गर्नुपर्ने माग गरेका छन्। 

यसैक्रममा डेलोमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आइरहेका हिमालयन प्याराग्लाइडिङ एसोसिएसनका प्रशान्त राणाले पनि पर्याटकहरूबाट शौचालयको धेरै असुविधा भोग्न परिरहेको गुनासो आएको भन्दै यसबारे सम्बन्धित विभाग समक्ष आफूहरूको जानकारी गराएर समस्या समाधानको निम्ति अपिल गरेको बताएका छन्। ‘हामीलाई पर्यटकहरूले शौचालयको अभाव रहेको गुनासो गरिरहेका छन्। यसबारे सम्बन्धित विभागले पनि ध्यान दिएर समस्याको समाधान गरिदिए अझ धेर पर्यटकहरूले सुविधा पाउने थिए’ प्रशान्त राणाले भने। उनले यसवर्ष पर्यटन मौसमको अन्ततिर पनि पर्यटकहरूको रामो आगमन भइरहेको बताएका छन्। 

यता डेलोमा प्याराग्लाइडिङ गर्न आइपुगेकी कोलकोता निवासी अनुशुया बोसले पनि शौचालयको अभाव झेल्न परेको गुनासो पोख्दै सरकारले यसबारे ध्यान दिनुपर्ने माग गरेकी छन्। यसका साथै महाराष्ट्रबाट प्याराग्लाइडिङ खेल्नका निम्ति कालेबुङ आइपुगेका पर्यटकहरूले पनि शौचालयको समस्याबारे गुनासो पोखेका छन्। उनीहरूले कालेबुङमा प्याराग्लाइडिङको आनन्द लिन पाएकोमा खुसी व्यक्त गर्दै अन्य पर्यटकहरूलाई पनि कालेबुङमा प्याराग्लाइडिङ खेल्न आउने आह्वान गरेका छन्।

अर्कोतर्फ जीटीए पर्यटन विभागका अध्यक्ष सोनाम याखाले यस सम्बन्धमा डेलो क्षेत्रको सुनदरीकरण सँगै पार्किङको समस्या, शौचालयको समस्या समाधान गर्ने पक्षमा कार्य गरिरहेको अनि उक्त समस्या समाधान हुने आशा व्यक्त गरेका छन्। उनले पर्यटकहरूलाई घुम्दा बस्ने ठाउँहरूको सुन्दरीकरण गर्ने जस्ता योजनाहरू जीटीएले तयार पारिरहेको बताउँदै सम्पूर्ण कार्यको अनुमोदन पछि सबैलाई सुविधा हुने बताएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad