राजनैतिक पटमूर्खहरूको सानो 'स्वर्ग' र 'सपना' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 10, 2020

राजनैतिक पटमूर्खहरूको सानो 'स्वर्ग' र 'सपना'

  विचार / राजनीति ________________________________ टीका 'भाइ’     

'गोर्खाल्याण्ड' र तिहारको 'देउसिरे' अब त एकै भयो।

दार्जिलिङको जनचेतना भनेको बोनजाई गरिएको चेतना हो। सरकारलाई थाहा छ, त्यो चेतनाले जमीन भेट्नु हुँदैन। गमलामा थोरै माटो, कहिले काँहि पानी हाले हुन्छ। अली बढला बढ्ला जस्तो भयो कि गमलाबाट निकालेर जरा मासिदियो। त्यसपछि शान्त।


यो माटो नभेटेको जनचेतनाले युग-काल-परिस्थिति केही बुझ्दैन। 2020 लागिसक्यो। हात-हातमैँ खुम्चिसक्यो संसार- दार्जिलिङ् भने 70-को दसककै चलचित्र हेरेर शशि कपूरको डायलगमा आँशु खसाईरहेछ- 'मेरे पास माँ है!'- तुरुक्क आँशु!- रोमान्टिक छ दार्जिलिङ्।

***

सुबास घिसिङको दागोपापकालीन समयमा पनि उनले बङ्गाल खुसी पार्दै राज चलाएका थिए। तर जनतामाझ उनको अनि बङ्गालको राजनैतिक एकता र अन्तर्विरोधलाई जनता माझ कहिले प्रष्ट हुने मौका दिएनन्। चुप बसे, कहिले भक्तिगान गाएनन्। तर बङगालको सत्तालाई सोझै राजनैतिक हाँक दिने आँट घिसिङभित्र पनि थिएन। लाटोहरूको समाजमा उनि सत्ताको क्षमता र हैसियत बुझ्ने मानिस चाहिँ पक्का थिए। जनतामाझ बाघ बन्थे उता आफुमाथिको सत्तालाई भने शिशु जस्तो दङ्गाइरहेका हुन्थे।

सन् 2005 यता उनिप्रति राज्यको दृष्टिकोणमा परिवर्तन आयो। अब बुढो जरा काम लाग्दैन, जनतामा रोष बढ्छ, बंगालको हीत छैन भन्ने बुझेर, बङ्गाल सरकारले बुढो जरा काट्ने निर्णय लियो। अन्यथा बिमल गुरुङ् अनि गोजमुमोको उदय सम्भव नै थिएन। बिमल गुरुङको आगमनको निम्ति शुरूमा राज्य उदार थियो। बिमल गुरूङ् अनि उनको दलले भने राज्यको त्यो उदारता शुरूमा बुझेनन्। महत्वाकांक्षी बने उनि। दलभित्र सपना र चाप पनि थियो होला। वामफ्रन्ट सरकार कमजोर बन्दै गइरहेको समय थियो, त्यसको फायदा केही भयो पनि। तर जसै वमफ्रंट ढल्यो झन् बढी महत्वाकांक्षी नेतृत्व रहेको तृणमूल सरकार गोजमुमोको गर्दनमा आइ बस्यो।

पुरानै गमलालाई अली लिप पोत गरेर, राजनैतिक पटमूर्खहरूको निम्ति सानो स्वर्ग बनाइयो। अनि नामाकरण गरियो। जीटीए। जसमा क्षेत्रका जनप्रतिनिधि भन्दा धेर राज्यको अधिकारी र नेतृत्वकै हालीमुहाली चल्थ्यो। बिगत 3 वर्षदेखि यो स्वर्गमा जन निर्वाचित प्रतिनिधि नै छैन। राज्य सरकारले नोमिनेट गरेर चौकीदार राखिदिनु मिल्ने, राज्यले जहिले चाह्यो खारिज गर्न सक्ने, जन-निर्वाचित नेतृत्व भन्दा धेर राज्यका नोकरशाह र अधिकारीहरू क्षमतावान् हुनसक्ने स्वर्गको राजा भएर के हुन्थ्यो? ममता सरकारले जीटीएको काममाथि हस्तक्षेप गरिरहनू अनि आफ्नो प्रभाव र राजनैतिक महत्वाकांक्षा बढाउने क्रियाकलापले बिमल गुरुङ र त्यसताकको एककृत गोजमुमो दिक्क थिए। राज्य सरकार र बिमल गुरुङमाझको त्यही अन्तर्विरोधको परिणाम थियो सन् 2017-को आन्दोलन। भाषा र गोर्खाल्याण्डको मुद्दा त माचिस मात्र थियो।

केही साहित्य सेवी, भाषा-प्रेमीहरू चाहिँ पक्का बङ्गाल सरकारको भाषिक दमनपूर्ण नितिका विरोधी थिए तर गोजमुमोको अन्तर्विरोध राज्यको दादागिरी विरुद्ध केन्द्रित थियो। आन्दोलन यत्ति हतारमा शुरू गरियो कि आन्दोलनको रूप र परिणामबारे कुनै नेतृत्व गम्भीर हुने न मौका पाए न त त्यो क्षमता नै थियो। सानो भएपनि सत्ताकै आगो तापेर हुर्किएका समर्थक अनि कर्मीहरू थिए धेर। राजनैतिक दलका कर्मीहरू अचेलका, नौकरी नभएर राजनीतिमा पसेका धेरै छन्। अथवा आफ्नो आर्थिक लाभ र अवसर देखेर दलबदलीने अवसरवादी चरित्र भरिएकाहरू धेर छन्। यो चरित्रकाहरूको ठेलाठेल चल्ने राजनैतिक दलभित्र को हुन्छ स्वाभिमानी आन्दोलनकारी??- अवसरवाद सबैभन्दा चाँडौ घुँडा टेक्छ। आन्दोलनको चरम बेला अवसरवादी नेतृत्वहरू त होस गुमाए नै,  बिमल गुरूङ्ग पनि डराए। भागेकै हुन् उनि। उनकै दलका अर्को कमजोर र समर्पण गर्ने नेतृत्वलाई राज्यले प्रयोग गरे। 'बिनय तामांग-अनित थापा'-को राज्य अघि समर्पण पुरै सन् 2017 साले आन्दोलनको समर्पण थियो। -धोका नै थियो जनतालाई। उता वामफ्रन्ट विरुद्ध ममता र तृणमूलमा भरोसा गर्ने बिमल गुरुंग, ममता सरकारसितको अन्तर्विरोधले भाजपाको हात समाउन वाद्य थियो।

यी सबै घटना र परिस्थितिको सिर्जना 'दार्जिलिङका जनता र गोर्खाल्याण्ड'-को लागि कहिले पनि भएको थिएन। यी सबै सानो स्वर्गको सत्ताप्राप्तिको चाहबाट सिर्जित अन्तर्विरोधहरू थियो।

***

सत्ता प्राप्तिको निम्ति कि केन्द्रको हात कि राज्यको हात समाउनु नै पर्छ भन्ने मानसिकता तर अहिलेको होइन। राजनीति चेतनाले होइन 'पैसा र शक्ति'-ले मात्र चल्छ भन्ने विश्वास जन्मिनुको निम्ति हामी सबै नागरिकहरू पनि दायित्वशील हौँ। चाहे गोरामुमो होस्, चाहे क्रामाकपा, चाहे गोजमुमो सबै दलका नेतृत्वहरूभित्र केन्द्र अथवा राज्यको सत्ताप्रतिको अतिनिर्भरता र आश्रित मनोभाव हाम्रो जनचेतनामा निहित आश्रित र कमजोर मनोभावको प्रतिविम्बन नै हो। आर्थिक असमानताको सङ्घर्ष धेरै व्यवहारिक घडेरीमा उभिएका हुन्छन् तर जातीय आन्दोलनहरू धेर भावुकताको घडेरीमा। त्यस्तो आन्दोलनमा अझ ढुलमुले, सुविधावादी र अवसरवादी नेतृत्वहरू अघि आए समर्पण बाहेक अर्को बाटो नै छैन। अहिले अनित-बिनय समूहले बिमल गुरुङ अनि बिमल गुरुङ समूहले अनित-बिनय समूह गाली गर्नु वास्तवमा आफैले आफु गाली गर्नु मात्र हो। खासै चारित्रिक भिन्नता केही छैन। बिनय समूहले केही अघि नै समर्पण गरे, बिमल समूहले अलिक पछि फरक यत्ति नै हो। तर फरक सानो भए पनि सङ्घर्षको एउटा केन्द्र छ, त्यो केन्द्र हो राजनैतिक पटमूर्खहरूको सानो स्वर्ग अर्थात जीटीए अनि त्यसको मुकुट।

सानो नै भएपनि सत्ता लिप्सा खतरनाक हुन्छ। बिमल नआई बसे, अनित थापा अनि बिनय तामांग बीच नै त्यो सत्ता दम्भ शुरू हुने स्थिति जन्मिएको हुनसक्थ्यो। सन् 2017-को स्थिति पछि अनित थापा- बिनय तामांगले बिमल गुरुंग एवं अन्य भूमिगतहरूलाई फर्काउने सकारात्मक उपाय ग्रहण गरेको भए आजको जस्तो छात्ती खोला-खोलको परिस्थिति सिर्जना हुने थिएन। आन्दोलन कालदेखि नै विश्वासको कमीले ग्रस्त नेतृत्व दम्भ अहिले आएर सानो स्वर्गको राजा बन्ने दौडमा परिणत भएको छ। भाजपाबाट बिमल गुरुङ अनि उनका पक्षधरहरू अर्कोतिर भाजपा र केन्द्र सरकारबाट कुनै जादु पर्खेर बसे, मात्र होइनन् अपितु एम.पी.चुनावमा भाजपालाई जीत दिलाउन महत्वपूर्ण भूमिका पनि निर्वाह गरे तर भाजपाले उनिहरूको सङ्कटलाई सम्बोधन गर्ने एकतिर चासो देखाएनन् अर्कोतिर राज्य अघि समर्पण गर्ने शक्ति अनित-बिनय समूहका कार्यकर्ता र नेतृत्वहरूको स्थिति भने सामान्य रह्यो। राज्यसीत मिलेर मात्र दार्जिलिङमा फर्किन अनि आफ्नो राजनीतिलाई जीवित राख्न सकिन्छ भन्ने वाध्यात्मक स्थितिमा झुक्न बाहेक विकल्प पनि केही थिएन उनिहरूसीत। यो समग्रमा गोजमुमो दलभित्रको आपसी अन्तर्विरोध र अविश्वासहरूबाट सिर्जित स्थिति थियो।

केही वर्ष भएपनि भूमिगत रहनू परेकै कारण बिमल गुरुङप्रति धेरै समर्थकहरूको समानुभूति र साथ स्पष्ट छ। अर्कोतिर सानो सत्ताका अहिलेका छोटे राजाहरू भने आफ्नै समर्थकहरूप्रति पनि संदेहात्मक बनिरहेका छन्। तर यो अन्तर्विरोध पनि तबसम्म हो जबसम्म राज्यलाई आवश्यक छ।

राज्य सरकार दार्जिलिङमा जानी जानी अनित-बिनय बनाम बिमल गुरुङ समूहलाई मात्र मूल शक्तिका रूपमा प्रायोजित गरेर आउँदो चुनावसम्मका निम्ति पाहाड सुरक्षित राख्न चाहेको छ। यी दुइ समूहलाई मिलाउनु अथवा अलग गर्नु सबै राज्य सरकारको निम्ति सामान्य विषय मात्र हो । अहिले तर यी दुइ शक्तिको मोबिलाइजेसनले पाहाडमा भाजपा अनि राज्य विरोधी शक्ति र राजनीतिलाई बिस्तार हुनबाट रोक्ने सुनियोजित पहल हुनैसक्छ।

***

समर्पण नै गर्नुथियो भने सन् 2017 साले आन्दोलनको प्राप्ति के त? -सवाल स्वाभाविक नै हुन्छ। यदि राज्य सही अनि आन्दोलन गलत थियो भने सहीदहरूको सहादत दार्जिलिङका जनता र राजनैतिक दलको अदूरदर्शिता र गलतीको शिकार भएन त? कि इतिहासमा त्यो केवल एक दुर्घटना थियो भन्ने मानेर अघि बढ्ने??

अहिले पनि समर्थक अनि नेतृत्वहरूको मुखमा 'गोर्खाल्याण्ड' उस्तै झुन्डीएको छ। सरम लाग्दैन?? आफ्नै रगत र प्रजातिको भावुकता दोहन गरेर सानो स्वर्गको दियो कहिलेसम्म बाल्ने? बिकासको नाम गरेर दुइ चार ठेकादारहरूको पेट कहिलेसम्म भरिदिने? गरीब र बेरोजगारहरूको नाम गरेर, केही दल समर्थकहरूका निम्ति काम धन्दाको व्यवस्था गर्दै कति बस्ने?? लाज लाग्दैन??

लाज लाग्ने भए त यो सानो स्वर्गको दैलो टेकेर आफैलाई मसीहा सम्झिने थिएनन् होला। जे होस्! दार्जिलिङको राजनैतिक पतनको कारण बनेका युगकै सबैभन्दा असक्षम नेतृत्वहरू आज दार्जिलिङमा शिर उठाएर झूठ बोल्न सकेका छन् भने कहीँ न कहीँ त्यसको कारण हामी सबै हौँ।

सौजन्य – झ्याल 

1 comment:

  1. जिटिएरुपी चारोको भाडोमा सबैको आँखा गाडिएको छ अन्त चुच्चो डुबाउनेहरुको निम्ति गोर्खाल्यान्ड नै गोर्खाल्यान्ड। गोर्खाल्यान्ड प्राप्तिको दिशातिर दार्जीलिङको राजनीति नगए पनि बिमल गुरुङलाई लिएर भने मेरो सहानुभूति छ।

    ReplyDelete

Post Bottom Ad