छुल्याहाको गन्थन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 31, 2020

छुल्याहाको गन्थन

हाँस्य-व्यङ्ग्य _______________________________________________ छुल्याहा 

नेपाली सपथ,  अङ्ग्रेजी खपत्

नौटङ्की गर्ने,  नेताको कसरत

 

यौटा गाउँमा पैरो गएर पुल के उस पार’ -लाई जोड़्ने झोलुङ्गे नै खोलामा पौड़िन पुग्याथ्यो एसपालि बर्खाको पूर्वसन्ध्यामा। गाउँ पऱ्याथ्यो सुक्खिम र दुक्खिमको सिमाना मतलप बङ्गालको कङ्गाल इलाका। आफ्नै बङ्गालबाट निजी जिटिए छिर्नलाई एकमात्र विकल्पी बाटो पर्दोरछ भाया छिमेकी राज्जे अथवा तत्कालीन कोरोना फिरी भूतपूर्व सार्वभौमिक सत्ता। प्रशासनले नचिनेर घरि सिक्किमे मेनिफेस्टोमा त घरि गोर्खे घोषणापत्रमा देखा पर्ने गरे पनि नेता त के रोटीवालाले पनि ठिकसँग पाइला नटेक्या र बिकासले अनुवारै नदेखाई उठिबास लाग्ने तेस ठामबासीहरूले भोटबाउलाई दुक्ख बिसाएछन्। 


कोरोनाभन्दा 2021 नै ठुलो भन्ने शुभमुहुरतको सुभौसरको सुनौलो मौका किन छाड़्ने भनेर त हैन होला संसदमा आमाको बोलीमा सपथ लिने माइलाबाजेका सत्रौँ पुस्ताका खाइँलानातिले युएनओ -मा डेपुटेसन चढ़ाएजस्तो चिट्ठी लेखे पारिका आफ्नै सहोदर दाजुलाई - अङ्ग्रेजीमा। भानुजन्ती अलि टाढ़ै पऱ्याथ्यो र मात्तै सङ्गठनहरू तात्तिहालेनन् नत्र आमाको बोलीलाई एसरी हेलाहोँचो र औहेलना गऱ्या सुन्या भए पचास र पचहत्तर भोटो फटाएपछि सांसद कोषबाटै रजत र हीरकमा उफ्रिसक्या संस्थाहरू कानमा रुई खाँदेर बस्नेथेनन् नि। हुनत पुरुस्कारको प्रायोजना र जन्तीसमारोहको खर्चपातको ढोका थुनिने भयातङ्कले त हैन होला तर कुनै तेस्तै एताउतिको अवाञ्छनीय साइत पऱ्या कारण होला स्थायी पदाधिकारीयुक्त पन्ध्रबीस सालदेखिका तदर्थ समितिका गल्लाधिकारीहरूले भरिभराउ समिति, सम्मेलन, परिषद्, पुस्तकालय, विश्वविद्यालय, अकादमी आदि-इत्यादिले ठुलाबड़ाले गऱ्या एस्ता सानाछोटा गल्तीमा औँली ठड्याउने धृष्टता गर्दैनन् हतपत्त। दिनरात हरियोबत्ती झिलिलिली बालेर फेसबुकमा च्याटिँदै लाइकिने, अपलोडिँदै रेस्पोन्डिने, अपडेटिँदै फल्ल्याउने, भिजिटिँदै डाउनलोडिने सक्रिय कार्जेकर्ताहरूले पनि एस्तो मसिना कुराहरू देखिपठाउँदैनन्। अन्तर्राष्ट्रिय स्तरको चिन्ता गर्नुपर्ने लकडाउने बाध्धेताका सिकार बन्नुपऱ्या स्थितिमा एतातिर ध्यान दिए फेरि कोरोना विशेषज्ञको पद अर्काले ओगट्ला भन्ने सुर्ताले होला। फेरि भएन साँझपरेपछि नि लैलै भन्याजस्तो रिमरिम अँधेरो हुनथालेपछि नि लैलै डिजिटल भारतको नेट नै डेड हुने लालबजार, चोकबजार र हाटबजारका पर्खाल-भित्तातिर हुन्छ कि लाबरबोटेको रुखमा झुन्डिएर हुन्छ टावर खोज्दै भाषासाहित्ते बचाउने लाइभ वेबिनारमा हुने डिस्कोर्स र राजनीतिक पैनेल डिस्कसनको चलखेलमा बोलेन भने समाजले अनपढ़ विश्लेषक सम्झिने हाउ अर्को जातीय चिन्ता भाछ ऐले।

