नेपाली साहित्यमा युवा साहित्यकारद्वय निमा निची शेर्पा अनि सतीश छेत्रीद्वारा "उत्तर लीलालेखन" अवधारणाको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 5, 2020

नेपाली साहित्यमा युवा साहित्यकारद्वय निमा निची शेर्पा अनि सतीश छेत्रीद्वारा "उत्तर लीलालेखन" अवधारणाको घोषणा

गफसफ.com, कालेबुङ ५ सितम्बर २०२० । 

नेपाली साहित्यमा चर्चित "लीलालेखन" - को एक छेउ समाएर युवा साहित्यकारहरू निमा निची शेर्पा अनि सतीश छेत्रीले "उत्तर लीलालेखन" -को धारणा अघि सारेका छन्। उनीहरूले शिक्षक दिवको अवसरमा आज नेपाली साहित्यमा उक्त "उत्तर लीलालेखन"- को धारणालाई प्रस्तावनाको रूपमा सार्वजनिक गरेका छन्। 
उत्तर लीलालेखन


नेपाली साहित्यमा पछिल्लो समय भारतबाट युवा साहित्यकारहरूले "हस्तक्षेप" अनि "समावेशी लेखन" जस्ता साहित्यिक अवधारणा प्रस्तुत गरिसकेका छन् भने अब युवा साहित्यिकद्वय निमा निची शेर्पा अनि सतीश छेत्रीले "उत्तर लीलालेखन" धारणाको घोषणाले लेखनमा नयाँ मोड दिन खोजेका छन्। 

वैश्विक महामाती कोरोना भाइरसको कारण उनीहरूले उक्त प्रस्तावनालाई डिजिटल माध्यमले सार्वजनिक गरेका छन्। साहित्यकार जस योञ्जन 'प्यासी' -ले आफ्नो फेसबुक एकाउन्ट मार्फत साहित्यमा नयाँ अवधारणामा सिद्धान्ततीकरण गरिएको "उत्तर लीलालेखन" को प्रस्तावना सार्वजनिक गरिएको घोषणा गरेका छन्। 


'नितान्त भारतीय नेपाली साहित्य अवधारणामा सिद्धान्तीकरण गरिएको यो उत्तर - लीलालेखन प़स्तावना प़स्तुति पत्र ५ सितम्बर २०२० शिक्षक दिवसको शुभोपलक्ष्यमा सन्जालीय माध्यमद्वारा सहदयीहरुमा यसरी लोकार्पण गरियो भनी घोषणा गर्दछु ।   पत्र प्रस्तोताद्वयमा हार्दिक बधाई एवं शुभकामना' - साहित्यकार जस योञ्जन 'प्यासी' - ले भनेका छन्। 

नेपाली साहित्यमा नयाँ लेखनको अवधारणाको रूपमा  "उत्तर लीलालेखन"-को घोषणा गर्ने साहित्यकारद्वय निमा निची शेर्पा अनि सतीश छेत्रीले १४ वटा बुँदामा प्रस्ताव पेश गरेका छन्। उनीहरूले उक्त प्रस्तावनामा साहित्यकार इन्द्रबहादुर राई-ले अघि सारेकै "लीला लेखन" कै मिल्दोजिल्दो नवलेखन हो भनेका छन्। 


"समकालीन नेपाली साहित्यमा आध्यात्मिक परिपाटीबाट जीवन-जगत्का अपार सम्भावनाहरूको खोजी हो उत्तर लीलालेखन | भौतिक जीवनदेखि भाग्नु होइन तर भौतिक जीवनको उखरमाउलो तापलाई आध्यात्मिक जीवनप्रतिको अनुरागले शमन गर्नु हो उत्तर लीलालेखन | आध्यात्मिक चेतना बिनाको जीवन रसबिनाको फलजस्तै हुन्छ भन्ने कथनको पक्षपोषण हो उत्तर लीलालेखन" - प्रस्तावनाको सम्पूरक (क) मा भनेका छन्। 


साहित्यकार निमा निची शेर्पा अनि सतीश छेत्रीले उत्तर लीलालेखन इन्द्रबहादुर राईले प्रतिपादन गरेको लीला लेखनकै मिल्दोजुल्दो नवलेखन हो भन्दै हो भनि स्पष्ट पारेका छन्। 
'स्पष्ट भन्छौं - उत्तर लीलालेखन न्यूनपदीय पारिभाषिक पदबन्ध हो । हाम्रो कामना के भने, यो कालसम्बोधी होस्, प्रवृत्तिमुखी पनि होस् । कालबोधी अर्थात् इन्द्रबहादुर राईद्वारा प्रतिपादित लीलालेखनको पछि वा पछिल्तिरको समयखण्डमा देखापरेका नवलेखन अनि प्रवृत्तिमुखी अर्थात् राईद्वारा प्रतिपादित लीलालेखनका सैद्धान्तिक अवधारणा एवम् मूल्य-मान्यतासित मिल्दोजुल्दो नवलेखन'- प्रस्तावनामा लेखेका छन्।

उनीहरूले अझ स्पष्ट पार्दै लेखेका छन् - 'कालिक सन्दर्भलाई अझ स्पष्ट पारेर भन्छौं - इन्द्रबहादुर राईद्वारा प्रतिपादित लीलालेखनको उत्तराद्ध कालखण्डमा नेपाली साहित्यमा एकाधिक लेखन देखापरेका हुँदाहुँदै, तिनको नामोल्लेख नगरी सोझो लीलालेखनसित मुखामुखी हुनु पछाडिको मुख्य कारण हो - इन्द्रबहादुर राईको लीला अवधारणाको चिन्तन गर्भमा रहेको अन्तशःआधारसँग उत्तर लीलालेखनको आत्मीय सम्बन्ध ।"

प्रस्तावकद्वय निमा निची शेर्पा अनि सतीश छेत्रीले उक्त नव अवधारणा "उत्तर लीलालेखन" लाई 
"समयले अरू परिमार्जन गर्दै लैजाला भन्ने हित कामनाका साथमा, उत्तर लीलालेखन, लीलालेखनलाई तरल गरेर, केही थप रङ्ग र स्वाद थपेर प्रस्तुत गर्नखोजिएको प्रयास हो भन्न चहान्छौं" भनेका छन् । 

4 comments:

  1. लीलोत्तर लेखन ऊर्ध्वगामी होस्।

    ReplyDelete
  2. आह पढ्न आतुर छु.......

    ReplyDelete
  3. बिशाल छेत्री -घूम

    ReplyDelete
  4. पढ्न मन लागि सक्यो।

    ReplyDelete

Post Bottom Ad