उत्साहका साथ मुम्बईमा भेला भए जातिप्रेमीहरू; बसिबियाँलो-को नवौँ प्रकरण सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, January 21, 2019

उत्साहका साथ मुम्बईमा भेला भए जातिप्रेमीहरू; बसिबियाँलो-को नवौँ प्रकरण सम्पन्न

गफसफ.com, मुम्बई, 21 जनवरी।
मुम्बई महानगरीको केन्दमा रहेको दादरस्थित दामोदर नाट्यशालाको स्कुल हलमा प्रत्येक महिनाको तेस्रो आइतबार सम्पन्न हुने मासिक वैचारिक कार्यक्रम बसिबियाँलो-को नवौँ प्रकरण खुबै उत्साह अनि मनोरञ्जनका साथ हिजो 20 जनवरीका दिन सम्पन्न भयो। युवा कास्टिङ डाइरेक्टर खरसाङनिवासी सागर शर्माको घरपटीत्वमा सम्पन्न यस दिनको कार्यक्रममा कालेबुङबाट आएका रन विथ रोशनीका धावकहरू विशेष रुपले उपस्थित थिए भने अन्य अतिथिहरूमा सिक्किम, खरसाङ अनि सिलगड़ीका नेपाली भाषा अनि गोर्खा जातिप्रेमी महिलाहरू रहेका थिए।

सामाजिक हितलाई ठानी प्रतिबद्धता, सिर्जनामा सदैव साथ रहौँ भन्दै शपथ ग्रहण गरी सुरू गरिएको नवौँ प्रकरणको आचार संहिता हीरा छेत्रीले पाठ गरेका थिए भने स्वागत वक्तव्यको क्रममा सागर शर्माले माघे सङ्क्रान्तिको सम्झनास्वरुप यस नवौँ बसिबियाँलो-मा नौ प्रकारका परिकारहरू तयार गरेर नेपालीपन बल्झाउने कोसिस गरिएको बताए। कार्यक्रमको सुरूआतमा सबै सहयात्रीहरूले आ-आफ्नो परिचय प्रदान गरेपछि बाल कलाकार याचना छेत्रीले सुमधुर गीत प्रस्तुत गरेकी थिइन्। यसरी नै सिक्किम स्टेट ब्याङ्ककी प्रबन्धक मिना लामा छेत्रीले धर्म र कर्ममा रहेको विडम्बनामाथि सारगर्भित वक्तव्य प्रस्तुत गरेकी थिइन् भने खरसाङबाट आएकी वरिष्ठ नर्स तथा सामाजिक कार्यकर्ता तारा छेत्रीले बालकवि सुदर्शन अम्बटेको एउटा चाखलाग्दो कविता पाठ गरेकी थिइन्। यसरी नै कालेबुङबाट आठजना धावकहरूलाई मुम्बईमा ल्याएर यहाँको म्याराथनमा दौडनमा नेतृत्व गर्ने रन विथ रोशनी अभियानकी संस्थापक कालेबुङ निवासी रोशनी राईले भारतमा गोर्खा जातिले भोग्नुपरिरहेको परिचयको सङ्कटलाई सम्बोधन गर्दै यस दिशामा आफ्नो फाउन्डेसनले म्याराथनको माध्यमद्वारा निर्वाह गरिरहेको भूमिकामाथि प्रकाश पारेकी थिइन्। आफ्नो वक्तव्यको क्रममा रोशनी राईले हिजो 20 जनवरीका दिन मुम्बई म्याराथनमा अंशग्रहण गरेका रन विथ रोशनीका धावकहरूमा रिम्बिक, दार्जीलिङ निवासी हेमन्त लिम्बूले 10 किमीको दौड़मा 15-24 वर्ष वर्गमा 35 मिनट 18 सेकेन्डको समय लिएर पहिलो स्थान ओगट्न सफल जानकारी गराउँदा सम्पूर्ण सहयात्रीहरूले युवा धावकलाई करतलध्वनिले बधाई टक्र्याएर स्वागत जनाए। यसरी नै अन्य धावकहरूमा जोसेफ छेत्री अनि छिरिङ ल्हमु भोटियाले 21 किमी वर्गमा चौथो स्थान ओगटेको अनि विकास भुजेल, बबिता आचार्य, सबिना राई, अप्सना तामाङ, रक्षन्दा थापा आदिले पनि खुबै प्रशंसनीय प्रस्तुति दिएको जानकारी रोशनी राईले दिइन्। गत नोभेम्बर महिनामा पनि म्याराथन दौड़न मुम्बई आइपुग्दा आफ्नो टोलीका युवा धावकहरूले यहाँको बसिबियाँलो-को सातौँ प्रकरणमा उपस्थिति दर्ता गर्ने मौका पाएकोबापत् हर्ष प्रकट गर्दै रोशनी राईले सामाजिक दायित्व बोकेको यस मासिक कार्यक्रममा भाग लिन पाएर आफ्नो टोलीका सदस्यहरूले जातिप्रेम, भाषाप्रेम अनि भारतमा गोर्खाहरूले भोग्नुपरिरहेको राष्ट्रिय परिचयको सङ्कटबारे धेरै अवगत हुन पाइरहेको जानकारी दिइन्। निकट भविष्यमा पनि मुम्बई म्याराथनमा भाग लिन आएको समय यसरी नै बसिबियाँलो-मा अंशग्रहण गर्ने कामना पनि उनले व्यक्त गरिन्।
कार्यक्रममा मेडिकल पेशाका युवा परिक विश्वकर्मले पनि आफ्नो विचार पोख्दै मुम्बईमा दीर्घ दिनदेखि रहेर आइरहेका नेपालीभाषीहरूले आफ्नो मातृभाषा पनि भुल्न लागिरहेको अवस्थामा बसिबियाँलो-को नियमित आयोजना अनि यहाँ आफ्नो मनको भावना आफ्नै भाषामा प्रकट गर्न पाइने मौका मिल्ने हुनाले कतिपय सहयात्रीहरूले नेपालीमा बोल्न र लेख्न थालेकोमा बधाई दिए अनि यसलाई बसिबियाँलो-को महत्त्वपूर्ण उपलब्धि भनेर दाबी गरे।
हेयर डिजाइनर सबिना छेत्रीले आफ्नो विचार पोख्दै यस पेशाका इच्छुक नेपाली युवाहरूलाई आफुले तालिम प्रदान गर्ने गरेको बताइन् भने सिनेमाटोग्राफर युवराज न्यौपानेले फिल्म अनि टेलिभिजनको क्षेत्रमा कार्य गर्ने इच्छा रहेका नेपाली युवाहरूलाई आफु सहयोग पुऱ्याउन तयार रहेको बताए।
कार्यक्रममा स्वस्तिका छेत्रीले मुम्बईमा विशेष गरी उपचारका लागि आउने नेपाली-गोर्खा रोगीहरूका लागि बसिबियाँलो-का महिला सहयात्रीहरूको एउटा कल्याण समिति गठन हुनुपर्ने आवश्यकता रहेको बताइन् जसलाई सबैले स्वागत जनाए। यसबारे आगामी केही दिनभित्रै बसिबियाँलो-का महिला सहयात्रीहरूको एउटा जरुरी सभा डाकेर भावी कार्यक्रमको रुपरेखा तयार गरिइने निर्णय पनि लिइयो भने गत साता सुनखरी महिला समाजले आयोजना गरेको गोर्खा मेलामा बसिबियाँलो-को तर्फबाट पनि गोर्खा सरसामानको पसल राख्ने मौका पाएबापत् आयोजना मण्डलीलाई धन्यबाद प्रकट गर्दै उक्त मेलाको सफलतापूर्वक आयोजना भएकोमा सबैलाई बधाई पनि टक्र्याइयो।
कार्यक्रममा उपस्थित विशेष अतिथिहरूमा मलाढकी शिक्षिका सबिना लेप्चा प्रधान, सिलगढ़ीकी सुबानी छेत्री, अन्धेरीकी सामाजिक कार्यकर्ता लक्ष्मी थापा र लीला पुन, कलेबुङकी सुजाता छेत्री, रम्फुकी दिया लामा, घाटकोपरका सामाजिक कार्यकर्ता विकास दूतराज अनि निलिमा दूतराज, नेभी अधिकारी ठाकुर प्रसाद अधिकारी, नमन छेत्री आदि उपस्थित थिए।
आगामी महिना आयोजना गरिइने दसौँ बसिबियाँलो-को प्रस्तावित भव्य कार्यक्रमलाई हालको लागि कतिपय कारणवश स्थगित गर्दै फरवरी महिनाको प्रकरणको घरपटीत्वको दायित्व ग्रहण गर्दै युवा सिने एडिटर राजेश प्रधानले सबैलाई तेस्रो आइतबार तदअनुसार 17 फरवरीका दिन उपस्थित भइदिने निम्तो गरेपछि रमाइलो बसिबियाँलो-को नवौँ प्रकरण समापन भएको घोषणा गरियो।

No comments:

Post a Comment

Post Bottom Ad