भारतीय सेनाको जवान भन्दै ठगी गर्नेहरूको रग्-रगी: कालेबुङकी युवती बनिए ठगीको शिकार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, November 27, 2019

भारतीय सेनाको जवान भन्दै ठगी गर्नेहरूको रग्-रगी: कालेबुङकी युवती बनिए ठगीको शिकार

गफसफ.com, कालेबुङ, 26 नोभेम्बर ।
आफुलाई भारतीय सेनाको जवान बताउँदै पहिला साथी अनि पछि प्रेम अनि आखिरमा विवाहको प्रस्ताव दिई एक युवकले ठगी गरेको खुलासा भएको छ। उक्त घट्ना कालेबुङ जिल्लाको कागे ग्राम पञ्चायत क्षेत्रमा भएको हो। आफुलाई भारतीय सेनाका जवान बताउने राहुल थापा नाम गरेको युवकले फिलोमिना लेप्चालाई ठगेको पीडिताले बताएकी छन्। यसबारे उनले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेर ठग युवकलाई झट्ट पक्राऊ गरेर कानुनी कार्वही गर्नुपर्ने माग गरेकी छन्।
ठगीको आरोपी राहुल थापा
पीडित युवती फिलोमिना लेप्चाले बताए अनुसार ठगी गर्ने युवक राहुल थापासँग आफ्नो परिचय बिहारमा कार्यरत हुँदा भएको जानकारी दिइन्। आफुलाई कालेबुङ शहरको रेली रोड निवासी बताउने राहुल थापाले आफु भारतीय सेनाको 8 गोर्खा रेजिमेन्टमा रहेको बताएका थिए। त्यसपछि उनीहरू साथी-साथी बनिए। आफुलाई क्याथोलिक ख्रीष्टीय समुदायका बताउने राहुल थापाले पछिबाट उनै पीडित फिलोमिना लेप्चालाई विवाहको प्रस्ताव राखेकी थिइन्।
‘म आफै रोमन क्याथोलिकमा विश्वास गर्ने हुँ अनि त्यस ठगी गर्ने राहुल थापाले पनि आफुलाई रोमन क्याथोलिकका विश्वासी बताएका थिए। उनले विहेको प्रस्ताव राखेपछि मैले मेरो घर परिवारसँग कुराकानी गरे। मेरा घर परिवारले पनि केटा हेर्ने भने पछि घरमा भेटघाट र कुराकानी सबै भयो। त्यसपछि हाम्रो इन्गेजमेन्ट हुने तय भयो’ पीडित लेप्चाले भनिन्।
ठगीको आरोपी राहुल थापा
त्यसपछि त्यस युवकले एकदिन आफ्नो एटीएम कार्ड भाँच्चिएको कारण ठूलो समस्यामा परेको भन्दै 18 हजार रूपियाँ मागे अनि आफुले पनि कालेबुङमा भेटेर विश्वासको साथमा उक्त पैसा दिएको बताइन्। विवाहको कुराकानी सबै भएको कारण विश्वासमा रहेको त्यस ठगी युवक राहुल थापाले फेरि केहि समयपछि आफु समस्यामा परेको भन्दै पुन: पैसा मागेर लगेको अनि आफ्नो सुनको कानमा लगाउने गहना समेत लगेको पीडित युवतीले जानकारी दिइन्।
त्यसबेलासम्म पनि उनीहरूको विवाह हुने निश्चित भएकै कारण एकार्कमा विश्वास रहेको थियो। त्यसै विश्वासको फाइदा उठाउँदै यता ठगी युवक राहुल थापाले भने आफुलाई ठग्ने कार्य गरिरहेको थिएछ भन्ने कुरा उनले पछि मात्र थाह पाइन्। ‘मैले उनलाई आफ्नो परिवारको सदस्य ठानिसकेको थिएँ। यसैकारण विश्वास गरेको थिएँ’ पीडित लेप्चाले भनिन्।
समय बितेर दुवैको इन्गेजमेन्ट हुने समय नजिक आइरहेको समयमा एकदिन त्यस राहुल थापा नाम गरेको युवकले अचानक आफुलाई डेङ्गु रोग लागेर सिलगडी अस्पतालमा भर्ना भएको कुरा आफुलाई जनाएको अनि त्यसको ठिक भोलिपल्ट आफुलाई कोलकोताको आर्मी अस्पतालमा रेफर गरिएको कुरा उनलाई बताएको पनि उनले भनिन्। उनी डेङ्गु लागेर अस्पतालमा भर्ना भएको खबर पाएपछि आफु हेर्नका निम्ति आउँछु भन्दा उनले आफुसँग भाइ रहेको अनि चिन्ता गर्नुपर्दैन भन्दै आफुलाई आउन नदिएको पनि उनले जानकारी गराएकी छन्। त्यसबेला पनि उनले उपचारको निम्ति 6 हजार रूपियाँ हेमकुमार छेत्री नाम गरेको युवकको बैंक खातामा हालिमागेको अनि त्यसबेला पनि आफुले 6 हजार बैंकमा जमा गरिएको उनले बताइन्। यसक्रममा उनले उक्त ठगी युवकले आफ्नोबाट लगभग 60 हजार रूपियाँ सँगै सुनको एउटा गहना समेत ठगी गरेको जानकारी दिएकी छन्। 
ठगीका आरोपी युवक राहुल थापाले आफु समस्यामा परेको भनेर अघिबाटै आफुबाट आफ्नो एटीएम कार्ड लगेको अनि त्यस एटीएम भएको बैंक खातामा पैसा भने कम्ती रहेको अनि त्यस एटीएमबाट पनि आरोपी युवकले कोलकोतामा उपचारधिन भएको समय पैसा निकालेको बताएका थिए। तर, जब पीडित युवती कालेबुङ बैंकमा आएर आफ्नो पासबुक अप्डेट गर्दा भने उक्त पैसा एकचोटी रम्फु अनि एकचोटी सिलगडीबाट निकालिएको थाह पाइन्। त्यसै समयदेखि नै आफुलाई भारतीय सेनाका जवान बताउने ठगी युवक राहुल थापाले आफ्नो मोबाइल फोन सँगै फेसबुक एकाउन्ट समेत बन्द राखेका उनले बताइन्।
उक्त ठगीको घट्नामा बिरामी हुँदा आफ्नो साथी हेमकुमार छेत्री आफुसँगै रहेको बताउँदै उनकै बैंक खातामा पैसा हालिदिनु भनि एकाउन्ट नम्बर दिएको बताउँदै त्यस हेमकुमार छेत्री नाम गरेको युवक पनि ठगीहरूको समुहकै मान्छे रहेको हुनसक्ने पीडित लेप्चाले बताएकी छन्। यसबारे उनले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेर झट्ट कार्वाहीको माग गरेकी छन् भने यस्ता ठगहरूबाट अरू ठगिन नपरोस् भने सम्पूर्ण तथ्य मिडियामा राखेको पनि उनले बताएकी छन्। उनले आफु ठगिएपछि कालेबुङको रेलीरोड क्षेत्रमा त्यस युवकको सोधखोज गर्दै कहीँ पत्तो नलागेको पनि बताएकी छन्।
‘पैसा ठुलो कुरा होइन तर, यी ठगहरूले अन्य नारीहरूलाई पनि पक्कै ठग्न सक्छन्। यसकारण यी ठगहरूलाई पक्राऊ गर्न अनि अरू ठगीको शिकार हुनबाट बाँच्न पर्छ भन्ने मेरो चाहना हो। यसबारे पुलिस प्रशानले उचित कार्वाही गरिदिने अपिल गर्दछु अनि सम्पूर्ण मानिसहरूलाई पनि यस्ता ठगहरूको पत्तो लागे पुलिसलाई सूचित गरेर पक्राऊ गर्नमा साहयोग गरिदिनुहुन अनुरोध गर्दछु’ पीडित लेप्चाले भनिन्।

1 comment:

Post Bottom Ad