गफसफ.com, कालेबुङ, 12 दिसम्बर।
गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ शहरमा भारतीय जनता
विरुद्ध पोस्टरिङ गरेको छ। विशेष गरेर भाजपा सरकारले संसदको शीतकालिन सत्रमा
गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजाति बनाउनका निम्ति सरकारी बील पेश नगर्ने
भएपछि गोजमुमोले शहरमा पोस्टरिङ गरेको हो।
संसदको सुरु भएको सत्रमा भाजपा सरकारले मोठ 63 वटा सरकारी
बील पेश गर्ने आधिकारिक सूची जारि भएको अनि उक्त सूचीमा 11 जातगोष्ठीलाई जनजाति
बनाउने सरकारी बील नभएपछि गोजमुमोले पहाडभरी पोस्टरिङ कार्य सुरु गरेको छ।
यसक्रममा गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला
समितिका सचिव अमिर बस्नेतले शीतकालिन सत्रमा गोर्खाहरूको 11 जातगोष्ठीलाई जनजाति
बनाउने हल्ला गरेर आखिरमा गोर्खाहरूलाई भुल्लाएको आरोप लगाएका छन्। ‘भाजपाको
नेताहरूसँगै मन्त्रीहरू समेतले गोर्खाहरूको 11 जातगोष्ठीलाई जनजाति बनाउने बील
शीतकालिन सत्रमा पेश गर्ने भन्दै गोर्खाहरूलाई ढाँट्ने कार्य गर्यो। संसदको
शीतकालिन सत्रमा भाजपा सरकारले पेश गर्ने सरकारी बीलहरूको सूचीमा 11 जातगोष्ठीको
उल्लेख नहुनु दुर्भाग्यपूर्ण हो’ अमिर बस्नेतले भने।
उनले भाजपाले बारम्बार गोर्खाहरूलाई ढाँट्ने कार्य गरिरहेको
भन्दै भाजपाको कथनी र करनीमा भिन्नता रहेको उनले आरोप लगाए। ‘गोर्खाको सपना मेरो
सपना भन्ने प्रधानमन्त्री अनि भाजपाले गोर्खाहरूको 11 जातगोष्ठीलाई जनजाती बनाउने
सरकारी बील समेत बनाएन। यो गोर्खाहरूलाई धोका हो। यसरी बारम्बार धोका दिने कार्यको
हामी घोर विरोध गर्छौँ’ बस्नेतले भने।
उनले भाजपाले एकपाखे नीति अप्नाएको आरोप लगाउँदै कालेबुङकी
विधायक सरिता राईले समेत भूमिगत नेता विमल गुरुङको पक्षमा लागेर शीतकालिन सत्रको 11
जातगोष्ठीलाई जनजाति बनाउने बील पेश हुनेछ भनि बयान दिएको बताउँदै जनताले चुनेको
बिधायकले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
‘विधायक सरिता राईले विमल गुरुङको पक्षमा लागेर 11
जातगोष्ठीलाई जनजाति बनाउने बील संसदमा पेश हुनेछ भन्ने बयान दिइसकेपछि अब उनले
सरकारलाई बील पेश गर्ने दबाउ सिर्जना गर्नुपर्नेछ। यदि उनले जनताको हितमा काम गर्न
सक्दैनन् भने आफ्नो पदबाट नैतिक आधारमा राजीनामा दिनुपर्नेछ’ अमिर बस्नेतले भने।
अर्कोतर्फ गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन
खनालले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक सरिता राईले राजीनामा दिनुपर्ने
माग गरेका छन्। विधायक सरिता राईले जनताको हितमा कुनै कार्य नगरेको भन्दै विमल
गुरुङको पक्षमा लागेर जनतालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेको खनालले आरोप
लगाएका छन्। ‘तपाईँले जनताको हितमा काम गर्न चाहनुहुन्छ भने गर्नुहोस् तर विमल
गुरुङको पक्षमा लागेर जनतालाई दिग्भ्रमित पार्ने कार्य गर्नु हुँदैछ। यदि काम गर्न
हुँदैन भने विधायक पदबाट राजीनामा दिनुपर्नेछ’ खनाले भने।
No comments:
Post a Comment