नेपाली भाषामा वर्ण र लिङ्ग व्यवस्थाको समस्या : सूक्ष्मवीक्षण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, September 9, 2019

नेपाली भाषामा वर्ण र लिङ्ग व्यवस्थाको समस्या : सूक्ष्मवीक्षण

  भाषिक चर्चा ______________________________ देवचन्द्र सुब्बा,सिक्किम विश्वविद्यालय   
नेपाली भाषाको नमुना सर्वप्रथम सन् ९८१ मा प्राप्त भएको हो। राजा दामूपालको शिला लेख यसको प्रमाण हो। त्यस समयलाई पक्रेर आउँदा लगभग नेपाली भाषाले आजसम्म एकहजार तीस वर्षको लामो समय काटिसकेको देखिन्छ। यो लामो समयभित्र नेपाली भाषाको रूपमा थुप्रै परिवर्तनहरू भएका छन्। सामाजिक, राजनैतिक, धार्मिक भौगोलिक र शैक्षिक आदि यसका प्रभावहरू हुन्। सुरुदेखि परिवर्तन हुँदै आज आएर नेपाली भाषाले आधुनिक भाषाको रूप पाएको छ।

नेपाली भाषा धेरै अघाडिदेखि लेखिए तापनि नेपाली भाषाको व्याकरण धेरै पछाडि आएर लेखिएको हो। सन् १८२० मा कलकत्ताको फोर्डविलियम कलेजका प्राध्यापक जे ए एटनले ए ग्रामर अफ नेपलिज ल्याङ्ग्वेज भनेर व्याकरण लेखे। आजसम्मको पहिलो नेपाली व्याकरण नै त्यही हो। तर नेपाली भाषामा नै पहिलो नेपाली व्याकरण लेख्ने वीरेन्द्रकेशरी अर्ज्याल हुन्। उनले सन् १९०३-को सुन्दरी पत्रिकामा बेस्सरी नामक लेख छपाएका छन् र त्यसैलाई नेपालीमा लेखिएको पहिलो व्याकरण मानिन्छ। तर यसमा व्याकरण पक्षको भन्दा काव्यगत विशेषताहरूको उल्लेख धेर पाइन्छ। त्यसैले यसलाई पहिलो नेपालीमा लेखिएको व्याकरण मान्न उचित हुन्छ? भन्ने प्रश्न उठ्नु स्वाभविक हो। यसपछि विभिन्न विद्वान्‌हरूले नेपालीमा व्याकरण लेखे। तर आज नेपाली भाषामा व्याकरणका थुप्रै समस्याहरू देखिँदैछ। वास्तवमा नेपाली भाषामा चर्चा र अध्ययन नभएकाले यस्ता समस्यहरू देखिएका हुन्।
नेपाली भाषा भारोपेली परिवारको एउटा शाखा हो। यसको माउ भाषा संस्कृतलाई मानिन्छ। संस्कृतदेखि प्राकृत, अपभ्रंश हुँदै नेपाली भाषा बनेको हो भन्ने विद्वान्‌हरू मान्छन्। तर अझै अनुसन्धान खोज गर्दै जाँदा कति विद्वान्‌हरूले नेपाली भाषा खस भाषाको अपभ्रंशबाट बनेको हो भन्ने तथ्यहरू पनि फेला पारेका छन्। त्यसैले नेपाली भाषाको माउ भाषा अहिले आएर खस भाषालाई मानिन्छ। साधारणतः व्यावहारिक रूपमा प्रयोग हुने नेपाली भाषालाई अध्ययन गर्दा भोट बर्मेली परिवारका शब्दहरू नेपालीमा धेर पाइन्छन्।
आजभन्दा अघिका व्याकरणहरू संस्कृत व्याकरणको नियमअनुरूप लेखिए। नेपालीमा मात्र नभएर प्रायः भारतीय परिवारका भाषाका व्याकरणहरू नै संस्कृत व्याकरणका आधारमा लेखिएका छन्। तर अब आएर नेपाली भाषा आफ्नै खुट्‌टामा उभिन सक्ने भएको छ। तर कतिपय व्याकरणकारहरू यत्रो वर्षदेखि मान्दै आएको संस्कृतको नियमलाई त्यागेर किन नयाँ नियमतिर जाने। नेपाली भाषा पनि संस्कृतिकै उपज हो भन्ने तर्क लिएर आफ्नो पक्षमा पनि उभिएका छन्। यस प्रकारको सोचाइ पनि गलत होइन तर भाषाको आधुनिक तकनिकीद्वारा अथवा आधुनिक अध्ययन गर्दा भाषालाई आफ्नै प्रकृतिद्वारा अध्ययन गरिनुपर्ने हुन्छ। भाषा परिवर्तनशील छ अनि यो कठिनतादेखि सरलतातिर जान्छ। त्यसैले नेपाली भाषा अब संस्कृतको परिधिबाट उम्केर स्वतन्त्र मार्गमा हिड्न तत्पर छ। तरै पनि संस्कृतका कतिपय नियमहरूलाई नेपाली भाषाले चट्‌ट छोड्न सक्तैन। तर कति नियमहरू नेपाली भाषाको प्रकृतिअनुरुप नमिल्ने हुँदा त्यसलाई संशोधन गर्न आवश्यक छ। त्यसैले मूल रूपमा भन्नुपर्दा अब नेपाली भाषा र व्याकरणको अध्ययन गर्न संस्कृत व्याकरण र यसका नियमको साहारा लिनु आवश्यक छैन। किन? भन्ने प्रश्न उठ्लान्, किनभने नेपाली भाषालाई अब यसकै प्रकृतिअनुरुप अध्ययन गर्न सकिन्छ।
हाम्रो यस पुस्ताले संस्कृतको नियमलाई छोडेर आएको धेरै वर्ष भयो। हामी अब संस्कृतको पछाडि जान सक्तैनौँ। हाम्रो समाजमा अब संस्कृत व्याकरणका नियमहरू जान्नेहरू पनि थोरै छन्। पूर्ण नियम नै जान्ने त छैनन् पनि, त्यसैले विद्यार्थीहरूलाई व्याकरण पढाउने, व्याकरणका नियमहरू सिकाउने शिक्षक गुरुबा गुरुमाहरू नै संस्कृत जान्दैनन्। मूलतः अब नेपाली भाषाको अध्ययन गर्न संस्कृत जान्नै पर्छ भन्ने वाध्यता छैन। यसको तात्पर्य संस्कृत तुच्छ हो भन्ने होइन। ध्वनि, वर्ण, रुप, पद, अक्षर, शब्द, वाक्य आदिको विश्लेषण र अध्ययनका मार्ग र नियमहरू संस्कृतकै हुन् तर त्यसलाई हामी नेपाली भाषाको प्रकृतिको आधारमा बुझ्छौँ। त्यसैले संस्कृतका ठुलाठुला नियमहरू पट्‌टि नगएर नेपाली भाषाकै प्रकृतिको सरल नियमअनुसार यसको अध्ययन गरिए भाषा वैज्ञानिक र मौलिक देखिन्छ। साथै नेपाली भाषाले आफ्नै व्याकरण व्यवस्था निर्माण गर्न सक्छ। भाषा जति वैज्ञानिक र सरल हुन्छ उति नै यसको स्तरीयता र प्रचार प्रसार हुनुमा सहयोग हुँदछ। अङ्ग्रेजी भाषामा भारतमा चल्ने लूट, गुरु, बन्द, हडताल योगा शब्दहरू थिएनन् तर यी शब्दहरू उनीहरूका दैनिक जीवनमा चल्न थालेपछि यी शब्दहरू तिनीहरूले ग्रहण गरे। अहिलेको अङ्ग्रेजी अक्सफोर्ड डिक्सनेरीमा यी शब्दहरू पाइन्छन्। खास कुरा के छ भने यिनीहरूले यी शब्दहरूको प्रयोग भारतीय लयमा नै प्रयोग गर्छन् भन्ने छैन। यिनीहरूले आफ्नै भाषाको प्रकृतिअनुसार यी शब्दहरू प्रयोग गर्छन् अनि यस्ता उच्चारण उनीहरूको व्याकरणमा गलत पनि हुँदैन। फलस्वरूप उनीहरूका शब्द भण्डारमा अर्को नयाँ शब्द थपिन्छ।
विभिन्न व्याकरणमा वर्णलाई आआफ्नै प्रकारले परिभाषित गरिएको पाइन्छ। चन्द्रिका व्याकरणअनुसार बोल्दा खेरी आफ्नो मुखबाट जुन ध्वनि (आवाज) निस्कन्छ त्यसलाई वर्ण भन्दछन्। वृहद् व्याकरणअनुसार जुन वर्णात्मक ध्वनिको टुक्रा हुन सक्तैन त्यस्तो सग्लो ध्वनिलाई र त्यो ध्वनिलाई बुझाउने लेखिने अ, , , , ख आदि चिह्नलाई वर्ण भन्दछन्। वृहद् व्याकरणकै अनुरूप पूर्वोत्तर माध्यमिक व्याकरण र रचनाले दिएको वर्णको परिभाषा टुक्राउन नसकिने ध्वनिको एकाइ सूचक लिपि वा मूलध्वनिलाई वर्ण भनिन्छ। उच्च माध्यमिक नेपाली व्याकरण र रचनाअनुसार अर्थमा भिन्नता ल्याउने सबैभन्दा सानो एकाइ वर्ण हो। उपर्युक्त व्याकरणहरूले दिएका परिभाषालाई विश्लेषण गरेर हेर्दा बोल्दा मुखबाट निस्कने सबै ध्वनि वर्ण हुन् भन्ने बुझिन्छ तर मुखबाट निस्कने सबै ध्वनि वर्ण हुन सक्तैन। राई, लिम्बू, शेर्पा, लेप्चा, तामङ आदिले /लामो/ शब्द उच्चारण गर्दा /ल्हामो/ उच्चारण गर्छन्। /ल/ र /आ/ वर्ण हो तर /ल्ह/ वर्ण हुन सक्तैन। यो /ज्ञ/, /क्ष/ जस्तै संयुक्त वर्ण हो। नेपालीमा यस्ता संयुक्त वर्णहरूको एउटा तालिका बनाउनु हो भने हजारौँ संयुक्त वर्णहरू भेटिन्छन्। (दुईवटा व्यञ्जन वर्णहरू मिलेर बनेको वर्णलाई संयुक्त वर्ण भनिन्छ। जस्तै ल् + ह = ल्ह, क्+ष्+अ = क्ष)। फलतः बोल्दा मुखबाट निस्कने सबै ध्वनि वर्ण होइनन्।
वृहद् व्याकरण अनि पूर्वोत्तर माध्यमिक व्याकरणअनुसार टुक्राउन नसकिने ध्वनि वर्ण भनिएको छ। /अ/, /आ/, /इ/ स्वर वर्ण टुक्राउन नसकिए तापनि /ऐ/, /औ/, /क/, /ख/ - लाई टुक्रा गर्न सकिन्छ। /क/, /ख/ व्यञ्जन वर्ण हो अनि यो स्वरको सहयोग बिना उच्चारित हुन सक्तैन। त्यसैले /क/, /ख/ स्वर ध्वनि र व्यञ्जन ध्वनिको संयुक्तमा बनेको वर्ण हो जस्तै /क्/ + /अ/ = /क/ हुन्छ भने /ख्/ + /अ/ = /ख/ हुँदछ। त्यसैले उपर्युक्त परिभाषाअनुसार /क/, /ख/ वर्ण नभएर /क्/, /ख्/ वर्ण हुनुपर्ने स्थिति देखिन्छ। त्यसैले टुक्रा हुन नसक्ने ध्वनिमात्रै वर्ण होइन। मूलतः ध्वनि र वर्णमा भेद छन्। ध्वनिहरू व्यतिरेकि वितरणअन्तर्गत आएपछि मात्र वर्ण वा स्वनिम हुन्छ। वर्ण हुनका लागि व्यतिरेकि हुनु आवश्यक छ। व्यतिरेकि भनेको भिन्नता हो। उच्च माध्यमिक व्याकरण र रचनाले दिएको परिभाषाअनुसार अर्थमा फरक पार्ने सानो एकाइ वर्ण हो, जस्तै /बल/ र /फल/ को अर्थ भिन्न भिन्नै बुझिन्छ। तर /बल/ र /फल/ एउटै परिवेशका ध्वनि हुन्। यहाँ आएका /ब/ र /फ/-ले अर्थमा परिवर्तन आएको छ। /ब/ र /फ/-ले अर्थमा भिन्नता ल्याएको हुनाले यो वर्ण हो। /ल/-लाई पनि यस्तै परिवेशमा राखेर हेरे यसले पनि अर्थमा भिन्नता ल्याएको हुन्छ र /ल/ पनि वर्ण हो। त्यसैले अर्थमा विभिन्नता ल्याउने सानो एकाइ वर्ण हो भन्ने परिभाषा वैज्ञानिक र युक्तिपूर्ण देखिन्छ।
प्रत्येक भाषाका आआफ्नै वर्ण व्यवस्था छन्। अब नेपालीमा कतिवटा वर्ण मान्ने भन्ने प्रश्न छ। पारम्पारिक व्याकरणअनुसार अथवा वृहद्, चन्द्रिका, पूर्वोत्तर माध्यमिक व्याकरण र अन्यले ११ वटा स्वर वर्ण र ३३ वटा व्यञ्जन वर्ण मानेका छन्। तर लिखितमा १३ वटा स्वर अनि ३६ वाट व्यञ्जन वर्ण देखिन्छ। जस्तै
अ आ इ ई
उ ऊ ऋ ए
ऐ ओ औ अं, आः

व्यञ्जन वर्ण-
क ख ग घ ङ
च छ ज झ ञ
ट ठ ड ढ ण
त थ द ध न
प फ ब भ म
य र ल व श
ष स ह क्ष त्र
ज्ञ
कति ठाउँ /ड़/, /ढ़/ लाई पनि वर्ण भनेर राखिएको छ। यसलाई उच्चारण गर्दा /अड़/, /अढ़/ भनेर उच्चारण गर्छौँ। वास्तवमा यो गलत उच्चारण हो अनि यो वर्ण नभएर संवर्ण हो। उपर्युक्त वर्ण व्यवस्थाका तालिका संस्कृत व्याकरणका आधारमा विद्वान्‌हरूले बनाएका हुन्। उनीहरूले आफुले जस्तो सिके उस्तै ढङ्गमा वर्णहरू राखे। त्यसकारण यसलाई उनीहरूको महानता मान्नु पर्छ।
त्यसताक नेपाली भाषाको स्वतन्त्र अध्ययन गर्ने अथवा वैज्ञानिक रूपमा अध्ययन गर्ने कुनै व्यवस्था थिएन मूलतः नेपाली भाषाले आजको रूप पाएकै थिएन त्यसैले संस्कृत पढेका विद्वान्‌हरूले नेपालीमा पनि संस्कृत शब्दमा मात्र उच्चारण हुने कतिपय वर्णहरू राखे। अतः कति नेपाली वर्णमालामा /लृ/, /ळ/ आदि वर्णहरू देखिन्छन्। चन्द्रिका व्याकरणले /दीर्घ ऋ/, /लृ/ हाम्रो नेपाली भाषाका शब्दमा काम पर्दैन भनेर निकाले। वृहद् व्याकरणले /दीर्घ ऋ/, /लृ/ नेपाली भाषामा छैन भने। पूर्वोत्तर माध्यमिक व्याकरणले स्वर ११ र व्यञ्जन ३३ मान्दै पनि नेपाली भाषामा प्रयोग उति नभएका संस्कृतका अरू तीनवटा स्वर- दीर्घ ऋ, लृ र लृ जोड्दा र अं, आः लाई पनि मान्दा स्वर वर्ण जम्म १६ हुन्छ भनेर प्रस्ताव राखे। जुन वर्णहरू चन्द्रिका र वृहद् व्याकरणले निकालिसकेका छन्। वस्तुतः यी सबै वर्णहरू संस्कृत व्याकरण पढेका र संस्कृत सिकेका विद्वान्‌हरूले संस्कृतकै ध्वनि उच्चारणका अवस्थालाई हेरेर राखेका हुँदा माथि दिइएका वर्णहरू मध्ये नेपाली भाषामा कतिपय वर्णहरू उच्चारित हुँदैनन्। नेपाली भाषामा उच्चारित हुँदैन भन्नुको तात्पर्य नेपाली जिब्रोले उच्चारण गर्ने सक्तैन अथवा नेपाली मौलिक शब्दको उच्चारण ती ध्वनिहरू पर्दैन भन्ने हो। त्यसैले नेपालीमा उच्चारित स्वर वर्ण छवटा देखिन्छन् - /अ/, /आ/, /इ/, /उ/, /ए/, /ओ/।
सन् १९१८ मा वेलायतका भाषा विज्ञानिक डेनियल जोन्सले संसारका भाषाहरूको अध्ययन गर्नेका लागि एउटा काल्पनिक स्वरको अवधारणा राखे जसलाई मानस्वर भनिन्छ। संसारका सबै भाषाहरूको ध्वनिलाई एकै साथ अध्ययन गर्न नसकिने हुनाले उनले यो अवधारणा राखेका हुन्। यो संसारको कुनै ध्वनिहरूसँग मिल्न पनि सक्छ नमिल्न पनि सक्छ। तर यसको आधारमा संसारका कुनै पनि भाषाका ध्वनिहरूलाई वर्गिकरण गर्न सकिन्छ। मानस्वरहरूको निर्धारण जिब्राको उचाइ र पश्चता तथा ओठको गोलाइका आधारमा गरिएको हो। नेपाली भाषामा /इ/ र /ए/ को उच्चारण गर्दा जिब्राको अघिल्लो भाग सक्रिय हुन्छ साथै ओठ फारिएको हुन्छ वा तथस्ट हुन्छ। त्यसरी नै /आ/ उच्चारण गर्दा जिब्राको केन्द्रीय भाग सक्रिय हुन्छ र ओठ तथस्ट नै रहन्छ। तर /उ/, /ओ/, को उच्चारण गर्दा जिब्राको पश्च भाग सक्रिय हुन्छ र ओठको गोलो आकार बनिएको हुन्छ। /अ/ को उच्चारणमा जिब्राको पश्च भाग नै सक्रिय रहे तापनि ओठको स्थिति गोलाकार हुँदैन त्यसैले /अ/, /आ/, /इ/, र /ए/ नेपाली भाषाका अगोलित स्वर हुन् भने /उ/ र /ओ/ चाहिँ गोलित स्वर हुन्। नेपाली भाषाका एकस्वरलाई मानस्वर चतुर्भुजअन्तर्गत यसरी देखाउन सकिन्छ।
अग्र केन्द्रीय पश्च
इ उ
ए ओ
अब कतिको मनमा प्रश्न आउला कि /ऐ/, /औ/ पनि नेपाली उच्चारण हुन्छ जस्तै ऐय्या, औँली आदि तर /ऐ/, /औ/ द्विस्वर अथवा संयुक्त स्वर हो। /अ/+/इ/ = /ऐ/ को उच्चारण /अइ/ अनि /अ/+/उ/ = /औ/ को उच्चारण चाहिँ /अउ/ गर्छौँ। त्यसै कारण /ऐ/, /औ/ स्वतन्त्र स्वर होइन। नेपाली /ई/, /ऊ/ को उच्चारण हुँदैन। भाषावैज्ञानिक र ध्वनि सिद्धान्तको आधारमा यो प्रमाणित भइसकेको छ। भनेपछि नेपालीमा उच्चारित स्वरहरू छवटा छन् र पारम्पारिक स्वर वर्णको साटो नयाँ व्याकरणहरूमा छवटा स्वर वर्ण देखाएका छन्। व्यञ्जन वर्णको चर्चा गर्दा पनि पारम्पारिक व्याकरणका कतिपय व्यञ्जन वर्णहरू नेपाली मौलिक शब्दमा उच्चारित हुँदैन। त्यसैले नेपाली उच्चारित व्यञ्जन वर्ण २९ वटा छन्
क ख ग घ ङ
च छ ज झ ------
ट ठ ड ढ -------
त थ द ध न
प फ ब भ म
य र ल व -------
स ह

कतिले प्रश्न गर्ने गर्छन् /ञ/, /ण/, /श/, /ष/, /ड़/, /ढ़/ कता गए ? त्यसैले यो जान्न आवश्यक छ कि /ञ/, /ण/, /श/, /ष/ वास्तवमा संस्कृतका वर्णहरू हुन्। हुन त नेपालीका स्वर-व्यञ्जन वर्ण सबै संस्कृतबाटै लिइएका वर्णहरू हुन् तर मूलतः /ञ/, /ण/, /श/, /ष/, वर्णहरू संस्कृत अथवा तत्सम शब्दकै लागि मात्र उच्चारण वा प्रयोग गरिने वर्ण हुन्। नेपाली मौलिक शब्दमा यी वर्णहरू प्रयोग हुँदैनन्। जस्तै चञ्चल, आदरणीय, शैली, शेष आदि तत्सम शब्द हो र यहाँ यी वर्णहरू आएका छन्। तर हामी /दशैँ/ लेख्छौँ अनि उच्चारणचाहिँ /दसैँ/ गर्छौँ। /दसैँ/ तत्सम शब्द होइन यसलाई /दसैँ/ लेख्दा नै सही हुन्छ। अर्को शब्द छ /गोर्खाल्याण्ड/ यहाँ /गोर्खा/+/ल्याण्ड/-को समासमा /गोर्खाल्याण्ड/ शब्द बनेको छ। /गोर्खाल्याण्ड/-मा प्रयुक्त /ल्याण्ड/ शब्द अङ्ग्रेजी शब्द हो। त्यसैले यसको उच्चारणमा पनि /ण/-को उच्चारण नगरेर /न/-को उच्चारण गर्छौँ। त्यसैले /गोर्खाल्याण्ड/ नलेखेर /गोर्खाल्यान्ड/ लेख्दा त्यो अझै मौलिक र वैज्ञानिक देखिन्छ। अब रह्यो /ड़/, /ढ़/। मूलतः /ड़/, /ढ़/ /ड/, /ढ/ कै संवर्ण हुन्। संवर्ण भन्नाले अलग अलग ध्वनि सुनिए तापनि अर्थमा फरक नपार्ने वर्ण संवर्ण हो। जस्तै /डाड़ा/ र /डाडा/ मा अर्थको कुनै फरक छैन। यहाँ उच्चारणको फरक अथवा ध्वनिको भिन्नता देखिन्छ। वास्तवमा हाम्रो ध्वनि उच्चारणको संस्कार नै /ड़/ /ढ़/ मा भएको हुनाले यस ध्वनिलाई हाम्रो संस्कार र जिब्रोले छोडन चहाँदैन। यसको उच्चारण हामी /अड़/, /अढ़/ भनेर गर्छौँ। त्यसैले अब /डाडा/ को उच्चारण गर्दा हामीले /डाअड़ा/ गर्नुपर्ने देखिन्छ। त्यस्तै /पढ/ नभनेर /पअढ़/ भन्नुपर्ने हुन्छ। वास्तवमा /ड/ र /ढ/ नै कुनै कुनै विशेष ठाउँमा /ड़/ र /ढ़/ को उच्चारणमा देखापर्छ। यसलाई भाषाविद्हरू यसरी देखाउँछन्-
पदादि स्वरमध्य पदान्त द्वित्व न् पछाडि
, ढ + X X + +
ड़, ढ़ X + + X X

पदादि- डकार, डमरु, ढोलक, ढाल
स्वरमध्य- ओड़ार, बड़ार्नु
पदान्त- पहाड़, ढ़ाड, कोढ़
द्वित्व- अड्डा
न् वा ण् पछाडि- झन्डा, डन्डा, ढण्ड, पिण्ड

त्यसैले हामी केवल उच्चारणमा /ड़/ र /ढ़/ उच्चारण गर्छौँ वास्तवमा यो /ड/ र /ढ/ कै संवर्ण हुन्। /ड़/ र /ढ़/ भन्ने कुनै वर्ण संस्कृतमा पनि छैन। आधुनिक संस्कृतका मै हु भन्ने विद्वानहरू कता कता यी वर्णहरू प्रयोग गरेका देखिन्छन्। मूलतः यी संवर्ण नै हुन्। नेपालीमा यस्तो वर्णहरू बिहारी मास्टरहरूले भित्राएका हुन्। इन्द्रबहादुर राई भन्छन्-१८७० तिरबाट १९३३ सम्म झन्डै ६५ वर्ष बिहारी मास्टरहरूले हामीलाई पढाए। उनीहरूको हामी गुन मान्छौँ। हिन्दी पढ्दा /ह्‌ड/, /ह्‌ड़/ लाई /ड़/, /ढ़/ रूपमा चिन्यौँ। उनीहरूले हिन्दीमा /ड़/, /ढ़/ पढ्न लेख्न सिकाए।
नेपाली भाषामा लिङ्ग व्यवस्था- चन्द्रिका व्याकरणले लिङ्गको परिभाषा यसरी दिएका छन्- नामबाट स्त्री’, ‘पुरुष’, ‘निर्जीवभन्ने जो विशेष बुझिन्छ त्यसलाई लिङ्ग भन्दछन्।वृहद् व्याकरणअनुसार शब्दमा रहेको पुरुष, स्त्री, निर्जीव जातिलाई बुझाउने शक्तिलाई लिङ्ग भन्दछन्।पूर्वोत्तर माध्यमिक व्याकरणले पनि वृहद् व्याकरणलाई नै अघि सार्दै लिङ्गको अर्थ चिह्न हो। अर्थात पुरुषजाति, स्त्री जाति वा निर्जीव जातिलाई बुझाउने शक्तिलाई लिङ्ग भन्दछन्।भन्ने परिभाषा दिइएका छन्। माध्यमिक नेपाली व्याकरण र रचनाले पनि साधरणतः पुरुष वा स्त्रीको ज्ञान गराउनेलाई लिङ्ग मानिन्छ भन्ने परिभाषा दिएका छन्। उच्च माध्यमिक व्याकरण र रचनाअनुसार लिङ्ग भनेको पुरुष वा स्त्रीको भिन्नतालाई जनाउने व्याकरणिक कोटी हो।नेपालीमा लिङ्ग तीन प्रकारको मान्ने चलन छ पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसकलिङ्ग। अझ कसैले सामान्यलिङ्गको पनि चर्चा गरेको पाइन्छ। मूलतः लिङ्गभेद गर्दा प्राकृतिक लिङ्ग र भाषिक लिङ्ग दुई अलगअलग विषयको ज्ञान हुन आवश्यक छ। त्यसैले उपर्युक्त परिभाषाहरू प्राकृतिक लिङ्गका लागि दिइएको परिभाषाजस्तो देखिन्छ। किनभने प्राकृतिक लिङ्गभेद र भाषिक लिङ्गभेदमा अन्तर छ। प्रकृतिमा स्त्री, पुरुष र नपुंसकको साधारण प्रकारले नै भेद देखिन्छ तर भाषिक लिङ्गभेद सरल छैन। यसको तात्पर्य कठिन भन्ने होइन। यसका केही विधि र नियमहरू छन्। त्यसैले स्त्री पुरुष बुझाउन मात्रैले भाषामा लिङ्ग भेद हुँदैन। पारम्पारिक व्याकरणअनुसार नेपालीमा लिङ्ग भेद यसरी गरिएको देखिन्छ
पुलिङ्ग स्त्रीलिङ्ग
केटो केटी
राम सिता
भङ्गेरो भङ्गेरी
भाले पोथी
भोटे भोटेनी
काका काकी
नपुंसक लिङ्गमा चाहिँ घर, वन, पुस्तक, हलो, पल्टन आदि भन्ने छ। साथै कुनै शब्दले स्त्री र पुरुष समान बुझाए त्यसलाई सामान्यलिङ्ग भन्ने गरिन्छ जस्तै- मान्छे, किरो, चरो, पशु, मित्र आदि। अब केटोको केटी स्त्रीलिङ्ग हुँदा अथवा भङ्गेरोको भङ्गेरी स्त्रीलिङ्ग हुँदा कोदालोको कोदाली, पुस्तकको पुस्तिका, भित्रको भित्री, आराको आरी, गाग्रोको गाग्रीचाहिँ किन स्त्रीलिङ्ग नभएको? किन यसलाई नपुसंकलिङ्गअन्तर्गत राखिएको? यहाँ स्त्रीलिङ्ग बनाउने नियम अथवा स्त्रीत्वबोधक /ई/ प्रत्यय नै प्रयोग गरिएको हुँदा पनि यसलाई नपुसंकलिङ्ग मानिन्छ। त्यसैले भाषिक लिङ्गअन्तर्गत स्त्री र पुरुष छुट्ट्याउने शब्दको शक्ति मात्रै लिङ्ग होइन। अघि नै भनिए झैँ लिङ्ग वास्तवमा व्याकरणिक कोटी हो एउटा चिह्न हो। लिङ्गले स्त्री पुरुष छुट्ट्याउँछ तर त्यसबाहेक आकार, आयतन, मूर्त, अमूर्तका आधारमा पनि लिङ्गका भेद हुन्छन्। त्यसैले कोदालोको कोदाली आकारको आधार, पुस्तकको पुस्तिका आकारको आधार, भित्रको भित्री मूर्त अमूर्तको आधारमा गरिएको लिङ्गका भेद हुन्। नेपालीमा लिङ्ग भेद जान्ने सरल उपाय हो क्रियापदमा हुने रूपायन। नेपाली भाषामा शब्द र वाक्य दुवैमा लिङ्ग भेद देखिन्छ। अङ्ग्रेजीमा शब्दमा लिङ्ग भेद देखिए तापनि वाक्यमा लिङ्ग भेद देखिँदैन। जस्तै- /Ram is going./, /Sita is going/, /Bus is going/ तर नेपालीमा भने लिङ्ग भेदका लागि क्रियापदमा रूपायन हुन आवश्यक छ। जस्तै- /राम जान्छ/, /सिता जान्छे/, /गाडी जान्छ/। /राम/ र /गाडी/-को क्रियापदमा कुनै रूपायन देखिँदैन तर /सिता/-को क्रियापदमा /जान्छे/ भएर रूपायन भएको छ। त्यसैले नेपाली भाषामा लिङ्ग भेद गर्दा नपुंसक र सामान्यलिङ्ग गर्नुपर्ने कुनै ठुलो प्रयोजन देखिँदैन। तर संस्कृतको नियम नै पक्रेर संस्कृतिकै लिङ्ग भेदको नियमलाई पछ्याएर गइरहनु हो भने नेपाली भाषाको आफ्नै व्यवस्था कहिले पनि निर्माण हुन सक्तैन। यसर्थ नेपालीमा दुई प्रकारको लिङ्ग मान्दा अनुचित हुँदैन। नेपाली भाषामा स्त्रीलिङ्ग छ। यसको नाम अनि क्रियापद दुवैमा रुपायन हुन्छ तर पुलिङ्ग, नपुसंकलिङ्ग अनि सामान्यलिङ्गको क्रियापदमा कुनै रूपायन देखिँदैन। जस्तै- /राम भोलि जान्छ/, /त्यो मान्छे भोलि जान्छ/, /मेरो गाडी भोलि सिलगढी जान्छ/। यहाँ पुलिङ्ग, सामान्यलिङ्ग र नपुंसकलिङ्गमा /जान्छ/ क्रियाको कुनै परिवर्तन देखिँदैन। अर्को उदाहरण- /सुकमित आई /, /डपछिरिङ आयो/, /गाई आयो/, /गोरु आयो/, /रिक्सा आयो/ यहाँ सुकमितको क्रियापद /आई/-बाहेक सबैको क्रियापद /आयो/ नै छ त्यसमा कुनै रूपायन भएको छैन। अर्को कुरो पारम्परिक व्याकरणअनुसार /गाई/ स्त्रीलिङ्ग हो अनि /सुकमित/ पनि स्त्रीलिङ्ग हो तर /सुकमित/-मा क्रियापद /आई/, छ भने /गाई/-मा /आयो/- नै छ। त्यसैले नेपाली भाषामा विशेष गरी मानवीय नामको प्रयोगमा मात्र लिङ्गभेद गर्ने चलन छ। अझ अर्को चाखलाग्दो उदाहरण हेरौँ- /कृष्ण आयो/ र /कृष्ण आई/ यहाँ पहिलो पदको /कृष्ण/-मा /आयो/ क्रियापद छ भने दोस्रो /कृष्ण/ पदमा /आई/ क्रियापद छ। त्यसैले पहिलो पदको /कृष्ण/-ले केटो भन्ने बुझिन्छ भने दोस्रो पदको /कृष्ण/-ले केटी भन्ने बुझाउँछ। यो स्त्री लिङ्ग र पुलिङ्को भेद क्रियापदमा भएको रूपायनको आधारमा छ। त्यसैले नेपालीमा लिङ्गभेद गर्दा स्त्रीलिङ्ग र पुलिङ्ग वा सामान्यलिङ्ग अथवा मानवीय लिङ्ग र मानवेतर लिङ्ग गर्दा कुनै गल्ती नहुने देखिन्छ। यसो गर्नाले संस्कृतको कुनै ठुला ठुला नियमलाई सन्दर्भ गरिरहनुपर्ने हुँदैन। सरल व्यवस्थाले लिङ्गभेदको व्याख्या गर्न सकिन्छ। भारोपेली भाषा परिवारका कतिपय भाषाहरूमा लिङ्गभेद हराउँदै गएको भाषाविद् माधाव पोखरेलले मानेका छन्। जस्तै आसामी, उडिया, बङ्गाली भाषामा लिङ्गभेद पाइँदैन। भोट-बर्मेली भाषाहरूमा पनि लिङ्गभेद हुँदैन। लिम्बू, तामाङ, मगर आदि भोट-बर्मेली भाषाहरूमा लिङ्गभेद पाइन्दैन। भारोपेली भाषाहरूमा लिङ्गभेद हराउनुको एउटा कारण भोट-बर्मेली भाषाहरूको प्रभाव हुन सक्ने माधाव पोखरेलले बताएका छन्। नेपालबाहेक भारतीय नेपालीहरूमा हिजो आज लिङ्गभेद लेख्य रूपमा मात्रै सिमित रहेको देखिन्छ। कथ्य भाषामा लिङ्गभेद हराउँदै गइरहेको छ। दार्जिलिङ, कालेबुङ, खर्साङ र तराई-डुवर्सतिर बोलिने नेपाली भाषामा लिङ्गभेद पाइँदैन। भाषामा ध्यान दिने वा अध्ययन गर्नेहरू र कतिपय खस परिवार भित्रकाहरूले मात्रै कथ्य भाषामा पनि लिङ्गभेद गर्छन्। तरै पनि धेरैजनाले /बहिनी आयो/, /दाजु आयो/, /आमा आयो/, /बाबा आयो/, /गाडी आयो/, /कुकुर आयो/, /गाई आयो/, /मान्छे आयो/ नै भन्छन्। भारतीय नेपाली भाषामा लिङ्गभेद र आदर्थीको प्रयोग विस्तारै कम्ति हुँदै गइरहेको छ। त्यसैले भारतीय नेपाली भाषाको छुट्टै व्याकरण लेखिए त्यहाँ लिङ्गभेद हराएर जाने सम्भावनाहरू थुप्रै छन्।
नेपाली भाषामा अझै कतिपय समस्याहरूको समाधान हुन आवश्यक छ। कतिपय व्याकरणकारहरूले संस्कृतलगायत अन्य भाषाबाट पनि जस्ताको तस्तै नेपाली भाषामा आएका शब्द तत्सम् शब्द हुन् र रूप परिवर्तन भएर भाव मात्र आए ती तत्भव शब्द हुन् भनेर लेखिदिएका छन्। विद्यालय, महाविद्यालयतिर यस्तै पढाइरहेका छन्। यस्तो गलत लेखनले नेपाली भाषामा अझ समस्या उत्पन्न गराउँछ। वास्तवमा संस्कृतबाट नेपालीमा रूप र अर्थसँग सोझै आएका शब्द मात्रै तत्सम शब्द हुन् भने रूप परिवर्तन भएर भाव वा अर्थ त्यही भए त्यो तत्भव शब्द हो। कतिपय व्याकरणका किताबहरूमा जुलाबी, कुकर, पेन, इमान, खबर सबै तत्सम् शब्द भनेर लेखिदिएका छन्। यी आगन्तुक शब्द हुन्। आगन्तुक पनि देशज र विदेशज भनेर छुट्ट्याएका छन्। तर यसलाई छाप्ने प्रकाशक र पढाउने गुरुबा, गुरुमाहरूले पनि त्यही पढाइरहेका छन्। यस्तो गलत पढाइ र लेखाइले नेपाली भाषाको विकास कसरी हुन सक्ला?

1 comment:



  1. ##साह्रै न्यायसंगत,बैज्ञानिक र तर्कसंगत रचना। बिसेस भाषा-ब्याकरणगत सम्पूर्ण मानकदण्डहरु आधारित प्रत्येक परिच्छेदहरु विश्लेषणात्मक र आधुनिक कशीमा खरो वा ठोस लगेको छ।एउटा रिक्वेस्ट गर्नु मन लाग्यो कृपया यसलाई दैनिक पत्रिकातीर छपाउनु भए समस्त जनमानस लाभान्वित हुनेथ्यो। धन्यबा एकचोटि फेरि यति उपयोगी लेखको निम्ति।

    ReplyDelete

Post Bottom Ad