पश्चिम बङ्गाल पञ्चायत चुनाव: हिंसात्मक घट्नामा अहिलेसम्म 14 जनाले गुमाए ज्यान, दर्जनौँ घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 14, 2018

पश्चिम बङ्गाल पञ्चायत चुनाव: हिंसात्मक घट्नामा अहिलेसम्म 14 जनाले गुमाए ज्यान, दर्जनौँ घाइते


गफसफ.com, दार्जीलिङ १४ मई।

पश्चिम बङ्गाल पञ्चायत चुनावमा 14 जनाको मृत्यु भएको छ। विभिन्न ठाउँहरूमा भएको हिंसक झडपमा 14 जना मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् भने दर्जनौँ मानिसहरू घाइते भएका छन्। चुनाव अवधी राज्यमा भएको हिंसक झडपहरूलाई लिएर केन्द्रीय गृह मन्त्रालयले राज्य निर्वाचन आयोगलाई रिपोर्ट मागेको छ।




चुनाव अवधी 24 परगना, पश्चिम मेदिनापुर अनि कोचबिहार जिल्लाको विभिन्न ठाउँका बुथहरू क्याप्चर भएको समाचार अघि आएको छ। दक्षिण 24 परगनाको बाङ्गरमा जमिन जीविका वास्तुतन्त्र ओ परिवेश रक्षा कमिटिले तृणमूल कङ्ग्रेस समर्थकहरूले हतियार देखाएर पञ्चायत समितिका प्रार्थी सरिफुल मल्लिकलाई अपहरण गर्नका साथै मतदाताहरूमाझ आतङ्क सिर्जना गरेको आरोप लगाएका छन्।

यता उत्तर दिनाजपुरमा 3 वटा जिउँदो बम फेला परेको छ। राईगञ्ज जिल्ला मुख्यालयदेखि लगत 3 किलोमिटर टाडामा अवस्थित गलाइसुरा पुलिङ बुथ नजिक उक्त बम फेला परेको पुलिसले बताएका छन्। तीनवटा मध्ये 2 वटा बम रेल्वे ट्रेक नजिक फेला परेको  रेल्वे पुलिस सूत्रले बताएका छन्।

मेदिनापुरमा माकपा समर्थक अप्पु अन्ना अनि योगेश घोषलाई चुनाव अवधी भएको हिंसात्मक झडपमा गोलि लागेर मृत्यु भएको खबर प्राप्त भएको छ।  यता आमडङ्गाको पाँचपोटामा भएको बम बिस्फोटमा एकजना सीपीएम कार्यकर्ताको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। अर्कोतर्फ आमडङ्गाकै कुलतली क्षेत्रमा एकजना तृणमूल कार्यकर्ता आरिफ गाजीलाई गोली हानेर हत्या गरेको समाचार प्राप्त भएको छ भने कूचबिहारमा माकपा समर्थित पती-पत्निलाई जलाएको समाचार प्राप्त भएको छ।

भाङ्गडमा आराबुल समर्थकहरूलाई खेद्नका निम्ति पुलिसले अश्रु ग्यास फ्याँक्न परेको थियो। यसक्रममा मिडिया कर्मीहरू माथी पनि एकाधिक ठाउँहरूमा हमला भएको खबर प्राप्त भएको छ। हिंसात्मक घट्नाहरूलाई लिएर राज्य चुनाव आयोगले बारुईपुर जिल्लाका पुलिस अधिक्षकलाई कडा कार्वाही गर्ने निर्देश दिएका छन्। चुनाव अवधी भएको हिंसात्मक घट्नाहरूको विरोधमा यता विपक्षी दलहरूले राज्यमा शान्तिपूर्ण चुनाव गराउनका राज्य चुनाव आयोग विफल बनेको आरोप लगाएका छन्। पञ्चायत चुनावमा भएको हिंसात्मक घट्नाहरूको विरुद्धमा कङ्ग्रेस पार्टीले राज्य  चुनाव आयोग कार्यालयमा विरोध प्रदर्शन समेत गरेको छ।

पञ्चायत चुनावलाई लिएर अघिदेखि नै हिंसात्मक घट्नाहरू हुँदै आइरहेको थियो भने चुनाव अवधी हिंसात्मक घट्नाहरू हुन नदिन राज्य निर्वाचन आयोगले सुरक्षा व्यवस्थाको पूर्ण व्यवस्था गरेको दाबी गरेको थियो। यस्तो अवस्थामा 7 बजेदेखि सुरु भएको पञ्चायत चुनावको अवधी विभिन्न ठाउँहरूमा हिंसात्मक घट्ना घटेको छ। चुनावको अवधी नदियाको ताहेरपुर क्षेत्रमा बमबारी अनि फाइरिङको घट्नामा एकजना नाबालिकको मृत्यु भएको छ भने पश्चिम मेदिनापुर जिल्लाको केशपुर क्षेत्रमा पुलिसमाथी ढुङ्गा बर्साउने कार्य भएको छ। 

यता पश्चिम वर्द्धवानको रानीगञ्ज क्षेत्रमा तृणमूल कङ्ग्रेस अनि माकपा समर्थकहरूमा झडप भएको छ। झडपमा मानिसहरू घाइते बनेको समाचार प्राप्त भएको छ। यता मुर्शिदावादको बेलडाङ्गा क्षेत्रमा मतदानको निम्ति जाँदै गर्दा भएको हमलामा एकजना भाजपा कार्यकर्ताको मृत्यु भएको छ। जसको कारण क्षेत्रमा तवानको स्थिति सिर्जना भएको छ। 

चुनावकै क्रममा नदिया जिल्लाको शान्तिपुर विवेकानन्द रोडमा मानिसहरूको भीडले हमला गरेर कुटपिटको घट्नामा एकजना युवको मृत्यु भएको छ। अर्कोतर्फ दक्षिण 24 परगणा जिल्लाको कुलतलीको नयापाडामा एकजना तृणमूल कार्यकर्तालाई गोली हानेर हत्या गरेको समाचार रहेको छ। यता राज्यको विभिन्न ठाउँहरूमा भएको हिंसक झडपमा मानिसहरू धेरै मात्रमा घाइते बनेका छन् भने पुलिस कर्मीहरू पनि घाइते बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad