मुम्बईमा आठौँ बसिबियाँलो सम्पन्न; दसौँ प्रकरण भव्यतासाथ पालन गर्ने तयारी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 17, 2018

मुम्बईमा आठौँ बसिबियाँलो सम्पन्न; दसौँ प्रकरण भव्यतासाथ पालन गर्ने तयारी

गफसफ.com, मुम्बई, 17 दिसम्बर।
भारतको व्यस्ततम महानगर मुम्बईमा बसिबियाँलो-को आठौँ प्रकरण सम्पन्न भएको छ। गत मई महिनादेखि प्रारम्भ भएको मासिक भेटघाटको कार्यक्रम बसिबियाँलोसँग गाँसिइने जाति अनि समाजप्रेमी नेपालीभाषीहरूको सङ्ख्या हरेक प्रकरणसँगसँगै वृद्धि भएर गइरहेको छ। मूलतः नेपालीभाषी महिलाहरूको अधिक उपस्थिति रहेको उक्त दिनको प्रकरणको घरपटीत्वको भार पनि यहाँकी एक सामाजिक कार्यकर्ता तथा सौन्दर्य-सिँगार व्यवसायी सबिना राजीव मण्डलले ग्रहण गरेकी थिइन्।

भारतीय जलसेनाधिकारी तथा युवाकवि केशव सापकोटाले आचार संहिता पाठ गरेर सञ्चालन गरेको कार्यक्रममा याचना छेत्री, ठाकुर अधिकारी, बिपेन, सिद्धार्थ गौतम, सुजाता राई, दिपशाना चामलिङ राई, निलिमा दूतराज आदिले  नेपाली गीत प्रस्तुत गरेका थिए।
यस दिनको भेटघाटमा विशेष गरी बसिबियाँलो-बारे कतिपय विषयहरूमा चर्चा चल्यो जसमा आगामी वर्षको फरवरी महिनामा मुम्बई बसिबियाँलो-को दसौँ प्रकरण भव्यताका साथ आयोजना गरिने निर्णय लिइयो अनि यसका लागि उत्तरदायित्व पनि आवण्टन गरियो। कार्यक्रममा आफ्नो विचार पोख्दै सामाजिक कार्यकर्ता शकुन सिँह राईले दसौँ प्रकरणमा मुम्बईबाहिरबाट पनि अतिथिहरूलाई निम्त्याउनुपर्ने विषयमा मन्तव्य पोखिन् भने रियल्टी व्यवसायी आई.डी. सिँहले यस कार्यक्रममा मुम्बईका सम्पूर्ण नेपालीभाषी सामाजिक संस्थाहरूलाई निम्त्याउनुपर्ने आवश्यकता बताए।
बसिबियाँलो-को सामाजिक दायित्वबोधको दर्शनबाट प्रभावित सिँहले यो विचारको यात्रारुपी मासिक कार्यक्रममा आफु आजीवन संलग्न रहने आफ्नो वचनबद्धता दोहोऱ्याए। यसरी नै कास्टिङ डाइरेक्टर सागर शर्माले दसौँ बसिबियाँलो-को आयोजना मुम्बईमा सबैजना भेला हुनसक्ने अनि सबैलाई सहज हुने स्थान अन्धेरी पूर्वमा गरिनुपर्ने विचार पोखे भने सङ्गीतकार कमल सिँहले यस उपलक्ष्यमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूलाई पनि संलग्न गराइनुपर्ने बताए।
फरवरी महिनाको तेस्रो आइतबारका दिन आयोजना गरिइने यस कार्यक्रममा मुम्बईका सेलेब्रिटी नेपाली कलाकारहरूलाई पनि निमन्त्रणा दिइने उक्त दिनको कार्यक्रममा तय गरियो। यस दिनको बसिबियाँलो-मा सधैँजस्तो साहित्यिक, सामाजिक विषयवस्तुहरूमाथि चर्चा-परिचर्चा चल्नका साथै विभिन्न रचना अनि गीतहरू सुनाउने क्रममा उपस्थित सबैले उत्साहपूर्वक अंशग्रहण गरे।  
सामाजिक दायित्वको आफ्नो दर्शनलाई अङ्गिकार गर्दै बसिबियाँलो-को यस दिनको भेलाले दार्जीलिङकी लेबुङनिवासी चिकित्साधीन बिमारी वरुणा छेत्रीको अपरेसन यहाँको न्युरोजेन अस्पतालमा हुनलागेको कारण सबै सहयात्रीहरूबाट आर्थिक सहयोग राशी सङ्ग्रह गरेर केही दिनभित्र नै भेट गर्नजाने पनि तय गऱ्यो भने आगामी जनवरी महिनाको माघे सङ्क्रान्तिको उपलक्ष्यमा यहाँको सुनखरी महिला समाजद्वारा मिरा रोडमा आयोजना हुन गइरहेको गोर्खा मेलामा मुम्बई बसिबियाँलो-ले पनि अंशग्रहण गर्ने निर्णय लिएको छ।
यस आठौँ बसिबियाँलो-मा लक्ष्मी थापाले मराठी भाषामा स्वरचित कविता पाठ गरिन् भने दार्जीलिङका तत्कालीन सङ्गीतकार तथा प्रख्यात हास्यव्यङ्ग्यकार स्व. हीरा कुमार सिँहकी सुपुत्री निता दानीले दीर्घ दिनदेखि मुम्बईमा चलिरहेको मासिक भेटघाटको कार्यक्रमले यहाँका नेपालीभाषीहरूलाई एकसूत्रमा बाँध्ने काम गरिरहेको बताइन् अनि यसको निरन्तरताको कामना व्यक्त गरिन्। युवाकवि केशव सापकोटाले प्रत्येक बसिबियाँलो-मा एउटा विचारशील विषयमाथि तर्क तथा विचार-विमर्श गरिइनुपर्ने परम्परा कायम गरिनुपर्ने विचार पोख्दा सबैले त्यस प्रस्तावप्रति स्वागत जनाए। स्वास्थ्य विषयमा जागरुक रहनुपर्ने आवश्यकता बताउँदै यस कार्यक्रममा युवा सामाजिक कार्यकर्ता परिक विश्वकर्मले मिर्गौलाको रोगबाट बच्नका लागि कतिपय टिप्सहरू दिए। बसिबियाँलोका मूल नाइके हीरा छेत्रीले आफ्नो विचार पोख्दै मुम्बईजस्तो महानगरीको व्यस्ततामा तोकिएको समयमा कार्यक्रम सुरू गर्न धेरै असजिलो हुने व्यावहारिक कारणहरू रहँदारहँदै पनि सम्पूर्ण सहयात्रीहरूलाई एक महिनाअघिदेखि नै तय भइसकेको कार्यक्रममा यथासमय उपस्थिति दिने अनुरोध गरे अनि आगामी दसौँ बसिबियाँलो-मा यस वैचारिक यात्राको मूल थलो कालेबुङबाट पनि प्रतिनिधिहरू आइपुग्ने सूचना दिए।
यस दिनको कार्यक्रममा मुम्बईका विभिन्न स्थानहरू एन्टप हिल, मलाढ, कोलाबा, चेम्बुर, मिरा रोड, साकिनाका, कुर्ला, अन्धेरी, गोरेगाउँ, घाटकोपर, बर्सोवालगायत कालेबुङ अनि नेपालका नेपालीभाषाप्रेमीहरूको उपस्थिति रहेको थियो। आगामी नवौँ बसिबियाँलो 20 जनवरी तेस्रो आइतबारका दिन यसै स्थानमा आयोजना गर्ने घरपटित्वको भार युवा कलाकार तथा कास्टिङ डाइरेक्टर सागर शर्माले ग्रहण गर्दै सबैलाई सो कार्यक्रममा उपस्थिति प्रदान गर्नु निमन्त्रणा गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad