हामीले हाम्रो संवैधानिक अधिकार मागेका हौँ, देश मागेका होइनौँ – विमल गुरुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 14, 2018

हामीले हाम्रो संवैधानिक अधिकार मागेका हौँ, देश मागेका होइनौँ – विमल गुरुङ

गफसफ.com, कालेबुङ 14 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङले अडियो सन्देश जारी गरेर अहिलेपनि आफु जनताको सेवामा लागिरपेको दाबी गरेका छन्। ‘सबै जनताको उन्मुक्तिका निम्ति मैले कहिल्यै व्यक्तिगत स्वार्थको निम्ति राजनीति गरिन’ विमल गुरुङले अडियो सन्देशमा भनेका छन्।
विमल गुरुङ - फाइल फोटो 
उनले जारी अडियो सन्देशमा सम्पूर्ण राजनैतिक पार्टी, संघ संस्थाहरूलाई सम्झना गर्दै पहाड, तराई डुवर्समा गणतन्त्रको हनन् भयो भनि दाबी गरेका छन्। ‘सम्पूर्ण राजनैतिक दलका नेतृत्ववर्ग, समाजसेवक सबैलाई अपिल गर्दै भन्छु कि कतिदिन हामी यसरी बाँच्नु?’ उनले भनेका छन्। यसक्रममा उनले आफु भागेको होइन समेत भनेका छन्। ‘म बाँचेर मेरो जातिलाई बँचाउनुपर्छ भने मैले कार्य गरिरहेको छु’ विमल गुरुङले भनेका छन्।
‘विमल गुरुङ भाग्यो भन्ने तपाईँहरूले नसोँच्नुहोस्। राम पनि चौधवर्ष वनवास बसेका हुन्’ गुरुङले भने। यसक्रममा उनले बङ्गाल सरकारले कालो नीति प्रयोग गरेको भन्दै उक्त अगणतान्त्रिक कार्यको विरोधमा सम्पूर्ण जनता अघि आउनुपर्ने आह्वान गरेका छन्।
उनले जारी अडियो सन्देशमा पूर्व सभासद निमा तामङको घर कुड्की गरेको कार्यको विरोध गर्दै उनले आफ्नो जातिको निम्ति कार्य गरिरहेको बताएका छन्। ‘निमा तामाङ चोर होइनन्, उनी जातिको निम्ति लडीरहेका छन्’ गुरुङले अझ भनेका छन् –‘यी घट्नाहरू हुँदा पनि हाम्रा समाजका मानिसहरू चुपचाप बसिरहने हुन् त?’ यसक्रममा उनले आफुसँगै रोशन गिरी, निमा तामाङ लगायत अन्य नेताहरू जाति उन्मुक्तिको कार्यमा लागीपरेको दाबी गरेका छन्।
गुरुङले विगतका दिनमा पुलिसले आफ्नो घरबाट समानहरू जफत गरेर लाँदा चुप लागेर बसेको भन्दै आज अन्यको घरहरूमा पनि यसरी समानहरू निकालेर कार्यको सम्पूर्ण राजनैतिक दलका नेताहरूले विरोध गर्नुपर्ने भन्दै समाजका सम्पूर्ण मानिसहरू बोल्नुपर्ने गुरुङले अपिल गरेका छन्।
‘आज दुईजना व्यक्तिले स्वार्थको राजनीति गर्दैछ। आफ्नो झोलि भर्नका निम्ति राजनीति गर्दैछ’ उनले अझ भनेका छन् –‘अब पापको हाँडी भरिन लागेको छ।’ यसक्रममा उनले पश्चिम बङ्गाल सरकारले जहिल्यै पनि आफुहरूले गणतान्त्रिक कार्य गर्दा पनि अगणतान्त्रिक कार्य गरेको भन्दै विभिन्न आरोप लगाएर मार्ने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्। ‘बङ्गाल सरकारको कालो कानुनले दिक्क भएका मानिसहरू अब बोल्नुपर्छ’ विमल गुरुङले भनेका छन् ‘आज हामीलाई जसरी खेदी खेदी राजनीति गर्दैछ भोलिको दिनमा ममता ब्यानर्जीको पनि राजनैतिक जीवन अजम्बरी हुँदैन। त्यसले उनले के गर्नेछन्?’ उनले भनेका छन्।
गुरुङले जारी अडियो सन्देशमा आफुहरूले  भारतीय संविधान अनुसार आफ्नो अधिकार माग्ने कार्य गरिरहेको भन्दै संवैधानिक अधिकार माग्नेहरूलाई यसरी खेद्ने कार्य गर्नु अगणतान्त्रिक कार्य हो भनेका छन्। यसक्रममा उनले विगतका माकपा सरकारले 34 वर्षको शासन कालमा गरेको अत्याचार भन्दा ममता सरकारको 10 वर्षे कार्यकालमा धेर अत्याचार भएको आरोप लगाएका छन्।
‘हामीले हाम्रो संवैधानिक अधिकार मागेका हौँ, देश मागेका होइनौँ। हामी अलगपन्थी हुन्छौँ भनेका होइनौँ’ विमल गुरुङले अझ भनेका छन् ‘यो संवेदनशिल ठाउँमा भोलिको दिनमा अन्य देशले कुनै कार्य गर्न नसकोस् भनेर हामीले भारत देशभित्र आफ्नो भाषा, साहित्य संस्कृतिको जगेर आफ्नै राज्यमा गर्छौँ भनेका हौँ।’ उनले गोर्खाहरूले देशको निम्ति दिएको बलिदानको मूल्याङ्कन गर्दै समस्याको समाधान गर्नुपर्ने माग गरेका छन्।
उनले जारी सन्देशमा बङ्गाल सरकारसँग पनि वार्ताको आह्वान गरेका छन्। ‘हामी चाहन्छौँ बङ्गाल सरकार झट्टै वार्ताको टेबलमा आएर बात गर्नुपर्छ’ उनले वार्ताको आह्वान गर्दै भनेका छन्। यसक्रममा उनले आफुहरूले कुनै प्रकारको देशद्रोही कार्य गरेका छैनौँ भनि दाबी पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad