ढल्यो गोरुबथानको धरहरा : वी मिस यु किरात सर ! - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 15, 2019

ढल्यो गोरुबथानको धरहरा : वी मिस यु किरात सर !

_________________________________ सुवास सोताङ, कालेबुङ
बिहान उठेर मोबाइल हेर्नसाथ किरात सर नरहेको खबर देखेर विचलित भएँ। अस्तिको भानुजयन्तीको दिन त हो, गोरुबथानमा आदिकवि भानुलाई स्थापित गरेपछि अर्को गोरुबथानका जिउँदा भानुलाई भेट्न जानुपर्छ भनेर बेलुकीपख किरात सरकोमा पुगेको । मसित थिए भाइ रुस्तम, लेनिन र साथी देवराज सुन्दास । सरको घरमा पुग्यौँ तर सर बिमारी हुनुहुन्छ भनेर परिवारपक्षले हामीलाई सरसँग भेट्ने अनुमति दिनुभएन । दिउँसोदेखि अचानक सरलाई असुविधा भएको खबर सुनाउनुभयो । आज भेट्न सक्नुहुन्न, पछि आउनुहोस् भन्नुभयो । हामीलाई त केही छैन तर यहाँ दाजुचै कालेबुङबाट आउनुभाकोभन्दै रुस्तम भाइले मेरो पक्षमा सम्झाउने कोशिश गरे । मैले पनि सरले मलाई सम्झिरहनुभएको कुरा जीवन दाजु र अरूहरूबाट सुनेको बताउँदै आज सुअवसर पारेर भेट्न आएको बताएँ । दर्शन मात्र गर्ने, बात नगर्नेपनि भनेँ ।
शताब्दी पुरुष हायमानदास राई किरातसँग भलाकुसरी गर्दै – फाइल फोटो
होइन सोताङ भाइको त कुरा गरिरहनुहुन्छ नि, तर आज सर निकै बिमारी हुनुहुन्छ । अहिले तपाईँहरूले भेट्नुभो भने उहाँ नबोली बस्नुपनि सक्नुहुन्न अनि बोल्नपनि सक्नुहुन्न । एक दुई दिनपछि आउनुहोस्, तर आज भेट्न सक्नुहुन्न।उहाँहरूले कुरा दोहोऱ्याएपछि हाम्रो केही सिप लागेन । सिकुवामा नै बसेर निकैबेर एकार्कालाई हेर्दै टोल्हाएपछि अन्तमा उहाँहरूलाई भनिराखेँ – “ठिकै छ हामी फर्कन्छौँ, सरलाई अलिक सन्चो हुँदा म उहाँलाई भेट्न आएको थिएँ भन्ने कुरा उहाँलाई सुनाइदिनुहोला । त्यति चै उहाँको कानसम्म पुगोस् ।
सर बिमारी हुनुहुन्छ भनेर केही वर्षअघि उहाँलाई भेट्न जाँदा उहाँलाई मैले ओछ्यानमै भेट्न पाएको थिएँ, गफिएको थिएँ । त्यही कुरालाई झल्झली सम्झँदै फर्किएँ ।
सर, म भेट्न आएको कुरा थाहा पाउनुभो कि भएन कुन्नि ! तर घरमै पुगेर पनि तपाईँलाई भेट्न नपाएको घटनाले तपाईँलाई गुमाउनुको पीडालाई अझ दोब्बर गरिदिइरहेको छ । 

जीवन रहिन्जल हामी अनुजहरूलाई माया दिनुभो, प्रेरणा र आशीर्वाद दिनुभो । तपाईँकै छहारीमा हामीले बामे सर्न सिक्यौँ । गोरुबथाने हौँ भन्ने घमण्ड गर्न पायौँ । आज तपाईँ नरहनुको खबरले एउटा शीतल छहारी गुमाएजस्तो, मूल अभिभावकलाई गुमाएजस्तो भइरहेछ । सरको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु अनि शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।
वी मिस यु किरात सर !

No comments:

Post a Comment

Post Bottom Ad