कालेबुङमा 72 औँ स्वतन्त्रता दिवस पालन; विनय तामाङले गरे ‘स्व अडीबहादुर गुरुङ स्मृती मार्गको घोषणा’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 15, 2018

कालेबुङमा 72 औँ स्वतन्त्रता दिवस पालन; विनय तामाङले गरे ‘स्व अडीबहादुर गुरुङ स्मृती मार्गको घोषणा’


गफसफ.com, कालेबुङ 15 अगस्त।
कालेबुङको मेला ग्राउण्डमा 72 औँ स्वतन्त्रता दिवस भव्यतासँग पालन गरिएको छ। यस अवसरमा कालेबुङ शहर संगलग्न क्षेत्रका मोठ 21 वटा विद्यालयका विद्यार्थीवर्गले मार्च पास परेड प्रस्तुत गरेका थिए भने एनसीसी क्याडेड अनि स्काउड एण्ड गाइडका विद्यार्थीवर्गले पनि मार्च पास प्रस्तुत गरेका थिए।
विनय तामाङ, अध्यक्ष जीटीए बोर्ड सलामी ग्रहण गर्दै 

व्यापक मानिसहरूको उपस्थितिमा सम्पन्न स्वतन्त्रता दिवसको अवसरमा मुख्य अतिथिका रूपमा जीटीए बोर्ड अध्यक्ष विनय तामाङ उपस्थित रहेका थिए। यस अवसरमा विशिष्ट अतिथिका जिल्लापाल डा. विश्वनाथ, जिल्ला पुलिस उपधिक्षक अतुल विश्वनाथन, जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बा, कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधन लगायत अन्य मानिसहरूको उपस्थितिउ रहेको थियो।
मुख्य अतिथिका रूपमा उपस्थित विनय तामाङको बाहुलीबाट भारतको झण्डा उत्तोलन गरेपछि राष्ट्रिय गीत प्रस्तुत गरिएपछि विद्यार्थीवर्गमाझ मार्च पास प्रतियोगिता सम्पन्न भएको थियो। यसक्रममा स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै भारतीय संविधानमा हस्ताक्षर गर्ने स्व अडिबहादुर गुरुङको नाउँमा 10 माइलदेखि त्रिपाई जाने सडकलाई ‘अडीबहादुर गुरुङ मार्ग’ बनाउने घोषणा गरेका छन्। उनले उक्त सडकको नाउँ स्व अडिबहादुर मार्ग बनाउन जीटीएको पक्षबाट राज्य सरकार समक्ष चाँढै औपचारिक पहल गर्ने पनि बताएका छन्।
स्वतन्त्रता दिवस समारोहमा जीटीए वोर्ड अध्यक्ष विनय तामाङद्वारा प्रस्तुत गरिएको भाषणलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ -
स्वतन्त्रता दिवस समारोहको निमन्त्रणालाई स्वीकार गरेर आफ्नो विविध व्यस्तताहरू पन्साएर आजको महत अनि गौरवशाली समारोहमा सहभागी भइदिनुभएकोमा अनि हाम्रो राष्ट्रको गौरव यो तिरङ्गा झण्डाको छहारीमुनि उभिने अवसर प्रदान गरिदिनुभएकोमा हजुरहरू समग्र गुरूजन, विद्यार्थीवर्ग एवं कालेबुङवासीप्रति सर्वप्रथम म आभार व्यक्त गर्न चाहन्छु। नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजबाट हजारौं गोर्खाहरूले स्वतन्त्रता संग्राममा योगदान प्रदान गरेका छन्। 

धेरै गोर्खाहरूले आफ्नो प्राणको आहुति दिएका छन्। मेजर दुर्गामल्लले हाँसी- हाँसी फाँसीको फन्दा स्वीकार गरे। हाम्रा चेलीहरू सावित्री र इन्द्राणीले त्यतिबेलाको समयमा नै मानव बम भएर अङ्ग्रेजहरूको ट्याङ्कमुनि पसेर आफूसितै अङ्ग्रेजहरूको ट्याङ्कलाई पनि क्षत-विक्षत बनाइ आजाद हिन्द फौजका नायक सुवास चन्द्र बोसको सुरक्षा गरेको अमर अनि गौरवशाली इतिहास हामीसित रहेको छ। थाना डाँड़ामा राखिएको माननीय दलबहादुर गिरी जसलाई हामी पहाड़को गान्धी भनेर चिन्छौं उहाँले पनि राष्ट्रपिता महात्मा गान्धीको समीप रहेर स्वाधीनताको आन्दोलनमा उल्लेखनीय योगदान पुराएका थिए।
आज 62 औं स्वतन्त्रता दिवसको यो गौरवमय अवसरमा हामीले हाम्रा ती स्वतन्त्रता सेनानीहरूलाई सश्रद्धा स्मरण गर्नुपर्छ जसले आफ्नो प्राणको आहुति दिएर देशलाई स्वतन्त्रता दिलाए। मातृभूमिलाई स्वतन्त्र बनाउन गोर्खाहरूको योगदानलाई पनि कदापि भुल्न सकिन्न। अर्का अविस्मरणीय स्वतन्त्रता सेनानी हुन्-जगंवीर सापकोटा। यही कालेबुङको मेनरोडमा राष्ट्रपिताको असहयोग आन्दोलनको समर्थन गर्दै उहाँले चर्कामा धागो कातेर दार्जीलिङ पहाड़मा स्वदेशी आन्दोलनको शंखनाद गर्नुभएको थियो। यसरी स्वतन्त्रता संग्राममा आफ्नो प्राणको आहुति दिएर स्वाधानी भारत घड़ेरीमा बलिदानको इँटा थप्ने धेरै गोर्खाहरूको नाम कालेबुङको त्रिकोण पार्कमा पनि अङ्कित रहेको छ। यी वीर वलिदानी गोर्खाहरूलाई पनि आजको यो दिन तपाई- हामीले स्मरण गर्नुपर्छ। उनीहरूको राष्ट्र-प्रेम अनि बलिदानलाई सम्मान गर्नुपर्छ।  

यसबाहेक वीरहरूको बलिदानले स्वतन्त्र भारत बनिएपछि गोर्खाहरूलाई राजनैतिक अधिकार दिलाउने डम्बरसिहँ गुरूङ अनि भारतीय संविधानमा हस्ताक्षऱ गरेर स्वतन्त्र भारतमा गोर्खाहरूको उपस्थिति बोध गराउने अरिबहादुर गुरूङलाई पनि आजको दिन सश्रद्धा स्मरण गर्न चाहन्छु।
आज हामी नयाँ सोच र नयाँ विचारधाराहरू लिएर गोर्खाहरूलाई स्वतन्त्र भारतको मूलधारामा समाहित गराउने दिशामा लागिपरेका छौं। गत 32 वर्षको अन्तरालको राजनैतिक परम्परा अनि क्रियाकलापहरूले हामीलाई स्वतन्त्र भारतको विकसित एवं सक्षम नागरिक बनाउनुको साँटो झनै सैयौं वर्ष पछिल्तिर धकेलेर लगेको तीक्त अनुभ हामीले गरिरहेका छौं। स्वतन्त्र भारतको 72औं वर्षगाँठसम्म पनि गोर्खाहरू आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनैतिक तथा हरक्षेत्रमा झनै पछिल्तिर धकेलिदै जानु हाम्रो निम्ति ठूलो दुर्घटना नै मान्नुपर्छ।
तर अब उक्त दुःखद भूतकाललाई भुलेर सौम्य अनि शान्त वर्तमान निर्माण गरेर भावी-पीढ़िको निम्ति सुरक्षित अनि सक्षम भविष्य तयार पार्ने क्रममा हामी अग्रसर भइसकेका छौं। दार्जीलिङ पहाड़को निम्ति अलग्गै विश्वविद्यालय स्थापना हुन गइरहेछ। यसपछि हाम्रै आँगनमा सक्षम र शिक्षित जमातको सृजना गर्नेछ जसले भविष्यमा राष्ट्रलाई गोर्खाहरूको बलियो प्रतिनिधित्त्व गर्नेछ। 
यसबाहेक सेभोकदेखि रम्फूसम्म रेल परियोजना शुरू भइरहेको छ जसले दार्जीलिङ पहाड़लाई देशको विभिन्न प्रान्तहरूसित सोझै जोड़्नेछ भने पहाड़को आर्थिक, सामाजिक अनि पार्यटनिक क्षेत्रमा  पनि यसले ठूलो टेवा पुराउनेछ।यसरी नै गत केही महीनाअघि दार्जीलिङको इतिहासमा पहिलोचोटि सम्पन्न भएको हिल बिजिनेस सम्मिट-2018 ले पनि दार्जीलिङको विकास अनि विस्तारमा महत्वपूर्ण भूमिका वहन गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ। उक्त सम्मिटपछि दार्जीलिङ पहाड़मा विभिन्न उद्योगपति एवं प्रसिद्ध कम्पनीहरूले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विभिन्नक्षेत्रहरूमा निवेश गर्न शुरू गरिसकेको छन्। अबको केही वर्षभित्रमै उक्त सम्मिटको मीठो फल पहाड़वासीले उपभोग गर्न पाउनेछन्।

दार्जीलिङ पहाड़का युवाहरूलाई रोजगार, स्वनिर्भरता, सक्षम, शिक्षित बनाउने दिशामा पनि हामी अग्रसर बनिसकेका छौं। भिजन 2020 मार्फत आगामी दुईवर्षभित्रमा पहाड़वासीलाई विकसित, समृद्ध एवं सक्षम दार्जीलिङ पहाड़ प्रदान गर्न कटिवद्ध भएर हामी कार्य गरिरहेको पनि आजको यो अवसरमा जनाउन चाहन्छु।

स्वतन्त्र भारत निर्माण गर्न गोर्खाहरूको त्याग र बलिदानको छुट्टै इतिहास छ जसको मूल्याङ्कन अवश्यै हुनेछ। भारत वृहतम् गणतान्त्रिक देशहरूमध्ये एक हो र राष्ट्रको गणतान्त्रिक पद्धति अनि सम्विधानलाई अनुसरण गर्नु प्रत्येक भारतीयको प्रमुख कर्तव्य अनि जिम्मेवारी पनि हो। गोर्खाहरू देशको निम्ति मरिमेट्ने जाति भएको नाताले देशको गणतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै आफ्नो परिचय स्थापित गर्नुपर्नेछ। देशले के दियो हैन तर देशलाई हामीले के दियौं भन्ने मन्त्रलाई अनुशऱण गर्दै हरेक पल्ट देशको सुरक्षाको निम्ति आफ्नो छातीलाई पर्खाल बनाउने देशभक्त गोर्खाहरूले आजको दिनमा देशको गणतान्त्रिक प्रणाली वा सम्विधानलाई चुनौती दिएर अगणतान्त्रिक अथवा असम्वैधानिक क्रियाकलाप गर्नु उचित होइन।

गोर्खाहरू देश बिगार्ने होइन तर देश बचाउने जाति हो भन्ने स्वतन्त्रता सेनानीहरूले छोड़िराखेको ऐतिहासिक गरिमाको पनि हामीले सुरक्षा गर्नुपर्छ। गणतान्त्रिक यो देशमा तपाई हाम्रो अस्तित्व अनि चिह्नारीको समस्या अनि हाम्रो दीर्घकालीन सपनाको समाधानको मार्ग पनि  गणतान्त्रिक अनि सम्वैधानिक नै हुनु आवश्यक छ।

अन्तमा गत महीनानादेखि अथक परिश्रम अनि तयारी गरेर यहाँ आजको कार्यक्रमलाई सफल पारिदिने सम्पूर्ण आज विद्यार्थी नानीहरुलाई पनि म आभार प्रकट गर्न चाहन्छु। यस्तै कठोर परिश्रम अनि तयारीले नै तपाईहरू भोलि देशको बलियो कर्णधार बन्नुहुनेछ। तपाईहरूको सुन्दर भविष्यको पनि म कामना राख्दछु। यसै अवसरमबाट आगमी 17 अनि 18 अगस्तका दिन सम्पूर्ण विद्यालयहरूमा विदाको घोषणा पनि गर्दछु।
यति महत कार्यक्रममा सामेल हुने अवसर प्रदान गर्नुभएकोमा म आयोजक समितिलाई पनि धन्यवाद दिन चाहन्छु।सबै-सबै कालेबुङवासीलाई एकपल्ट फेरि 72औं स्वतन्त्रता दिवसको शुभकामना अनि बधाई टक्राउदँछु।

No comments:

Post a Comment

Post Bottom Ad