भाजपा राज्यसभा सांसदले भने –‘गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइनौं’, विनय तामाङले भने –‘दुईपल्ट चुनाउ के भनेर जित्यौ?’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, February 25, 2019

भाजपा राज्यसभा सांसदले भने –‘गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइनौं’, विनय तामाङले भने –‘दुईपल्ट चुनाउ के भनेर जित्यौ?’

गफसफ.com, दार्जीलिङ 25 फरवरी।
लोकसभा चुनावको मुखैमा भारतीय जनता पार्टीका राज्यसभा सांसद स्वपन दासगुप्तले आफुहरूले दार्जीलिङ पहाडबाट गोर्खाल्याण्डको नाउँमा भोट नजितेको दाबी गरेका छन्। उनले दार्जीलिङ पहाडबाट भाजपाले गोर्खाल्याण्डको आश्वासन दिएर भोट नजितेको दाबी सँगै दार्जीलिङ पहाडको समस्या केन्द्रको विषय नरहेर राज्यको विषय रहेको पनि दाबी गरेका छन्। उनको उक्त बयानपछि गोजमुमो पार्टीका अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर तिब्र आपत्ति जनाउँदै विरोध जनाएका छन्।  

‘गोर्खाल्याण्डको आश्वासन दिएर भाजपाले चुनाउ जितेको होइन भनेर भाजपाले गोर्खाहरूको अघाड़ि आफ्नो साँचो अनुहार देखाइदिएको छ। भाजपाका राज्यसभा सासंद स्वपन दासगुप्तलाई पत्रकारहरूले गोर्खाल्याण्डको मुद्दाबारे भाजपाको अड़ान सोध्दा यसो भनेका हुन्। भाजपाले कहिल्यै गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइन तर शक्तिशाली क्षेत्रीय स्वायत्त शासनको कुरा गरेको हो भनेर उनले गोर्खाल्याण्डको मुद्दालाई सोझै नकारिदिए, जो गोर्खाहरूको निम्ति अति नै दुर्भाग्यपूर्ण बयान हो’ विनय तामाङले भनेका छन्।
यसक्रममा भाजपाले गोर्खाल्याण्डको सन्दर्भमा गोर्खाहरूलाई दिएको आश्वासनकै कारण दार्जीलिङवासीले दुई-दुई जना सांसद भाजपालाई दिएको हो भन्दै यसबाहेक देशभरिका गोर्खाहरूले पनि भाजपाको सोही आश्वासनमाथि विश्वास गरेर विभिन्न गोर्खाबहुल राज्यहरूमा भाजपालाई सांसद बनाउन सघाएको दाबी गरेका छन्। ‘तर 10 वर्षसम्म गोर्खाहरूलाई गोर्खाल्याण्डकै आशा भरोसामा बाँधिराखेर अहिले आएर यस्तो विश्वासघाती बयान दिएकोमा भाजपा सांसद अनि भाजपा पार्टीको घोर विरोध हामी गर्दछौं’ तामाङले भनेका छन्।
उनले जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि प्रश्न तेर्साउँदै भाजपामाथि जोडदार प्रश्नहरू राखेका छन्। ‘यदि भाजपाले गोर्खाहरूलाई गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइन भने प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगढ़ीको जनसभामा आएर गोर्खाको सपना मेरो सपना भनेर कुन सपनाको कुरा गरेका थिए? 2009 अनि 2014 को लोकसभा चुनाउमा भाजपाले आफ्नो चुनावी घोषणापत्रमा दार्जीलिङ अनि तराई-डुवर्सवासीको लामो समयदेखि थाँतीमा रहेको मागलाई सहानुभुतिपूर्वक निरीक्षण गरी समाधान गरिनेछ भनेर किन उल्लेख गरे? केन्द्र सरकारले गोर्खाल्याण्ड निरीक्षण कमिटी गठन गर्ने आश्वासन किन दिए?’ विनय तामाङले प्रश्नहरू तेर्साएका छन्।
यसका साथै गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर पनि भाजपाका राज्यसभा सांसद स्वपन दासगुप्तले पत्रकारहरूलाई बयान दिएकोमा पनि तामाङले तीव्र प्रतिक्रिया व्यक्त गरेका छन्। ‘10 वर्षसम्म गोर्खाहरूलाई राजनैतिक स्वार्थको निम्ति प्रयोग गरेर अहिले आएर गोर्खाहरूको समस्या राज्यको विषय हो भनि पन्सिन खोज्ने भाजपाको यो छेपारे नीतिको पनि हामी घोर विरोध गर्दछौं’ विनय तामाङले अझ भनेका छन्-‘10 वर्षको अवधिमा दुई-दुईपल्ट गोर्खाहरूले चुनाउमा सघाउँदा भाजपाले किन गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर भनेनन्? यदि गोर्खाहरूको समस्या राज्यको विषय थियो भने विमल गुरूङ/ रोशन गिरीहरूको काँधमा बन्दूक थम्याएर किन गोर्खाहरूलाई राज्य सरकारविरूद्ध आन्दोलन गर्न उक्साइरहे?
यसक्रममा तामाङले भाजपालाई छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा सहिद बन्नेहरूको हत्यारा समेत रहेको गम्भीर आरोप लगाएका छन्। ‘गोर्खाहरूलाई यति लामो समयसम्म राज्य सरकारसित बगावत गर्न लगाएर अहिले आएर गोर्खाहरूको समस्या राज्यको विषय हो भन्छन् भने भाजपा 10 वर्षको आन्दोलनको अवधि शहीद भएका गोर्खे दाजु-भाईका हत्यारा हुन्। गोर्खा युवा-पीढ़िले गोर्खाल्याण्डको निम्ति भनेर समर्पण गरेको सुनौलो भविष्य बिगार्ने पनि भाजपा नै हुन्। किनभने विमल गुरूङले भाजपाकै भरोषामा पहाड़मा हिस्रक आन्दोलन गरेका हुन् र अहिले पनि विमल गुरूङलाई आश्रय दिएर राख्ने पनि भाजपा नै हुन्। भाजपाले यी सबैको जिम्मेवारी लिनुपर्छ’ तामाङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad