२०५ औँ भानु जयन्ती पालन; कथाकार निरज थापा स्व. पूर्ण राई स्मृति पुरस्कार अनि कवि जय क्याक्टस भाइचन्द प्रधान स्मृति पुरस्कारले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 13, 2019

२०५ औँ भानु जयन्ती पालन; कथाकार निरज थापा स्व. पूर्ण राई स्मृति पुरस्कार अनि कवि जय क्याक्टस भाइचन्द प्रधान स्मृति पुरस्कारले सम्मानित

गफसफ.com, कालेबुङ, 13 जुलाई ।
२०५ औँ भानु जयन्तीको अवसरमा कथाकार निरज थापालाई स्व. पूर्ण राई स्मृति पुरस्कार अनि कवि जय क्याक्टसलाई १५औँ भाइचन्द प्रधान पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य अध्ययन समितिले वर्षेनी भानु जयन्ती समारोहका दिन प्रदान गर्ने उक्त पुरस्कार आज सप्तश्री ज्ञानपीठको प्रेक्षागृहमा आयोजित कार्यक्रममा कथाकार निरज थापा अनि कवि जय क्याक्टसलाई प्रदान गरिएको हो।
कथाकार निरज थापा (देब्रे) अनि कवि जय क्याक्टस (दाहिने) पुरस्कार ग्रहण गर्दै
‘कथायाम’ – कथासङ्ग्रहका कथाकार निरज थापा वर्तमान भारतेली नेपाली साहित्यका उम्दा कथाकार हुन्। नेपाली साहित्य अध्ययन समितिको मुखपत्र साहित्य सङ्केतमा प्रकाशित उत्कृष्ट कथाको निम्ति प्रदान गरिने स्व. पूर्ण राई स्मृति पुरस्कार निरज थापाको बिएमडब्ल्युकथाका निम्ति प्रदान गरिएको हो। उनको उक्त कथा साहित्य सङ्केतको वर्ष ४९, अङ्क -३६ मा प्रकाशित भएको थियो। कथाकार थापालाई नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतारको बाहुलीबाट अङ्गवस्त्र ओढाएपछि विशिष्ट अथिति जोक चामलिङको बाहुलीबाट स्व. पूर्ण राई स्मृति पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा १५औँ भाइचन्द प्रधान स्मृति पुरस्कार कवि जय क्याक्टसलाई प्रदान गरिएको थियो। पेदोङ सरकारी महाविद्यालयका प्रा. दिपेश लामाले कवि जय क्याक्टसको परिचयसँगै उनको कविता लेखन माथि टिप्पणी राखेका थिए। यसक्रममा कवि मोहन ठकुरीको बाहुलीबाट अङ्गवस्त्र ओढाएपछि समितिका अध्यक्ष ज्ञान सुतारको बाहुलीबाट स्मृति चिन्ह सँगै विशिष्ट अथिति फानुस सादाको बाहुलीबाट १५औँ भाइचन्द प्रधान पुरस्कार प्रदान गरिएको थियो। यस अवसरमा भाइचन्द प्रधानका छोरा सञ्जय प्रधानको बाहुलीबाट पनि पुरस्कार प्रापक जय क्याक्टसलाई स्मृति चिन्ह प्रदान गरिएको थियो।

कविता कृतिको निम्ति प्रदान गरिने भाइचन्द प्रधान स्मृति पुरस्कार कवि जय क्याक्टसलाई उनका कविता सङ्ग्रह शब्दयात्राको निम्ति पदान गरिएको हो। भारतेली नेपाली साहित्यमा समालोचकका रूपमा प्ररिचित रहेका कवि जय क्याक्टसले १५ औँ भाइचन्द प्रधान पुरस्कार ग्रहण गरेपछि आफ्नो अझ जिम्मेवारी बढेको बताउँदै पाठकहरूकै मायाको कारण आज उक्त पुरस्कारले सम्मानित बन्न सकेको बताए। उनले पुरस्कार पाउँदा खुशी निश्चय हुने बताउँदै उक्त पुरस्कारले आफु मात्र सम्मानित नबनेर आफ्नो सम्पूर्ण गाउँ नै सम्मानित बनेको पनि उनले महशुस गरेको बताएका छन्।
नेपाली साहित्य अध्ययन समितिको आयोजनामा प्रत्येक वर्ष पालन गरिन्दै आइरहेको भानु जयन्ती समारोहको पहिलो चरण बिहान कालेबुङको थाना डाँडा स्थित आदिकवि भानुभक्तको सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्ने कार्य सम्पन्न भएको थियो। यस अवसरमा अध्ययन समितिका अध्यक्ष ज्ञान सुतार, सचिव बलभद्र शर्मा लगायत अन्य अतिथिवर्गसँगै विभिन्न संघ संस्थाका प्रतिनिधीवर्ग अनि विभिन्न विद्यालयका विद्यार्थीवर्गहरूले पनि माल्यर्पण गरेका थिए। उक्त कार्यक्रमपछि दोस्रो चरणको कार्यक्रम भने सप्तश्री ज्ञानपीठको प्रेक्षागृहमा सम्पन्न भएको हो।
दोस्रो चरणको उक्त कार्यक्रममा नेपाली रामायण पाठ प्रतियोगिता अनि नेपाली लोगगीत गायन प्रतियोगिता सम्पन्न भएको थियो। यसै अवसरमा कालेबुङका आईसीएसई अनि आईएससी परिक्षामा नेपाली विषयमा सर्वाधिक अङ्क प्राप्त गर्ने छात्र अनि छात्रालाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो।

2 comments:

Post Bottom Ad