गोरामुमो पार्टीले विमल गुरुङ गुटसँग मिलेर भाजपालाई समर्थनको गर्‍यो घोषणा; निरज जिम्बाले भने –‘हामी भाजपालाई समर्थन गर्छौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 19, 2019

गोरामुमो पार्टीले विमल गुरुङ गुटसँग मिलेर भाजपालाई समर्थनको गर्‍यो घोषणा; निरज जिम्बाले भने –‘हामी भाजपालाई समर्थन गर्छौँ’

गफसफ.com, नयाँ दिल्ली, 19 मार्च।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पहाडमा ‘साझा उम्मेद्वार’-को प्रस्ताव राखेर आखिर गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) सँग मिलेर भारतीय जनता पार्टीलाई नै सघाउने निर्णय लिएको छ। गोजमुमो विमल गुरुङ गुट अनि गोरामुमो पार्टीका प्रतिनिधीवर्गले आज दिल्लीमा एक पत्रकार सम्मेलन गरेर भारतीय जनता पार्टीलाई नै लोकसभा चुनावमा समर्थन गर्ने घोषणा गरेको हो।

गोरामुमो पार्टीले भाजपालाई समर्थन गर्ने घोषणाले अब पहाडमा साझा उम्मेद्वारको बाटो पनि सम्भवत बन्द भएको छ। यसभन्दा अघि भाजपा अनि तृणमूल कङ्ग्रेस विरोधी शक्तिहरू एकबनेर दार्जीलिङ संसदीय क्षेत्रबाट लोकसभा चुनाव लड्नुपर्ने आह्वानसँगै सर्वदलीय वैठकहरू पनि चल्दै आइरहेको थियो। यस्तो अवस्थामा आफ्नै अघिल्लो अडानबाट पन्सिएर गोरामुमोले गोजमुमो पार्टीका भूमिगत नेता विमल गुरुङ गुटसँग हात मिलाउँदै भाजपालाई नै समर्थन गर्ने घोषणा गरेको छ।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुटका कार्यकारी अध्यक्ष लोबसाङ लामा, लिला कुमार गुरुङ, निरज सुन्दास उपस्थित रहेका थिए भने गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका एन.बी छेत्री अनि निरज जिम्बाले संयुक्त रूपमा पत्रकार सम्मेललाई सम्बोधन गर्दै आगामी लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
‘हामी आज दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्न उपस्थित छौँ।  हामी संयुक्त पत्रकार सम्मेलनबाट भारतीय जनता पार्टीलाई समर्थन गर्ने घोषणा गर्दछौँ’ गोरामुमो पार्टीका प्रवक्ता निरज जिम्बाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने। उनले पहाडका दुईवटा राजनैतिक दलहरू जनताको हितमा पुरानो राजनैतिक मतभिन्नतालाई भूलेर एक बनेको पनि दाबी गरेका छन्।
यसक्रममा गोजमुमो विमल गुटका निरज सुन्दासले दार्जीलिङ पहाडमा सन्त्रासको वातावरण रहेको भन्दै प्रजातन्त्र समेत नरहेको दाबी गरे। ‘यो एकताले हामीमा पानी भन्दा रगतको साइनो प्रगाड हुन्छ भन्ने सन्देश दिएको छ। यस एकताले राजनैतिक सचेततालाई समेत दर्शाउँछ’ निरज सुन्दासले अझ भने –‘हामी राजनैतिक स्वार्थका निम्ति एक नभएर जनताको हितका निम्ति एक बनेका छौँ’
गोजमुमो पार्टीका भूमिगत नेता विमल गुरुङ गुट अनि गोरामुमो पार्टीले संयुक्त रूपले पहाडमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने पत्रकार सम्मेलन डाकेर औपचारिक रूपले घोषणा गरेपनि उनीहरूले पहाडबाट भाजपाको कुन उम्मेद्वारलाई समर्थन गर्ने हुन् भन्ने कुरा भने खुलस्त पारेनन्।
स्मरण रहोस्, केहि दिन अघि मात्रै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका प्रवक्ता निरज जिम्बाले ‘जातिको हितमा रावनसँग पनि आफुहरू हात मिलाउन तयार रहेको’ बयान दिएका थिए त्यसपछि नै उनीहरूले दार्जीलिङ संसदीय क्षेत्रबाट डा. महेन्द्र पी. लामा र डा. मुनिष तामाङलाई साझा प्रार्थी बनाउनुपर्ने प्रस्ताव राखेर साझा प्रार्थीको सहमतिको बाटोमा नै बाधा समेत सिर्जना गरेका थिए। त्यसपछि आखिरमा भाजपालाई गोर्खाल्याण्ड विरोधी देख्ने गोरामुमो पार्टीले अन्तिम समयमा लोकसभा चुनावमा गोजमुमो विमल गुटसँग हात मिलाएर समर्थनको घोषणा गरेर पहाडमा नयाँ राजनैतिक चुनावी समिकरण ल्याएको छ।

3 comments:

  1. A very very good and fortunable decission.Welcome!

    ReplyDelete
  2. उम्मेदवारको घोषणा चै म गर्दिन्छु ।
    सतपाल महाराज ।पहिलाको जस्तै हेबी वेट ।

    ReplyDelete

Post Bottom Ad