भाजपा प्रार्थी राजु विष्ट पहिलोचोटी आइपुगे कालेबुङ; भने –‘तृणमूल कङ्ग्रेसलाई हटाउनेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 29, 2019

भाजपा प्रार्थी राजु विष्ट पहिलोचोटी आइपुगे कालेबुङ; भने –‘तृणमूल कङ्ग्रेसलाई हटाउनेछौँ’

गफसफ.com, कालेबुङ 29 मार्च।
‘बङ्गालमा धेरै अत्याचार भयो, हामीले पनि धेरै अत्यचारहरू सह्यौँ। अब यो बङ्गालको अत्याचारको अन्त हो जस्तो लाग्छ। हामीले बङ्गाल विधानसभाको पनि तयारी गरिसकेका छौँ। हामी तृणमूल कङ्ग्रेसलाई हटाउनेछौँ’, त्यसपछि मात्र हाम्रो संस्कृती अनि संस्कार बाँच्नेछ’ उक्त कुरा भाजपा लोकसभा प्रार्थी राजु विष्टले भनेका हुन्।

दार्जीलिङ संसदीय क्षेत्रबाट चुनावी मैदानमा भाजपाको टिकटमा ओर्लिएका राजु विष्टलाई आज कालेबुङमा उनका समर्थकहरूले भव्य स्वागत जनाएका थिए। चुनावी प्रचारको क्रममा पहिलोपल्ट कालेबुङ आइपुगेका राजु विष्टको साथमा गोरामुमो पार्टीका नेता एन.बी छेत्री, प्रवक्ता निरज जिम्बा पनि साथमा रहेका थिए भने भाजपा दार्जीलिङ जिम्मा समितिका अध्यक्ष मनोज देवान, गोजमुमो विमल गुटका कार्यकारी अध्यक्ष लोब्साङ लामा, अप्रा. कर्णल रमेश आले आदि उपस्थित रहेका थिए।
पहिलोपल्ट कालेबुङ आइपुगेका विष्टलाई गोजमुमो विमल गुट, गोरामुमो अनि भाजपा समर्थकहरूले  जोडदार स्वागत जनाएका थिए। कालेबुङ आइपुगेका विष्ट सोझै समर्थकहरूको साथमा 10 माइल स्थित मारवाड प्यालेसमा पुगेका थिए भने उनले त्यहाँ उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै लोकसभा चुनावमा भाजपाको जित भइसकेको पनि दाबी गरे।
यसैक्रममा उनले पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जीलिङ पहाडवासीको दिर्घकालिन माग राजनैतिक रूपले समाधान हुने पनि दाबी गरेका छन्। ‘दार्जीलिङको एउटा लामो समयदेखि लम्बित राजनैतिक माग हो अनि त्यसको राजनैतिक समाधान यसपल्ट दार्जीलिङ पहाडले निश्चय पाउनेछ। त्यो समाधान जे हो त्यो आगामी दिनमा हाम्रो चुनावी घोषणा पत्रमा पनि समावेश रहनेछ’ विष्टले भने।
यसैक्रममा उनलाई छुट्टै राज्य गोर्खाल्याण्डबारे आफ्नो अडान के छ भनि प्रश्न गर्दा उनले ‘गोर्खाल्याण्डको राजनैतिक समाधान हुनेछ’ भन्दै यसको निम्ति धर्य राख्नुपर्ने बताएका छन्। अर्कोतर्फ हिजै मात्र गोरामुमो कालेबुङ जिल्ला समितिले भाजपाले छैटौँ अनुसूचीको मुद्दा भाजपाको राष्ट्रिय चुनावी घोषणा पत्रमा समावेश गरेमात्रै भाजपालाई समर्थन गर्ने घोषणा सम्बन्धि प्रश्न गर्दा उनले यसबारे आफ्नो कुनै टिप्पणी दिन चाहेनन्। यद्यपी उक्त प्रश्नको जवाब भने गोरामुमो पार्टीका प्रवक्ता निरज जिम्बाले दिए।
‘गोरामुमो पार्टी केवल एउटा मात्रै छ त्यो मन घिसिङको गोरामुमो पार्टी हो। मन घिसिङले जे भन्यो त्यो नै सर्वोपरी हो। यहाँ कालेबुङको गोरामुमो भन्ने कुनै पार्टी छैन’ निरज जिम्बाले स्पष्टिकरण दिँदै भने। उनले यसक्रममा कालेबुङका गोरामुमो नेता मौरिस कालिकोटेको बयान व्यक्तिगत वयान हो भन्दै उनीहरूसँग पार्टीले आफ्नो स्तरका कुराकानी गरिरहेको पनि बताएका छन्।
चुनावी सभालाई गोरामुमो पार्टीका प्रवक्ता निरज जिम्बा, एन.बी छेत्री, बन्दना योञ्जन, कल्याण देवा, मनोज देवान, लोब्साङ लामा आदिले सम्बोधन गरेका थिए भने उनीहरू सबैले भाजपा प्रार्थीलाई जनताले सहयोग गर्नुपर्ने अपिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad