विनय तामाङलाई सिक्किम प्रदेश भाजपाको जवाफ; डीबी चौहानले भने –‘ दार्जीलिङको राजनीतिमा हस्तक्षेप गर्ने कुनै अभिप्राय छैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 30, 2020

विनय तामाङलाई सिक्किम प्रदेश भाजपाको जवाफ; डीबी चौहानले भने –‘ दार्जीलिङको राजनीतिमा हस्तक्षेप गर्ने कुनै अभिप्राय छैन’


गफसफ.com, ३० जनवरी २०२०, गान्तोक ।  
‘गत वर्ष लोकसभा चुनाउ अनि विधानसभा उप-चुनाउमा भारतीय जनता पार्टी र एनडीए गठबन्धनसँग नराम्रो घतले पराजित भएपछि आफ्नो राजनैतिक अस्तित्व बचाउन भौंतारिरहेका गोर्खा जनमुक्ति मोर्चा-2 का नेता विनय तामाङले 28 जनवरीको दिन एउटा जनसभालाई सम्बोधन गर्दै भाजपा सिक्किमका दुई विधायकविरूद्ध जुन किसिमको धम्कीपूर्ण, अप्रजातान्त्रिक अनि भड्काउपूर्ण बयान दिएका छन् त्यसको भारतीय जनता पार्टी सिक्किम एकाई कड़ा शब्दमा भर्त्सना अनि निन्दा गर्दछ’ उक्त कुरा भाजपा सिक्किम राज्य अध्यक्ष डीबी चौहानले एक प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।

उनले दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किम प्रदेश भाजपाले कुनै विधायक तथा नेताहरूलाई दार्जीलिङ पठाएको छैन भन्ने स्पष्टिकरण दिँदै तर, कुनै निजी काम लिएर उनीहरू दार्जीलिङ गएको हुनसक्छ, यसबारे पार्टी अनभिज्ञ छ भनेका छन्। ‘जहाँसम्म दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको कुरा छ त्यसको निम्ति स्थानीय नेताहरू नै सक्षम छन् अनि उनीहरूले पटक-पटक चुनाउहरूमा आफूलाई साबित पनि गरिसकेका छन्। विनय तामाङले जुन किसिमको अप्रजातान्त्रिक अनि धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन् त्यसको भाजपा सिक्किम घोर भर्त्सना जनाउँदछ अनि विधायकहरूको सुरक्षामा कुनै प्रकारको आँच आएको खण्डमा त्यसको जिम्मेवार विनय तामाङ हुनेछन्’ डीबी चौहानले भनेका छन्।
भारत एउटा प्रजातान्त्रिक राष्ट्र हो  भन्दै यहाँ सबै नागरिकलाई देशको कुनै पनि स्थानमा आउने-जाने स्वतन्त्रता छ त्यसको निम्ति कुनै स्थानीय नेताको अनुमति लिनुपर्ने आवश्यकता नरहेको कुरा पनि तामाङलाई चौहानले स्मरण दिलाएका छन्। ‘सिक्किम-दार्जीलिङबीच सदियौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ यसकारण कुनै व्यक्तिको सिक्किम-दार्जीलिङ आउने-जाने क्रम एउटा सामान्य विषय हो। यसकारण, विनय तामाङले यसरी भड्काउपूर्ण बयान दिएर सिक्किम-दार्जीलिङबीचको मैत्रीपूर्ण सम्बन्धलाई खल्बल्याउने दुष्प्रयास नगरून्। जहाँसम्म राजनीतिको विषय छ, दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किमबाट विधायकहरू पठाइरहनुपर्ने कुनै आवश्यकता छैन, त्यहाँको समस्या अनि मुद्दाहरूलाई सम्बोधन गर्न त्यहाँका सांसद तथा स्थानीय नेताहरू नै सक्षम रहेको भाजपा, सिक्किम ठान्दछ। हामी सिक्किममा राजनीति गर्छौं अनि दार्जीलिङको राजनीतिमा हस्तक्षेप गर्ने कुनै अभिप्राय छैन। यसर्थ, विनय तामाङले भाजपा सिक्किममाथि लगाएका तमाम आरोपहरूको पार्टी कड़ा शब्दमा खण्डन गर्दछ’ भाजपा सिक्किम राज्य अध्यक्ष डीबी चौहानले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad