साहित्यकार बिर्ख खड्का डुवर्सेली ‘हिन्दीतर भाषी हिन्दी लेखक पुरस्कार वर्ष २०१८’ द्वारा सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 24, 2020

साहित्यकार बिर्ख खड्का डुवर्सेली ‘हिन्दीतर भाषी हिन्दी लेखक पुरस्कार वर्ष २०१८’ द्वारा सम्मानित

गफसफ.com, कालेबुङ, २४ सितम्बर २०२०। 
भारत सरकारको मानव संसाधन विकास मन्त्रालयद्वारा गठित उच्च स्तरीय चयन समितिको निर्णय अनुरूप वर्ष २०१८ का लागि साहित्यकार बिर्ख खड्का डुवर्सेलीलाई हिन्दीतर भाषी हिन्दी लेखक पुरस्कार वर्ष २०१८’ द्वारा सम्मानित गरिने खबर प्राप्त भएको छ। यो सम्मान उनको नेपाली साहित्यबारे हिन्दी भाषामा लेखिएको पुस्तक " नेपाली साहित्य विमर्श"-लाई प्रदान गरिएको हो। केन्द्रीय हिन्दी निदेशालयका निदेशक प्रो. रमेश कुमार पाण्डेयको पत्रअनुसार हिन्दीतर भाषी हिन्दी लेखक पुरस्कारका लागि धनराशि एक लाख रूपियाँसहित चयन गरिएको थाहा लागेको छ। हिन्दी भाषामा नेपाली साहित्यबारे लेखिएको पुस्तकका लागि दिएको यो एउटा राष्ट्रिय सम्मान हो। साहित्यकार डुवर्सेलीलाई गत वर्षको २ अक्टोबर' २०१९ को दिन मरीससमा हिन्दी साहित्यमा उत्कृष्ट सेवा गरे वापत अन्तराष्ट्रिय सम्मान " हिन्दी गौरव सम्मान २०१९ " पनि प्राप्त भइसकेको छ। 

 

साहित्यकार बिर्ख खड्का डुवर्सेलीले साहित्य अकादमी (नई दिल्ली) द्वारा आयोजित राष्ट्रीय साहित्यिक अनुवाद कार्यशाला (१९८९-९०) अनि देहरादून, कोचीन, गान्तोक, चेन्नईमा आयोजित गोष्ठीहरूमा अंशग्रहण गरिसकेका छन्। यसका साथै भारत सरकारको मानव संसाधन विकास मन्त्रालयको केन्द्रीय हिन्दी निदेशालयद्वारा आयोजित हिन्दीतर भाषी हिन्दी नवलेखन शिविरमा शिविरार्थी तथा हिन्दी विशेषज्ञको रूपमा अंशग्रहण गरेका छन्। सिक्किम विश्वविद्यालयको नेपाली विभागद्वारा आयोजित "लेखकसितको भेटघाट' कार्यक्रममा पनि उनले आफ्ना अनुभव साझा गरेका छन्। साहित्य अकादमी, नई दिल्लीद्वारा पुरस्कृत दुई कविता संग्रह हिप्पोक्रिट चाँप गुरास र अन्य कविता (१९९९) र शान्ति सन्देह (२०१५) कृतिको उनले हिन्दीमा अनुवाद गरी साहित्य अकादमीद्वारा प्रकाशित भएको छ । साहित्यायन प्रकाशन, नई दिल्लीद्वारा उनका आलोचना समीक्षा संग्रह "नेपाली साहित्य विमर्श" (२०१७) हिन्दी भाषामा प्रकाशित भएको छ। नेपाली साहित्यका वरिष्ठ आयामवादी नेपाली कवि वैरागी काइँलाका सम्पूर्ण कविताहरूको हिन्दी अनुवाद "तनाव" पत्रिकामा प्रकाशित गरेका छन् । भारत तथा नेपालका लगभग पचास भन्दा अधिक कवि तथा लेखकहरूका कविता एवम् कथाहरूका हिन्दी अनुवाद अनि आफ्ना मौलिक रचनाहरू भाषा, समकालीन भारतीय साहित्य, इन्द्रप्रस्थ भारती, साहित्य भारती, कादम्बिनी, धर्मयुग, साप्ताहिक हिन्दुस्तान, सरिता, वागर्थ, हंस, वैचारिकी, समयांतर, नया ज्ञानोदय जस्ता पत्र-पत्रिकाहरूमा प्रकाशित गरेका छन्। यसबाहेक फुटकर लेखहरू अंग्रेजी दैनिक द स्टेट्समेन्ट, इन्डियन लिटरेचर,  नेपाली दैनिक समाचार पत्र 'सुनचरी', 'दार्जिंलिंग टाइम्स' ' हाम्रो पहाड़' , ' सूनाखरी' आदिमा प्रकाशित गर्दै आएका छन्।
 


हिन्दी अनि नेपाली साहित्यमा समान रूप र गतिसित कलम चलाउँदै आएका साहित्यकार डुवर्सेलीले भारतीय साहित्यको श्रीवृद्धिमा  गर्दै आएको योगदान स्तुत्य छ। तुलनात्मक रूपमा नेपाली साहित्यमा अनुवादको  क्षेत्रलाई उर्वर र उन्नत बनाउँदै लैजानुमा उनको विशेष योगदान रहेको छ । नेपाली जाति, भाषा र संस्कृति विषयक विविध  रचनाहरूलाई हिन्दी भाषामा अनुवाद गरी हिन्दी भाषी समाजलाई नेपाली जातिको सांस्कृतिक आढ्यताको परिचय  दिएर साहित्यकार डुवर्सेलीले अति महत्त्वपूर्ण अतः सदा उल्लेखनीय  कार्य गरेको  बुझिन्छ। यसका साथै हिन्दीका  माध्यमले भारतीय नेपाली संस्कृति र समाजलाई अन्तर्राष्ट्रिय  तहमा  चिनाउने काममा पनि उनको योगदान महत्त्वपूर्ण रहेको देखिन्छ ।  साहित्यकार डुवर्सेलीको कलमबाट अरू धेरै उत्कृष्ट कृतिहरू सिर्जना  भई जाति, भाषा र राष्ट्रको उन्नयनमा अझ उच्च महत्त्वको योगदान पुग्नसकोस्  भन्ने चाहनासहित  सिलगडी नेपाली साहित्य संस्थान उत्तरोत्तर सिर्जनशीलताको कामना  गर्दछ।
यसका साथै सिलगडी नेपाली साहित्य संस्थान यहाँको सुस्वास्थ्य, सुख र दीर्घायुको कामना गर्दै यहाँलाई हिन्दीतर भाषी हिन्दी लेखक पुरस्कार वर्ष २०१८’ द्वारा सम्मानित गरिने खबर प्राप्त भएकोमा अतिशय आनन्द र हर्ष अनुभव गर्दछ।

No comments:

Post a Comment

Post Bottom Ad