पैह्रोको कारण कालापानी बन्दैछ कालेबुङ जिल्लाको निम्बोङ क्षेत्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 17, 2018

पैह्रोको कारण कालापानी बन्दैछ कालेबुङ जिल्लाको निम्बोङ क्षेत्र

गफसफ.comकालेबुङ 18 जुलाई।
कालेबुङ जिल्ला अधिनस्थ निम्बोङ ग्राम पञ्चायत क्षेत्रमा अवस्थित जिरोमा गएको भिषण पैह्रोको कारण उक्त क्षेत्र कालापानी बन्न लागेको छ। यसका साथ साथै पैह्रोको चपेटमा परेर एकाधिक परिवार घरविहिन बन्न पर्ने अवस्थामा रहेका छन्। पैह्रोको चपेटमा परेर धेरै घरहरू क्षतिग्रस्त बनिसकेको छ भने अझै धेरै घरहरू पैह्रोले सोह्रेर लाने सम्भावना बढेको छ।

कालेबुङ शहरदेखि लगभग 45 किलोमिटर टाडामा अवस्थित निम्बोङ अनि बरबोट क्षेत्रको माझमा रहेको उक्त जिरो नाउँ गरेको पैह्रोले यसवर्ष झनि विकराल रूप लिएको छ। पैह्रोको कारण क्षेत्रका मानिसहरू कालेबुङ शहर आउन मात्रै होइन तर स्कुले विद्यार्थीहरू आफ्ना स्कुल जान समेत समस्यामा परिरहेका छन्।
दिनदिनै विकराल बन्दै गइरहेको पैह्रोले मुख्य सडक नै सोहोरेर लगिसकेको छ भने मुन्सीधुरा, छेत्री गाउँसँगै निम्बोङका लगभग 30 वटा घरहरू कुनै पनि समय सोहोरेर लाने स्थितिमा पुऱ्याएको छ। उक्त पैह्रोकै कारण अहिलेसम्म 5 परिवारहरू घर छोडेर अन्यत्र सरिसकेका छन् भने कति परिवारहरू ज्यान जोखिमा राखेरनै घरमा बसिरहेका छन्। यस वर्ष पैह्रोले लिएको विकराल रूपको कारण विशेष गरेर मुन्सीधुराका घरहरू लगभग पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने निम्बोङका कतिपय घरहरूको बलेसीमा नै पैह्रो बडेर आइपुगिसकेको छ।

उक्त क्षेत्रमा पर्ने गाउँहरू क्रमैले घण्टी डाँडा, ग्यासोक, सुङ्गुरे, पाइलालाइन, बरबोट, चुइखिम आदिका मानिसहरू कालेबुङ तथा बाख्राकोट, ओदलाबारी, सिलगडी आवत-जावत गर्ने मुख्य सडक नै पैह्रोले पूर्ण रूपमा सोहोरेर लगिसकेको छ भने त्यसको विकल्पमा खोलिएको बरबोटबाट सोझै निम्बोङ आइपुग्ने सडक पनि अहिले पैह्रोले लगिसकेको छ। जसले गर्दा अझ समस्या जटिल बन्दै गइरहेको छ।
उक्त पैह्रोले विकराल रूप लिएपछि घण्टी डाँडा, ग्यासोक आदि क्षेत्रका मानिसहरू अनि विद्यार्थीहरू अहिले बरबोट जानको निम्ति निम्बोङ भएर घुमौरो बाटो मार्फत् जानुपर्ने स्थिति छ भने कतिपय मानिसहरू ज्यानै जोखिममा हालेर सोही पैह्रो भएर हिँड्ने पनि गरेका छन्। जुन समय माथिबाट आउने ढुङ्गा अनि माटोको थाकले उनीहरूलाई तत्कालै पैह्रोमा पुर्न सक्ने सम्भावना पनि देखिन्छ।
निरन्तर तलबाट सोह्रिएर आएको पैह्रोकै कारण अहिलेघरी निम्बोङमा अवस्थित अनुज एसयूएमआईको भविष्य पनि सङ्कटमा पर्न गएको छ। किन कि अहिलेघरी उक्त अनुज एसयुएमआईको आँगन पनि चर्किन थालिसकेको छ। यसका साथै सोही विद्यालयमाथि रहेको पुरानो पुरानो चर्च पनि चर्किएर क्षतिग्रस्त हुन लागेको छ। दिनदिनै तलबाट पैह्रो आउन थालेपछि अहिलेघरी उक्त क्षेत्रका मानिसहरू आफ्ना घर छोडेर सुरक्षित स्थानतर्फ सर्न सुरु गरेका छन्।
‘पैह्रोको कारण अहिलेसम्म यहाँबाट तीन परिवारले आफ्नो घर छोडिसकेका छन् भने हामी दुईघर पनि छोड्नुपर्ने अवस्थामा छौँ। यातायात बाधित बनिरहेको छ साथै विद्यार्थीवर्गले पनि अनेकौ समस्या भोग्न परिरहेका छन्’ स्थानीय अविनास लेप्चाले अझ भने – ‘पैह्रोले सम्पूर्ण गाउँवासी पीडित बनेका छन्। वर्षाको मौसम छ जसले कहीँ कतै तत्काल घर बनाएर पनि सर्न सक्दैनौँ।’ यसक्रममा उनले उक्त पैह्रो हेर्नका निम्ति मानिसहरू आए पनि समस्या समाधानको कुनै कार्य नभएको बताएका छन्। ‘पानी लगातार परिरहेको छ जसको कारण हामीले धेरै समस्या झेल्न परिरहेको छ। कुनै पनि समय पैह्रोले सोह्रेर लाने त्रासमा गाउँबासी बाँच्न परिरहेको छ’ अविनास लेप्चाले थप भने।
यसैक्रममा स्थानीय आइज्याक लेप्चाले पनि विगतमा पैह्रो यत्ति भयावह नरहेको भए तापनि यसवर्ष भने यसले विकराल रूप लिएकोले सम्पूर्ण क्षेत्रवासीनै पीडित बन्न परेको बताएका छन्। ‘यस क्षेत्रका मानिसहरू आवत जावत गर्ने मूल सडक नै यहीँ हो। जुन सडक नै पैह्रोले लगेपछि अनेकौ समस्या भोग्न परिरहेको छ। यस्तो समस्याबाट छुटकारा दिलाउन सरकारले सम्पूर्ण गाउँलेहरूलाई अन्यत्र सारे असल हुनेथियो’ आइज्याक लेप्चाले भने।
‘यो पैह्रोले निम्बोङको भविष्यनै अँध्यारोमा धकेलिरहेको छ। पेम्लिङ, सिञ्जी, कफेर हुँदै सिलगडी जाने बाटो पनि बन्द हुँदैछ अनि यता ओदलाबाडीबाट जाने बाटो पनि बन्द हुँदैछ। जसको कारण क्षेत्रमा राशन समेत ल्याउन समस्या सिर्जना भइरहेको छ’ क्षेत्रवासी इन्द्र स्याङ्दनले भने। 
उनले उक्त पैह्रोकै कारण विद्यार्थीवर्गले जटिल समस्या भोग्न परिरहेको पनि बताएका छन्। ‘घरबाट नानीहरू स्कुल हिँडेपछी घरमा आमा बाबालाई सक्दो चिन्ता हुनेगर्छ। नानीहरू स्कुल पुगे पुगेन भन्ने त्रासले सताइरहन्छ अनि स्कुल छुट्टी भएपछि घर आउँदा पनि उत्तिकै चिन्ताले सताइरहन्छ। पैह्रोको कारण उनीहरू घरमा आइपुग्ने हुन् कि होइनन् भन्ने चिन्ताले सम्पूर्ण गाउँका अभिभावकवर्ग चिन्तित बन्न परिरहेको छ’ इन्द्र स्याङदनले अझ भने। उनले उक्त पैह्रोले ज्यानको नोक्सान नभए पनि घरहरू भने लगातार बगाएर लाने क्रम जारी रहेको पनि उनले बताएका छन्। यसक्रममा सम्बन्धित निकायले उक्त पैह्रो रोकथार र क्षेत्रका मानिसहरूका निम्ति सुरक्षाका विषयका कार्य गरिदिने अपिल पनि गरेका छन्।
यसैक्रममा घण्टी डाँडा निवासी मदन तामाङले पनि पैह्रोको कारण सम्पूर्ण गाउँवासी समस्यामा परेको भन्दै सम्बन्धित निकायले उचित पहल गरिदिने आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad