मेरो प्रश्न आफैलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 4, 2019

मेरो प्रश्न आफैलाई

   विचार/ राजनीति ___________________________________ सचिन चामलिङ राई   
विगतमा पहाड़मा डाकिएको ऱ्याली होस् वा जनसभा; सहभागिता जनाउन नसक्ने गोर्खा परिवार विरुद्ध जाति विरोधी ट्याग लगाउने गोरामुमो र गोजमुमो दलले फर्जी जातीयतावाद फैलाएका हुन् कि होइनन्? गोरामुमो वा गोजमुमो दलले डाकेको जनसभा र ऱ्यालीमा उपस्थिति दिएर मात्र पहाड़का गोर्खाजनले जातीयताप्रति प्रतिबद्ध रहेको प्रमाण दिनुपर्ने तर्कलाई फर्जी जातीयतावाद भन्न कतै समस्या पर्छ त? फर्जी जातीयतावाद फैलाउने पहाड़का यी दलहरूले कुन बुद्धिमता प्रयोग गरेर कन्हैया कुमार विरुद्ध गरिएको फर्जी राष्ट्रवादलाई चिनोस्? टुकड़े टुकड़े ग्याङ वा अर्बन नक्सलाइट वा पप्पु वा छोरा-छोरी नभएको नेताहरूले किन भ्रष्टाचारमार्फत चोरी गर्छन्? जस्ता नारा जन्माउने भाजपाको नियतमाथि विश्लेषण गरेर किन हाम्रो समाज केन्द्रित यी विषयहरूको तर्क र चर्चा गरेनन् नि? बुझ्न गाह्रो छैन।

अरुन्धती रोयले जब "म पनि अर्बन नक्सलाइट" भनेर घोषणा गरिन् तब लगत्तैपछि वालमा अर्बन नक्सलाइट लेखेर सस्तो विज्ञापन छाप्ने आरएसएसपन्थी बोगटीले कुलबर्गी र गौरी लङ्केश चिन्दैनन्। अचम्भ के भयो भने तथाकथित कमरेटहरूले, आदर्शवाद कम्युनिष्टले पनि किरण शर्मा र टीका भाइको मुखमा बुच्चो ठोकिदियो। मतलब आच्ची खाइदियो। प्रतिबद्धता मात्र शृङ्गार भिरेको दलले पहाड़को राजनीतिमा कर्पोरेट जगतको राजु बिष्टलाई स्वागत जनाएको क्षण आत्महत्या गरेको थियो। तर लोकसभा चुनाउमा आत्महत्या गरेको तथाकथित कम्युनिष्टले उप-चुनाउमा जीवित रहेको प्रमाण गर्न अझ झुर व्यक्तिलाई समर्थन जनाइरहेको छ। तिनले 2017 को आन्दोलन अवधि अलजजीरा च्यानलले सोधेको प्रश्नमा भारतीय गोर्खाहरूको प्रसङ्गमा गोर्खाल्याण्डबारे सबैभन्दा झुर उत्तर दिएका थिए। उनले हाम्रा गोर्खे आइपीएस, आइएफएस अधिकारी छैनन् र यो आन्दोलन भएको हो भनेका थिए। तिनको पत्रकारिताको फाँट त्यति बेला नै थाहा पाइएको हो।
2017 को 104 दिनव्यापी आन्दोलनकाल अवधि दिल्ली अभियानमा हाँक्किएका निरज जिम्बालाई 86 को कम्युनिष्ट नबन्ने मैले सुझाउ के लेखेको थिएँ जिम्बाले त तत्कालै मलाई सोसल मिडियामा अनफ्रेण्ड हानेका थिए। त्यतिखेर बुझेकै थिइनँ। तर पछि जिम्बाको विष पुरुषदेखि चौकीदार अवतरणले मात्र बुझ्न सकेको हो यिनी अवसरवादी नेता हुन्। सार्वजनिक केटाकेटी घोषणा गर्ने बोगटीले अहिले चुइचुइ जिम्बा बोक्दैछन्। बोगटीले उनैलाई बोक्छन् जसले बोकेको पारिश्रमिक तिर्न सक्छ। सर्वत्र पहाड़मा ममता ब्यानर्जीको विरोध हुँदा तृणमूल कङ्ग्रेसलाई बोक्ने नेता निरज जिम्बा पनि त हो। मिरिक म्युनिसिप्यालिटीमा तृणमूलको जितबारे जिम्बाले दिएको वक्तव्य र गोरामुमोको अड़ानप्रति अहिले भुल्याउने राजनीति हुँदैछ।
आन्दोलन दबाउन राज्यलाई पत्राचार गरेर विष पुरुषले चर्चित बन्न पुगेका नेता अहिले चौकीदार बन्ने रे? राज्य प्रशासनका नाना भाँती उत्पीड़न किन अहिले मात्र देख्दैछ? जिम्बाले यता दलाली गर्दा पनि ठिक, उता दलाली गर्दा पनि ठिक। तर दलाली त दलाली नै हो।
भ्रष्टाचारको अन्त, वार्षिक दुई करोड़ रोजगार, प्रत्येकको ब्याङ्क खातामा पन्ध्र लाख, आतङ्कवादको अन्त्य, स्वच्छ भारत, गङ्गाको सफाइ, फर्जी राष्ट्रवाद आदि देशको आम चुनाउमा मुद्दा थियो।
राष्ट्रवादमाथि हाम्रो आफ्नै सङ्घर्षको सेरोफेरोमा दलबहादुर गिरी, दुर्गा मल्ल, रामसिंह ठकुरी लगायत नेताजी सुभाषचन्द्र बोससित देशको स्वतन्त्रता सङ्ग्राममा आइएनएमा सामेल भएर शहादत दिएका वीर गोर्खा सपुतहरू अनि स्वतन्त्रता सङ्ग्रामी छबिलाल उपाध्यायकी नातिनी कसरी ओझेल बने? यतिसम्म प्रश्न गर्न नसक्ने जमातले ममता सरकारको क्रुरता र निर्दयी प्रवृत्ति भनेर मात्र बताइरहेको छ। त्यो त केटाकेटीलाई पनि थाह छ। त्यसको विपरीत के कति गर्नसक्यो र गर्नसक्छ? बताइरहेको छैन। अर्कामाथि औलो उठाएरै काम फत्ते गर्ने रणनीति अपनाइरहेको छ। समग्र मुद्दाहरूलाई भुलाएर बालाकोट सर्जिकल स्ट्राइक, सिटिजनसिप एमेण्डमेण्ट बिल र चुनाउ मेनिफेस्टोले जनजाति मुद्दा, गोर्खाको सपना, पहाड़बाट युवा जमातको पलायनलाई ढाक्ने भरमग्दुर प्रयास गरिँदैछ।
गोर्खाहरूलाई मोहोरा बनाउँदै असमको तेजपुरबाट आरपी शर्मालाई कटौती गरेपछि मणिपुरको राजु बिष्टले दार्जीलिङमा टालटुल पार्ने दलको नियत र रणनीति बुझ्न र खुट्याउन नसक्नु हाम्रो कमजोरी हो।
राजनीति जति बेला सामान्य देखिन्छ त्यतिखेर सम्भावित अण्डरकरेण्ट सिर्जनाको कारण र केन्द्रबिन्दु बुझ्न आवश्यक पर्छ। राजनीति जब उग्र बन्छ त्यतिखेर त्यसै अण्डरकरेण्टलाई दिशा दिइने रणनीतिलाई बुझ्ने प्रयासको आवश्यकता सचेत समाजको अपरिहार्य पदक्षेप बन्छ।
उदाहरण स्वरूप पहाड़मा जब जब शान्त राजनीति चल्छ तब राज्य प्रशासनले चलाउने गरेको राजनीतिलाई ठिकापट्टा मान्ने जमात पनि त छ।

1 comment:

  1. बुद्धिजीवि औ पारदर्शिता
    समालोचनाको स्वागत पूर्ण लेखको निम्ती राई भाईलाई साधुबाद साथै भविषयमा पनि यसतो आलोचनात्मक लेखहरूको कामनाको साथमा जनजागृति ल्याउने प्रयास जारी रहोस् । धन्यबाद

    ReplyDelete

Post Bottom Ad