साहित्य / निबन्ध ___________________________ दिपेन घिसिङ, दार्जीलिङ ।
“उमेर हुँदै चबाई राख” भन्ने भनाई हाम्रो समाजमा नपाइने यस्तो कुनै ठाउँ नहोला। मैले यस्तो सानै उमेरदेखि सुन्दै आएको हुँ। तपाईँले पनि सुन्दैसुन्दै आएर अर्को उमेर बिताउनु हुँदो हो। हो, अलिकति कडा चिज मन परेका खण्डमा, अलिकित टोक्नु नसकेका खण्डमा यस्तै कुरा दाँतको कापबाट छिरेर दुईटा कानमा ठोक्किन्छ। कानमा यसरी ठोकिएपछि अलिकति तल झारिए झैँ लाग्छ। अलिकति निम्न सम्झिए झैँ लाग्छ। लाग्छ, यसरी तल झरेको जस्तो लाग्नु आफ्नो शक्तिमाथि प्रहार न हो। हुतिहारा ठानिएको न हो। वैँशले पनि अनि यो मुखभित्रबाट देखिने बाङ्गोटिङ्गो दाँतले पनि।
हुन
पनि हो,
यसको काम भनेकै टोक्नु, चबाउनु, पक्रिनु र च्यात्नु । मान्छेबाहेक अरू प्राणीले दाँतकै सहाराले आफ्नो
शक्तिप्रदर्शन गर्छ। त्यसैले यसको प्रयोग मान्छेले उमेरमा गर्नु परेको हुनैसक्छ।
शक्तिको हाँक बचाउनु परेको हुनैसक्छ। यी कुराले हाम्रा बराजुहरू दार्शनिक किन
नठहरिने भो त !
शरीरका
सबैभन्दा बलियो अस्थि हो यो दाँत। बलियो हुनुमात्र यसको धर्म होइन। माथिका
चारकुराको उत्तरदायित्व निभाउनु पनि यसको धर्म र कर्म दुवै हुन्। वैज्ञानिक
तरिकाबाट देखिने यसको आकार-प्रकारपट्टि नजाऔँ। बाह्य चाक्षुबाट देखिने दाँतको
सन्दर्भतर्फ नै जाऊँ,
कतै मोहनी पो लाग्ला कि !
“नहाँसिदिनु नि त्यसरी” यसरी भनिन्छ कि जसरी “नहेर्नु नी त्यसरी” भनेर प्रियसीलाई प्रियतमाले
भनेकी हुन्छे। साधरण सुनिने र लाग्ने यो भनाई उति साधरण पनि छैन र हुँदैन पनि।
त्यसको वास्तविक परिवेशमा उत्रिनु सक्नु होला। त्यतिबेला
त्यो हेराइले होस् कि हँसाइले होस् तपाईँलाई अर्कै संसारको अर्कै प्रकृतिको
अनुभूति गराई दिन्छ। त्यो हँसाइमा परिवेश थर्किने खित्का हुँदैन। बहिरहेका
तरङ्गहरू भत्काउने कर्कश आवाज हुँदैन। समाधीमा पुग्नै आँटेका कुनै ऋषिहरूले अनुभूत
गरेका आनन्दजस्तो हुन्छ त्यो हाँसो। आह्लादित। योभन्दा बढ्ता के भन्ने...
आफ्नै
तालमा हल्लिरहेको पातजस्तो खुशी भई रहेकी तरूणीलाई “बत्तीस
दारा नदेखा”
भनेर कराउँछन्। भरपर्दो उत्तर नपर्खी “बेसी दाँत नदेखाई बस्” भनेर बाँच्ने आधार पनि
दिँदैनन्। “केटीमान्छे धेरै इत्रिनु हुँदैन” यस्तरी घाँटीमै लगाम भएर आउँछ कि फोक्सोबाट उक्लिएको सास पनि एकक्षण
अलमल्ल पर्दो हो। त्यसैले यो दाँत भन्ने वस्तु केटीहरूका लागि वरदान हो कि श्राप ?
उरेण्ठेउला केटाहरू भने खित्का छाडोस् कि घर-जङ्गल उचालोस् हाँस्दा
उस्तो उत्ताउलो ठानिँदैन ! समाजको वित्यास
हल्ला कि दाँतमा त्यसो त ? तर जे मान्नुहोस्, मान्छेको सुन्दरता धेरै थोक दाँतमा निर्भर हुन्छ। नसोचिदिनु होला मजस्तो
बाङ्गोटिङ्गो दाँत हुनेको फेरि केको सुन्दरता भनेर ! सुन्दरता खोज्नु त सम्झिनु पर्छ, सुन्दर आभूषणमा सज्जिएकी कुनै तरूणीको अनुहार। बाटामा हिँड्दा हिँड्दै
अप्रत्यासित आँखा जुझेर भुँइमा नझर्दाको समयबिच देखिएको उसको हल्का मुस्कान। उसका
दुई औँठ एकार्काबाट विस्तारै छुट्टिँदै गइरहेका बेला देखिएका ती सेतासेता लहरदाना।
चटक्क मिलेर सज्जिएका दन्तमोहिनी। मानौँ, त्यो कुनै
प्रतिभाशाली चित्रकारले क्यान्भसमा कुँदाएको रोमाञ्चक चित्र हो। आह ! कति स्वर्णिम
दृश्य। त्यही मुस्कानको मुहान फुटाउनलाई कस्तरी सघाएका हुन्छन् उसका मिरिरि परेका
दाँतहरूले। यतिबेला लाग्छ, दाँतभन्दा बढ्ता सौन्दर्यको अर्को
कुनै गहना छैन तरूणीहरूमा....!
सौन्दर्यको
मात्र कुरा होइन,
यो दाँत भन्ने वस्तु मान्छेको बचाँईसँग पनि त्यसरी नै जोडिएर आएको
हुन्छ। हुने खाने मान्छेको दाँत र हुँदा खाँने मान्छेको दाँतको कथा तपाईँ बुझ्नै
हुन्छ। आकारान्तरले, त्यसको रङ्गले पनि यो कुरो छपनीमा जाँड
तारेको जस्तो तरिन्छ। पिजा, बर्गर आदि चबाउने दाँत हेर्नोस् अनि हेर्नोस् सुक्खा रोटी
र ढुङ्गासरीको चामल चबाउने दाँत। तिनीहरूका जीवनका पाटाहरू त्यही मिरिर मिलेका
मोतीदानाजस्ता र भत्किएका ढुङ्गाका बाङ्गाटिङ्गा देवलजस्तै देख्नु हुन्छ।
अँ, दाँतको
कुरा गर्दा सम्झिरहेछु अघिल्ला दाँत झरेका बाजे-बैज्यैहरू। उमेर पाकेर सेताम्मे
भएका उनका केशराशी, चाउरिएर चाउचाउजस्तो भएका अनुहारका
धर्साहरू, दुःखहरू पिएर पिएर सुक्दै गरेका औँठ अनि त्यही
औँठका बिचमा ओढार पस्ने बाटोजस्तो दाँतको फाँका, जसको
वैँशसँग दाँतहरू पनि टुक्रिरहेछन्। झरिरहेछन् फक्रक फुलेर ओइलिएका फूलका पत्करहरू
झैँ। ओहो !
यतिमात्र
होइन, कुनै काम फत्ते गराउनु पनि त यो बलियो दाँत हल्का बनाएर ङिच्चाउनु
परिहाल्छ। पैसा तिरेर गर्न नसकिने काम यही दाँत ङिच्याएर त गर्नु परो। त्यसैले यो
दाँतले हाकिम र नोकरको जस्तो भूमिका निभाई बस्छ। एककिसिले यसले पद, मान, प्रतिष्ठाको वकालत गरिबस्छ। नपत्याए, ठुलामान्छे दाँत ङिच्चाएर भुँइमा लडिराको कतै देख्नु भा छ ? कसैलाई ज्यु ज्यु गरिराको देख्नु भा छ ? जहिल्यै
समाजका तल्लो दर्जाका ठानिएका लाम्रे झुम्रेहरू त हो यसरी दाँत ङिच्चाउने पनि अनि
दाँत किड्डाउने पनि। तिनीहरूकै जीवनको कठोर परिस्थितिसँग ठिक्क मिल्दो हो यो
दाँतको किड्किडाहाट। जीवनमा पाएको अल्प खुशी नै तिनीहरूका दाँतले चबाएका केही मिठा
परिकारजस्तो अनि जीवनभरि पाएका दुःखका पोका एकैथरीका ढेँढो, भात,
दाल र तरकारी चबाएका अनुभवजस्तो...।
सांसारिक कति कुराहरू उमेरको अनुभवले बटुल्दै गएजस्तै हुँदोरहेछ यो दाँतको किस्सा पनि। जति बुझ्दै गयो त्यति बुझिँदै जाने। जति तन्कायो त्यति रबरजस्तै तन्किँदै तन्किँदै जाने। तर त..न...न तन्काउँदा पनि त्यसको टुप्पो र पुच्छरबिचमा देखिएको मूल कुरा भने त्यसको बलियोपन नै रहेछ। मान्छेको बलियोपन भनेको पनि वैँशको बेला नै हो। त्यतिको बल अरू कुन बेला देखिएला त ? त्यसैले यो दाँत र वैँश एउटाएउटै हो। दाँत हुँदा चबाउनु र वैँश हुँदा बलियो हुनु उस्तोउस्तै हो। त्यसैले ‘उमेर हुँदै चबाई राख’ भनेका हुनन्। तर यस्तोबेला कसैले तपाईँलाई ‘दाँत भए पो चबाउँछस्’ भनेर दाँत देखाई देखाई भन्यो भने पो के ठान्नु हुन्छ तपाईँ ?
आह! मीठो शैली, सुकोमल भाषामा दाँतको सम्पूर्ण वृत्तचित्र कोरियो। यति सुन्दर निबन्धको निम्ति बधाई।
ReplyDelete