धन्ने, मानौ धिक्कार हो कि मानव-अधिकारलाई गिद्धेनजर सरी मध्धेनजर राख्दै पारिबाट पनि छिमेकी मित्रुहरूका लागि आउजाउ गर्न ढोका उघ्र्या पत्राचार पनि आयो। तर उताबाट पनि उस्तै जैसा को तैसा मिला बड़ा मजा आयाभन्दै बदला लिएजस्तो नि पत्राचार त उई सात समुद्रपारिकै भाषामा पो हजुर मात्रीभाषा हैन रातृभाषा अङ्ग्रेजीमा नि। एकातिर नेपालीलाई संविधानमा हुल्ने राज्जे अर्कोतिर सपथ खाएर संसद भवन डुल्ने नेताहरूको बाताबात चै इङलिसमा। एस्तो बेला आफ्नु एरियाले निशुल्क पुलको विकल्प पाउँदा वारिको टेरिटोरीको एडमिन चै कसोरी चुप बस्नु? जुवारी खेल्याजस्तो छिमेकी राज्जेलाई तुरुन्तै धन्नेबात दिँदै दुखिया गाउँलेहरूलाई बाटो खोल्देका खुसियालीमा पत्राचार गरिहाले नि। परार भर्नाकुलरमा बङ्गाली थोप्दा किर्तिमाने हड़िताल गर्ने खेत्रीय प्रोसासनका नेतागोणहरूले कति मिट्ठो धन्नेबात् चिट्ठी लेख्याथे, अङ्ग्रेजी आउँछ भने डिसनेरी हेर्दै पढ़्नुहोस् न।

 

अब एसपालिको गन्थन एत्तीमै सिद्धियो भनेर ढुक्क नहुनु होस् न। क्लाइमेक्स क्या छ नि। एता वारिको राज्जेमा चुनाउ आयोग निद्रासनमा भए पनि पाड़का तीनासनमा चै ऐले नै टिकिट वितरण भैसकेर, उम्मिद्वार छुट्याएर, एक्जिट पोल थालेर, सुत्या च्यानलहरू बौरी उठेर, दिनैपिच्छे पत्रकार जन्मेर, विज्ञप्तिहरू जस्ताको तस्तै अपलोड्याएर खै के भन्ने? कुनै समै यो प्रकाश कोविदको ठाउँमा प्रवासको कोभिड भन्ने रोग पनि थियो भन्ने इतिहास भैसक्या बेला। के अरे! कोरोना जिउँदै छ अरे पाड़मा? सिद्धियो हैन? अन्त महामारीकालमा अग्रयोद्धा भएकाहरूले अभिनन्दन त थापिसक्या हैन र? पुरस्कार चै के हाफटेनमा बाँड़िने बदाम हो र? अब फेरि त्यै अभेर्थना-पत्र लिएर ड्युटी चै कसरी जानु उसो भए? हाम्रो एताको ल्यान्डबाट सिको गरेरै कोरोनाका लागि नोबेल पुरस्कार पनि उता स्कटलैन्डले एसपालि दसैँअगाड़ि नै दिने पो सोच्दैछ अरे त। लौ था छैन? अब था छैन र अभिनन्दन पाउनुभएन भने त तपाईँकै ब्याडलक खराप नि। अङ्ग्रेजको दोष न कङ्ग्रेसको, बरू पाकिस्तानको हात हुनसक्ला। समैमै आवेदन दिँदै दाबी गर्नुभएन होला म पनि अग्रयोद्धा भनेर? अब चुनाउ छ नि तेसको पनि अग्रिम योद्धाको पगरी दिने अरे एसपालि। अग्रिम भन्या चै चुनावै नआई माहौल तताउने नि। कोसिस गर्नुहोस् न। कोई बेला त लाटाको खुट्टा पनि बाटामा पो परिहाल्छ त। अल द बेस्ट अफ लकको शुभकामनाभरि हार्दिक कङ्र्याचुलेसी छ है ल?

 

एस्तै हावाहावाको कुरा सोच्दै छुल्याले कैलेकाइँ कल्पना गरिपठाउँछ क्या ... यी हाम्रा तिस्तावारि र पारिका नेपालीमा सपुना देख्ने नेताहरू राजमार्गतिर कतै भेटिहाले अनि इङलिसमा कन्नी-कन्नी हाउ आर यु’, ‘आई एम फाइन’, थ्यैङ्क्युभनी सक्दा-नसक्दा 29 माइलको पैरामा पुग्या बेला गोर्खेभाषामा पिलित्तै चिप्लेर सुलित्तै गुल्टिपठाए भने चैँ आउच म्याम्माभन्छन् कि अब्बुई आमाउगेल्छन् सो पनि क्विजमा सोद्धा हुने प्रश्न छ। यी अभूतपूर्वहरू कुनै मरौघरको गेट टुगेदरमा हाँस्नुपर्दा वा बिहेघरको बिपदमा बाझ्नुपर्दा पाड़े गालीलाई कसरी अङ्ग्रेजीमा उल्था गर्छन् होला नि? हेर्दा राम्रो देखिने अनुवादक वा दुइभासे राखेन भने त सारो छ है अन्तरकुन्तरबाट निस्क्या भाउन्नलाई इङलिसमा बेक्त गर्नु त। तेस्ता अनुवादके वा सघौरेहरू चाइयो भने खोज्नै पर्दैन नि अचेल थुप्रै पाइन्छन् अर्काको लेखाइ, भोगाइ, जोताइ सप्पै साफी गर्दै कापी पेस्ट गर्नेहरू। साभारै नगरी डल्लै महाकाव्यै पचाउने रविहरू सरी छविहरू सरीसरी छुल्याहाको कम्पुटरमा छैन रैछ है सरी। सारै परिहाल्या खण्डमा दिनभरि ओछ्यानमै ढल्कीढल्की दुइ गजको दुरी पालनलाई पनि मात दिएर दुइसय कोसको डिस्टांस मेन्टेन गर्दै शून्यभूमि हो कि ग्राउन्ड जिरोको सर्कारी विज्ञप्ति उल्थ्याउनेहरूबाट पनि मद्दत लिनसकिन्छ।

 

एत्ती हुँदाहुँदै पनि तर यौटा राम्रो खुसखबर चै छ है। हजुर राम्रो खुसखबर। कोरोना नेगेटिभ भेटिएन भनेर जम्मै कुरा नकारात्मक मात्तै गर्नु त भएन नि हैन? अँ, पोजिटिभ कुरो चै के छ भने नेपाली भाषान्दोलनका प्रणेताहरूको भिड़भाड़ रहेको फौजीगाउँ उत्तरेखन्ड कतातिर अस्ति भानुजन्तीका दिन यी नेताहरूका अनेपाली कर्तुतबारे चर्चा हुँदा कठोर जातिबादी गोर्खाहरूले यिनीहरूलाई होसियार गराउँदै आमाको बोलीलाई भबिस्सेमा एसरी दुत्कार्नु पाउँदैनभनेर हुँकारपूर्ण चेताउनी दिँदै राष्ट्रभाषा हिन्दीमा प्रस्ताव पारित गऱ्या छन् अरे।।

 

दाजुभाइमा पत्राचार चै सप्पै अङ्ग्रेजी

नेपालीमा कस्सम खाँदा पायौ सलामी

भानुजन्ती, भाषादिनमा गर्ने नौटङ्की?

आमाबोली रुँदै खोज्छिन् आफ्नै मलामी।।

No comments:

Post a Comment

Post Bottom Ad